काठमाडौँ /विभिन्न ठाउँबाट चोरी गरेर अमेरिका पुर्याइएका दुईटा मुकुन्डो र दुईटा मूर्तिहरु नेपाल फिर्ता गरी बुधबार पुरातत्व विभागलाई जिम्मा लगाइएको छ । तामा धातुबाट १६ औं शताब्दीमा निर्मित भैरवका दुई मुकुन्डो, १६ औं शताब्दीमा प्रस्तरबाट बनेको उमामहेश्वरको मूर्ति र १७ औं/१८ औं शताब्दीमा प्रस्तरबाटै निर्मित दुर्गाको मूर्ति नेपाल फिर्ता गरिएको हो ।
भैरवका दुई मुकुन्डो दोलखाको भिमेश्वर नगरपालिका- २ स्थित गुरकोट टोलबाट २०५० साल फागुन २२ गते चोरी भएर विभिन्न माध्यम हुदै अमेरिकाको डलास म्यूजियम अफ आर्ट र रुविन म्युजियम अफ आर्टमा पुगेका थिए ।
उमामहेश्वरको मूर्ति पाटनको ओमवहाल परिसरको फल्चाबाट सन् १९८० देखि सन् १९९० को दशकको बीचमा चोरी भएर ब्रुकलिन म्युजियममा पुगेको थियो । दुर्गाको मूर्ति भक्तपुरको हनुमानघाटस्थित स्मारक स्वरुप शिवलिङ्ग रहेको स्थानबाट चोरी भएर अमेरिका पुगेको थियो । यी कलात्मक वस्तुहरुको उत्पत्ति स्थल नेपाल भएको भनी यस विभागवाट प्रमाणित गरेपछि अन्तर्राष्ट्रिय कानुन अनुसार नेपाल फिर्ता भएको पुरातत्व विभागद्वारा जारी विज्ञप्तिमा छ ।
यी कलात्मक वस्तुहरू फिर्ता गराउन अमेरिकाको न्यूयोर्कस्थित नेपाली बाणिज्यदूतावास, अमेरिकाको म्यानहट्टन डिस्ट्रिक्ट अटर्नी अफिस न्यूयोर्क, यूएस डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटी इन्भेस्टिगेशन न्यूयोर्क, अमेरिका डलास म्युजियम अफ आर्ट, रुबिन म्युजियम अफ आर्ट, ब्रुकलिन म्युजियम, संस्कृति, तथा पर्यटन नागरिक उड्ययन मन्त्रालय र अर्थ मन्त्रालयले भूमिका खेलेको भन्दै विभागले धन्यवाद दिएको छ ।
यी कलात्मक वस्तुहरु अमेरिकाबाट नेपालसम्म ल्याउने कार्यमा न्यूयोर्कस्थित नेवा गुथिले आर्थिक सहयोग गरेको थियो । गुथिप्रति पनि विभागले धन्यवाद व्यक्त गर्दै प्रशंसा पत्र प्रदान गरेको छ ।पुरातत्व बिभागका प्रमुख सौभाग्य प्रधानांगले न्युयोर्क नेवा: गुथिका अध्यक्ष विजयमान सिंहलाई यसरी प्रशंसा पत्र प्रदान गरिएको हो ।
सम्पदा अभियन्ताहरुको सहभागिता रहेको उक्त कार्यक्रममा अभियन्ताहरुले न्युयोर्क नेवा: गुथी र गुथिका अध्यक्ष सिंहले नेपालको सम्पदा फर्काउन खेलेको भूमिकाको प्रशंसा गर्दै निकट भविष्यमा उहाँको सम्मान समेत गर्ने बताए ।
सुभाय् मिडिया प्रा.लि.
ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८
ईमेल: [email protected]
कार्यालय फोन- ०१-२१५६४४
स्थायी लेखा नम्बर- ६१२२८०१००
सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५