शंखरापुर, काठमाडौं। शंखरापुर नगरपालिका वडा नं. ६ कार्यालयको आयोजनामा इन्द्रायणीस्थित वृहस्पति फुटसलमा असोज २४ र २५ गते सम्पन्न ‘शंखरापुर वडा कप फुटसल प्रतियोगिता–२०८३’ को उपाधि हरहर महादेव फुटसल टिमले जितेको छ। फाइनल खेलमा मणिचूड युवा क्लबलाई ५–० गोलको फराकिलो अन्तरले पराजित गर्दै हरहर महादेवले उपाधि जितेको हो।
प्रतियोगितामा मणिचूड युवा क्लब दोस्रो र टिम अफ पटाप तेस्रो भएका छन्। नगरका विभिन्न वडाबाट २० टोली सहभागी प्रतियोगिताले स्थानीय खेलाडीलाई आफ्नो खेलकौशल प्रदर्शन गर्ने अवसर प्रदान गरेको छ।
प्रतियोगितामा प्रथम भएको हरहर महादेवले नगद २५ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ। उपविजेता मणिचूड युवा क्लबले १५ हजार रुपैयाँ तथा तेस्रो भएको टिम अफ पटापले १० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन्।
व्यक्तिगत विधातर्फ हरहर महादेवका अच्युत थापा सर्वाधिक गोलकर्ता बनेका छन्। उनले प्रतियोगिताभर १३ गोल गरेका छन्। त्यस्तै, प्रनिश थापा उत्कृष्ट खेलाडी र उदय थापा उत्कृष्ट गोलरक्षक घोषित भएका छन्। व्यक्तिगत विधाका तीनवटै उपाधि हरहर महादेव फुटसल टिमका खेलाडीले जितेका छन्।

प्रतियोगिताको समापन समारोहका प्रमुख अतिथि शंखरापुर नगरपालिका वडा नं. ६ का वडाध्यक्ष एवं नगर प्रवक्ता राधाकृष्ण श्रेष्ठले युवालाई मोबाइलको बढ्दो लतबाट बाहिर निकालेर खेलकुदमा आकर्षित गर्नुपर्नेमा जोड दिएका छन्।
समारोहलाई सम्बोधन गर्दै श्रेष्ठले फुटसल प्रतियोगिता जित र हारमा सीमित कार्यक्रम नभई युवामा अनुशासन, आत्मविश्वास, सहकार्य र सकारात्मक सोच विकास गर्ने महत्वपूर्ण माध्यम भएको बताएका छन्।
“युवालाई एकोहोरो मोबाइलमा झुमिरहने अवस्थाबाट बाहिर निकालेर खेलकुदमा सहभागी गराउनु आवश्यक छ। खेलले शारीरिक तन्दुरुस्ती र मानसिक मनोबल बढाउनुका साथै जीवनमा आइपर्ने चुनौतीसँग सामना गर्ने क्षमता पनि विकास गर्छ,” उनले भनेका छन्।
खेलकुदले जित र हारलाई सहज रूपमा स्वीकार गर्न, नियमको पालना गर्न तथा सामूहिक भावनाका साथ अघि बढ्न सिकाउने उल्लेख गर्दै श्रेष्ठले युवाको ऊर्जा र प्रतिभालाई सकारात्मक क्षेत्रमा परिचालन गर्न सके व्यक्ति, समाज र नगरको विकासमा समेत योगदान पुग्ने बताएका छन्।
उनले शंखरापुरमा खेलकुद गतिविधि विस्तार गर्दै यस्ता प्रतियोगितालाई निरन्तरता दिनुपर्नेमा जोड दिएका छन्। खेलकुद कार्यक्रमलाई कुनै एक जनप्रतिनिधिको कार्यकालमा मात्र सीमित नराखी आगामी दिनमा निर्वाचित भएर आउने जनप्रतिनिधिले समेत निरन्तरता दिनुपर्ने उनको भनाइ छ।

समापन समारोहमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का जिल्ला अध्यक्ष दीपक केसीले खेलकुदले शारीरिक स्वास्थ्य सुधार गर्नुका साथै व्यक्तिलाई अनुशासित बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताएका छन्। उनले प्रतियोगिताका विजेता तथा सहभागी टोलीलाई बधाई दिँदै आगामी दिनमा अझ उत्कृष्ट प्रदर्शनका लागि शुभकामना व्यक्त गरेका छन्।
राप्रपा नेता मिजेन्द्र काजी श्रेष्ठले वडा नं. ६ को आयोजनामा सम्पन्न प्रतियोगिताले नगरस्तरीय स्वरूप ग्रहण गरेको उल्लेख गरेका छन्। उनले विजेता टोलीलाई बधाई दिँदै सहभागी अन्य टोलीलाई आगामी प्रतियोगितामा उत्कृष्ट प्रदर्शनका लागि तयारी गर्न आग्रह गरेका छन्। उनले विजया दशमी, तिहार, नेपाल संवत् ११४७ तथा छठ पर्वको शुभकामनासमेत व्यक्त गरेका छन्।
समापन समारोहको सभापतित्व वडा सदस्य ज्ञानरत्न मानन्धरले गरेका छन्। उनले प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएकोमा खुसी व्यक्त गर्दै विजेता टोली, व्यक्तिगत विधामा उत्कृष्ट खेलाडी तथा सहभागी सबैलाई धन्यवाद दिएका छन्।
कार्यक्रममा प्रहरी प्रभाग साँखुका प्रमुख मणिराम थापा, राप्रपा जिल्ला अध्यक्ष दीपक केसी, नेता मिजेन्द्र काजी श्रेष्ठ, नगर अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठलगायत अतिथिहरूको सहभागिता रहेको थियो। त्यसैगरी भविष्य कृषि सहकारीका अध्यक्ष जनता श्रेष्ठ, शंखरापुर नगरपालिका वडा नं. ७ का वडा सदस्य अर्चेन देव शाही, राजकुमार थापालगायत स्थानीयवासीको उपस्थिति रहेको थियो।
स्थानीय युवालाई खेलकुदमा आकर्षित गर्ने, प्रतिभावान् खेलाडीको पहिचान गर्ने तथा स्वस्थ र अनुशासित जीवनशैली प्रवर्द्धन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो। प्रतियोगिताले युवाबीच आपसी सद्भाव, सहकार्य र खेलभावना अभिवृद्धि गर्नुका साथै शंखरापुरमा खेलकुद संस्कृतिको विकासमा योगदान पुर्याएको आयोजकले विश्वास व्यक्त गरेका छन्।
वडाध्यक्ष श्रेष्ठले युवाको प्रतिभा र ऊर्जालाई सम्मान गर्दै शंखरापुर वडा नं. ६ लाई खेलकुदमैत्री वडा बनाउने अभियानलाई निरन्तरता दिने प्रतिबद्धतासमेत व्यक्त गरेका छन्। 





सुभाय् मिडिया प्रा.लि.
ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८
ईमेल: [email protected]
कार्यालय फोन- ०१-२१५६४४
स्थायी लेखा नम्बर- ६१२२८०१००
सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५