काठमाडौं । काठमाडौंको ऐतिहासिक तथा धार्मिक महत्त्व बोकेको जनबहालस्थित कनक चैत्य महाविहारमा सञ्चालन भइरहेको आयुताहुति महायज्ञ दोस्रो दिन पनि भव्य रूपमा जारी छ। मंसिर ३ गतेदेखि ५ गतेसम्म तीन दिन सञ्चालन हुने महायज्ञमा वज्रयान बौद्ध परम्पराअनुसार विशेष पूजा, सूत्रपाठ, ध्यान, जप, चर्या तथा अग्निहोमका धार्मिक अनुष्ठान भइरहेका छन्।
श्री आर्यावलोकितेश्वर सुधार समूहको आयोजनामा भइरहेको उक्त महायज्ञ विश्वशान्ति, लोककल्याण तथा सम्पूर्ण प्राणी जगत्को सुख, शान्ति र समृद्धिको कामनासहित आयोजना गरिएको हो।
महायज्ञको दोस्रो दिन आज जनबहालका गुर्जुहरूको समूहले होम मण्डपअगाडि पञ्चबुद्धको मुकुट धारण गरी वज्रयान परम्पराअनुसार सूत्रपाठ तथा चर्या गर्दै धार्मिक अनुष्ठानलाई निरन्तरता दिएका छन्। गुर्जुहरू तीन समूहमा विभाजित भएर आ–आफ्नो परम्परागत विधिअनुसार पूजा, पाठ र होममा सहभागी भइरहेका छन्। नरसिंह गुर्जुको समूहले समेत छुट्टै रूपमा पाठ तथा पूजा गरिरहेको छ।

वज्रयान बौद्ध परम्परामा पञ्चबुद्धको मुकुट धारण गर्नु, विशेष मन्त्र तथा सूत्रपाठ गर्नु र चर्याका माध्यमबाट धार्मिक अनुष्ठान सम्पन्न गर्नुको विशिष्ट महत्त्व रहेको छ। आयुताहुति महायज्ञलाई तन्त्रयानअन्तर्गत उच्चस्तरको धार्मिक अनुष्ठानका रूपमा लिइन्छ। यसमा विभिन्न तान्त्रिक तथा वज्रयानी विधि समावेश हुने भएकाले महायज्ञको धार्मिक र सांस्कृतिक महत्त्व विशेष रहेको छ।
महायज्ञको पहिलो दिन जनबहालका मूल गुर्जु अष्ट रत्न बज्राचार्य, रोहिणी बज्राचार्यलगायतले विधिपूर्वक पूजा आरम्भ गरेका थिए। त्यस अवसरमा फणीन्द्र रत्न बज्राचार्य, बौद्ध विद्वान् यज्ञमानपति बज्राचार्य, बौद्ध विद्वान् प्रा.डा. नरेशमान बज्राचार्य तथा मञ्जुश्री रत्न बज्राचार्यलगायतले धार्मिक पाठ तथा अनुष्ठान सम्पन्न गरेका थिए।
महायज्ञको उद्घाटन तथा प्रारम्भिक धार्मिक कार्यक्रममा प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले समेत महायज्ञमा आहुति अर्पण गरेका थिए। त्यसैगरी महायानी धर्मगुरु रिम्पोछेहरूबाट बुद्धपूजा तथा धर्मदेशना कार्यक्रम सम्पन्न भएको थियो।
महायज्ञअन्तर्गत संकल्प पूजा, रत्नमण्डल दोहल, समाधि, ध्यान तथा जप, कलश पूजा, अष्टमंगल पूजा र सुकुन्दा पूजा गरी अग्निपूजासहित आयुताहुति होम प्रारम्भ गरिएको हो। तीन दिनसम्म चल्ने यस धार्मिक अनुष्ठानमा गुर्जुहरू, बौद्ध विद्वान्, धर्मगुरु तथा भक्तजनहरूको सहभागिता रहेको छ।
आयोजक श्री आर्यावलोकितेश्वर सुधार समूहका नायः नीलकाजी शाक्यले सम्पूर्ण प्राणीको कल्याण र विश्वशान्तिको कामनासहित महायज्ञ आयोजना गरिएको बताएका छन्। उनका अनुसार महायज्ञबाट प्राप्त हुने पुण्यले संसारका सम्पूर्ण प्राणीको कल्याण होस् भन्ने उद्देश्य राखिएको छ।
काठमाडौंको प्राचीन बौद्ध सम्पदा, वज्रयान परम्परा र संस्कृतिसँग जोडिएको जनबहालमा आयोजना भएको यस महायज्ञले परम्परागत बौद्ध धार्मिक विधि, अनुष्ठान तथा सांस्कृतिक अभ्यासको संरक्षण र निरन्तरतामा समेत महत्त्वपूर्ण योगदान पुर्याउने विश्वास गरिएको छ।
मंसिर ५ गतेसम्म सञ्चालन हुने महायज्ञमा भक्तजनहरूको सहभागिता निरन्तर बढिरहेको आयोजकले जनाएको छ।




सुभाय् मिडिया प्रा.लि.
ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८
ईमेल: [email protected]
कार्यालय फोन- ०१-२१५६४४
स्थायी लेखा नम्बर- ६१२२८०१००
सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५