• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Sun, 18, Oct, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज /  सम्पदा/संस्कृति

लिपिविद् श्यामसुन्दर राजवंशीको नजरमा चार महत्वपूर्ण शिलालेख


सुभाय् संवाददाता October 18, 2026 मा प्रकाशित (१ घण्टा अघि) अनुमानित पढ्ने समय : २७ मिनेट

 

लिपिविद् श्यामसुन्दर राजवंशीको नजरमा चार महत्वपूर्ण शिलालेख

प्रबिता श्रेष्ठबिहीबार,  माघ २७, २०७८

काठमाडौं, माघ २७ : श्यामसुन्दर राजवंशी २०४० सालमा लिपिविद्का रूपमा पुरातत्व विभागमा नियुक्त भए, नायवसुब्बा पदमा । ३५ वर्षको सेवा अवधिमा उनी विभागको प्रमुख पुरातत्व अधिकृत पदसम्म भए, ३० भन्दा बढी लिच्छविकालका अप्रकाशित शिलालेखको अध्ययन गरी त्यसका गुत्थी सुल्झाए । उनले अध्ययन गरेकामध्ये चार महत्वपूर्ण शिलालेख यस्ता छन् ।

१) मालीगाउँको शिलालेख

०४९ को वैशाख मसान्ततिर ठहिटीको पुरानो निवासमा उनी बिदा मनाइरहेका थिए । लामो बिदामा रहेका उनलाई अफिसबाट बोलावट भयो । त्यो बेला साफल्य अमात्य पुरातत्व विभागका महानिर्देशक थिए । महानिर्देशकले माली गाउँमा फेला परेको मूर्तिको पादपीठ हेरेर निष्कर्ष दिन उनलाई भने । ‘अघिल्लो दिन माली गाउँमा मूर्ति भेटिएको रहेछ,’ राजवंशी भन्छन्, ‘मूर्तिको मुनि एक वाक्यमा कुँदिएका केही अक्षरको अध्ययन अरुबाट सम्भव नभएपछि मलाई बोलाइएको रहेछ ।’

उनले पिता शंकरमान राजवंशीको सहयोगमा त्यस शिलालेखको अध्ययन गरे । शंकरमान पनि पुरातत्व विभागका पूर्वकर्मचारी र लिपिविद् थिए । पिताबाटै आफूले लिपिको अध्ययन सिकेको श्यामसुन्दर बताउँछन् ।

‘मालीगाउँमा भेटिएको त्यस शिलालेख पेडेस्टल थियो । स्तम्भ, प्यानल, पेडेस्टल, जलहरी, पादपीठ, जलद्रोणी गरी विभिन्न प्रकारका शिलालेख हुन्छन्,’ श्यामसुन्दर भन्छन्, ‘शिरको भागमा कुनै सजावट नभएको शिलालेखलाई शिलाफलक भनिन्छ । पेडेस्टल शिलालेखमा भने माथिल्लो भागमा मूर्ति तथा अन्य आकार हुन्छ । अनि पिँधमा अक्षर कुँदिएको हुन्छ । जलहरी शिलालेखको वरपर आकृति कोरिएको र वृत्त आकारमा फैलिएको हुन्छ ।’

चाँगुनारायण मन्दिरअघि भएको शिलालेख ‘स्तम्भलेख’ हो । शिलामा धेरै वा थोरै अक्षर, शब्द र वाक्य लेखिए वा अंकित भए मात्र त्यसलाई शिलालेख मानिन्छ ।

मालिगाउँमा भेटिएकाे शिलालेख

त्यस्तै, मन्दिर र देवतापिच्छे शिलालेखमा आकृति कोरिने उनी बताउँछन् । ‘विष्णु मन्दिरमा प्रायः शंख र चक्रका आकृति कोरिएको हुन्छ भने शिवको मन्दिरमा बसाहा र त्रिशूल,’ उनी भन्छन्, ‘देवीस्थानमा भने खड्गजस्ता चिह्न कोरिएको हुन्छ ।’ यस्ता आकृतिलाई पनि थप अध्ययनको आधार मानिने उनी बताउँछन् ।

मालीगाउँमा प्राप्त उक्त शिलालेखसहितको मूर्ति अहिले छाउनी संग्रहालयमा राखिएको छ । यो हालसम्मको सबैभन्दा पुरानो शिलालेख भएको दाबी उनको छ । ‘एक वाक्यमा लेखिएको यस जयवर्माको शिलालेखमा १०७ संवत् उल्लेख छ,’ उनी भन्छन्, ‘यही आधारमा यस शिलालेखलाई सबैभन्दा पुरानो मानिएको हो ।’

२) मानदेवका पालाको शिलालेख

०४४/४५ सालतिर पशुपति विकास कोषले पशुपति मन्दिरको यज्ञशाला भवन निर्माणका क्रममा एउटा शिलालेख भेट्यो । शिलालेख भेटिएको खबर विभागमार्फत श्यामसुन्दरलाई आयो । इतिहासकार जगदीशचन्द्र रेग्मीले यो शिलालेख धर्मदेवको पालाको हुनुपर्ने बताएका थिए ।

 

पशुपति मन्दिर परिसरमा भेटिएकाे शिलालेख

वरपर काटिएको उक्त शिलालेख जम्मा २५ लाइनको थियो । बीचको भागमा चाँगुनारायणको स्तम्भ लेखजस्तै मानदेवलाई वृषदेवको पालादेखि बयान गरिएको छ । मानदेवको विवरण खासै आएको छैन, वृषदेवको जिकिर भने गरिएको छ । छेउछाउमा काटिएका कारण पूर्ण अध्ययन र सटीक निष्कर्ष निकाल्न सकिएन । हाल उक्त मूर्ति पशुपति मन्दिर परिसरको प्रांगणमै छ ।

उक्त शिलालेखमा चाँगुनारायण मन्दिरको स्तम्भ शिलालेखभन्दा पाँच वर्षअघिको संवत् ३८१ उल्लेख थियो ।

यस शिलालेख भेटिनुअघिसम्म लिच्छविकालको सबैभन्दा पुरानो शिलालेख चाँगुनारायणस्थित स्तम्भलेख (संवत् ३८६) लाई नै मानिएको श्यामसुन्दर बताउँछन् । ‘छेउछाउ काटिएकाले अक्षर अस्पष्ट थियो, कतिपय जानकारी पूर्ण थिएन,’ उनी भन्छन्, ‘संयोगवश ३८१ र वैशाख प्रस्ट थिए । अध्ययनपछि शिलालेख मानदेवको पालाको पुष्टि भयो ।’

३) हालैको पाटनको शिलालेख र गोकर्णको शिलालेख

गोकर्णको बालुवा गाउँस्थित एक किसानको खेतमा २०४६ सालमा अर्को महत्वपूर्ण शिलालेख भेटिएको थियो । ५३६ संवत्को उक्त शिलालेख पनि उत्तिकै महत्त्वपूर्ण भएको राजवंशी बताउँछन् । उनका अनुसार, खेत खन्ने क्रममा यो शिलालेख भेटिएपछि विभागलाई खबर आएको थियो । शिलालेखको कुँदिएको भाग जमिनमुनि उल्टो अवस्थामा भएकाले शिलालेख सुरक्षित थियो ।

‘यो शिलालेख यस कारण पनि महत्त्वपूर्ण छ कि त्यसताका इतिहासकार एकै मुख लागेर लिच्छविकालमा दुई संवत् चलिरहेको भनिरहेका थिए,’ उनी भन्छन्, ‘५२६ सम्म शिवदेव अंशुवर्माले शिलालेख राखेको उनीहरूको भनाइ थियो । ५२७, ५२८ का शिलालेख भेटिएन । तर, ५२९ को शिलालेख भेटिँदा ५२९ लाई छोटकरी गरी २९ मात्र लेखियो । जुन २९, ३० संव्त भएर अघि बढ्यो । फेरि ५३५ र ५३६ मा आएर छोटकारी नगरी ५३५ र ५३६ लेख्न थालियो । ५२७ देखि अर्को क्रमको संवत् चलेको भए यसरी ५३५ र ५३६ को अंशुवर्माकै पालाको देखिनुनपर्ने तर देखिएपछि लिच्छविकालमा दुई थरी संवत्को चलन नभएको प्रस्ट हुन्छ ।’

गाेकर्ण बालुवागाउँमा भेटिएकाे शिलालेख

यस शिलालेखको एउटा अक्षर पनि नबिग्रिएको अवस्थामा रहेको श्यामसुन्दर बताउँछन् ।

उनका अनुसार, बालुवा गाउँमा भेटिएको संवत् ५३६ को शिलालेखमा अंशुवर्मालाई महासामन्त अंशुवर्मा भनी उल्लेख छ । ‘यसले लिच्छविकालमा शक संवत् र मानदेव संवत् चलेको व्याख्या औचित्यहीन ठहरिन आयो,’ श्यामसुन्दर भन्छन्, ‘यद्यपि, उक्त शिलालेखले लिच्छविकालमा शक संवत चल्नुभन्दा दुई वर्षअघि लिच्छवि (मानदेव) संवत् नै चलेको र जुन संवत् नेपाल संवत् चल्नुअगाडिसम्म चलेको स्पष्ट हुन्छ । यसलाई हालसालै भेटिएको शिलालेखले पनि सपोर्ट गर्छ ।’

४) ५१६ को शिलालेख हराएको 

पाटन मंगलबजारस्थित मंग हिटीमा ढुंगा छाप्ने क्रममा ६ फिट लामो शिलालेख भेटिएको थियो । हिलो लागेका कारण श्यामसुन्दरले त्यसलाई सुरुमै पढ्न वा फोटो खिच्न सकेनन् । ‘मैले त्यस शिलालेखलाई उप्काएर नजिकैको डिलमा राखिदिन भनेको थिएँ,’ उनी भन्छन्, ‘सरोकार निकायलाई समेत जानकारी गर्दागर्दै पनि शिलालेखको उद्धार हुन सकेन । त्यस शिलालेख सोही स्थानमा छोपिएछ । यो बडो दुर्भाग्यपूर्ण  कुरा हो ।’

५१६ को एउटा शिलालेख हराएको छ, त्यो त्यही शिलालेख हुन सक्ने उनको अनुमान छ । उनी भन्छन्, ‘एक पुस्तकमा मैले पढेसम्म ५१६ को एउटा शिलालेख ढलले छोपिएको उल्लेख छ ।’

अस्तव्यस्त शिलालेख

इतिहासको विभिन्न कालखण्डमा भूकम्प तथा अन्य विभिन्न कारणवश शिलालेख पुरिएका छन् । कहिले खेत खन्दा, कहिले ढल खन्दा त कहिले उत्खनन्का क्रममा यस्ता शिलालेख भेटिन्छन् । ‘प्रायः शिलालेख खुला तथा यस्तै स्थानमा भेटिने गर्छ,’ श्यामसुन्दर भन्छन्, ‘पाटनमा भेटिएको सबैभन्दा पुरानो मानदेवको ४११ को शिलालेख पनि स्वथ टोलमा ढल खन्दा भेटिएको हो । जलहरी आकारको उक्त शिलालेख हाल कोबहालको गेट छेउमा ठड्याएर राखिएको छ ।’

त्यस्तै, ०५६/५७ सालमा हखा भन्ने ठाउँमा घर बनाउन जग खन्दा ५१६ कै खण्डित (भाँचिएको तलतिरको भाग) शिलालेख भेटिएको थियो । त्यसलाई हाल पाटन संग्रहालयमा राखिएको छ ।

श्यामसुन्दरका अनुसार, पाटनको मंग हिटीमा एउटा शिलालेख छ । पानी जम्ने ठाउँमा ढल्काएर राखिएकाले पानी नजम्दा मात्र पढ्न सकिन्छ । यो शिलालेखमा कसैको ध्यान जान सकेको छैन ।

श्रीखण्डलाई खुर्पाको बिँड 

लिपिविद् श्यामसुन्दरका अनुसार, प्रायः खुला स्थान तथा मन्दिर परिसरमा कुँदिने यस्ता शिलालेख ऐतिहासिक दस्तावेज हुन सक्ने चेत धेरैपछि मात्र विकसित भएको हो । शिलालेखको संवर्धन पनि निकैपछि मात्र सुरु भएको उनको अनुमान छ ।

पाटन स्वठामा भेटिएकाे शिलालेख

‘पहिला शिलालेखलाई ऐतिहासिक महत्वका रूपमा गनिँदैनथ्यो,’ उनी भन्छन्, ‘वंशावलीमा लेखिएको कुरा मात्र इतिहासका रूपमा मानिन्थ्यो । राणाकालमा भारतका प्रसिद्ध इतिहासकार भगवानलाल इन्द्रजी नेपालमा आउँदा शिलालेख पनि महत्त्वपूर्ण हुने प्रचार गरे । त्यसपछि शिलालेखको महत्त्व उजागर हुन थालेको हो ।’

श्यामसुन्दरका अनुसार, पुरिएर रहेका यस्ता शिलालेख खेत, ढुंगेधारा मन्दिर गरी अनेक स्थानमा भेट्न सकिन्छ । मानिसमा चेत नहुँदा भेटिएका शिलालेखलाई धान, गहुँ चुट्ने लगायत काममा प्रयोग गरियो । ढुंगेधारामा भएका शिलालेख लुगा धुन प्रयोग भए, मन्दिर परिसरमा भएका शिलालेख चन्दन घोट्न । त्यसैले कुँदिएका अक्षर मेटिँदै गए । ‘शिलालेखलाई हामीकहाँ केवल ढुंगा ठानियो । चोकचोक, बहालबहालका शिलालेखको अवस्था हेर्ने हो भने गुच्चा ठोकेरै बिगारिसकेको पाइन्छ,’ श्यामसुन्दर भन्छन्, ‘चिन्नेलाई श्रीखण्ड नचिन्नेलाई खुर्पा बिँड भनेको यही होला सायद । हाम्रा शिलालेख श्रीखण्ड हुन् तर चेतना अभावका कारण खुर्पाको बिँडबराबर भइरहेका छन् ।’

सम्बन्धित पोस्ट
  • शंखरापुर वडा कप फुटसलको उपाधि हरहर महादेवलाई
  • “वाक फर पिस”शान्ति पदयात्री भिक्षु पन्याकर महास्थविरलाई नेपालमा भव्य स्वागत तथा सम्मान
  • विपद्का बेला ब्रिटिश गोर्खाको सहयोग प्रशंसनीय : मन्त्री विराजभक्त श्रेष्ठ
  • ३० वर्षपछि ‘मुनासः’ले फेरि आयोजना गर्‍यो ‘ख्यालः कासा’
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    लिपिविद् श्यामसुन्दर राजवंशीको नजरमा चार महत्वपूर्ण शिलालेख

    शंखरापुर वडा कप फुटसलको उपाधि हरहर महादेवलाई

    “वाक फर पिस”शान्ति पदयात्री भिक्षु पन्याकर महास्थविरलाई नेपालमा भव्य स्वागत तथा सम्मान

    विपद्का बेला ब्रिटिश गोर्खाको सहयोग प्रशंसनीय : मन्त्री विराजभक्त श्रेष्ठ

    ३० वर्षपछि ‘मुनासः’ले फेरि आयोजना गर्‍यो ‘ख्यालः कासा’

    भोटेकोसीले छोडेको प्रश्न : विदुर अब कहाँबाट उठ्नेछ?

    भोटेकोसी–त्रिशूली बाढीपछि विदुरको पुनर्निर्माणमा नयाँ ढाँचा आवश्यक : मेयर श्रेष्ठ

    दक्षिणी ध्रुवको बरफमा भेटियो ब्रह्माण्डको रहस्य, वैज्ञानिक फ्रान्सिस हाल्सनलाई नोबेल पुरस्कार

    भोटेकोसी–त्रिशूली बाढीपछि विदुरको पुनर्निर्माणमा नयाँ ढाँचा आवश्यक : मेयर श्रेष्ठ

    नेपालका बाढीपीडितका लागि करुणा र राहतसहित ‘Walk for Peace’ को टोली नेपाल आउँदै

    रास्वपा काठमाडौं जिल्ला समितिको पूर्ण बैठक, संगठन विभाग प्रमुखमा बस्नेत, कोषाध्यक्षमा रैला मनोनीत

    कांग्रेस महाधिवेशनमा प्रचण्ड, रवि र लिङ्देनका फरक–फरक सन्देश

    शंखरापुर–६ बाट पाँच महिनाभित्र ५०० जनालाई सीपमूलक तालिम, तालिमपछि रोजगारी र स्वरोजगारको लक्ष्य

    सुभाय् पोस्ट बिशेष

    लिपिविद् श्यामसुन्दर राजवंशीको नजरमा चार महत्वपूर्ण शिलालेख

    शंखरापुर वडा कप फुटसलको उपाधि हरहर महादेवलाई

    “वाक फर पिस”शान्ति पदयात्री भिक्षु पन्याकर महास्थविरलाई नेपालमा भव्य स्वागत तथा सम्मान

    विपद्का बेला ब्रिटिश गोर्खाको सहयोग प्रशंसनीय : मन्त्री विराजभक्त श्रेष्ठ

    ३० वर्षपछि ‘मुनासः’ले फेरि आयोजना गर्‍यो ‘ख्यालः कासा’

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑