काठमाडौं / कोरोना संक्रमणको टेस्टलाई लिएर अझै ढुक्क हुन सक्ने स्थिति छैन । आरडीटीमा पोजिटिभ देखिएका स्वाब टेस्टमा नेगेटिभ देखिएका छन् । त्यसैले रिजल्ट निर्क्यौल गर्न दुबै टेस्ट नै गर्नुपर्ने पो हो कि आशंका गर्न थालिएको छ । उता इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा वासुदेव पाण्डेले भने कुनै व्यक्तिमा कोरोनाको र्यापिड डायग्नोस्टिक टेस्ट (आरडीटी) पोजिटिभ आउँदैमा भयभीत हुनुनपर्ने बताएका छन् । यसबारे थप हामी तल पढ्नेछौं ।
सप्तरीमा २ हप्ता अघि भारतको दिल्लीस्थित निजामुद्दिनबाट आएर आफ्नै घरमा बसिरहेका ७ जनालाई मंगलबार खोजी गरी आरडीटी परिक्षणका लागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराज ल्याइयो
अस्पतालमा आरडीटी परिक्षण गरियो । २ जनाको रिपोर्ट पोजिटिभ आएपछि सातैजनाको स्वाब संकलन गरी थप परिक्षणका लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइयो। धरानमा भएको पीसीआर परिक्षणमा सबैको रिर्पोट नेगेटिभ आयो गजेन्द्रनारायण सिंह अस्पताल राजविराजका मेडिकल सुपरिटेन्डेन्ट डा. चुमनलाल दासले जानकारी दिए।
आरडिटी परिक्षणमा सप्तरीको तिलाठी कोईलाडीका एकजना र खडग नगरपालिकाका १ जनामा पोजिटिभ रिपोर्ट आएपछि उनीहरुको घर रहेको बस्ती बुधबार बिहानबाट सिल गरिएको थियो। यसैबीच मंगलबार आरडीटी परिक्षण गरिएका ७ जनासँगै दिल्लीको तवलिकी जमातबाट आएका अर्का एकजना र अन्य दुईजनाको बुधबार गजेन्द्रनारायण सिंह अस्पतालमा र्यापीड डायग्नोस्टिक टेस्ट गरियो , रिर्पोट नेगेटिभ आयो ।
र्यापिड डायग्नोष्टिक टेस्ट किटबाट गरिएको परीक्षण (आरडीटी) मा पोजिटिभ देखिएका गोरखा आरुघाटका एक युवाको स्वाब परीक्षण गर्दा नेगेटिभ आयो ।
आरुघाट ५ का ३१ वर्षीय युवकको बुधबार पोखरा स्थित जनस्वास्थ्य प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा कोरोना नभटिएको हो । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा.बिनोदबिन्दु शर्माले उनमा कोरोना संक्रमण नभेटिएको बताए । फागुन २३ मा बहराइनबाट आएकायुवाकाे मंगलबार आरुघाटमा गरिएको आरडिटीमा पोजिटिभ देखिएको थियो ।
र्यापिड डाइग्नाेस्टिक टेष्टमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएका काभ्रेका दुई जना युवाको पीसीआर परीक्षणमा रिपोर्ट नेगेटिभ देखिएको छ। भारतबाट गत चैत ९ गते नेपाल आएका काभ्रेको बेथानथोक गाउँपालिका–५ का २८ वर्षीय युवा र दुबईबाट आएका मण्डनदेउपुर नगरपालिका–३ का युवामा मंगलबार गरिएको र्यापिड टेष्टमा कोरोना पोजेटिभ देखिएपछि धुलिखेल अस्पतालमा भर्ना गरिएको थियो। तर धुलिखेल अस्पतालमा गरिएको पीसीआर परीक्षणमा दुबैजनाको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ। दुबै जना हाल धुलिखेल अस्पतालको आइसोलेसनमा रहेका छन्। दुबै जनाको स्वास्थ्य अवस्था सामान्य छ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा वासुदेव पाण्डेले कुनै व्यक्तिमा कोरोनाको र्यापिड डायग्नोस्टिक टेस्ट (आरडीटी) पोजिटिभ आउँदैमा भयभीत हुनुनपर्ने बताएका छन् । बुधबार नियमित मिडिया ब्रिफिङका क्रममा उनले दिएको जानकारी अनुसार २१ दिन वा सो भन्दा पछिको परीक्षणमा आरडीटी पोजिटिभ आएमा त्यसले रोग सार्न सक्ने शक्ति नहुने ताकि रोगबाट बच्ने क्षमता बढेको हुन्छ ।
यसैबीच अस्ति सोमबार ३ जनामा कोरोना पोजिटिभ देखिएपछि सील गरिएको सन सिटिमा आज ३०० जनाको र्यापिड टेस्ट गरिएकोमा सबैको नतिजा नेगेटिभ आएको छ ।
यसैबीच स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले देशका विभिन्न ठाउँमा आरडीटी विधिबाट परीक्षण गर्दा पोजिटिभ देखिएकाहरुको पुनः पीसीआर परीक्षण गरिरहेको बताए।
उनका अनुसार हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या १६ रहेको छ। हाल टेकु अस्पतालमा २ जना, पाटन अस्पतालमा २ जना, धौलागिरि अस्पतालमा २ जना, धनगढीको सेती अस्पतालमा ५ जना तथा वीरगञ्जको नारायणी अस्पतालमा ४ जना उपचाररत छन्। संक्रमित सबैको अवस्था सामान्य रहेको मन्त्रालयलले जनाएको छ।
सुभाय् मिडिया प्रा.लि.
ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८
ईमेल: [email protected]
कार्यालय फोन- ०१-२१५६४४
स्थायी लेखा नम्बर- ६१२२८०१००
सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५