भोटेकोशी र त्रिशूली नदीले उग्र रूप लिएपछि बिनाश भएको रसुवा र नुवाकोटका बस्तीहरूमा पुग्दा मेरो मन भारी भयो। समाचारका लागि क्यामेरा बोकेर गएको थिएँ, तर फर्कँदा क्यामेरामा केवल दृश्यहरू थिएनन्, इतिहासको विलाप, सभ्यताको करुण कथा र हजारौं मानिसहरूको पीडा कैद भएर फर्किएको जस्तो लाग्यो।
त्रिशूली बजारको माथिल्लो डाँडा(जहाँ बसेर त्रिशुलीको पुल बगाएको भिडियो खिचिएको थियो )बाट तल हेर्दा एकपटक विश्वास गर्नै गाह्रो भयो। जहाँ केही दिनअघि मानिसहरूको चहलपहल थियो, पसलहरू खुलिरहेका थिए, यात्रुहरू चिया पिउँदै गफ गर्दै थिए ,दाफा भजन गाउँदै थिए, बजार गुल्जार थियो ,त्यही बजार अहिले नदीले बगाएको माटो र ढुंगाको थुप्रोमा परिणत भएको थियो। कतै घरको छानो मात्र देखिन्थ्यो, कतै पर्खालको एक टुक्रा,केही घरहरु बचेका देखिन्छन् तर संग्ला छैनन् , पुलको नामेनिशाना छैन। बाँकी सबै इतिहास बनेको छ।
तर यो केवल एउटा बजारको विनाश मात्र थिएन।
यो नेपालकै एउटा महत्वपूर्ण ऐतिहासिक बजारको पीडा थियो।
त्रिशूली बजार केवल व्यापारिक केन्द्र थिएन। यो नेपालका पुराना बजारहरूमध्ये एक थियो। काठमाडौं, रसुवा, केरुङ र तिब्बतलाई जोड्ने व्यापारिक मार्गको महत्वपूर्ण बिन्दुका रूपमा यसको इतिहास शताब्दी पुरानो छ।
विशेष गरी नेवा: समुदायले विकास गरेको बजार संस्कृतिको एक जीवन्त उदाहरण थियो त्रिशूली। यहाँका गल्लीहरू, पुराना घरहरू, देवस्थलहरू, जात्रा–पर्व र सामाजिक संरचनाले नेपालकै मौलिक शहरी सभ्यताको कथा बोकेका थिए।
आज ती गल्लीहरू माटोकोको गर्भमा हराएका छन्।
धेरै पुराना घरहरू, पसलहरू, परम्परागत संरचनाहरू र स्मृतिहरू माटोमुनि पुरिएका छन्।
त्रिशूली बजारलाई हेर्दा लाग्थ्यो, नदीले केवल इँटा र ढुंगा बगाएको छैन, उसले पुस्तौँको स्मृति पनि बगाएर लगेको छ।

सबैभन्दा पीडादायी क्षण के थियो भने, बाढी आउनुभन्दा अघिल्लो दिनसम्म पनि जीवन सामान्य नै थियो।
त्रिशूलीस्थित करुणामय मन्दिर अगाडि नेवा: समुदायका ज्येष्ठ नागरिक र युवाहरू गुँला पर्वको अवसरमा दाफा भजन गाइरहेका थिए।
खिं बाजाको तालसँगै करुणामयको स्तुति गुञ्जिरहेको थियो। श्रद्धा, भक्ति र सामुदायिक एकताको त्यो दृश्य आज पनि आँखामा ताजै छ। कसैले कल्पना गरेको थिएन कि भोलिपल्ट नै प्रकृतिले यस्तो कहर मच्चाउनेछ।
आज त्यही स्थान पुग्दा दाफा भजनका स्वरहरू सम्झनामा मात्र बाँकी छन्। नदीले भूगोल मात्र बदलेको छैन, एक सांस्कृतिक क्षणलाई पनि इतिहासमा परिणत गरिदिएको छ।
(त्रिशूली बजारको एउटा पुरानो सम्झना... कुनै समय चहलपहल, हाँसो र जीवनले भरिएको त्रिशूली बजार आज विनाशकारी बाढीले तहसनहस भएको दृश्य हेर्दा मन चिराचिरा भएको छ। हिजोका ती गल्ली, पसल, घर र बजारका सम्झनाहरू आँखाअगाडि झल्झली आउँछन्। प्रकृतिको यो भयावह विपत्तिले पुर्याएको क्षति अत्यन्तै पीडादायी छ। दुःखको यस घडीमा त्रिशूलीवासी सबै दाजुभाइ तथा दिदीबहिनीहरूमा धैर्य धारण गर्ने शक्ति मिलोस्। विपत्तिको यो घडीमा हामी सबै एकजुट भएर साथ दिऔँ। त्रिशूली फेरि उठ्नेछ, फेरि मुस्कुराउनेछ।)

त्रिशुली बजारको पुरानो फोटो
बाढीग्रस्त क्षेत्रको भ्रमणका क्रममा मेरो मनलाई सबैभन्दा बढी झस्काउने दृश्यमध्ये एक थियो सुगतपुर विहारको अवस्था।
केही दिनअघि मात्र यहाँ वर्षावास गरिरहेका भिक्षुहरू यस वर्षको कठिनदान महोत्सवको तयारीबारे छलफल गरिरहेका थिए। वर्षावासको धार्मिक वातावरणले विहार परिसर जीवन्त बनेको थियो। काठमाडौंबाट समेत भिक्षुहरू पुगेर विहार परिसरको सरसफाइ गरिरहेका थिए। वर्षावास सम्पन्न भएपछि श्रद्धालुहरूको सहभागितामा भव्य कठिणदान आयोजना गर्ने योजना बनिरहेको थियो।
तर आज त्यही स्थान खोज्नुपर्दा मन नै काँप्छ।
जहाँ भिक्षुहरू धर्मदेशना र साधनामा व्यस्त थिए, त्यहाँ अहिले माटोको मरुभूमि जस्तो दृश्य छ।

जहाँ केही दिनअघि सरसफाइ अभियान चलिरहेको थियो, त्यहाँ अहिले विहारको नामोनिशान छैन।
बाढीले विहारलाई मात्र बगाएको छैन, त्यहाँ जोडिएका धार्मिक सपना, समुदायको उत्साह र आध्यात्मिक स्मृतिलाई पनि गम्भीर चोट पुर्याएको छ।
माटोले पुरिएको त्यो क्षेत्र हेर्दा लाग्थ्यो, प्रकृतिले एकै रातमा इतिहासको एउटा अध्याय मेटाइदिएको छ।
त्रिशूलीबाट देवीघाट पुग्दा दृश्य झन् हृदयविदारक देखिन्थ्यो।
देवीघाट नुवाकोटको धार्मिक, सांस्कृतिक र ऐतिहासिक पहिचान बोकेको स्थल हो। तर अहिले त्यहाँ नदीको गर्जनभन्दा मानिसहरूको मौनता ठूलो सुनिन्थ्यो।
कतिपय परिवार आफन्तको खोजीमा थिए। कतिपय घरहरू विस्थापित भएका थिए। कसैले सम्पत्ति गुमाएका थिए, कसैले आफन्त।
प्रकृतिको यो प्रहारले सबैलाई समान रूपमा पीडित बनाएको थियो। भत्केको घरभित्र रहेका परम्परागत सामान पित्तलको गाग्री, हुक्का, मूतिहरु निकालेर सकी नसकी सामान सार्दै थिए एक स्थानीय पीडित “जि नेवाः खः” भन्दै दुःखमा पनि हाँस्दै हिडिरहेका – हामीले मदत गर्न खोज्दा मानेनन् कुनै प्रकारको मदत लिन । एक नस्टल्जिया ।
देवीघाटमा उभिँदा मैले महसुस गरेँ—विपत्तिले जात, धर्म, भाषा वा सम्पत्तिको भेद गर्दैन। उसले सबैलाई समान रूपमा परीक्षा लिन्छ।

बेत्रावती पुग्दा स्थानीय बासिन्दाहरूले सुनाएको एउटा प्रसंगले मन झन् भारी बनायो।
बाढी आउनुभन्दा केही समयअघि मात्र स्थानीय समुदाय गाईजात्रा कसरी मनाउने भन्ने विषयमा बैठक बसिरहेको रहेछ। समुदायका अगुवा, ज्येष्ठ नागरिक र स्थानीयवासी सांस्कृतिक कार्यक्रमको तयारीबारे छलफल गरिरहेका थिए।
तर केही घण्टापछि सबै कुरा बदलियो।
गाईजात्राको तयारी गर्ने बैठक अचानक राहत, उद्धार, बेपत्ता व्यक्तिको खोजी र विस्थापित परिवारको व्यवस्थापनबारे छलफलमा रूपान्तरित भयो।
जीवनको यही अनिश्चितता शायद प्रकृतिको सबैभन्दा ठूलो पाठ हो।
यस विपत्तिले केवल घर, सडक, पुल र बजार नष्ट गरेको छैन।
यसले सांस्कृतिक स्मृतिलाई पनि गम्भीर चोट पुर्याएको छ।
त्रिशूली, बेत्रावती, देवीघाट र सुगतपुर क्षेत्रहरूमा नेवा: समुदायको बसोबास, परम्परागत देवस्थल, जात्रा, गुँला पर्व, दाफा भजन, गाईजात्रा र सामुदायिक जीवनले विशेष पहिचान बनाएको थियो।
जब एउटा पुरानो बजार बग्छ, केवल भवनहरू हराउँदैनन्।
त्यहाँका कथा हराउँछन्।
त्यहाँका संस्कार हराउँछन्।
त्यहाँको सामूहिक स्मृति हराउँछ।
त्यसैले पुनर्निर्माण केवल सडक र भवनको मात्र हुनुहुँदैन।
इतिहास, संस्कृति र सामुदायिक पहिचानको पनि पुनर्स्थापना हुनुपर्छ।
बाढीग्रस्त क्षेत्रमा पुग्दा मैले दुःख मात्र देखिनँ।
मैले आशा पनि देखेँ।
स्वयंसेवकहरू राहत बोकेर हिँडिरहेका थिए।
युवाहरू उद्धारमा खटिएका थिए।
भिक्षुहरू, सामाजिक अभियन्ताहरू, स्थानीय सरकार र सर्वसाधारण सबै आ–आफ्नो ठाउँबाट सहयोग गरिरहेका थिए।
विपत्तिले धेरै कुरा खोसेको छ, तर मानवताको भावना खोस्न सकेको छैन।
त्रिशूली बजारका भग्नावशेषतर्फ अन्तिम पटक फर्केर हेर्दा मन भक्कानियो।
माटोमुनि पुरिएको त्यो बजार केवल एउटा स्थान थिएन, त्यो एउटा जीवित इतिहास थियो।
करुणामय मन्दिर अगाडि गुञ्जिएको दाफा भजन, सुगतपुर विहारमा भइरहेको वर्षावास, कठिनदानको तयारी, बेत्रावतीमा चलिरहेको गाईजात्राको योजना, देवीघाटको आस्था र त्रिशूलीको पुरानो बजार—यी सबै आज बाढीको कथासँग गाँसिएका छन्।
प्रकृतिको प्रहारले धेरै कुरा बगाएको छ, तर हामीले स्मृति बग्न दिनु हुँदैन।
किनकि इतिहास बच्यो भने पुनर्निर्माण सम्भव हुन्छ।
सभ्यता बच्यो भने भविष्य निर्माण सम्भव हुन्छ।
र मानवता बच्यो भने कुनै पनि विपत्तिभन्दा ठूलो शक्ति हाम्रो सामूहिक संकल्प बन्न सक्छ।
आज त्रिशूलीको किनारमा उभिँदा मनले एउटै प्रश्न सोध्यो—
नदीले बजार बगायो, घर बगायो, विहार बगायो; तर के हामी आफ्ना स्मृति, संस्कृति र पहिचानलाई पनि बग्न दिनेछौँ ?
मलाई लाग्छ, यसको उत्तर “होइन” हुनुपर्छ। किनकि यही उत्तरभित्र पुनर्निर्माणको आशा लुकेको छ।
(लेखक महर्जन रत्न रसुवा–नुवाकोट बाढी प्रभावित क्षेत्रको स्थलगत अवलोकनमा आधारित यो लेख तयार गरेका हुन्।)





सुभाय् मिडिया प्रा.लि.
ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८
ईमेल: [email protected]
कार्यालय फोन- ०१-२१५६४४
स्थायी लेखा नम्बर- ६१२२८०१००
सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५