त्रिशुली (नुवाकोट)/ अकल्पनीय बाढीले तहसनहस बनाएको ऐतिहासिक तथा सांस्कृतिक सहर त्रिशुली बजारमा राहत तथा उद्धार कार्यका क्रममा एउटा मनै छुने दृश्य देखिएको छ। बाढीले क्षति पुर्याएका घरहरूमा उद्धारकर्मी तथा स्थानीय युवाहरू निरन्तर खोज र पछाडको काममा जुटिरहेका बेला एउटा क्षतिग्रस्त घरको भग्नावशेषभित्र परम्परागत ‘लाखय् को ख्वाःपाः’ (लाखेको मुखौटा) सुरक्षित अवस्थामा भेटिएको छ।
त्रिशुली बजार नेवार समुदायको बसोबास रहेको एउटा पुरानो र ऐतिहासिक व्यापारिक केन्द्र हो, जहाँ नेवाः संस्कृति, जात्रा र परम्परा जीवन्त रूपमा कायम रहँदै आएको छ। बाढीले सहरलाई ठूलो क्षति पुर्याए पनि स्थानीय युवा र उद्धारकर्मीहरूको संयुक्त प्रयासमा आफ्ना पुर्खादेखि चली आएको सांस्कृतिक धरोहर (ख्वाःपाः) भेटिएपछि उद्धारमा खटिएका संस्कृतिप्रेमी युवाहरूको अनुहारमा खुसी र मुस्कान फर्किएको छ।
उद्धारका क्रममा माटो र भग्नावशेषले पुरिएको अवस्थामा भेटिएका यी लाखेका ख्वाःपाःहरूलाई युवाहरूले अत्यन्त श्रद्धाका साथ सफा गरी सुरक्षित स्थानमा राखेका छन्। प्राकृतिक विपत्तिको यस कठिन घडीमा पनि भौतिक क्षतिबीच आफ्ना सांस्कृतिक प्रतीक र पहिचान सुरक्षित भेटिनुले स्थानीय समुदायमा नयाँ आशा र उत्साह जगाएको छ।
Photo : Mahendra Shrestha




सुभाय् मिडिया प्रा.लि.
ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८
ईमेल: [email protected]
कार्यालय फोन- ०१-२१५६४४
स्थायी लेखा नम्बर- ६१२२८०१००
सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५