काठमाडौं / नेपाल संवत् ११४७ को शुभारम्भको अवसर पारेर वरिष्ठ लेखिका मोतीलक्ष्मी शाक्यको नयाँ पुस्तक ‘शाक्य ल्हासा नेवाः’ विशेष समारोहबीच सार्वजनिक गरिएको छ।
काठमाडौंको लगनस्थित शाक्य परिवारको पुर्ख्यौली ल्हासा व्यापारको ऐतिहासिक विवरण समेटिएको यो पुस्तक उक्त विषयमा लेखिकाको दोस्रो कृति हो। यसअघि उनले ‘लगन्त्वाःया ल्हासा नेवाः’ पुस्तक प्रकाशित गरिसकेकी छन्।
‘शाक्य ल्हासा नेवाः’ मा लेखिकाका पुर्खा आयुदेवदेखि पुस्तौँपुस्तासम्म हुँदै उनका पिता र दाजुभाइले निरन्तरता दिएको परम्परागत नेपाल–तिब्बत व्यापारको इतिहास समेटिएको छ। पुस्तकले काठमाडौंका शाक्य समुदायको ऐतिहासिक व्यापारिक सम्बन्ध, पुर्खाको योगदान र तत्कालीन सामाजिक तथा आर्थिक गतिविधिबारे महत्त्वपूर्ण जानकारी प्रस्तुत गरेको छ।
यस पुस्तकको अंग्रेजी अनुवाद पनि गरिएको छ। लेखिकाका दुवै पुस्तकलाई अंग्रेजी भाषामा अनुवाद गर्ने अनुवादकले यस ऐतिहासिक तथा साहित्यिक कार्यको हिस्सा बन्न पाएकोमा आफूलाई गौरवान्वित र सौभाग्यशाली महसुस गरेको बताएका छन्। उनका अनुसार ‘शाक्य ल्हासा नेवाः’ नेपाल–तिब्बतबीचको परम्परागत व्यापारिक इतिहास र शाक्य समुदायको योगदान अध्ययन गर्न चाहनेहरूका लागि महत्त्वपूर्ण ऐतिहासिक स्रोत बन्नेछ।
उक्त कार्यक्रममा ‘शाक्य ल्हासा नेवाः’ सहित अन्य चार साहित्यिक कृति पनि सार्वजनिक गरिएका थिए। दिवंगत कवि पूर्ण वैद्यको कविता कृति ‘सरसु’ नेपाली र अंग्रेजी दुवै भाषामा प्रकाशित भएको छ। त्यसैगरी मणिदेवी ताम्राकारको पाँचौँ कथासङ्ग्रह ‘नुगः दुने’ तथा जानकी रघुवंशीको ‘बाखं क्यब’’ नेपाली र नेपालभाषा दुवै भाषामा सार्वजनिक गरिएको छ।
कार्यक्रममा सार्वजनिक भएका कृतिहरूले नेपाली तथा नेपालभाषा साहित्यको विकाससँगै भाषा, संस्कृति, इतिहास र साहित्यिक सम्पदाको संरक्षणमा योगदान पुर्याउने अपेक्षा गरिएको छ।
यस अवसरमा सबै स्रष्टालाई बधाई तथा शुभकामना व्यक्त गर्दै प्रकाशित कृतिहरूले भावी पुस्तालाई साहित्यिक सिर्जना र ऐतिहासिक अध्ययनका लागि प्रेरित गर्ने विश्वास व्यक्त गरिएको छ।




सुभाय् मिडिया प्रा.लि.
ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८
ईमेल: [email protected]
कार्यालय फोन- ०१-२१५६४४
स्थायी लेखा नम्बर- ६१२२८०१००
सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५