
काठमाडौँ, जेठ १३ /राष्ट्रिय मानव अधिकार आयोगले पूर्वप्रधानमन्त्री सुशीला कार्कीदेखि पूर्वगृहमन्त्री सुधन गुरुङसम्मलाई भदौ २३ र २४ गते भएको आन्दोलनका क्रममा भएको मानवीय र भौतिक क्षतिको विषयमा थप अनुसन्धान गर्न सिफारिस गरेको छ। आयोगले यस घटनामा दर्जनौँ सांसद, कलाकार, सामाजिक अभियन्ता, युट्युबर तथा कन्टेन्ट क्रिएटरहरूको समेत संलग्नता रहे-नरहेकोबारे सूक्ष्म अनुसन्धान गरी दोषी देखिए कारबाही गर्न सरकारलाई निर्देशन दिएको हो।
भदौ २३ र २४ गतेको आन्दोलनमा भएको मानव अधिकार उल्लंघनको घटनाबारे छानबिन गर्न आयोगकी सदस्य डा. लिली थापाको संयोजकत्वमा एक विशेष समिति गठन गरिएको थियो। सोही समितिले बुझाएको प्रतिवेदन र सिफारिसका आधारमा आयोगले बुधबार आफ्नो निर्णय प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पठाइसकेको छ।
आयोगको निर्णयमा भनिएको छ: “उल्लिखित व्यक्तिहरूको अभिव्यक्तिबाट प्रदर्शनकारीहरू आक्रोशित र उत्तेजित भई कुनै असर परे-नपरेको, सार्वजनिक शान्ति र सुव्यवस्थामा खलल पुग्ने काम वा सोको दुरुत्साहन भए-नभएको सम्बन्धमा सूक्ष्म अनुसन्धान गरी, सम्बन्धित व्यक्ति तथा आम नागरिकलाई सुसूचित गराई, उनीहरूको स्वच्छ सुनुवाइको हक अधिकार सुनिश्चित गर्दै दोषी देखिए कारबाही गर्न सिफारिस गरिएको छ।”
शान्तिपूर्ण प्रदर्शन गर्ने भनी अनुमति लिएर पनि प्रदर्शन हिंसात्मक बन्दै जाँदा घुसपैठ रोक्न र हिंसा रोक्न आवश्यक पहल नगरेको आयोगको ठहर छ। यसै आधारमा आन्दोलनका आयोजक तथा नेतृत्वकर्ताहरू: पुरुषोत्तम यादव,सबल गौतम,अंकित मल्ल,खेमराज साउद,सुधन गुरुङ (अध्यक्ष, ‘हामी नेपाल’ संस्था तथा पूर्वगृहमन्त्री) माथि थप अनुसन्धान गर्न आयोगले विशेष सिफारिस गरेको छ।
आयोगका अनुसार आन्दोलन पूर्व, आन्दोलनका क्रममा र आन्दोलन पश्चात् ‘जेनजी’ (Gen Z) प्रदर्शनको सम्बन्धमा उनीहरूले दिएका अभिव्यक्ति, सामाजिक सञ्जालमा पोस्ट गरेका सामग्री, प्रकाशित समाचार र राष्ट्रिय अनुसन्धान विभागले संकलन गरेको प्रतिवेदनका आधारमा यी व्यक्तिहरूको पहिचान गरिएको हो। उनीहरूको दुरुत्साहनका कारण आन्दोलन हिंसात्मक बनेको हो वा होइन भन्ने विषयमा केन्द्रित रहेर अनुसन्धान हुनेछ।
आयोगले अनुसन्धानका लागि सिफारिस गरेका व्यक्तिहरूमा राजनीतिक दलका नेता, सांसद, पूर्वप्रशासक, कलाकार तथा डिजिटल प्लेटफर्मका चर्चित अनुहारहरू रहेका छन्:
| क्षेत्र | अनुसन्धानका लागि सिफारिस गरिएका व्यक्तिहरू |
| पूर्वविशिष्ट पदाधिकारी र अभियान्ता | सुशीला कार्की (पूर्वप्रधानमन्त्री), सुधन गुरुङ (पूर्वगृहमन्त्री), भीम उपाध्याय, ओमप्रकाश अर्याल, गौरी बहादुर कार्की, पशुपति खड्का, दुर्गा प्रसाई |
| सांसद तथा राजनीतिक नेताहरू | डा. तोषिमा कार्की, मनिष झा, हरि ढकाल, गणेश कार्की |
| कलाकार तथा चलचित्रकर्मी | निश्चल बस्नेत, अमनप्रताप अधिकारी |
| युट्युबर तथा सामाजिक सञ्जाल अभियन्ता | सिसन बानियाँ, भाग्य न्यौपाने, आशिका तामाङ्ग, केपी खनाल, ज्वाला संग्रौला, हेमराज थापा, भिक्टर पौडेल, जेरी ताम्राकार |
| अन्य अभियान्ता तथा समर्थकहरू | हिमानी राज्य लक्ष्मी सिंह, सुलभ खरेल, बब्लु गुप्ता, रक्षा बम, कृष्ण कार्की, राजिव खत्री, शोम शर्मा, दिपक बोहरा, विमल पन्त, विवेक थपलिया, असिममान बस्नेत, टंक दाहाल, उमेश बोहरा, शिव यादव, विनोद देउवा, सरु सुनुवार, रवि किरण हमाल, उर्जा बराल, हेमसागर विद्रोही, बुद्ध छिरिङ्ग, सन्तोष राजावादी, अमित खनाल, दीपक देवकोटा, गौरव बराल, निशान मैनाली लगायत। |
मानव अधिकार आयोगको यो कदमपछि सामाजिक सञ्जाल र सार्वजनिक प्रदर्शनहरूमा दिइने अभिव्यक्तिको कानुनी दायित्व र सीमाबारे नयाँ बहस सुरु हुने देखिएको छ।




सुभाय् मिडिया प्रा.लि.
ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८
ईमेल: [email protected]
कार्यालय फोन- ०१-२१५६४४
स्थायी लेखा नम्बर- ६१२२८०१००
सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५