असोज २३, शुक्रबार,काठमाडौं। अन्तर्राष्ट्रिय शान्ति पदयात्रा ‘A Walk for Peace, USA’ का अन्तर्राष्ट्रिय ख्यातिप्राप्त शान्ति पदयात्री श्रद्धेय भिक्षु पन्याकारा महास्थविरलाई नेपालमा भव्य स्वागत तथा सम्मान गरिएको छ। नेपाल आगमनको अवसरमा ललितपुरमा आयोजित विशेष कार्यक्रममा भिक्षु पन्याकारा महास्थविरलाई ‘मानार्थ प्राध्यापक’‘अग्गसन्तिचारिक’ उपाधिबाट सम्मान गरिएको छ।
लुम्बिनी बौद्ध विश्वविद्यालय र थेरवाद बुद्धिस्ट एकेडेमी, विश्व शान्ति विहारको संयुक्त आयोजनामा जावलाखेलस्थित डीएभी स्कुलको बुद्ध हलमा कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रममा हजारौँ उपासक–उपासिका तथा बौद्ध धर्म र दर्शनका अध्येताहरूको उपस्थिति रहेको थियो।
नेपाल आगमनका क्रममा डीएभी स्कुलका विद्यार्थीहरूले नेपाली पहिरनमा सजिएर भिक्षु पन्याकारा महास्थविरलाई विद्यालय परिसरमा स्वागत गरेका थिए। विद्यार्थीहरूले स्वागत गर्दै उहाँलाई कार्यक्रमस्थलको मञ्चसम्म पुर्याएका थिए। परम्परागत नेपाली पहिरनमा सजिएका विद्यार्थीहरूको स्वागतले कार्यक्रमलाई थप आकर्षक र भावपूर्ण बनाएको थियो।
कार्यक्रममा लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति प्रा. डा. माणिकरत्न शाक्य भिक्षुले भिक्षु पन्याकारा महास्थविरलाई ‘मानार्थ प्राध्यापक’ पदवीबाट सम्मान गर्नुभयो। त्यसैगरी, थेरवाद बुद्धिस्ट एकेडेमीले उहाँलाई ‘अग्गसन्तिचारिक’ उपाधिबाट सम्मान गरेको छ। एकेडेमीका प्रमुख भिक्षु निग्रोध महास्थविरले उक्त सम्मान प्रदान गर्नुभएको थियो।

यसैगरी, ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले महानगरपालिकाका तर्फबाट भिक्षु पन्याकारा महास्थविरलाई सम्मानपत्र प्रदान गर्दै सम्मान गर्नुभयो। विभिन्न संस्थाबाट प्रदान गरिएका सम्मानले विश्व शान्ति, करुणा र अहिंसाको सन्देश प्रवाहमा उहाँले पुर्याउनुभएको योगदानको कदर गरेको आयोजकले जनाएको छ।
कार्यक्रममा मन्तव्य व्यक्त गर्दै भिक्षु पन्याकारा महास्थविरले कुनै पनि प्रकारको प्राकृतिक विपद् आउनुअघि नै त्यसको सामना गर्न तयार र सचेत हुनुपर्नेमा जोड दिनुभयो। उहाँले सन् २०१५ मा नेपालमा गएको विनाशकारी महाभूकम्पका बेला आफूले नेपाल आएर सक्दो सहयोग गरेको स्मरण गर्नुभयो।
प्राकृतिक विपद्का बेला पीडितहरूलाई सहयोग गर्नु मानवीय करुणा र सेवाभावको महत्वपूर्ण उदाहरण भएको उल्लेख गर्दै उहाँले अहिले पनि नेपालमा विपद्का कारण पीडामा परेका नागरिकलाई सक्दो सहयोग गर्ने उद्देश्यले आफू नेपाल आएको बताउनुभयो। विपद्पूर्वको तयारी, जनचेतना र विपद्पछिको मानवीय सहयोगले प्रभावित समुदायलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्ने उहाँको भनाइ थियो।

कार्यक्रममा लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति प्रा. डा. माणिकरत्न शाक्यले ‘वाक फर पिस’ अभियानअन्तर्गत अमेरिकामा लामो दूरीसम्म पैदल यात्रा गरी विश्व शान्तिको सन्देश प्रवाह गर्नुभएका भिक्षु पन्याकारा महास्थविरको योगदानको प्रशंसा गर्नुभयो।
नेपालमा गएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको पीडामा साथ दिन तथा सक्दो सहयोग गर्ने उद्देश्यले भिक्षु पन्याकारा महास्थविर नेपाल आउनुभएको उल्लेख गर्दै उपकुलपति शाक्यले उहाँलाई लुम्बिनी बौद्ध विश्वविद्यालयका तर्फबाट मानार्थ प्राध्यापकको पदवीबाट विभूषित गर्न पाउँदा खुसी लागेको बताउनुभयो। उहाँले भिक्षु पन्याकारा महास्थविरको शान्ति, करुणा र मानवीय सेवाप्रतिको समर्पणले विश्व समुदायलाई सकारात्मक सन्देश दिएको धारणा व्यक्त गर्नुभयो।
त्यसैगरी, ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले भिक्षु पन्याकारा महास्थविरको नेपाल आगमन र उहाँको दर्शन गर्न पाउँदा आफूलाई आनन्द लागेको बताउनुभयो। उहाँले विश्व शान्तिको सन्देश फैलाउने अभियानमा संलग्न भिक्षुको उपस्थितिले शान्ति र मानवीय सेवाको महत्वलाई थप उजागर गरेको धारणा व्यक्त गर्नुभयो।ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले भिक्षु पन्याकारा महास्थविरसँगै नेपाल आउनुभएका आलोक कुकुरलाई देख्न पाउँदा खुसी लागेको बताउनुभयो।
कार्यक्रममा नेपालका प्रसिद्ध चित्रकार भिक्षु उत्तमो स्थविर रविन्द्र डंगोलले शान्ति पदयात्री भिक्षु पन्याकारा महास्थविरको पूर्णकदको चित्र उपहारस्वरूप प्रदान गर्नुभयो। भिक्षु उत्तमो स्थविर स्वयंले तयार पार्नुभएको उक्त चित्र दुई दिनमै तयार गरिएको जानकारी दिइएको थियो। उहाँले आफ्नै हातले तयार पारेको चित्र भिक्षु पन्याकारा महास्थविरलाई हस्तान्तरण गर्नुभएको थियो।

अन्तर्राष्ट्रिय शान्ति पदयात्रामार्फत प्रेम, करुणा, अहिंसा र मानवीय एकताको सन्देश फैलाउँदै आउनुभएका भिक्षु पन्याकारा महास्थविरको नेपाल आगमनलाई बौद्ध दर्शन तथा विश्व शान्तिको सन्देश प्रवर्द्धन गर्ने महत्वपूर्ण अवसरका रूपमा लिइएको छ। उहाँको यात्राले बुद्धको जन्मभूमि नेपालबाट विश्व समुदायमा शान्ति र सहअस्तित्वको सन्देश थप प्रभावकारी रूपमा प्रवाह गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।
कार्यक्रममा ‘Elevate Buddhist Journal’ को परिचयसमेत प्रस्तुत गरिएको थियो। बौद्ध दर्शन, बुद्धका शिक्षाहरू, विश्व शान्ति र मानवीय मूल्यलाई अन्तर्राष्ट्रियस्तरमा प्रवर्द्धन गर्ने उद्देश्यले अघि बढाइएको उक्त जर्नलले बौद्ध ज्ञान, अनुसन्धान तथा समसामयिक विषयलाई विश्व समुदायसमक्ष पुर्याउने लक्ष्य राखेको आयोजकले जनाएको छ।
‘पञ्चावत्तंस अयं धम्मो’ भन्ने बौद्ध आदर्शलाई मूल भाव बनाइएको कार्यक्रममा बौद्ध धर्म तथा दर्शनसँग सम्बन्धित विभिन्न व्यक्तित्व, भिक्षु–भिक्षुणी, बौद्ध विद्वान्, सामाजिक अभियन्ता तथा सर्वसाधारणको सहभागिता रहेको थियो।
कार्यक्रमले बौद्ध दर्शनको अन्तर्राष्ट्रिय प्रवर्द्धन, नेपालमा बौद्ध अध्ययन तथा अनुसन्धानको विकास र विश्व शान्तिका लागि करुणा, मैत्री तथा अहिंसाको सन्देशलाई थप सशक्त बनाउने विश्वास आयोजकले व्यक्त गरेको छ।





सुभाय् मिडिया प्रा.लि.
ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८
ईमेल: [email protected]
कार्यालय फोन- ०१-२१५६४४
स्थायी लेखा नम्बर- ६१२२८०१००
सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५