
डा.राजु मानन्धर ,सिड्नी, अस्ट्रेलिया। सिड्नी निवासी पर्यटन उद्यमी तथा लेखक भीम न्यौपानेको पहिलो कृति ‘बादलमुनि बागलुङ’ (आत्मकथा) को पुस्तक लोकार्पण तथा साहित्यिक अन्तरक्रिया कार्यक्रम शनिबार (२३ मे) अस्ट्रेलियाको रकडेलस्थित इन्द्रेणी फङ्सन सेन्टरमा सम्पन्न भएको छ। अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (INLS) NSW च्याप्टरद्वारा आयोजित उक्त कार्यक्रममा सिड्नी तथा मेलबर्नका साहित्यप्रेमी, सञ्चारकर्मी तथा नेपाली समुदायका विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो।
हालै नेपालको प्रतिष्ठित ‘साहित्यपोस्ट गैरआख्यान पुरस्कार २०८२’ को लामो सूची (Longlist) मा पर्न सफल यो आत्मकथामाथि कार्यक्रममा विशेष चर्चा र गहन छलफल गरिएको थियो। वरिष्ठ पत्रकार ऋषि आचार्यले सहजकर्ताको भूमिका निभाउँदै पुस्तकका विषयवस्तु, लेखकको अनुभव र जीवनदर्शनबारे रोचक संवाद गराएका थिए। कार्यक्रमका विशिष्ट अतिथिहरू विष्णु हमाल, राजी खनाल तथा वीरेन्द्र बोम मल्लले पुस्तकको साहित्यिक महत्व, भावनात्मक गहिराइ र सामाजिक सान्दर्भिकताबारे आफ्ना महत्वपूर्ण धारणाहरू राखेका थिए।
कार्यक्रमको मुख्य आकर्षण लेखक र पाठकबीचको प्रत्यक्ष संवाद रह्यो। छलफलका क्रममा वरिष्ठ साहित्यकार तथा समुदायका अगुवाहरू सौरभ किरण, सुरेन्द्र दवाडी, चतुर्भुज खरेल, चर्चित चलचित्र निर्देशक आशिष भेटवाल, लुक्ला टिभीका प्रधान सम्पादक एवं ANJA का सल्लाहकार डा. राजु मानन्धरलगायतले पुस्तकबारे जिज्ञासा, तथा टिप्पणीहरू राखेका थिए। उठाइएका प्रश्नहरूको लेखक न्यौपानेले स्पष्ट र प्रभावकारी उत्तर दिँदै आफ्ना आत्मअनुभूतिहरू बारे बताएका थिए।
नेपाली साहित्यप्रेमी तथा लेखक दिला खरेलले लुक्ला टिभीसँग कुरा गर्दै ‘बादलमुनि बागलुङ’ लाई एक इमानदार, गरिमामय र यथार्थपरक आत्मकथा भएको बताए। उनले भने:”लेखकले आफ्ना जीवन अनुभवहरू अत्यन्त सरल र निष्कपट शैलीमा प्रस्तुत गरेका छन्। यसले केवल घटनाहरूको विवरण मात्र नभई जीवनका गहिरा शिक्षा र संघर्षलाई प्रतिबिम्बित गरेको छ। परिवार, साथीभाइ र समाजको जीवन्त चित्रणले पुस्तकलाई अझ आत्मीय बनाएको छ।”
अधिकांश पाठकहरूले यस कृतिलाई अन्तिम पृष्ठसम्म बाँधिराख्ने एक उत्कृष्ट ‘पेज-टर्नर’ पुस्तकका रूपमा प्रशंसा गरेका थिए। कार्यक्रममा सहभागीहरूले पुस्तक खरिद गरी लेखकबाट हस्ताक्षर गराएका थिए।
INLS NSW च्याप्टरकी अध्यक्ष भावना पराजुलीले सफल ‘सिड्नी बुक टक’ कार्यक्रम तथा पुरस्कारको लामो सूचीमा समेटिन सफल भएकोमा लेखक भीम न्यौपानेलाई हार्दिक बधाई ज्ञापन गरिन्। उनले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्ण शुभेच्छुकहरूप्रति आभार व्यक्त गर्दै लेखकको आगामी साहित्यिक यात्राको सफलताको कामना गरिन्। त्यस्तै, NINFA का अध्यक्ष लक्ष्मण गुरुङले पनि न्यौपानेलाई यस उल्लेखनीय साहित्यिक उपलब्धिको लागि बधाई दिँदै पुस्तकले धेरै पाठकको मन जित्ने विश्वास व्यक्त गरे।
साहित्य र समुदायबीचको सम्बन्धलाई सुदृढ बनाउने उद्देश्य बोकेको यस कार्यक्रममा अस्ट्रेलियास्थित विभिन्न सामाजिक तथा व्यावसायिक व्यक्तित्वहरूको बाक्लो उपस्थिति थियो। कार्यक्रममा समाजसेवी एवं व्यावसायिक व्यक्तित्वहरू डा. किरण थापा, गोमा थापा, युवराज भट्टराई, गजलकार जितेन्द्र मल्ल, इन्द्रेणी ग्रुपका CEO लक्ष्मण सापकोटा लगायतको विशेष उपस्थिति रहेको थियो। साथै, Australia NSW Austral Nepali Parents Community, Kogarah Rockdale Nepali Parents Community लगायतका विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको पनि सहभागिता रहेको थियो। यस कार्यक्रमका लागि अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (INLS) NSW र Australia Baglung Community ले सहयोगी भूमिका निर्वाह गरेका थिए। अस्ट्रेलियामा नेपाली साहित्यिक संस्कृतिको बढ्दो सक्रियता र पठन संस्कृतिलाई प्रोत्साहन गर्न यो कार्यक्रम कोशेढुङ्गा साबित भएको सहभागीहरूले महसुस गरे।





सुभाय् मिडिया प्रा.लि.
ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८
ईमेल: [email protected]
कार्यालय फोन- ०१-२१५६४४
स्थायी लेखा नम्बर- ६१२२८०१००
सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५