काठमाडौँ, साउन २४ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) शंखरापुर नगर समितिको सम्पर्क कार्यालय उद्घाटन तथा बृहत पार्टी प्रवेश एवम् सदस्यता विस्तार कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ। मिति २०८३ साल साउन २४ गते शंखरापुरमा आयोजित विशेष समारोहका बीच कार्यालयको औपचारिक उद्घाटन गरिनुका साथै विभिन्न दल तथा सामाजिक क्षेत्रमा क्रियाशील करिब ३०० जना नेता तथा कार्यकर्ताहरू रास्वपामा प्रवेश गरेका छन्।
कार्यक्रममा काठमाडौँ क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य माननीय सुनिल केसी प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो। त्यसैगरी विशेष अतिथि तथा अतिथिका रूपमा काठमाडौँ जिल्ला सभापति राजा शाक्य, काठमाडौँ महानगरपालिका वडा नं. १६ का निर्वाचित वडाध्यक्ष एवम् प्रदेश सदस्य रोजिना श्रेष्ठ, कामनपा नगर समिति सभापति शशी पन्त (Sashi Pant), क्षेत्रीय सभापतिहरू, विभिन्न पालिकाका सभापतिहरू एवम् प्रदेशदेखि केन्द्रसम्मका नेता-कार्यकर्ताहरूको बाक्लो उपस्थिति रहेको थियो।
जिल्ला सभापति राजा शाक्यको मन्तव्य
कार्यक्रमलाई सम्बोधन गर्दै रास्वपा काठमाडौँ जिल्ला सभापति राजा शाक्यले नवप्रवेशीहरूलाई स्वागत गर्दै पार्टीको संगठन सुदृढीकरण र जनसेवामा समर्पित भएर लाग्न आह्वान गर्नुभयो। उहाँले भन्नुभयो, “राष्ट्रिय स्वतन्त्र पार्टी केवल एउटा राजनीतिक दल मात्र नभएर देश परिवर्तन र सुशासनको अभियान हो। शंखरापुरमा भएको यो व्यापक जनसहभागिता र आकर्षणले नागरिकहरू परिवर्तनको पक्षमा स्पष्ट रहेको देखाउँछ। नयाँ जोडिनुभएका साथीहरूले पार्टीको विधि, विधान र मूल्य-मान्यताभित्र रहेर नगर तथा देश विकासमा इमानदार भई हातमा हात मिलाएर अघि बढ्नुहुनेछ भन्ने विश्वास लिएको छु।”
सयौँको संख्यामा नयाँ प्रवेशीहरू
उक्त कार्यक्रममा शंखरापुर वडा नं. ४ बाट पूर्व नेपाली काङ्ग्रेस इकाइ सचिव, युवा तथा ऊर्जाशील नेता नवराज तामाङको नेतृत्वमा विभिन्न नागरिकहरू तथा शंखरापुर वडा नं. २ बाट सामाजिक कार्यहरूमा सक्रिय युवा नेता आयुष लामाको नेतृत्वमा सयौँको संख्यामा स्थानीय युवा तथा नागरिकहरू औपचारिक रूपमा राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गर्नुभएको छ।
नयाँ प्रवेशी साथीहरूलाई स्वागत गर्दै पार्टीका प्रतिनिधिहरूले रास्वपाको विधि, विधान र सिद्धान्तलाई अंगीकार गर्दै नगर तथा देश विकासमा हातेमालो गरेर अघि बढ्न प्रोत्साहन गर्नुभएको छ। साथै, सरकार र पार्टीका विभिन्न नीति तथा कार्यक्रमहरूबारे आम जनतालाई निरन्तर सुसूचित गराउनसमेत अपिल गरिएको छ।
उक्त भव्य कार्यक्रम शंखरापुर नगर सभापति हरि चन्द्र थापाको सभापतित्वमा तथा नगर समिति सचिव रुपक पोखरेलको उद्घोषकमा अनुशासित र हर्षोल्लासका साथ सम्पन्न भएको थियो।
कार्यक्रमलाई सफल बनाउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुहुने शंखरापुर नगर समिति तथा सम्पूर्ण वडा समितिका सभापति एवम् सदस्यहरूलाई विशेष धन्यवाद तथा बधाई ज्ञापन गरिएको छ।




सुभाय् मिडिया प्रा.लि.
ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८
ईमेल: [email protected]
कार्यालय फोन- ०१-२१५६४४
स्थायी लेखा नम्बर- ६१२२८०१००
सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५