काठमाडौं / पाटनमा भेटिएको शिलालेखमा लेखिएका शब्दहरुको अध्ययनपछि विज्ञ समूहबाट यसको भावार्थ प्रकाशित गरेको छ । शिलालेखको भाषान्तर भावार्थ यस्तो छ-
‘कल्याण होस् । कैलासकुट भवनबाट आफ्नो कर्ममा विश्वास गरी अलिकति पनि विचलित नभइ मेहनत गर्ने योब्रङ्ग्राम, लवणग्राम त्योभन्दा माथिका सोम्पलिङ्ग्रामका निवासी जनता र त्यहाँका प्रधानहरूलाई कुशलमंगल सोधेर आज्ञा गर्नुभएको छ । श्री अंशुवर्माले राजा श्री वृषदेवले बनाएको धातु चैत्यरथ स्थापित रहेकोलाई नयाँ मन्दिर बनाइदियो । यसको दैनिक पूजाको लागि भगवद्वाशुदेव गोष्ठीलाई नै जिम्मा दिइयो । यसमा कुनै किसिमको विचलन नआओस् भनी गोष्ठीलाई चित्त बुझ्ने गरी खर्च उपलब्ध गराउन योब्रङ्ग्राम, लवणग्राम तथा सौपलिङ्ग्राम पाञ्चालिका समेत तीनै पाञ्चालिकाहरूलाई अधिकार सुम्पियो । यो कुरा तिमीहरूलाई थाहा होस् । तसर्थ यो कुरा थाहा पाएर हाम्रो तरफबाट जीविका चलाउनेहरूले र अरुहरूले पनि कसैले यो धर्मको कामलाई अन्यथा नगर्नू । जसले यो आज्ञालाई नटेरेर अन्यथा गर्ला त्यसलाई हामी सहने छैनौं । पछि हुने राजाहरूले पनि नियम कानूनलाई ठूलो सम्झेर धर्मको कामको पालना आदरपूर्वक गर्नुपर्छ । संवत् ५३६ ज्येष्ठ शुल्क पूर्णिमा । यस वातका दूतक कुमारामात्य चन्द्रजीव छन् ।’
ललितपुरको मगं हितिमाथि रहेको प्राचिन मणिचैत्यसमेत प्राचिन बौद्ध विहारको अभिन्न अङ्ग भएको राजवंशीको भनाइ छ । वृषदेव बुद्ध धर्ममा धेरै आस्था राख्ने राजा भएको उहाँको भनाइ छ । केहि दिन अगाडि पाटन दरबार क्षेत्रको भीमसेन मन्दिर अगाडि ढल खन्दै गर्दा उक्त शिलालेख भेटिएको थियो ।
सुभाय् मिडिया प्रा.लि.
ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८
ईमेल: [email protected]
कार्यालय फोन- ०१-२१५६४४
स्थायी लेखा नम्बर- ६१२२८०१००
सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५