स्वयम्भू महोत्सवको २०८१ प्रचारप्रसारका लागि साइकल र्याली
सुभाय् संवाददाताFebruary 16, 2025 मा प्रकाशित (२ हफ्ता अघि) अनुमानित पढ्ने समय : ४४ मिनेट
काठमाडौं/ स्वयम्भू महोत्सव २०८१ को प्रचारप्रसारलाई तीव्रता दिन स्वयम्भू डल्लु साइकल पुचःले शनिबार बिहान साइकल र्याली आयोजना गरेको छ। भुइखेल चौरबाट सुरु भएको र्याली स्वयम्भू -रिंगरोड-बालाजु-सोह्रखुट्टे-बागबजार-मरू-कालिमाटी-सितापाइला-स्वयम्भू हुँदै पुनः भुइखेलमा सम्पन्न भएको थियो।
र्यालीमा नेपाल ओलम्पिक कमिटीका अध्यक्ष तथा पूर्व पर्यटनमन्त्री जीवनराम श्रेष्ठ, काठमाडौं महानगरपालिका वडा नं. १५ का अध्यक्ष ईश्वरमान डंगोल, कार्यपालिका सदस्य मैयालक्ष्मी महर्जन, वडा सदस्यहरू विजु महर्जन, अप्सरा खत्री, रिता मिजार, वडाका इञ्जिनियर सुमन बाद्य श्रेष्ठ, अधिकृत दिनानाथ सापकोटा, स्वयम्भू प्रहरी वृत्तका प्रहरी निरीक्षक जनकराज ढुंगाना, ट्राफिक प्रहरी सवइन्स्पेक्टर दीवाकर महत, तथा स्वयम्भू डल्लु साइकल पुचःका अध्यक्ष मचाकाजी महर्जनको उपस्थिति रहेको थियो।
साइकल र्यालीका क्रममा सहभागीहरूले स्वयम्भू महोत्सवको प्रचार गर्दै साइकल संस्कृतिको प्रवर्द्धन गर्नुपर्ने आवश्यकता औंल्याएका थिए।
उक्त साइकल र्यालीको मुख्य उद्देश्य स्वयम्भू महोत्सवको प्रचारप्रसार गर्दै समुदायमा साइकल संस्कृतिलाई प्रवर्द्धन गर्नु रहेको आयोजकहरूले बताएका छन्। र्यालीमा स्थानीय साइकलप्रेमीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
स्वयम्भू महोत्सव २०८१ फागुन १० देखि १७ गतेसम्म सञ्चालन हुनेछ। महोत्सवमा धार्मिक, सांस्कृतिक तथा पर्यटकीय गतिविधिहरू समेटिने आयोजक समितिले जनाएको छ। आयोजकहरूका अनुसार महोत्सवले स्वयम्भू क्षेत्रको धार्मिक तथा ऐतिहासिक महत्वलाई प्रवर्द्धन गर्ने, स्थानीय पर्यटनलाई बढावा दिने तथा समुदायलाई एकजुट गर्ने लक्ष्य राखेको छ।