काठमाडौं — गत वर्षको तुलनामा विद्युत् उत्पादन घटे पनि यस वर्षको लक्ष्मीपूजाका दिन नेपालले ५८७ मेगावाट विद्युत् निर्यात गरेको छ। नेपाल विद्युत् प्राधिकरणका अनुसार आइतबार साँझ ६ बजेर १५ मिनेटमा देशभर २ हजार ४०० मेगावाट विद्युत् उत्पादन भएको थियो।
उक्त समयमा नेपालको आन्तरिक विद्युत् खपत १ हजार ८१३ मेगावाट रहेको थियो। आन्तरिक माग पूरा गरेपछि बाँकी ५८७ मेगावाट विद्युत् निर्यात गरिएको प्राधिकरणले जनाएको छ। काठमाडौं उपत्यकामा मात्रै सो समयमा ४८९ मेगावाट विद्युत् खपत भएको थियो।
गत वर्षको लक्ष्मीपूजामा २ हजार ७६० मेगावाट विद्युत् उत्पादन भएको थियो। त्यसमध्ये १ हजार ७४५ मेगावाट आन्तरिक खपत भई १ हजार १५ मेगावाट विद्युत् निर्यात गरिएको थियो। यस वर्ष उत्पादन ३६० मेगावाटले घटेको छ भने निर्यात ४२८ मेगावाटले कम भएको छ।
यस वर्ष उत्पादन घट्नुको एउटा प्रमुख कारण गत भदौ १० गतेको भोटेकोशी–त्रिशूली बाढीबाट जलविद्युत् आयोजनामा पुगेको क्षति पनि हो। बाढीले क्षति पुर्याएका कैयौँ आयोजना अझै मर्मत तथा पुनर्निर्माण हुन सकेका छैनन्।
प्राधिकरणका अनुसार लक्ष्मीपूजाका दिन निजी क्षेत्रका जलविद्युत् आयोजनाबाट १ हजार ५३६ मेगावाट र नेपाल विद्युत् प्राधिकरणका आयोजनाबाट ८६३ मेगावाटभन्दा बढी विद्युत् उत्पादन भएको थियो।
उत्पादनमा गिरावट आए पनि लक्ष्मीपूजाको उच्च मागको समयमा आन्तरिक खपतभन्दा बढी विद्युत् उत्पादन भई निर्यात हुनुले नेपालको विद्युत् प्रणालीको बढ्दो उत्पादन क्षमता र निर्यात सम्भावनालाई देखाएको छ।




सुभाय् मिडिया प्रा.लि.
ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८
ईमेल: [email protected]
कार्यालय फोन- ०१-२१५६४४
स्थायी लेखा नम्बर- ६१२२८०१००
सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५