काठमाडौं । काठमाडौं उपत्यकाको ऐतिहासिक तथा सांस्कृतिक पर्व येँया पुन्ही (इन्द्रजात्रा) लाई भव्य र व्यवस्थित रूपमा सम्पन्न गर्न काठमाडौं महानगरपालिकाले तयारीलाई तीव्र बनाएको छ। महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोल को अध्यक्षतामा सम्पन्न तयारी बैठकले यस वर्षको इन्द्रजात्रालाई थप व्यवस्थित, सुरक्षित र सांस्कृतिक रूपमा समृद्ध बनाउने निर्णय गरेको छ।
महानगरपालिका, गुठी संस्थान, हनुमानढोका हेरचाह अड्डा, हनुमानढोका दरबार क्षेत्र संरक्षण कार्यक्रम, रणभैरव गण, महानगर स्काउट, शार्दूलजंग गुल्म, उपत्यका ट्राफिक प्रहरी कार्यालय, जिल्ला प्रहरी परिसर काठमाडौं, सशस्त्र प्रहरी बल नेपाल नं. १८ गण, इन्द्रजात्रा व्यवस्थापन समिति, स्थानीय गुठी तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको सहभागितामा सम्पन्न बैठकमा पर्व व्यवस्थापनका विविध पक्षबारे विस्तृत छलफल भएको थियो।
बैठकमा यस वर्षको इन्द्रजात्राको विशेष आकर्षणका रूपमा झण्डै २५ वर्षदेखि बन्द रहेको ‘मुआली बाजा’ पुनः बजाउने तयारी भइरहेको जानकारी दिइयो। स्थानीय समुदाय र सम्बन्धित गुठीहरूको सक्रियतामा पुनर्जीवित हुन लागेको यो परम्परागत बाजा यस वर्षको येँयालाई थप ऐतिहासिक र सांस्कृतिक महत्त्व दिने अपेक्षा गरिएको छ।
इन्द्रजात्राको मुख्य अनुष्ठानअन्तर्गत भदौ २५ गते नालाबाट कटान गरिएको यँसि (लिंगो) हाल भोटाहिटी क्षेत्रमा राखिएको छ। उक्त यँसिलाई असोज ३ गते विशेष बाजागाजा र सांस्कृतिक र्यालीसहित नगर प्रवेश गराइने कार्यक्रम तय भएको छ। त्यसपछि हनुमानढोका दरबार क्षेत्रमा यँसि ठड्याइएपछि औपचारिक रूपमा येँया पुन्ही (इन्द्रजात्रा) पर्व आरम्भ हुनेछ।
कार्यक्रममा बोल्दै कार्यवाहक प्रमुख सुनिता डंगोल ले इन्द्रजात्रा काठमाडौंको मात्र नभई सम्पूर्ण नेपालको सांस्कृतिक पहिचान भएकाले यसको संरक्षण, संवर्द्धन र व्यवस्थापनमा सबै सरोकारवालाको साझा भूमिका आवश्यक रहेको बताउनुभयो। उहाँले पर्वको मौलिकता जोगाउँदै आधुनिक व्यवस्थापनलाई समेत प्राथमिकता दिइने जानकारी दिनुभयो।
उक्त अवसरमा कार्यवाहक प्रमुख डंगोलले इन्द्रजात्रा व्यवस्थापन समितिका अध्यक्ष गौत्तम शाक्यलाई येँया २०८२ मा भएको खर्च वापत २८ लाख ७१ हजार रुपैयाँको चेक हस्तान्तरण गर्नुभयो। महानगरपालिकाले हरेक वर्ष इन्द्रजात्रा व्यवस्थापनका लागि आवश्यक आर्थिक तथा प्राविधिक सहयोग गर्दै आएको छ।
काठमाडौंको सबैभन्दा पुरानो र प्रसिद्ध पर्वमध्ये एक मानिने येँया पुन्ही (इन्द्रजात्रा) मा जीवित देवी कुमारीको रथयात्रा, महाकाली–महालक्ष्मी नाच, लाखे नाच, पुलुकिसि, दागिँ, विभिन्न देवगणका नाच तथा परम्परागत बाजागाजाले राजधानीलाई उत्सवमय बनाउने गर्दछ। यस वर्ष मुआली बाजाको पुनरागमनले पर्वको सांस्कृतिक गरिमा झन् बढाउने विश्वास गरिएको छ।
“येँया केवल जात्रा होइन, काठमाडौंको जीवित सभ्यता र सांस्कृतिक स्मृतिको उत्सव हो।”





सुभाय् मिडिया प्रा.लि.
ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८
ईमेल: [email protected]
कार्यालय फोन- ०१-२१५६४४
स्थायी लेखा नम्बर- ६१२२८०१००
सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५