काठमाडौं / हलिं नेवा:गुठी शंखरापुर नगर कमिटीको आयोजना र शंखरापुर नगरपालिका वडा नम्बर ६ काे सहयाेगमा आयाेजना गरिएकाे रञ्जना लिपि र धिमेबाजा प्रशिक्षण कार्यक्रमका प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र प्रदान गरिएकाे छ ।
सोमबार साँखु स्थित भक्तिव्याम्बो कटेजमा गरिएको एक कार्यक्रममा रञ्जना लिपिको तालिम लिने २० जना र धिमेबाजा प्रशिक्षण लिने २५ जनालाई प्रमाणपत्र वितरण गरिएको हो। सो अवसरमा कार्यक्रमका प्रमुख अतिथि नगर पालिकाका प्रवक्ता राधाकृष्ण श्रेष्ठ र विशेष अतिथि हली नेवा गुठीका केन्द्रीय अध्यक्ष विनोद महर्जन लगायतले प्रमाणपत्र वितरण गरेका हुन । शंखरापुर नगर पालिका वडा नम्बर ६का वडाअध्यक्ष एवं प्रवक्ता राधाकृष्ण श्रेष्ठले प्रशिक्षार्थीहरूलाई धिमे बाजा हस्तान्तरण पनि गरेका थिए ।
कार्यक्रममा बोल्दै नगर प्रवक्ता श्रेष्ठले शङ्खरापुर नगरपालिका वडा नम्बर ६ र ७ को कला संस्कृति, नेवा: सभ्यताको संरक्षण गर्न नगरपालिकाले विभिन्न कार्यक्रमहरु गर्दै आएको बताए। उनले आगामी दिनमा पनि यस्ता संस्कृति जाेगाउँने कार्यक्रमलाई सहयाेग गर्ने प्रतिबद्धता व्यक्त गरे।
विशेष अतिथि हली नेवाः गुठीका केन्द्रीय अध्यक्ष विनोद महर्जनले नेवा: सभ्यता संस्कृति जोगाउन धिमेबाजा र रञ्जना लिपिलाई जोगाउनका लागि यस किसिमका तालिम महत्वपूर्ण हुने बताए ।
शंखरापुर नगर पालिकाको सहकार्यमा गरिएको सो तालिम कार्यक्रम प्रभावकारी रहेको बताउँदै उनले कार्यको प्रशंसा गरे ।
कार्यक्रमका अतिथि संस्कृतिविद प्रकाशमान सक्वले यस किसिमको कार्यक्रमबाट नेवा: संस्कृति सभ्यता संरक्षणका लागि महत्त्वपूर्ण हुने बताउँदै आगामी दिनमा पनि यस खालका कार्यक्रमलाई निरन्तरता दिन आग्रह गरे ।
भाषा संस्कृतिको संरक्षण संवर्द्धनका निम्ति शंखरापुर नगर पालिकाले गरेको यस किसिमको सहयोगी भूमिका महत्त्वका साथ हेरिएको छ ।
सुभाय् मिडिया प्रा.लि.
ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८
ईमेल: [email protected]
कार्यालय फोन- ०१-२१५६४४
स्थायी लेखा नम्बर- ६१२२८०१००
सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५