६ करोड ७ लाख ९५ हजार ५७ रुपैयाँ लागत अनुमान, महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलद्वारा जगपूजा तथा शिलान्यास
काठमाडौँ। काठमाडौँ महानगरपालिकाले जीवित देवता श्रीगणेश र श्रीभैरवको निवासस्थान निर्माणका लागि शिलान्यास गरेको छ। महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले निर्माणस्थलको ब्रह्मस्थानमा जगपूजा तथा शिलान्यास गर्नुभएको हो।
शिलान्यास कार्यक्रममा निर्माणस्थलका चारै दिशाका कोणमा पनि विधिपूर्वक जगपूजा तथा शिलान्यास गरिएको थियो। कार्यवाहक प्रमुख डंगोलसँगै वडा नं. २४ का अध्यक्ष एवं हनुमानढोका दरबार क्षेत्र संरक्षण कार्यक्रम उपसमितिका संयोजक विनोदकुमार राजभण्डारीले निर्माणस्थलको ईशान (उत्तर–पूर्व) कोणमा जगपूजा तथा शिलान्यास गर्नुभयो।
त्यसैगरी, वडा नं. २३ का अध्यक्ष एवं विधायन समितिका संयोजक मचाराजा महर्जनले आग्नेय (दक्षिण–पूर्व) कोणमा, वडा नं. १९ का अध्यक्ष एवं पूर्वाधार समितिका संयोजक राजेशकुमार श्रेष्ठले वायव्य (उत्तर–पश्चिम) कोणमा तथा वडा नं. २० का अध्यक्ष राजेन्द्र मानन्धरले नैऋत्य (दक्षिण–पश्चिम) कोणमा जगपूजा तथा शिलान्यास गर्नुभएको थियो।
काठमाडौँ महानगरपालिकाका अनुसार जीवित देवता श्रीगणेश र श्रीभैरवको निवासस्थान निर्माणका लागि कुल ६ करोड ७ लाख ९५ हजार ५७ रुपैयाँ लागत अनुमान गरिएको छ।
काठमाडौँको धार्मिक, सांस्कृतिक तथा परम्परागत सम्पदासँग जोडिएका जीवित देवताहरूको निवासस्थान निर्माणलाई महानगरपालिकाको सांस्कृतिक सम्पदा संरक्षणसम्बन्धी कार्यका रूपमा हेरिएको छ। नयाँ निवासस्थान निर्माणले धार्मिक तथा सांस्कृतिक परम्पराको निरन्तरतामा सहयोग पुग्ने अपेक्षा गरिएको छ।




सुभाय् मिडिया प्रा.लि.
ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८
ईमेल: [email protected]
कार्यालय फोन- ०१-२१५६४४
स्थायी लेखा नम्बर- ६१२२८०१००
सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५