
रन्जु श्रेष्ठ,लुम्बिनी / लुम्बिनीमा सम्पन्न अन्तर्राष्ट्रिय उपकुलपति सम्मेलनले उच्च शिक्षामा सुधारका लागि महत्वपूर्ण घोषणापत्र जारी गरेको छ। लुम्बिनी बौद्ध विश्वविद्यालयको आयोजनामा भएको यस सम्मेलनमा नेपाल र भारतका १४ जना उपकुलपति र पूर्व उपकुलपतिहरुले एकसाथ मिलेर १० बुँदे घोषणापत्र जारी गरे। सम्मेलनमा उच्च शिक्षा क्षेत्रमा नैतिक नेतृत्वको विकास, प्रविधि र एआईको उपयोगमा शैक्षिक उत्कृष्टता कायम गर्ने प्रतिबद्धता जनाइएको छ।
घोषणापत्रमा समावेशी र पहुँचयोग्य शिक्षा सुनिश्चित गर्ने, विश्वविद्यालयहरूको पाठ्यक्रममा पूर्वीय दर्शन र नैतिक सिद्धान्त समावेश गर्ने, र एआईको उपयोगद्वारा उच्च शिक्षाको गुणस्तरमा सुधार गर्ने प्रस्ताव गरिएको छ। त्यस्तै, उच्च शिक्षाको मापदण्डीकरण र अन्तर्राष्ट्रिय मूल्यांकन निकायको निर्माणको आवश्यकता पनि जोड दिइएको छ।
सम्मेलनमा अन्तर्राष्ट्रियस्तरमा संकाय आदानप्रदान, क्रेडिट ट्रान्सफर र संयुक्त डिग्री कार्यक्रमलाई प्रवद्र्धन गर्ने प्रतिबद्धता जनाइएको छ। लुम्बिनी बौद्ध विश्वविद्यालयले १४ वटा विश्वविद्यालयसँग सहकार्य सम्झौतासमेत गरेको छ, जसले अनुसन्धान र प्राज्ञिक उन्नतिका क्रियाकलापहरूलाई संयुक्त रूपमा सञ्चालन गर्न सहयोग पुर्याउने छ। यस सम्मेलनमा नेपाल, भारत, कम्बोडिया, चीन, जर्मनी, जापान, श्रीलङ्का, थाइल्याण्ड, म्यानमार, लाओस र भियतनामका विज्ञ र अध्येताहरूको सहभागिता थियो। 
सम्मेलनले उच्च शिक्षा क्षेत्रका चुनौती र अवसरहरूको विश्लेषण गर्दै चौथो औद्योगिक क्रान्तिको क्रममा बौद्ध दर्शनको अन्तर्राष्ट्रियकरणको आवश्यकता र नेपालका उच्च शिक्षा संस्थाहरूको भूमिकाबारे गहन छलफल गर्यो।
सम्मेलनमा नेपाल र भारतका गरी १४ जना उपकुलपति, पूर्व उपकुलपतिहरुले जारी गरेको घोषणापत्रमा बजारमुखी र नैतिकतामा आधारित पाठ्यक्रमको विकास गर्नका लागि पूर्वीय दर्शन र नैतिक सिद्वान्तलाई सबै विश्वविद्यालयका पाठयक्रममा समावेश गर्ने उल्लेख गरिएको छ ।
एआईको उपयोगद्वारा उच्च शिक्षाको गुणस्तरमा सुधार गर्ने, एआई सम्बन्धी तनाव व्यवस्थापनका लागि योग तथा ध्यान कार्यक्रम सञ्चालन गर्ने उल्लेख गरिएको छ । उच्च शिक्षाको मापदण्डीकरण र लगानीमा बृद्धि गर्न उपकुलपतिहरुले सुझाव दिएका छन् । मापदण्ड निर्धारणका लागि अन्तर्राष्ट्रिय स्तरको मूल्यांकन गर्ने निकायको माग गरिएको छ ।
घोषणापत्रमा विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्रा.डा. देवराज अधिकारी, लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति प्रा।डा। सुवर्णलाल बज्राचार्य, नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा।डा। धनेश्वर नेपाल, मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा.डा. धुव्रकुमार गौतम, राजर्षी जनक विश्वविद्यालयका उपकुलपति प्रा.डा. अमरप्रसाद यादव, पोखरा विश्वविद्यालयका उपकुलपति प्रा.डा. बेदराज केसी, पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा।डा। बिजुकुमार थपलिया, मदन भण्डारी एकेडेमी अफ हेल्थ साइन्सका उपकुलपति डा. प्रदीप ज्ञवाली, लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्व उपकुलपति प्रा.डा.त्रिरत्न मानन्धर, प्रा.डा. हृदयरत्न बज्राचार्य, मध्यपश्चिम विश्वविद्यालयका पूर्व उपकुलपति प्रा.डा.उपेन्द्र कुमार कोइराला, लुम्बिनी प्राविधिक विश्वविद्यालयका उपकुलपति प्रा।डा विनोद प्रसाद ढकाल, भारतको नालन्दा विश्वविद्यालयका उपकुलपति प्रा.डा. अभयकुमार सिंह र सिद्धार्थ विश्वविद्यालयका उपकुलपति प्रा.डा. कविता शाहले हस्ताक्षर गरेका छन् ।
उच्च शिक्षामा बौद्ध दर्शन अन्तर्राष्ट्रिकरण, प्राज्ञिक नेतृत्वमा बौद्ध दर्शन र नैतिकता, चौथो औद्योगिक क्रान्तिमा उच्च शिक्षाको अन्तर्राष्ट्रियकरण, नेपालको उच्च शिक्षाका चुनौति र अवसर विषयमा केन्द्रीत रही उपकुलपति सम्मेलन आयोजना गरिएको थियो ।सोही अवसरमा लुम्बिनी बौद्ध विश्वविद्यालयले स्वदेशी र विदेशी गरी १४ वटा विश्वविद्यालयसँग सहकार्य सम्झौता गरेको छ । लुम्बिनी बौद्ध विश्वविद्यालयका रजिष्ट्रार डा तिलकराम आचार्यले अनुसन्धानसहित प्राज्ञिक उन्नयका क्रियाकलापहरु सहकार्यमा सञ्चालन गर्नका लागि सम्झौता गरिएको बताए ।





सुभाय् मिडिया प्रा.लि.
ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८
ईमेल: [email protected]
कार्यालय फोन- ०१-२१५६४४
स्थायी लेखा नम्बर- ६१२२८०१००
सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५