धादिङ/ गत भदौ १० गते आएको भीषण बाढीपहिरोबाट प्रभावित धादिङको गल्छी तथा गजुरी क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) काठमाडौं जिल्ला समितिको आयोजनामा स्वयंसेवा, सरसफाइ तथा उद्धार कार्य भएको छ।
बाढीका कारण प्रभावित गल्छी अस्पताल, श्री बागेश्वरी माध्यमिक विद्यालय तथा जहरेखेत सब–स्टेसनलगायतका क्षेत्रमा काठमाडौं जिल्ला समितिको पहलमा व्यापक श्रमदान तथा सरसफाइ अभियान सञ्चालन गरिएको हो।
रसुवाबाट आएको बाढीले धादिङको गल्छी क्षेत्रमा रहेको गल्छी अस्पताल र नजिकैको श्री बागेश्वरी माध्यमिक विद्यालयमा ठूलो क्षति पुर्याएको थियो। बाढीपछि अस्पताल तथा विद्यालय परिसरमा ठूलो मात्रामा बालुवा, माटो र लेदो थुप्रिएपछि सेवा सञ्चालन तथा पठनपाठन प्रभावित बनेको थियो।
रास्वपा काठमाडौं जिल्ला सभापति राजा शाक्यको नेतृत्वमा काठमाडौं जिल्लाका विभिन्न नगर समितिबाट पुगेका स्वयंसेवकहरूले संयुक्त रूपमा श्रमदान गरेका थिए। अभियानका क्रममा गल्छी अस्पतालको ग्राउन्ड फ्लोर पूर्ण रूपमा सफा गरिएको तथा श्री बागेश्वरी माध्यमिक विद्यालयको केही भागमा समेत सरसफाइ कार्य सम्पन्न गरिएको जनाइएको छ।
अभियान काठमाडौं जिल्ला सभापति राजा शाक्य, रास्वपा Rapid Action Team (RAT) तथा धादिङ जिल्ला सभापति राजन अर्यालबीच आवश्यक समन्वय र सहकार्यमा सञ्चालन गरिएको थियो।
स्वयंसेवा अभियानमा काठमाडौं महानगरपालिका, शंखरापुर नगरपालिका, दक्षिणकाली नगरपालिका, कीर्तिपुर नगरपालिका, कागेश्वरी मनोहरा नगरपालिका, गोकर्णेश्वर नगरपालिका तथा तारकेश्वर नगरपालिकालगायतका नगर समितिबाट करिब २०० देखि २५० जना स्वयंसेवकको सहभागिता रहेको थियो।
सरसफाइ तथा श्रमदान अभियानमा लायन्स क्लबका सदस्यहरू तथा रास्वपा RAT का स्वयंसेवकहरूको समेत उल्लेखनीय र सक्रिय सहभागिता रहेको थियो।
काठमाडौं जिल्ला समितिले विपद्को समयमा आफ्नो समय, श्रम र सहयोग प्रदान गर्दै मानवीय सेवामा सहभागी सम्पूर्ण स्वयंसेवक तथा रास्वपा समर्थकप्रति हार्दिक कृतज्ञता व्यक्त गरेको छ।
यद्यपि, गल्छी तथा आसपासका प्रभावित क्षेत्रमा अझै पनि सरसफाइ, व्यवस्थापन तथा पुनःस्थापनासम्बन्धी धेरै काम बाँकी रहेको बताइएको छ। समितिले सहयोग गर्न सक्ने तथा श्रमदानमा सहभागी हुन इच्छुक सम्पूर्ण व्यक्ति तथा स्वयंसेवकलाई प्रभावित क्षेत्रमा पुगेर अभियानमा सहभागी हुन आग्रह गरेको छ।

काठमाडौं जिल्ला समितिका सदस्य केदार प्रसाद रैलाले विपद्को घडीमा सबैको सामूहिक प्रयास, एकता र सहकार्य आवश्यक रहेको उल्लेख गर्दै आगामी दिनमा पनि प्रभावित नागरिकको सहयोगका लागि यस्तै मानवीय अभियानलाई निरन्तरता दिइने विश्वास व्यक्त गरेका छन्।
“आउनुहोस्, विपद्को समयमा एकअर्काको साथ दिऔं। सामूहिक प्रयासबाट प्रभावित क्षेत्रलाई पुनः व्यवस्थित बनाउन सहयोग गरौं,” अभियानमा सहभागी स्वयंसेवकहरूले अपिल गरेका छन्।




सुभाय् मिडिया प्रा.लि.
ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८
ईमेल: [email protected]
कार्यालय फोन- ०१-२१५६४४
स्थायी लेखा नम्बर- ६१२२८०१००
सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५