–रन्जना श्रेष्ठ
“द योगिनी” वृत्तचित्र निर्माणको क्रममा जात्राको भिडियो खिच्न हामी वज्रयोगिनी पुगेका थियौं । एक निर्माण सहयोगीका रुपमा म का गर्दै थिएँ । त्यो दिन जात्राको पहिलो दिन, पवित्र ऐतिहासिक बज्रयोगिनी डाँडाबाट स्वयम्भू चैत्य (चिबाद्यः्र), ह्याउँख्वाः माजु (बज्रयोगिनी माता), सिंहिनी र व्याघ्रिणीका रथहरू परम्पराअनुसार तल ऐतिहासिक साँखु नगरतर्फ ओरालिँदै थिए । नायखि,ं धिमे, लगायत बाजा र अन्य परम्परागत बाजागाजाको गुञ्जनले सम्पूर्ण बज्रयोगिनी डाँडा जात्रामय बनेको थियो । हजारौँ श्रद्धालु, भक्तजन र दर्शकहरूको उत्साहले शताब्दीयौँदेखि निरन्तर चल्दै आएको यस ऐतिहासिक जात्राको गरिमा अझ बढेको देखिएको थियो ।

यही उल्लासमय वातावरणका बीच मेरो ध्यान बारम्बार एउटै व्यक्तितर्फ तानियो । उहाँ दर्शकको भीडमा उभिएर जात्रा मात्र हेरिरहनुभएको थिएन । कहिले रथ बोकेर ल्याउने युवाहरुसँग समन्वय गर्दै, कहिले सुरक्षाकर्र्मीलाई आवश्यक निर्देशन दिँदै, कहिले स्वयंसेवकसँग व्यवस्थापनबारे छलफल गर्दै, त कहिले श्रद्धालु भक्तजनलाई सहज रूपमा दर्शन गर्न सहयोग गर्दै उहाँ निरन्तर सक्रिय हुनुहुन्थ्यो । भीडको व्यवस्थापनदेखि परम्पराको मर्यादा जोगाउने कामसम्म उहाँको सक्रिय उपस्थिति देखिन्थ्यो । त्यो व्यक्तित्व हुनुहुन्थ्यो—शंखरापुर नगरपालिकाका प्रवक्ता तथा वडा नं. ६ का वडा अध्यक्ष राधाकृष्ण श्रेष्ठ ।
त्यही दिन मैले उहाँलाई नजिकबाट नियाल्ने अवसर पाएँ । त्यसपछि विभिन्न अवसरमा वडा कार्यालय, निर्माणस्थल,धार्मिक कार्यक्रम र सामाजिक अभियानहरूमा उहाँसँग भेट हुँदै गयो। प्रत्येक भेटले एउटै अनुभूति गरायो—उहाँका लागि जनप्रतिनिधित्व पदको प्रतिष्ठाभन्दा जिम्मेवारीको विषयलाई बढी जोड व्यक्ति हुनुहुन्थ्यो ।

शंखरापुर साँखु नेपालको प्राचीन ऐतिहासिक नगरहरूमध्ये एक हो । यहाँ भेटिएका छैथौं शताब्दीका लिच्छविकालीन शिलालेखले यस नगरको प्राचीनता प्रमाणित गर्दछ । युगौँदेखिे संरक्षित रहेको सांस्कृतिक नगरका यी सम्पदा, संस्कृति र परम्परालाई जीवन्त राख्ने अभियानमा राधाकृष्ण श्रेष्ठ निरन्तर सक्रिय रहेको देखिन्छ ।
उहाँलाई सबै जात्रा–पर्वमा भेट्न सकिन्छ । बज्रयोगिनी जात्रा, माधवनारायण व्रत, गुँला धर्म, इन्द्रजात्रा, भिमसेन जात्रा लगायतका धार्मिक तथा सांस्कृतिक पर्वहरूमा उहाँ केवल अतिथिका रूपमा मात्र उपस्थित हुनुहुन्न व्यवस्थापन, समन्वय र संरक्षणमा प्रत्यक्ष सहभागी हुने गनुहुन्छ । यही कारण स्थानीयवासी उहाँलाई कार्यालयको कुर्र्सीमा भन्दा बढी समुदायका बीचमा देख्न अभ्यस्त छन् ।
वि.सं. २०७२ को महाभूकम्पले शदियौंदेखि निरन्तर विकसित हुँदै आएको शंखरापुरको ऐतिहासिक बस्ती, मठमन्दिर, बहाल, पाटी, सत्तल र सम्पदामा गम्भीर क्षति पु¥यायो । त्यस कठिन समयमा वडा अध्यक्षका रूपमा उहाँले पुनर्निर्माणलाई आफ्नो प्राथमिक दायित्व बनाउनुभयो । आज यी सम्पदाहरुको जिणोद्धार पुनः निर्माण कार्य सकिसकेको छ । यसका निम्ति उहाँले गरेको नेतृत्व निकै सफल रहेको स्थानिय जनताको धारणा छ ।
अहिले पनि कुनै बिकाश निर्माण कार्य वा जीर्णोद्धारको काम भइरहेकै स्थानमा उहाँ पुगेर स्थलगत निरीक्षण गर्ने, प्राविधिकसँग छलफल गर्ने र आवश्यक निर्देशन दिने कार्य निरन्तर देख्न सकिन्छ । विकासको गति र गुणस्तर दुवैमा उहाँले विशेष ध्यान दिनुभएको स्थानीयहरू बताउँछन् ।
उहाँको नेतृत्वमा सम्पन्न प्रथम शंखरापुर महोत्सव २०८१ पुस १५–१९ साँखुको सांस्कृतिक इतिहासमा एउटा नयाँ अध्याय बन्यो । सम्पदा बस्तीभित्र आयोजना गरिएको उक्त महोत्सवले भाषा, साहित्य, कला, संस्कृति, पर्यटन र स्थानीय अर्थतन्त्रलाई एउटै मञ्चमा जोड्न सफल भए । यसले शंखरापुरलाई केवल ऐतिहासिक,सांस्कृतिक,धार्मिक नगरी मात्र होइन पर्यटन र आर्थिक सम्भावनाले भरिपूर्ण नगरका रूपमा राष्ट्रिय स्तरमा परिचित गरायो ।
राधाकृष्ण श्रेष्ठको व्यक्तित्वको अर्को सुन्दर पक्ष भनेको दयामाया, करुणा, मैत्री र सहयोगी भावना पनि हो । उहाँ मानिसप्रति मात्र होइन, सबै जीवप्रति संवेदनशील रहनुपर्छ भन्ने नेपाली सांस्कृतिक मूल्यलाई व्यवहारमा उतार्ने प्रयास गर्नुहुन्छ ।
यसको एउटा उदाहरण उहाँले आफ्नो जन्मदिन मनाएको शैलीले देखाउँछ । धेरैले जन्मदिनलाई व्यक्तिगत उत्सवका रूपमा मनाउँछन् , तर उहाँले त्यसलाई सेवा, करुणा र सामाजिक उत्तरदायित्वको अवसर बनाउनुभयो । साउन कृष्ण द्वितीयाका दिन तिथी अनुसारको जन्मदिन । नेवार परम्परा अनुसार नेपाल संवतको पात्रो अनुसार साउन कृष्ण द्वितीयाका दिन कुलदेवताको पूजा, बज्रयोगिनी मातालगायत विभिन्न देवी–देवताका मन्दिरमा दर्शन गर्नुभयो । श्रीकृष्ण सुधामृत आश्रममा नवग्रह पूजा, १०८ पाठ, भजन तथा आरतीमा सहभागी बज्रयोगिनी भएपछि मन्दिर परिसरमा रहेका बाँदरहरूलाई अन्न खुवाउनु केवल एउटा परम्परा थिएनस त्यो सबै प्राणीप्रति दया, माया, करुणा र मैत्रीभाव व्यक्त गर्ने उहाँको जीवनदर्शनको एउटा सानो झल्को पनि थियो ।
त्यसपछि उहाँले शंखरापुर वडा नं.८ स्थित वनदेवी आधारभूत विद्यालयमा पुगेर विद्यार्र्थी, शिक्षक र विद्यालय व्यवस्थापन समितिसँग जन्मदिन मनाउनुभयो । आफ्नो पहलमा
R.O.K. Product Industriesको सहयोग तथा व्यक्तिगत सहयोगसमेत गरी छात्रावासका लागि आवश्यक २२ वटा म्याट्रेस उपलब्ध गराउनुभयो । साँझ द्वन्द्वपीडित तथा अपाङ्ग समाजमा रहेका बालबालिकासँग भोजन गरेर उहाँले जन्मदिनको खुसी समाजसँग बाँड्नुभयो । यस्ता कार्यहरुबाट उहाँका लागि उत्सव भनेको केवल व्यक्तिगत खुसी मात्र नभई अरूको अनुहारमा मुस्कान ल्याउने अवसर पनि हो भन्ने बुझ्न सकिन्छ । उहाँ यो पटकमात्र हैन हरेक जन्मदिन यसरी मनाउँदै आइरहनुभएको छ ।
एक सेवाग्राहीका रूपमा उहाँलाई वडा कार्यालयमा भेट्ने अवसर पनि मैले पाएको थिएँ । व्यस्त समयका बीच पनि उहाँले प्रत्येक व्यक्तिको कुरा ध्यानपूर्वक सुन्नुभयो, समस्या बुझ्नुभयो र समाधानका सम्भावित उपायबारे स्पष्ट रूपमा जानकारी दिनुभयो । मानिसलाई सम्मानपूर्वक व्यवहार गर्ने, संवादमार्फत विश्वास दिलाउने र सहकार्यको वातावरण बनाउने उहाँको क्षमता उल्लेखनीय लाग्यो ।
उहाँको राजनीतिक यात्रा एउटा दलसँग जोडिएको भए पनि सम्पदा संरक्षण, भाषा, संस्कृति, साहित्य, शिक्षा, विकास निर्माण र सामाजिक हितका सवालमा उहाँ दलगत सीमाभन्दा माथि उठेर सोच्नुपर्छ भन्ने धारणा राख्नुहुन्छ । उहाँ प्रायः भन्ने गर्नुहुन्छ—नगर बनाउन सबै मिल्नुपर्छ । सम्पदा कुनै दल विशेषको हुँदैन, संस्कृति कुनै पार्र्टीको हुँदैन, भाषा कुनै समूहको मात्र हुँदैन । यी सबै हाम्रो साझा सम्पत्ति हुन् । यही सोचका कारण फरक विचार राख्ने व्यक्ति र संस्थासँग पनि सहकार्य गर्न उहाँ सदैव तत्पर देखिनुहुन्छ ।
युवा पुस्तालाई अवसर दिनुपर्छ, आधुनिक प्रविधिलाई स्थानीय शासनसँग जोड्नुपर्छ र विकासमा सबैको सहभागिता सुनिश्चित गर्नुपर्छ भन्ने उहाँको विचार रहेको छ । उत्साह दिने, साथ दिने र अरूलाई अघि बढ्न प्रोत्साहन गर्ने उहाँको स्वभाव रहेको छ । यसले उहाँलाई स्थानीय समुदायमा एक फरक पहिचान समेत दिएको छ ।
आजको समयमा जनप्रतिनिधिको मूल्यांङ्कन भाषणले होइन, कामले हुन्छ । राधाकृष्ण श्रेष्ठलाई हेर्दा उहाँ कार्यालयको कुर्र्सीभन्दा बढी निर्माणस्थलमा, औपचारिक समारोहभन्दा बढी जात्रा–पर्वमा बढी देखिनुहुन्छ । उनी व्यक्तिगत प्रचार खासै रुचाउनु हुन्न । उहाँ बढी समुदायको साझा काममा सक्रिय देखिनुहुने व्यक्तिको रुपमा चिनिन्छन् । यही कारण उहाँलाई धेरै स्थानीयले केवल वडा अध्यक्षका रूपमा होइन, शंखरापुरको सम्पदा, संस्कृति र सामाजिक एकताको संरक्षणमा समर्पित युवा नेतृत्वका रूपमा सम्मानका साथ हेर्ने गरेको देखिन्छ ।




सुभाय् मिडिया प्रा.लि.
ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८
ईमेल: [email protected]
कार्यालय फोन- ०१-२१५६४४
स्थायी लेखा नम्बर- ६१२२८०१००
सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५