सुभाय् संवाददाताMay 27, 2026 मा प्रकाशित (१ घण्टा अघि) अनुमानित पढ्ने समय : २९ मिनेट
– नेवाः कला, संस्कृति र बौद्ध दर्शनको जीवन्त रूप ‘शास्त्रीय चर्या नृत्य र संगीत’
जेठ ९ गते,काठमाडौँ/ नेपाली अमूर्त सांस्कृतिक सम्पदाको एक अनमोल खजाना, बज्रयान बौद्ध दर्शनको जीवन्त रूप, र प्राचीन शास्त्रीय कलाको ऐतिहासिक संगम ‘चर्या प्रवाह’ कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ। काठमाडौँ महानगरपालिका र UNESCO (Member of the Creative Cities Network) को मुख्य आयोजना तथा नेपा: सांस्कृतिक पुचः (वडा नं. १७ , काठमाडौँ), नेपा: डान्स एकेडेमी (Nepa Dance Academy – NDA), बौद्ध दर्शन अध्ययन पुचः र मैत्री बोधिसत्व महाविहारको सहकार्यमा यो ऐतिहासिक सांस्कृतिक उत्सव आयोजना गरिएको हो।
नेपालको राष्ट्रिय नाचघर ,जमलमा आयोजना गरिएको यस कार्यक्रममा बज्रयान परम्पराका गुरु यज्ञमानपति बज्राचार्य एकल साँझ” को रूपमा विशेष प्रस्तुति र सम्मान अर्पण गरिएको थियो। लामो समयसम्म गुफा, विहार र आगम कोठाहरूमा मात्र सीमित रहेको, र गुरु-शिष्य परम्परामा मात्र जीवित रहेको चर्या नृत्य र संगीतलाई शास्त्रीय मर्यादा कायम राख्दै जनमानसमा ल्याउन चर्या गुरु यज्ञमानपति बज्राचार्यको योगदान अतुलनीय छ। परम्परागत मुकुट र धार्मिक पहिरनमा सजिएर हातमा घण्ट लिएका गुरु यज्ञमानपतिको आध्यात्मिक उपस्थिति आफैँमा जीवन्त इतिहास झैँ लाग्थ्यो। यो एकल साँझ केवल एउटा प्रस्तुति मात्र थिएन, बरु नेपालको शताब्दीऔँ पुरानो शास्त्रीय कला, निष्ठा र कठोर साधनाको राष्ट्रिय सम्मान थियो। उहाँको साधनाले नयाँ पुस्तालाई आफ्नो मौलिक संस्कृतिप्रति गौरव गर्न र यसको संरक्षणमा लाग्न ठूलो ऊर्जा प्रदान गरेको छ।
‘चर्या प्रवाह’ कार्यक्रममा विभिन्न देव-देवीहरूका चर्या नृत्यहरू पूर्ण रूपमा शास्त्रीय र परम्परागत विधिअनुसार प्रस्तुत गरिएका थिए। चर्या नृत्य केवल मनोरञ्जनका लागि गरिने नाच नभई यो तान्त्रिक ध्यान, मन्त्र र मुद्राको शारीरिक र मानसिक रूपान्तरण हो।
कार्यक्रममा प्रस्तुत गरिएका नृत्यहरूमा बुद्ध, बोधिसत्व र विभिन्न बज्रयान देवीहरूको साधनालाई कलाकारहरूले आफ्ना हस्तमुद्रा, पदचाप र आँखाको भावमार्फत सजीव रूपमा मञ्चमा उतारेका थिए।
आधुनिकताको प्रभावभन्दा टाढा रहेर चर्या गीतका प्राचीन राग र तालहरू (बज्रगीत) कै आधारमा प्रत्यक्ष वाद्यवादन र गायन प्रस्तुत गरिएको थियो।
चर्या विधिको नियमअनुसार देवदेवीहरूको स्वरूप झल्काउने परम्परागत मुकुट, शास्त्रीय पहिरन र गहनाहरू प्रयोग गरिएका थिए, जसले नाचघरको वातावरणलाई नै एक बौद्ध अभ्यास केन्द्र बौद्ध विहार जस्तो बनाएको थियो।
समयको परिवर्तन र आधुनिकताको तीव्र प्रवाहमा हाम्रा धेरै रैथाने कला र संस्कृतिहरू ओझेलमा परिरहेका छन्। यस्तो अवस्थामा काठमाडौँ महानगरपालिका, युनेस्को र नेपा: डान्स एकेडेमी (NDA) जस्ता संस्थाहरूको अग्रसरतामा भएका यस्ता कार्यक्रमहरूले नेपालको मौलिकतालाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन महत्त्वपूर्ण भूमिका खेल्छन्। चर्या नृत्य र गीतलाई केवल प्रदर्शनमा मात्र सीमित नराखी यसको शास्त्रीय शुद्धता (Authenticity) लाई अक्षुण्ण राख्नु यस कार्यक्रमको सबैभन्दा ठूलो सफलता हो।