-वज्र सानु
यात्रा संस्मरण
सयदिन नाघिसकेको थियो डेमोक्रेटिक रिपब्लिक कंगो मा पुगेको ।
MONUC –United Nations Organization Mission in the Democratic Republic of the Congo को लागि दसौं दफ़्फ़ा को तेस्रो फ्लाइटको कमान्डर भई काठमांडौंबाट करांची,पाकिस्तान – सलालह, ओमान – एन्टेब्बे, युगान्डा हुँदै “बुनिया”, कंगोसम्म हवाईजहाजबाट प्रवेश भयो । बुनियाबाट फेरि हेलीकप्टर चढेेर कंगोको एउटा गाउँ “महागी” पुगियो । त्यसपछि महागी हवाईअवतरण स्थल हुुंँदै मिलिट्री ट्रकबाट नेपाली सेनाको बटालियन हेड क्वार्टर पुगेको थिएँ । महागी, रमणीय क्षेत्र , वातावरणीय दृष्टि कोणलेे धेरै राम्रो क्षेत्र । सुरु सुरुमा अनौठो लाग्दथ्यो मौसम देखेर । एकैदिनमा काठमाडौंको बार्ह महिने मौसम अनुभव हुन्थ्यो । चिसो, घमाइलो, वर्षा, उष्ण, शीत, शिरेटो : अचम्म .. ।
द्वंदका कुराहरू दैनिकी नै हुन यहाँ । खास गरी बाह्य मुलुकका हतियारधारी समूहहरू स्थानीय समुहसंग घुलमिल हुँदै आंतरिक कलह गर्ने तत्व थियो ।
मिसनका लागि १८० देखि २०० दिनका लागि गएका हामी । सयदिन बितीसक्दा मानसिक रुपमा अलि उदेक लाग्नु स्वभाविक थियो ।
फुर्सद मिलाएर भ्रमण गर्नेहरुले अनेक भमण योग्य स्थानहरुको वर्णन गर्थे । तीमध्य छिमेकी मुलुक युगान्डाको एक डांँडा जहांँबाट संसारको सबैभन्दा लामो नदी नाइल देखिन्छ रे जुन दक्षिणबाट उत्तरतिर बग्छ । यो विषय निक्कै चाखलाग्दो थियो ।
विद्यालय समयमा भूगोल पढ्दा याद गरेको नदि नाइल नदि जुुन युगान्डादेखि इजिप्टसम्म बग्दछ ।
विक्टोरिया ताल अफ्रीकाको सबैभन्दा ठूलो ताल जसको चौड़ाई मात्र काठमाडौंं- पोखराको दुरीभन्दा बढ़ी छ र अफ्रीकी मुलुकहरु तान्जानिया, केन्या तथा युगान्डाको सीमा छोएको छ यसले। तालको किनारामा बस्दा हामी समुद्र किनारामा बसेको जस्तो भान हुन्छ । तालको एक किनारबाट अर्को किनारा देखिंदैन । यहि ताल नाइल नदीको मूख्य उद्गम हो ।
विक्टोरिया तालबाट युगान्डाको भूमि भई नाइल बग्दछ । सुरुमा यस नाइललाई “विक्टोरिया नाइल” भन्दछ । भिक्टोरिया नाइल बग्दै युगान्डा र कंगोको सिमामा रहेको अल्बर्ट तालमा पुग्छ । अल्बर्ट तालबाट युगान्डाको भूमि हुँदै बग्न थालेपछि नाइल नदिलाई “व्हाइट नाइल”को नामले चिनिन्छ ।ह्वाइट नाइल बग्दै बग्दै दक्षिण सुडान प्रवेश गर्दछ । लगभग ३० कि.मि. सुडान र दक्षिण सुडानको सिमा भएर बगेपछि यो व्हाइट नाइल सुडानको राजधानी खारतूम पुग्छ ।
अर्कोतिर इथियोपियाको “ताना” तालबाट इथियोपियाको भूमि भई अर्को नदि बग्दछ र यसलाई ब्लू नाइल भन्दछ । इथियोपियाको विशाल भू-भाग पार गर्दै यो ब्लू नाइल पनि सुडानको राजधानी खारतूम नै पुग्दछ र व्हाइट नाइलसँग समागम हुन्छ ।
ब्लू नाइल र व्हाइट नाइल खारतूममा मिसिएर बगेपछि यसलाई मात्र नाइल नदी भनिन्छ । सुडानबाट बग्दै यो नदी इजिप्ट प्रवेश गर्दछ । इजिप्टको काइरो हुँदै नाइल मेडिटेरेनियन सागरमा बिलिन हुन जान्छ ।
अफ्रीकाको बहुमूल्य धातु एवं बहुमूल्य खनिज, रत्न जवाहरात हरू पखाल्दै ६६४० कि. मि.को यात्रा पार गरेर यसरी सागरमा बिलिन भएको दृश्य हेर्ने मौका आफैमा धेरै महत्व राख्दछ । हामीले पनि एक दिन त लङ ड्राइभ जाने र नाइल नदि हेर्न जाने योजना गर्यौं ।
एउटा Nissan double cab four wheel drive तयार गरियो । सोधपुछ पश्चात पहिला एकपटक गइसकेको ड्राइवर छनौट गरियो । आवश्यकता अनुसारको संचार साधन एवं सुरक्षा प्रबंध पनि गरियो । एक डॉक्टर, एक इन्फैंट्री अधिकृत अनि म प्राविधिक अधिकृतको नेतृत्वमा ड्राइवरसहित बिहान ब्रेकफास्ट गरी हल्का पेय र हल्का खाजा र फलफूलहरु लोड गरी यात्रामा निस्कियौं ।
कंगो राष्ट्रका सहरी क्षेत्रभन्दा धेरै टाढा बिभिन्न गाउँहरू छिचोल्दै , गोलो आकारका बॉसमा माटोले लेपेर लगाइएको गारो सुक्खा माटो नै मात्र देखिने ठाँउ पुग्यौं । एक नेपालीले अनुमान गर्नेभन्दा पनि अति विपन्न जन जीवन देखियो । जहाँ मात्र १० फुट गहिरो खाल्डो खनेमा पनि बहुमूल्य पत्थर हरू भेटिने जमीन छ त्यहीँको मानिसको जीवनको अवस्था टीठलाग्दो । मुलुकले सहि ब्यवस्थापन गर्न नसक्दा कंगोली ग्रामीण जनता दरिद्र जीवन यापन गरीरहेको छ । यदाकदा स्थानीय धनीमानी देखिने कच्याक कुचुक परेको इस्त्री नलगाएको सूट लगाएकाहरु पनि भेटिए । सायद बिजुली नभएर होला इस्त्री समेत लगाउन नापाएका ।
यहाँको सड़क पुरै कच्ची देखियो । कालोपत्रे सडक त सहरमा मात्र देखें । पानी नपरेको दिनमा त पिच सड़क जस्तै राम्रो देखिन्छ तर पानी परेपछि सड़क यति चिप्लो हुन्छ कि walking speed भन्दा गति बढ्यो कि गाड़ी चिप्लेर कहिलेकाहिं जताबाट आएको उतै गाडी फर्किन्छ । जता हेरेपनि बिभिन्न प्रकारका रुखहरू ….. सडकमा यातायात का साधन प्राय शून्य … मूल बाटोहरू अंतर सहर आवत जावत गर्ने होलान फाट्टफुट्ट मात्र गाडि गुडेको देखिन्छ । खै के नामका हुन बाइकहरु पनि एकदम नगन्य मात्रामा स्थानीयले चढेर आएको देखिन्छ ।
नेपालमा शौखिन फल मानिने एवेकाडोका रुखहरु जताततै देखिन्छन् लतरम्म ऐवकाडो फलेका ।….
ट्रपिकल रुखपातहरू पनि निकै देखिन्छन् र आकर्षक पनि ।… सड़कका किनारामा हाम्रोतिर तोरीको फुल फुलेको आभास दिनेगरी कफीका बोटहरुमा कफी फलेको पनि देखियो ।
घर छाउने खर जस्ता घाँसहरू अति नै देखिन्छन् । यहाँका जमिन अति उर्बर हुन्छन तर खेती गरेको देेखिन्न । ती खरनै हुन सायद… काटेको ७ / ८ दिनपछि पनि मानिसभन्दा अगला हुन्छन् । जमीन खालि भएपछि , लामो समय गाड़ी गुडन छोडेपछि यी अग्ला घांँसको राज हुन्छ होला ! सड़क नै छोपिदिन्छन् जस्तो !
यात्रा सुरु गरेको लगभग एकडेढ़ घंटाको drive पछि ड्राइवरलाई बाटो अलमल भएछ ।
“यो बाटो होइन जस्तो छ sir ….!” भन्न थाले ।
“उसो भए सोधौं न त लोकल मान्छेहरूलाई…”भनें तर हाम्रो डेस्टिनेशनको नाम थाहा रहेनछ उसलाई पनि, के भनेर सोध्ने ?समस्या पो भो !
ड्राइवरले “sir यसो अलि पर जाऊँ हेरौं ” भने । हामीले पनि सहमति जनायौं । अर्को आधा घन्टाजति यताउता गुडेपछि एक गाउँमा पुग्यो । स्थानीयहरू देेखिने ९ / १० जनाको चहल पहल थियो । यहीं सोध्ने भन्ने बिचार गरियो ।
ड्राइवरले गाडी नजिक लग्यो र सोध्यो ….
अचानक ती मान्छेले के बोले बोले हामीले बुझेनौ । स्थानीय स्वाहिली भासामा बोले , कसैले फ्रेंचमा बोले । स्थानीय हरकी आफ्नो भासा स्वाहिली बोल्छन वा फ्रेंच बोल्छन सायद विश्व युद्धपछि फ्रेंच कॉलोनी भएपछि फ्रेंच पनि बोलेका होलान् ।
एक शब्द हामीले बुझेको भनेको नेपाले … नेपाले…। नेपालीलाई उनीहरु नेपाले उच्चारण् गर्छन ….
एक्कासि उनीहरु हाम्रो पिकप गाडीको पछाडि चढ़नको लागि तम्सेको देखियो ।
मैले समय खेर नफाली सिधा ड्राइवर लाई गाड़ी
ब्याक गर्न र यहाँबात तुरुन्त फर्कन आदेश दिएँँ ।… घाँसले साँघुरो सड़कमा ड्राइवर ले three point turning को प्रयोग गरे full turn and back ….. acceleration मा पनि दवाब छिटो दिए… गाड़ी आसा गरीए जस्तै अति छिटो घुमेर पछाडि फर्क्यो ।
स्थानीयहरुले गाड़ी समात्न प्रयास गरिरहे । हामीलाई त्यहाँको वातावरण सुरक्षित महसूस भएन र quick action मा फर्क्यौ !
दुई घन्टाको यात्रा खर्चीयो तर अहिलेसम्म डेस्टिनेशनको अट्टोपट्टो छैन । तथापि फरक ढंगको जंगल सफ़ारीजस्तो रमाइलो अनुभव भइरहेको थियो ।
कतै बाटोमा अफ्रीकी equator क्षेत्रमा पाइने Pigmy , साना साना मानव जाति जुन जाति अहिले सम्म आधुनिक जीवनले छुन नसकेको, प्राकृतिक ढंगले नै बसेकाहरुको बस्ति भेटिएला र प्रत्यक्ष देख्न पाउला जस्तो पनि आशा थियो ! यि मानव जाति हल यस क्षेत्रमा भेटिन्छन भनिएको थियो । तर यसो भएन ।भेटिएन । Pigmy मानवलाई देख्ने अवसर पाएन ।
लगभग ३ घंटा भौतारिंंदै समय बिताई सकेपछि ड्राइवरले खुुुशीसाथ भने –
“Sir हामि नजिकै रहेछौं हामी सहि डाइरेक्शनमा छौं !”
हामी सबैको अनुहारमा डेस्टिनेशन पुग्ने भएर ख़ुसी छायो ।
“Sir यो बाटोमा कम मान्छे आवत जावत गर्ने भएकोले अनि अग्ला घांसले बाटो थम्याउन गार्हो भो! ” ड्राइवर अब मज्जाले बोल्दै हिंडेको छ फ़ेरि ! उसमा अब नाइल नदि देखिने लोकेशन पुग्छ भन्ने कॉन्फिडेंस देखियो !
बाटोमा अगाडि बिस्तारै अग्ला घांँसको घारी बढ्दै ग़ैरहेको हामीले चाल पाएका थियौ । अब त गाडिको व्हीलले बनाएको डोबमा मात्र घांस नभएको जमीन देखिन थाल्यो । मानौं घांसे ज़मीनमा दुई समानान्तर रेखा कोरिएका जस्ता !
“Sir अब मलाई लाग्छ केहि अगाड़ी सम्ममात्र हो अनि ओर्लेर हेर्नु पर्छ ! ” ड्राइवर बोल्दै थियो ।
बिस्तारै ती अग्ला घाँसले ती दुई समानान्तर रेखालाई पनि छोपियो अर्थात यहांँभन्दा अगाडि सायद गाड़ी गुडेको नैं छैन जस्तो ! घाँस हाम्रो गाडिको उचाईसम्म अर्थात हाम्रो गाड़ी पुरै अग्ला अग्ला घाँस ले ढाकिएको थियो ! गाड़ीको अगाडि न जमीन देखियो न अगाडिको केही दृश्य देखियो । लगभग १० कि.मि. प्रति घन्टाको गतिमा हामी सिधा अगाडि गुडीरहेका थियौंं ।
नाइल नदि हेर्ने कौतुहलता सबैमा थियो। नाइल नदि हेर्दै नाइल बियर खाने समय नजिकिंदै थियो । अगाडीको दृश्य नदेखिएको कारणले ड्राइवर पनि चुपचाप घाँसको बिचमा गाड़ी चलाउँदै थिए । हामि पनि सशंंकित, चुप चाप ! अगाडि केहि देखिएको पनि हैन ।
“धड़ाम्म……” एक्कासि गाड़ी केहि बस्तुमा ठोक्कियो ।
हामी सबै अगाडितिर हुत्तियौं । एक्कासि मुटुको धड़्कन बढ़न थाल्यो गाड़ी नराम्ररी थोक्कियो र रोकियो पनि ! हामी सबै गाड़ीबाट फटाफट ओर्लियौं अनि अगाडितिर हेर्न गयौं । एक बड़ेमानको ढुङ्गा ठीक गाडिको अगाडि रहेछ ! अग्ला घाँसले गर्दा ठीक अगाडीको ढुङ्गा पनि देखिएनछ ! एक्छिन सन्नाटा छायो । कसलाई के भन्ने ! सबै चुप ! मौनता !
केहिबेरपछि घाँस पन्छाउँदै ढुंगाको अगाडि हेरें !
हे भगवान ! अगाडि त २०० / ३०० फीट गहिरो clift सिधा तलसम्म काटिएको जस्तो गहिरो !
त्यो ढुङ्गा नभएको भए हाम्रो गाड़ी सिधा तल २ /३ सय फीत तल बाजारिने रहेछ । सबै जनाको होश गुम्यो एकछिन त ! मुटुको धुकधुकी झन बढ्यो ! आँखा खुल्ला छ तर मस्तिष्कमा गाड़ी तलसम्म बाजारिएकोजस्तो दृश्य झल्झली आइरहेको थियो ! परम्परागत अध्य्यात्म चिन्तन पनि गरेको मानिस म ! मेरो मनमा आयो , सायद असंख्य आफ्ना मान्छेहरुको आशीर्वाद हामीमा थियो र हामी बांँच्य्यौंं ! हाम्रो गाड़ी दुई तिन फुट दायाँबांँया गुडेको भएपनि गाड़ी खस्थ्यो । धन्य , हामी ती आशीर्वादले गर्दा बांँच्यौ ।
मुटुको चाल सामान्य भएपछि सबैले चारैतिर हेर्यौंं । ड्राइवर एक्कासि करायो …..
“Sir नाइल नदि ….!!!.”
उसले औलाले देखायो .!
“Sir नाइल नदि ….!!!”
Clift को तल …. अलि टाढा… तुवांलोले छोपिएको अलि धमिलो धमिलो दृश्य… पहिलो पटक संसारकै लामो नदि आफ्नो आँखाले देखें …
धन्य नाइल नदि हामीले तिमीलाई टाढाबाटै भेटायौं …
धन्य त्यो ढुङ्गा जसले नाइल नदिको त्यो जमिनमा बिलिन हुनबाट बचायो । @writeyourfeelings , email: subhaypost@gmail.com
सुभाय् मिडिया प्रा.लि.
ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८
ईमेल: subhaypost@gmail.com
कार्यालय फोन- +977-१४२१५६४४
स्थायी लेखा नम्बर- ६१२२८०१००
सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५