त्रिशूली, बेत्रावती, देवीघाट र सुगतपुरको पीडाः माटोमुनि पुरिएको इतिहास, आँसुले भिजेको सभ्यता
— महर्जन रत्न
प्रलंयकारी बाढीका कारण भोटेकोशी र त्रिशूली नदीले उग्र रूप लिएपछि बिनाश भएको रसुवा र नुवाकोटका बस्तीहरूमा पुग्दा मेरो मन भारी भयो । समाचारका लागि क्यामेरा बोकेर गएको थिएँ, तर फर्कँदा क्यामेरामा केवल दृश्यहरू थिएनन्, इतिहासको विलाप, सभ्यताको करुण कथा र हजारौं मानिसहरूको पीडा कैद भएर फर्किएको जस्तो लाग्यो ।
त्रिशूली बजारको माथिल्लो डाँडा(जहाँ बसेर त्रिशुलीको पुल बगाएको भाइरm भिडियो खिचिएको थियो)बाट तल हेर्दा एकपटक विश्वास गर्नै गाह्रो भयो । जहाँ केही दिनअघि मानिसहरूको चहलपहल थियो, पसलहरू खुलिरहेका थिए, यात्रुहरू चिया पिउँदै गफ गर्दै थिए ,मन्दिरमा दाफा भजन गाउँदै थिए, बजार गुल्जार थियो ,त्यही बजार अहिले नदीले बगाएको माटो र ढुंगाको थुप्रोमा परिणत भएको छ । कतै घरको छानो मात्र देखिन्छ , कतै पर्खालको टुक्रा,केही घरहरु बचेका देखिन्छन् तर संग्ला छैनन् , पुलको नामोनिशाना बाँकी छैन । सबै इतिहास बनेको छ । पुरिएकोे छ बजार हिलो माटोले । एक अकल्पनीय दृश्य जुन हाम्रो मानसपटलमा आउँदामात्र पनि सपना हो कि विपना हो ठम्याउन गार्हो छ ।
यो केवल एउटा बजारको विनाश मात्र हैन ।
यो नेपालकै एउटा ऐतिहासिक बजारकोे अस्तित्वको गुमेको पीडा पनि बनेको छ । ।

उद्धारका क्रममा त्रिशुली बजारमा भेटिएका लाखेका ख्वाःपाः
माटोमुनि पुरिएको त्रिशूली पुरानो बजार
त्रिशूली हालको बजार केवल व्यापारिक केन्द्र मात्र हैन । यो नेपालका पुराना बजारहरूमध्ये एक हो। काठमाडौं, रसुवा, केरुङ र तिब्बतलाई जोड्ने व्यापारिक मार्गको महत्वपूर्ण बिन्दुका रूपमा यसको शताब्दीयौं पुरानो इतिहास छ ।
विशेष गरी नेवाः समुदायले विकास गरेको बजार संस्कृतिको एक जीवन्त उदाहरण पनि हो त्रिशूली। यहाँका गल्लीहरू, पुराना घरहरू, देवस्थलहरू, जात्रा–पर्व र सामाजिक संरचनाले नेपालकै मौलिक शहरी सभ्यताको कथा बोकेका थियो ।
आज ती गल्लीहरू माटोकोको गर्भमा हराएका छन्।
धेरै पुराना घरहरू, पसलहरू, परम्परागत संरचनाहरू र स्मृतिहरू बगाएका छन्, माटोमुनि पुरिएका छन्। धेरैको जीवन समेत समाप्त गरिदिएको छ निर्दयी प्रलयले।
त्रिशूली बजारलाई हेर्दा लाग्छ, नदीले केवल इँटा र ढुंगाको घरमात्र बगाएको छैन, उसले पुस्तौँपुस्ताकोे इतिहास पनि बगाएर लगेको छ । एउटा सम्झना छोडेर ।
बाढीको अघिल्लो दिनसम्म बजारमा गुञ्जिरहेको थियो दाफा भजन ।
यो निकै पीडादायी कुरा हो, बाढी आउनुभन्दा अघिल्लो दिनसम्म पनि जीवन सामान्य नै थियो यहाँ ।
त्रिशूलीस्थित करुणामय मन्दिर अगाडि नेवाः समुदायका ज्येष्ठ नागरिक र युवाहरू गुँला पर्वको अवसरमा समूहमा परम्परागत दाफा भजन गाइरहेका थिए ।
खिं बाजाको तालसँगै करुणामयको स्तुति गुञ्जिरहेको थियो । श्रद्धा, भक्ति र सामुदायको एकताको त्यो दृश्य आज पनि आँखामा ताजै छ । कसैले कल्पना गरेको थिएन कि भोलिपल्ट नै प्रकृतिले यस्तो ताण्डव मच्चाउनेछ भनेर ।
आज त्यही स्थान पुग्दा दाफा भजनका स्वरहरू सम्झनामा मात्र बाँकी छन्।् नदीले भूगोल मात्र बदलेको छैन, एक भौतिक अभौतिक सम्पदालाई पनि इतिहासमा परिणत गरिदिएको छ ।

बाढी अगाडिको त्रिशूली बजार
सुगतपुर विहार , जहाँ वर्षावासको भइरहेको थियो, आज नामोनिशान छैन ।
बाढीग्रस्त क्षेत्रको भ्रमणका क्रममा मेरो मनलाई झस्काउने दृश्यमध्ये एक हो सुगतपुर बुद्ध विहारको अवस्था ।
केही दिनअघि मात्र यहाँ वर्षावास गरिरहेका भिक्षु यस वर्षको कठिनदान महोत्सवको तयारीबारे छलफल गरिरहेका थिए । केही वर्षदेखि अलि सुनसान भएको यस बिहारमा यसपटक फेरि चहलपहल फर्किएको थियो ।
काठमाडौंबाट समेत भिक्षुहरू पुगेर विहार परिसरको सरसफाइ गरिरहेका थिए । वर्षावास सम्पन्न भएपछि श्रद्धालुहरूको सहभागितामा भव्य कठिनदान आयोजना गर्ने योजना बनिरहेको थियो ।
तर आज त्यही स्थान खोज्नुपर्दा मन नै काँप्छ ।
जहाँ भिक्षुहरू धर्मदेशना र साधना अभ्यासमा व्यस्त थिए, त्यहाँ अहिले माटोको मरुभूमि जस्तो दृश्य छ ।
जहाँ केही दिनअघि सरसफाइ अभियान चलिरहेको थियो, त्यहाँ अहिले विहारको नामोनिशान छैन।
बाढीले विहारलाई मात्र बगाएको छैन, त्यहाँ जोडिएको समुदायको उत्साह र आध्यात्मिक अभ्यासलाई पनि गम्भीर चोट पु¥याएको छ ।
माटोले पुरिएको त्यो क्षेत्र हेर्दा प्रकृतिले एकै क्षणमा इतिहासको एक अध्याय मेटाइदिएको जस्तो लाग्थ्यो ।
(अकल्पनीय विनाशकारी बाढीले त्रिशूली बजारका घरहरू मात्र होइन, त्यहाँको ऐतिहासिक तथा सामाजिक जीवनसँग गाँसिएका संरचनाहरूलाई समेत तहसनहस बनाएको छ । बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालय, सुगतपुर बुद्ध बिहार पूर्ण रूपमा बगाएका छन् वा पुरिएका छन् । विद्यालय प्रशासनले पूर्वसूचना प्राप्त गरेलगत्तै आवश्यक सतर्कता अपनाउँदै विद्यार्थीहरूलाई समयमै घर फर्काएको कारण विद्यालयका सबै विद्यार्थीहरू सकुशल रहन सफल भएका छन्।
सुगतपुर बुद्ध बिहारमा बर्षाबास गर्दै आएका भिक्षु सारद बाढीपछि सम्पर्कविहीन भएपछि उहाँको अवस्थाबारे व्यापक चिन्ता व्यक्त गरिएको थियो । सामाजिक सञ्जालमार्फत उहाँको खोजी तथा अवस्थाबारे जानकारी माग्ने क्रम बढेपछि भिक्षु सारदले सुगतपुर बिहारको फेसबुक पेजमार्फत आफू सुरक्षित रहेको जानकारी दिनुभएको थियो।)


देवीघाटः हृदय विदारक संगम
त्रिशूलीबाट देवीघाट पुग्दा दृश्य झन् हृदयविदारक देखिन्थ्यो ।
देवीघाट नुवाकोटको धार्मिक, सांस्कृतिक र ऐतिहासिक पहिचान बोकेको स्थल हो । तर अहिले त्यहाँ नदीको गर्जनभन्दा मानिसहरूको मौनताको आवाज ठूलो सुनिन्छ।
कतिपय परिवार आफन्तको खोजीमा थिए । प्रायः विस्थापित भएका थिए । कसैले सम्पत्ति गुमाएका थिए, कसैले आफन्त। प्रकृतिको प्रहारले कसैलाई छोडेको थिएन ।

दृश्य हृदय विदारक थियो । भत्केको घरभित्र रहेका परम्परागत सामान पित्तलको गाग्री,हुक्का, मूर्तिहरु निकालेर सकी नसकी सामान सार्दै थिए एक स्थानीय पीडित। “जि नेवाः खः” भन्दै दुःखमा पनि हाँस्दै हिडिरहेका–हामीले मद्धत गर्न खोज्दा मानेनन् कुनै प्रकारको मदत लिन । एक नस्टल्जियाजस्तै ।

देवीघाटमा उभिँदा मैले महसुस गरेँ—विपत्तिले जात, धर्म, भाषा वा सम्पत्तिको भेद गर्दैन । उसले सबैलाई समान रूपमा परीक्षा लिंने रहेछ । हिजोसम्म सम्पन्न मानिस आज विपन्न भएका छन् । सडकमा आएका छन् ।

बेत्रावतीः जहाँ गाईजात्राको तयारी चलिरहेको थियो ।
बेत्रावती पुग्दा स्थानीय बासिन्दाहरूले सुनाएको एउटा प्रसंगले मन झन् भारी बनायो ।
बाढी आउनुभन्दा केही समयअघि मात्र स्थानीय समुदाय गाईजात्रा कसरी मनाउने भन्ने विषयमा बैठक बसिरहेको रहेछ । समुदायका अगुवा, ज्येष्ठ नागरिक र स्थानीयवासी सांस्कृतिक कार्यक्रमको तयारीबारे छलफल गरिरहेका थिए ।
तर केही समयमै सबै कुरा बदलियो ।
गाईजात्राको तयारी गर्ने बैठक अचानक राहत, उद्धार, बेपत्ता व्यक्तिको खोजी र विस्थापित परिवारको व्यवस्थापनबारे छलफलमा रूपान्तरित भयो ।
जीवनको यही अनिश्चितता शायद प्रकृतिको सबैभन्दा ठूलो पाठ हो ।
केवल भौतिक संरचना होइन, संस्कृति पनि संकटमा
यस विपत्तिले केवल घर, सडक, पुल र बजार, विद्युतगृहमात्र नष्ट गरेको छैन।
यसले सांस्कृतिक सम्पदालाई पनि गम्भीर चोट पु¥याएको छ ।
त्रिशूली, बेत्रावती, देवीघाट क्षेत्रहरूमा नेवाः समुदायको बसोबास, परम्परागत देवस्थल, जात्रा, गुँला पर्व, दाफा भजन, गाईजात्रा र सामुदायिक जीवनले विशेष पहिचान बनाएको थियो ।
जब एउटा पुरानो बजार बग्छ, केवल भवनहरू हराउँदैनन्। त्यहाँका कथाहरू पनि हराउँछन् । त्यहाँका संस्कार हराउँछन्।
त्यहाँको सामूहिक परम्परा हराउँछन्।
त्यसैले पुनर्निर्माण केवल सडक र भवनको मात्र भएर हुँदैन ।
संस्कृति र सामुदायिक पहिचान, इतिहासको पनि पुनस्र्थापना हुनुपर्छ ।
मानवताको परीक्षा
बाढीग्रस्त क्षेत्रमा पुग्दा मैले दुःख मात्र देखिनँ।
मैले आशा पनि देखेँ ।
स्वयंसेवकहरू राहत बोकेर हिँडिरहेका छन ।
युवाहरू उद्धारमा खटिएका ।
भिक्षुहरू, सामाजिक अभियन्ताहरू, स्थानीय सरकार र सर्वसाधारण सबै आ–आफ्नो ठाउँबाट सहयोग गरिरहेका थिए ।
विपत्तिले धेरै कुरा खोसेको छ, तर मानवताको भावना खोस्न सकेको छैन।
त्रिशूली बजारका भग्नावशेषतर्फ अन्तिम पटक फर्केर हेर्दा मन भक्कानियो ।
माटोमुनि पुरिएको त्यो बजार केवल एउटा स्थलमात्र हैन । त्यो एउटा जीवित इतिहास थियो ।
करुणामय मन्दिर अगाडि गुञ्जिएको दाफा भजन, सुगतपुर विहारमा भइरहेको वर्षावास, कठिनदानको तयारी, बेत्रावतीमा चलिरहेको गाईजात्राको योजना, देवीघाटको आस्था र त्रिशूलीको पुरानो बजार—यी सबै आज बाढीको कथासँग गाँसिएका छन्।् ।
प्रकृतिको प्रहारले धेरै कुरा बगाएको छ, तर हामीले हाम्रो पहिचान बग्न दिनु हुँदैन।
किनकि इतिहास बच्यो भने पुनर्निर्माण सम्भावना बढी हुन्छ ।
सभ्यता बच्यो भने भविष्य निर्माण सम्भव हुन्छ । मानवता बच्यो भने कुनै पनि विपत्तिभन्दा ठूलो शक्ति हाम्रो सामूहिक संकल्प बन्न सक्छ ।
आज त्रिशूलीको किनारमा उभिँदा मनले एउटै प्रश्न सोध्यो—
नदीले बजार बगायो, घर खेत बगायो, विहार बगायो, स्कुल बगायो धेरैको जीवन लग्यो तर के हामी आफ्नो संस्कृति र पहिचानलाई पनि बग्न दिनेछौँ ?
“अहँ होइन हामीले केही बिर्सनु हुन्न किनकि यही उत्तरभित्र पुनर्निर्माणको आशा लुकेको हुन्छ । दिवंगतहरुको गुणानुस्मरण लुकेको हुन्छ ।”
(लेखक महर्जन रत्न रसुवा–नुवाकोट बाढी प्रभावित क्षेत्रको स्थलगत अवलोकनमा आधारित यो लेख तयार गरेका हुन्।)




सुभाय् मिडिया प्रा.लि.
ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८
ईमेल: [email protected]
कार्यालय फोन- ०१-२१५६४४
स्थायी लेखा नम्बर- ६१२२८०१००
सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५