काठमाडौं / रसुवामा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएका दिवङ्गतहरूको चिरशान्ति तथा सुगतिका लागि कामना गर्दै र बाढीपीडित नागरिकप्रति ऐक्यबद्धता व्यक्त गर्न स्वयम्भू महाचैत्य परिसरमा श्रद्धाञ्जली तथा दीप प्रज्वलन कार्यक्रम सम्पन्न गरिएको छ।
अखिल नेपाल भिक्षु महासंघको आयोजनामा सम्पन्न कार्यक्रममा बौद्ध परम्पराअनुसार परित्राण पाठ, पुण्यानुमोदन तथा दीप प्रज्वलन गरिएको थियो। कार्यक्रममा रसुवा बाढीमा दिवङ्गत भएकाहरूको आत्मशान्ति र सुगतिका लागि विशेष प्रार्थना गरिएको थियो भने घाइते, बेपत्ता तथा विस्थापित परिवारप्रति गहिरो सहानुभूति व्यक्त गरिएको थियो।
कार्यक्रम अखिल नेपाल भिक्षु महासंघका अध्यक्ष भिक्षु धम्मशोभन महास्थविरबाट शील प्रदान गरी प्रारम्भ गरिएको थियो। त्यसपछि भिक्षु;संघद्वारा परित्राण पाठ गरिएको थियो। बाढीमा दिवङ्गत भएकाहरूको गर्दै उनीहरूको सुगतिका लागि पुण्यानुमोदन गरिएको थियो।

स्वयम्भू महाचैत्य परिसरमा आयोजित कार्यक्रममा विभिन्न विहारका भिक्षु, श्रामणेर, उपासक–उपासिका तथा श्रद्धालुहरूको उल्लेखनीय सहभागिता रहेको थियो। सहभागीहरूले दीप प्रज्वलन गर्दै दिवङ्गत आत्माहरूप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए भने बाढीपीडित परिवारहरूले दुःखको यस घडीलाई धैर्यतापूर्वक सामना गर्न सकून् र छिट्टै सामान्य जीवनमा फर्कन सकून् भन्ने कामना गरेका थिए।
कार्यक्रममा वक्ताहरूले प्राकृतिक विपद्का कारण पीडामा परेका नागरिकलाई सहयोग, सहानुभूति र मानवीय साथको आवश्यकता रहेको औँल्याउँदै सम्पूर्ण नेपाली समाजलाई एकताबद्ध भएर राहत, उद्धार तथा पुनःस्थापनामा सहयोग गर्न आग्रह गरेका थिए।
कार्यक्रममा अखिल नेपाल भिक्षु महासंघका सदस्य भिक्षु मेधाङ्करले रसुवामा आएको त्रासदीपूर्ण बाढीप्रति गहिरो दुःख व्यक्त गर्दै यस्ता प्राकृतिक विपद्का बेला सम्पूर्ण समाज एकताबद्ध भएर सहयोगको भावना राख्नुपर्ने बताए। उनले विपद्ले प्रभावित परिवारहरूको पीडा केवल उनीहरूको मात्र नभई सम्पूर्ण नेपाली समाजको साझा पीडा भएको उल्लेख गर्दै राहत, उद्धार तथा पुनःस्थापनामा सबै क्षेत्रबाट सहयोग जुट्नुपर्नेमा जोड दिए।
भिक्षु मेधाङ्करले अखिल नेपाल भिक्षु महासंघको तर्फबाट राहत सामग्रीसहितको एक टोली मंगलबार नै बिदुरतर्फ प्रस्थान गर्ने जानकारी पनि दिए। प्रभावित क्षेत्रमा पुगेर राहत वितरण गर्नुका साथै पीडित परिवारहरूलाई मानवीय तथा आध्यात्मिक सान्त्वना प्रदान गर्ने उद्देश्य रहेको उनले बताए।
बौद्ध धर्ममा परित्राण पाठ, पुण्यानुमोदन र दीप प्रज्वलनलाई मैत्री ,करुणा,र सहानुभूतिको प्रतीकका रूपमा लिइन्छ। दुःखद परिस्थितिमा दिवङ्गतप्रति श्रद्धाञ्जली अर्पण गर्दै जीवित पीडितहरूलाई मानसिक तथा आध्यात्मिक बल प्रदान गर्ने उद्देश्यले यस्ता कार्यक्रम आयोजना गरिने परम्परा रहेको छ।

आयोजकका अनुसार यस कार्यक्रमले रसुवा बाढीबाट प्रभावित परिवारप्रति ऐक्यबद्धता व्यक्त गर्नुका साथै दिवङ्गतहरूप्रति सामूहिक श्रद्धाञ्जली अर्पण गरेको छ। कार्यक्रमको अन्त्य सामूहिक दीप प्रज्वलन, मौनधारण तथा विश्वशान्ति, बाढीपीडितहरूको शीघ्र राहत र सम्पूर्ण प्राणीहरूको कल्याणको कामनासहित सम्पन्न भएको थियो।





सुभाय् मिडिया प्रा.लि.
ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८
ईमेल: [email protected]
कार्यालय फोन- ०१-२१५६४४
स्थायी लेखा नम्बर- ६१२२८०१००
सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५