काठमाडौँ/ राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) शंखरापुर नगर कार्यसमितिले पार्टीलाई आगामी दिनमा अझ सशक्त बनाउन र सामूहिक नेतृत्वलाई व्यावहारिक रूपमै स्थापित गर्न नयाँ रणनीतिक निर्णय गरेको छ। साउन ६ गते बुधबार बसेको नगर कार्यसमितिको नियमित बैठकले जनप्रतिनिधिहरूलाई पार्टीको सांगठनिक जिम्मेवारी सुम्पिने निर्णय गरेको हो।
काठमाडौँ उपत्यकाभित्र राप्रपाले नगर प्रमुख (मेयर) जितेको एकमात्र स्थानीय तह शंखरापुर हो, जहाँ पार्टीको सङ्गठनात्मक पकड अन्य क्षेत्रको तुलनामा निकै बलियो मानिन्छ। गत स्थानीय निर्वाचनमा मेयरसहित तीनवटा वडामा जित हासिल गरेको राप्रपाले तिनै निर्वाचित जनप्रतिनिधिहरूलाई नगर कार्यसमितिको उपाध्यक्ष र प्रमुख विभागहरूको नेतृत्व सुम्पेको छ।
बैठकको निर्णयअनुसार:
वडा नं. ३ का अध्यक्ष सूर्यबहादुर तामाङ: नगर उपाध्यक्ष तथा प्रचार-प्रसार विभाग प्रमुख
वडा नं. ६ का अध्यक्ष राधाकृष्ण श्रेष्ठ: नगर उपाध्यक्ष तथा संगठन विभाग प्रमुख
वडा नं. ७ का अध्यक्ष विष्णुप्रसाद श्रेष्ठ: नगर उपाध्यक्ष तथा आर्थिक व्यवस्थापन विभाग प्रमुख
राप्रपाबाट आगामी नगर प्रमुख (मेयर) को उम्मेदवारका रूपमा हेरिएका, दुई पटक वडा अध्यक्षमा निर्वाचित भई दुवै कार्यकाल सफलतापूर्वक नगर प्रवक्ताको जिम्मेवारी सम्हालिसकेका राधाकृष्ण श्रेष्ठले राजनीतिलाई समाजसेवाको माध्यमका रूपमा व्याख्या गर्नुभएको छ।
नयाँ जिम्मेवारीपछि आफ्नो धारणा राख्दै नेता श्रेष्ठले भन्नुभयो—”राजनीति एक किसिमको जनसेवा हो। दुई कार्यकाल हामीले यसरी नै आफ्ना वडावासीको निरन्तर सेवा गरेर बिताएका छौँ। यसैगरी नगरपालिकालाई अगाडि बढाउन पार्टीले पनि सधैँ सकारात्मक सहयोग गर्दै आएको छ। अब राप्रपा नयाँ आर्थिक वृद्धिका योजनाहरूसहित अघि बढ्नेछ। नयाँ आर्थिक सुधार, गुणस्तरीय स्वास्थ्य, व्यावहारिक शिक्षा र सम्पदा संरक्षणका स्पष्ट योजनाहरू बोकेर हामी जनतामाझ जानेछौँ र पुन: विजय हासिल गर्नेछौँ।”
राप्रपा शंखरापुर नगर कार्यसमितिका अध्यक्ष राजेन्द्र कुमार श्रेष्ठले जनप्रतिनिधिहरूको लामो अनुभव, लोकप्रियता र सांगठनिक पकडले आगामी दिनमा पार्टीलाई अझ उचाइमा पुर्याउने बताउनुभयो। नगरमा राप्रपाको जग बलियो रहेकाले निर्वाचित वडा अध्यक्षहरूलाई कार्यकारी भूमिका दिँदा आगामी स्थानीय निर्वाचनमा पार्टीले ऐतिहासिक सफलता हासिल गर्नेमा आफूहरू पूर्ण विश्वस्त रहेको उहाँको भनाइ थियो।




सुभाय् मिडिया प्रा.लि.
ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८
ईमेल: [email protected]
कार्यालय फोन- ०१-२१५६४४
स्थायी लेखा नम्बर- ६१२२८०१००
सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५