• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Tue, 28, Jul, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज /  सम्पदा/संस्कृति

बुद्ध धर्मको उन्नत इतिहास बोकेको बंगलादेशमा बुद्ध धर्म


सुभाय् संवाददाता July 28, 2026 मा प्रकाशित (४७ सेकेण्ड अघि) अनुमानित पढ्ने समय : २१७ मिनेट
–राजेन मानन्धर

बंगलादेश दक्षिण एसियामा अवस्थित एक स्वतन्त्र गणतान्त्रिक देश हो । यसको क्षेत्रफल १४८,४६० वर्गकिलोमिटर छ र जनसंख्या १७ करोड छ । यसको पश्चिम उत्तर र पूर्वको लगभग सबै सीमाना भारतसँग जोडिएको छ । यसबाहेक पूर्वको केही भाग म्यानमारसँग पनि जोडिएको छ । यसको दक्षिणमा बंगालको खाडी अवस्थित छ ।

बंगलादेश आफ्नै अलग्ग इतिहास र सभ्यता भएको देश हो । यहाँ बुद्धको जीवनकाल भन्दा पहिलेका पुरातात्विक अवशेष भेटिएकोले यहाँ प्राचिन सभ्यता विकास भएको थियो भन्न सकिन्छ । प्राचिन कालमा यहाँको सभ्यता बुद्ध र हिन्दु धर्मबाट निर्देशित थियो । यहाँका जतिपनि प्राचिन अवशेष पाइन्छन् सबै कि बौद्ध छन् कि हिन्दु छन् । यहाँको विशेष गरी उत्तरी भागमा मठ मन्दिर वा विहार जस्ता हजारौ अवशेष पाइएका छन् ।

विभिन्न समयमा यहाँ मौर्य तथा गुप्त जस्ता राजवंशहरुको उदय र पतन भयो । इतिहासमा यस्ता उतार चढाव आउनु स्वभाविक थियो । अरु जे भएपनि यी राजवंशहरु निकै कलाप्रेमी थिए र यसबेलाका कला तथा बास्तुकलाका अवशेषहरुले यसबेलाको सभ्यता निकै उचाइमा पुगेको प्रमाण दिइरहेका छन् । यसबाहेक यहाँ वर्मन, शशांक तथा पाल साम्राज्यहरुको पनि विस्तार भएको थियो । त्यसमध्ये आठौं शताब्दीको पाल वंशलाई यहाँको सुवर्ण युगको रुपमा ब्याख्या गर्ने गरिन्छ । यसबेला यहाँ निर्मित भव्य सोमपुरा महाविहारले त्यसबेलाको बुद्ध धर्मको उन्नत अवस्था झल्काउँछ ।

बुद्ध धर्म तथा हिन्दु धर्म यहाँका प्राचिन सभ्यताका परिचय थिए । इस्लाम धर्म यहाँ आठौं तिर प्रवेश भएको देखिन्छ । ब्यापारीका रुपमा प्रवेश गरेका मुस्लिमहरुले यहाँको राजनीति र समाजमा प्रभाव पारे अनि बङ्गालको इस्लामीकरण शुरु भयो । यसको शुरुवात मुगल साम्राज्यको व्यापारीहरूद्वारा भएको देखिन्छ ।

१३ औ शताब्दीमा बंगलादेशमा मुस्लिमहरु राजनीतिक रुपमा शक्तिशाली भए । उनीहरुले धार्मिक तथा राजनीतिक रुपमा यहाँ आफ्नो पकड बलियो बनाए । यसको केही सय वर्ष पछि १५ औ शताब्दीमा यस क्षेत्रमा युरोपका व्यापारीहरूको प्रवेश भयो र १६औ शताब्दीमा यहाँ ब्रिटिशहरुको ईस्ट इन्डिया कम्पनीको प्रभाव बढ्न थाल्यो । समुद्री मार्गबाट सजिलै भारतमा पस्न सजिलो भएकोले बङ्गालको खाडी क्षेत्र एसियाको प्रमुख व्यापारिक क्षेत्रको रूपमा विकास भयो । हुँदा हुँदै १८ औ शताब्दीसम्म पुग्दा यो पुरै भारतवर्ष ब्रिटिश उपनिवेश बन्यो ।

समयक्रमसँगै भारत भरी स्वतन्त्रताका लागि संघर्षहरु भए र अन्तमा सन् १९४७ मा त्यही आन्दोलनको परिणामस्वरूप भारत स्वतन्त्र भयो । पहिले यो क्षेत्र पाकिस्तानकै भाग थियो र यसलाई पूर्वी पाकिस्तान भनिन्थ्यो । दुबै क्षेत्र मुस्लिमहरुको बाहुल्यता भएकोले एउटै देश बन्न समस्या थिएन । तर यस क्षेत्र अर्थात् पूर्वी पाकिस्तानमा बंगाली भाषाभाषीको बाहुल्यता भएकोले उनीहरुले उर्दी भाषीको दमन स्वीकार गरेन । भाषाको कारणले भएको आन्दोलन बढ्दै गएर सन् १९७१मा बंगलादेश पाकिस्तानबाट स्वतन्त्र भयो ।

अहिले बंगलादेशमा १० लाख जति बौद्धहरु छन्, यो भनेको यहाँको कुल जनसंख्यको ०.६३ प्रतिशत मात्र हुन आउँछ । र यहाँ भएका बौद्धहरु मध्ये ६५ प्रतिशत भन्दा बढी जनता चित्तगोंग क्षेत्रमा बसोबास गर्छन् ।

१. बंगलादेशमा बुद्ध धर्मको इतिहास
बंगलादेशसँग बौद्ध धर्मको इतिहास धेरै प्राचिन र समृद्ध छ । यहाँको बुद्ध धर्मको इतिहास २,००० वर्ष भन्दा पुरानो मानिन्छ । प्रारम्भिक काल ः भगवान बुद्धप्रति श्रद्धा राख्ने सबैले उहाँ

आफ्नो देश वा क्षेत्रमा आउनु भएको कथा वा किंवदन्ती सगौरव सुनाउँछन् । त्यस्तै किसिमले बांगलादेशका बौद्धहरुको पनि यस्तै किसिमको कथा छ कि उहाँ बुद्ध बंगाल आउनुभएको थियो, धर्म सिकाउनुभएको थियो र केहीलाई भिक्षु समेत बनाउनुभएको थियो । यस यस्ता कथाहरुमा ऐतिहसिकता पाइँदैन, यसको ऐतिहासिक पुष्टि सीमित हुन कठिन छ ।

यद्यपि यहाँ अशोकको जीवनकालको समयतिर अर्थात ईसापूर्व तेस्रो शताब्दीतिर भारतवर्ष भरी नै बुद्ध धर्मको प्रचार भयो । यो प्रचार अफगानस्तान देखि हालको बांगलादेश सम्म पनि पुग्यो । यहाँको कोक्स बजार जिल्लाको राङ्गकोट वानाश्रण धर्मशाला विहारमा रामुमा सम्राट अशोकको शालिक पनि बनाइएको छ । तर उनले बनाएको शिला अभिलेख वा स्तम्भ यहाँ पाइँदैन । त्यसबेला पुरै उपमहाद्वीपमा बुद्ध धर्मको प्रचार भएबाट यहाँ पनि प्रचार भयो भनेर अनुमान त लगाउन सकिन्छ तर यसबाट अशोकको बुद्ध धर्मको प्रचार दुत बंगलादेश आएको थियो भन्ने जस्ता कुरामा ठोस प्रमाण पाइन्छ भन्ने अवस्था छैन ।

चन्द्रवंश : बंगलादेशको बुद्ध धर्मको बारेमा कुरा गर्दा चन्द्रवंशको कुरा उल्लेखनीय हुन्छ । यसको स्थापना इस्वीको ३७० तिर देवचन्द्रले गरेको देखिन्छ । चन्द्रवंशले पनि बंगालको धर्म राजनीतिमा ठुलो प्रभाव पारेको देखिन्छ । यो बंगाल क्षेत्रबाट विस्तार भएको मुलतः बौद्ध वंश थियो । भारतवर्षमा देशको सामाजिक र धार्मिक व्यवस्थामा प्रभाव पार्ने वा हलचल ल्याउने वंश यही थियो । उनीहरुले बुद्ध धर्मको विकासमा ठुलो योगदान दिए । यस बेला उनीहरुको राज्यले नै तान्त्रिक बुद्ध धर्मको विकासको लागि महत्वपूर्ण भुमिका निभाएको थियो । दक्षिण पूर्व एसियामै महायान बुद्ध धर्मको प्रचार प्रसारमा यस वंशको योगदान देखिन्छ । चन्द्र वंशलाई भारतीवर्षकै सबैभन्दा कान्छो बौद्ध वंशको रुपमा लिइन्छ । यसको अवसान सँगै बंगाल क्षेत्रमा पनि बद्ध धर्म ओरालो लाग्यो ।

त्यस्तै किसिमबाट ८औं देखि ११औं शताब्दी ईस्वी को बिचमा बंगाल लगायतका क्षेत्रमा पाल साम्राज्यको अधिपत्य रह्यो । यो पनि बंगलादेशको बुद्ध धर्मको लागि स्वर्ण युग साबित भयो । धेरै पाल राजाहरू बुद्ध धर्मका संरक्षक थिए । यस वंशका राजाहरुले आफ्नो आफ्नो देशमा बुद्ध धर्मको विकासको लागि धेरै योगदान दिए । यस अन्तर्गत बंगलादेश परेपछि भने यहाँ महास्थानगढ़ र सोमपुरा महाविहार जस्ता बौद्ध स्मारकहरुको निर्माण भयो । यसको अर्थ यस बेला यहाँ बुद्ध धर्मको विकास भइसकेको भन्ने नै देखिन्छ । दशौं शताब्दीमा प्रख्यात महायानी बौद्ध ब्याख्याता अतिशा यहीँ बंगालमा जन्मेको भनेर भनिन्छ । यस्ता विद्वानहरु जन्मेको ठाउँमा बुद्ध धर्मको विकास राम्रै भएको अनुमान गर्न सकिन्छ । तेह्रौं शताब्दीसम्म यहाँ केही न केही रुपमा बुद्ध धर्म थियो भन्ने देखिन्छ ।

यहाँ सन् १२०२मा तुर्किशहरुको आक्रमण भयो । उनीहरुले यहाँ थुप्रै विहारहरु नष्ट गरे । यहाँका अध्ययन केन्द्रहरु पनि नष्ट गरेपछि यहाँ अध्ययन अध्यापनको वातावरण रहेन र बिस्तारै यहाँका बौद्ध गुरुहरु तथा अध्ययनशिल विद्यार्थीहरु पलायन भए । यसपछि क्रमिक रुपमा यहाँ बुद्ध धर्म लोप हुँदै गयो । यस प्रकार १३ औं शताब्दी ईस्वी शुरुदेखि यहाँ बुद्ध धर्म बिस्तारै पतन हुन थाल्यो ।

सयौं वा हजारौं वर्षसम्म बुद्ध धर्म फैलिएर आसपासका क्षेत्रहरुमा बुद्ध धर्मको प्रचार प्रसार समेत गर्ने बंगलादेशको बुद्ध धर्म पछि १२ औं शताब्दीको आसपासमा विभिन्न कारणहरूले गर्दा लगभग लुप्त नै भयो । यसको प्रमुख कारण भारतमा जस्तै बंगलादेशमा पनि ब्राह्मणवादी प्रभाव र इस्लामको उदय हो भनिन्छ ।

सन् १८५८ देखि १९४७सम्म यहाँ अविछिन्न रुपमा ब्रिटिश राज चल्यो । उनीहरु हुँदा कतै उनीहरुले बुद्ध धर्मलाई नियन्त्रण गरे त कतै स्वतन्त्र पनि छोडे । यी राजनीतिक तथा धार्मिक उथलपुथलमा यहाँको बुद्ध धर्मले आफ्नो अस्तित्व देखाउन पनि सकेन । केही स्थानमा बाहेक मानिसहरुले यहाँ बुद्ध धर्म थियो भन्ने समेत बिर्से ।

बंगलादेशमा बुद्ध धर्मको पुनरुत्थान
माथि भनिएझैं १२ शताब्दीको आसपास बंगलादेशमा बुद्ध धर्मको अवसान शुरु भयो । तर पनि यहाँबाट बुद्ध धर्म कहिल्यै पूर्ण रूपमा नाश भएन, विशेष गरी चटगाउँ पहाडमा केही जनजाति समुदायहरूले बुद्ध धर्म र आफ्नो परम्परागत धर्मलाई मिसाएर संरक्षण गरिरहे । आदिवासी विश्वासहरूसँग मिसिएको बौद्ध धर्मको अभ्यास गर्थे । १९औं शताब्दीले संघराज सरमेध महास्थवीर जस्ता केही व्यक्तिहरुले यहाँ लुप्त प्रायः भैसकेको धर्मलाई पुर्नजीवन दिन ठुलो योगदान गरे ।

यो पुनरुत्थान थेरवाद बौद्ध धर्ममा केन्द्रित थियो । यस पुनरुत्थान आन्दोलनले भगवान बुद्धको प्रारम्भिक शिक्षालाई ल्याएर यहाँको जनमानसमा यसबारे आधारभुत शिक्षा दिएर यहाँ बौद्ध अभ्यास, शिक्षा र भिक्षु जीवनलाई पुनर्जीवन दिने जमर्को गर्यो ।

यहाँका पुराना आदिबासी बौद्ध समुदायले बुद्धको शिक्षा बुझे, आफ्नो धार्मिक पहिचानलाई चिने । यसले गर्दा यहाँको पुनरुत्थान आन्दोलनले थेरवाद बुद्ध धर्मलाई बंगलादेशका आदिबासी समुहमा अभ्यास गर्ने परम्परा बसाल्न मद्दत ग¥यो । यसैबेला यहाँ बुद्ध धर्मसँग सम्बन्धित शैक्षिक संस्था र गुम्बाहरूको स्थापना भयो, बौद्धहरुलाई शिक्षामा सहयोग गर्न छात्रवृत्तिलाई उपायको रुपमा अगाडि ल्यायो र यसरी यहाँ बौद्ध पहिचान बलियो बनायो ।
यसैको फलस्वरुप उत्तरी बंगलादेशमा केही जातीय समूहहरूले आफ्नो बौद्ध मूलहरू पुनः पत्ता लगाउन अध्ययन अनुसन्धान गरिरहेका छन् र हालैका समयमा आफ्ना धर्म बिर्सेकाहरुलाई औपचारिक रूपमा धर्म परिवर्तन गराई बुद्ध धर्ममा फिर्ता ल्याउर्ने घटनाहरु पनि भएका छन् । आज बंगलादेशका बौद्धहरु अल्पसंख्यक हुँदा, पनि यहाँ बौद्धहरू सक्रिय विहारहरू छन्, बौद्ध शिक्षाहरूमा चासो बढ्दोे छ र बौद्धहरुको एक जीवन्त समुदाय छ ।

यसै बेलामा १९औ शताब्दीतिर यहाँका बौद्धहरुले आफ्नो धर्मको महत्व बुझे र नयाँ ढंगबाट यसको अध्धयन गर्न थाले । यो भनेको यहाँ एक प्रकारले बौद्धहरुको पुनर्जागरण आन्दोलन विकसित भयो । यसबेला बुद्ध धर्म र दर्शन सम्बन्धी बहस गर्ने वातावरण तयार भयो । उनीहरुको बहस केन्द्रित अध्ययनले यहाँका थेरवाद भिक्षुहरुलाई पनि दुइ निकायमा विभाजन गरिदियो । यहाँ त्यसबेला संघराज निकाय र महास्थबीर निकायकोे विकास भएको देखिन्छ ।

वर्तमान अवस्था
बंगलादेशमा बुद्ध धर्मको इतिहास जति नै पुरानो र विश्वले गौरव गर्न लायकको भएपनि हाल यहाँ बुद्ध धर्म नगन्य मात्रामा मात्र भेटिन्छ । अहिले यहाँको जनसंख्याको १ प्रतिशत जनता पननि बौद्ध छैन । अहिले यहाँ भएका बौद्धहरु मध्ये अधिकांश यहाँको चित्तगोंग भन्ने पहाडी क्षेत्रमा नै बासोबास गर्छन् । त्यहाँ मात्र यहाँका ११ वटा आदिबासी जनजातिहरु बस्छन् । उनीहरुलाई जुम्मा भनिन्छ । यसबाहेक चकमा र मरमाहरुले आफुलाई बौद्ध भनेर चिनाउँदै आएका छन् ।

वर्तमान बंगलादेशको कुरा गर्दा यहाँ अहिले थेरवाद बुद्ध धर्मको पुनरुत्थान भएको छ । अहिले बहुसंख्यक बौद्धहरू चटगाउँ पहाडी क्षेत्रमा बसोबास गर्छन् । त्यहाँ बस्ने चक्मा, मार्मा र अन्य जुम्मा समुदायहरूको लागि प्राथमिक धर्म बुद्ध धर्म नै हो । यस बाहेक ढाका र चटगाउँ जस्ता शहरी केन्द्रहरूमा बंगालीहरुको पनि बौद्ध समुदायहरू छन् ।

सानो समुदायमा भएपनि उनीहरुले आफ्नो पहिचान बौद्ध हुनुमै छ भन्ने बुझेका छन् । त्यसैले प्रतिकुल राजनीतिक अवस्थाका बावजुद अनि आफ्नै समुदायमा कट्टर मुस्लिमहरुको दबदबा भएपनि उनीहरुले आफ्नो धर्मप्रतिको आस्था कम हुन दिएन र जेनतेन आफ्नो दुइहजार वर्ष पुरानो बुद्ध धर्मको इतिहासलाई पुनः जीवित बनाएका छन् । यसका लागि उनीहरुले विदेशका बौद्ध संस्थाहरुसँग सम्बन्ध बलियो बनाएका छन् । र विदेशी बौद्ध संघसंस्थाहरुले पनि यहाँको बुद्ध धर्म जोगाउन वा विकास गर्न धेरै नै सहयोग गरेको छ, जुन प्रशंसायोग्य पनि छ । आज, बंगलादेशी बौद्धहरूले मुख्य रूपमा थेरवाद परम्पराहरू पछ्याउँछन् ।

त्यहाँ केही जातीय समूहहरूले आफ्नो बौद्ध इतिहास र सम्पदा पुनः पत्ता लगाउने अनुसन्धान गरिरहेका छन् । तथापि अहिलेका बंगलादेशी बौद्धहरुले केही चुनौतीहरु सामना गर्नुपर्ने अवस्था छ । आजभोलि बंगलादेशका बौद्धहरुमाथि त्यहाँका कट्टरपान्थी मुस्लिमहरुको खतरा छ भने अर्कोतिर गाउँ गाउँमा इसाईहरुको धर्म प्रचारको मिसनमा पनि गाउँका गरिब आदिबासी बौद्धहरु फस्ने खतरा देखिन्छ ।

अहिले बंगलादेशका बौद्धहरुले यहाँको जनसंख्याको सानो भाग (लगभग ०.६३%) मात्र ओगटेका छन् । तर उनीहरुको जुझारु प्रवृति र अध्ययनशिलताले राज्यलाई उनीहरुले बारम्बार उपस्थितिको जनाउ दिइरहेको पाइन्छ ।

२. परम्परा
थेरवाद बौद्ध धर्मः बुद्ध धर्मको पुनर्जागरण पछि बंगलादेशको बुद्ध धर्मको चर्चा गर्दा अहिले त्यहाँ थेरवाद बुद्ध धर्म नै सबैभन्दा प्रचलित परम्परा वा निकाय हो । यो यहाँको बुद्ध धर्मको सबैभन्दा लोकप्रिय र प्रभावशाली रूप नै हो ।

यहाँ थेरवाद मुख्यतया चकमा, मार्मा र चटगाउँ पहाडी क्षेत्रका अन्य आदिवासी समूहहरूले अभ्यास गर्छन् । विशेष गरी चटगाउँ पहाडमा बहुसंख्यक बौद्ध जनसंख्या बसोबास गर्दछ । बांगलादेशका धेरै जसो बौद्ध विहार र मन्दिरहरू यसै क्षेत्रमा अवस्थित छन् । यस निकायले यहाँका बौद्ध आदिवासी समुदायको दैनिक जीवन, चाडपर्व र परम्पराहरूमा सांस्कृतिक प्रभाव पारेको छ । यिनीहरुको जीवन भनेकै थेरवादी जीवन भनेपनि हुन्छ ।

महायान बौद्ध धर्म : थेरवादी बाहेक सानो समुदाय बिच यहाँ महायान बौद्ध धर्मको केही प्रभाव छ । यहाँ विशेष गरी शहरी क्षेत्रहरूमा बौद्ध समुदायहरूमा महायान बुद्ध धर्मको उपस्थिति देखिन्छ । बंगाली–भाषी बौद्धहरू र यस परम्परासँग ऐतिहासिक सम्बन्ध भएका समुदायहरूमा केही महायान अभ्यासकर्ताहरू छन्।

अन्य बौद्ध अभ्यासहरू : यसबाहेक यहाँ आजभोलि तिब्बती वज्रयान परम्पराका अन्य बौद्ध अभ्यासहरूमा चासो राख्नेहरु पनि छन् । बढ्दो विश्वव्यापीकरण, बौद्ध साहित्यको उपलब्धता तथा तिब्बती ब्यापारीहरुको आउजाउले गर्दा उनीहरु सूसुचित हुन सक्छन् । त्यसमा पनि इन्टरनेटले विश्वका सबै बुद्ध धर्मको बारेमा जानकारी आफ्नै हातमा ल्याइदिनेभएकोले इच्छुक र जाँगरिला बौद्धहरुले अन्य बुद्ध धर्मका परम्पराहरुलाई पनि समावेश गरेका छन् ।

३. विज्ञहरु वा अभ्यासकर्ताहरूः
बांगलादेशका बुद्ध धर्मका प्रमु्ख गुरुहरुको बारेमा धेरै कुरा इतिहासको भर्गमै लुकेको छ । अहिले यहाँ केही प्रख्यात ऐतिहासिक व्यक्तिहरुको सामान्य जानकारी दिन सकिन्छ जो बंगाल क्षेत्रसँग सम्बन्धित छन् ।

अतीशा (सन् ९८२–१०५४) : अतीशा बंगलादेश (अथवा त्यसबेलाको बंगाल क्षेत्र)मा १० औं शताब्दी जन्मेका एक प्रसिद्ध विद्वान–भिक्षु थिए । ढाका नकिकैको विक्रमपुर अथवा मुंशीगंजलाई उनको जन्मस्थल मानिएको छ । उनले तिब्बतमा समेत महायान बौद्ध धर्म फैलाउन महत्वपूर्ण भूमिका खेलेका थिए भनिन्छ ।

उनी बंगालका महायान बुद्ध धर्मका गुरु थिए । उनको धेरै समय बिहारको विक्रमशिला महाविहारमा बित्यो । यो बेला भारतमा महायान उच्च स्थानमा थियो भने कुनै कुनै ठाउँमा बद्ध धर्म ओरालो लाग्दै गरेको अवस्था थियो । उनलाई त्यस समयमा महायान र वज्रयान बुद्ध धर्मको प्रसारमा योगदान दिएका केही प्रमुख व्यक्तित्वहरू मध्ये एक मानिन्छ । बोधिपथ–प्रदीप उनको एक महत्वपूर्ण ग्रन्थ हो ।

वानरत्न (सन् १३८४–१४६८): वानरत्नलाई तिब्बतमा भारतीय बौद्ध पण्डित भिक्षु भनिन्छ । उनको जन्म पूर्व बंगालमा भएको थियो । उनी राजा उदयकीर्ति तथा रानी कुमारीका छोरा थिए । भारतमा बुद्ध धर्मको अवनति हुन थाले पछि उनी श्रीलंका गएर बुद्ध धर्मको अध्ययन गर्न गए । उनी कालचक्रका साधक थिए । उनलाई धर्म अध्ययन र प्रचारको लागि तिब्बत जाने अन्तिम भारतीय भिक्षु भनेर पनि भनिन्छ । त्यहाका अर्का विद्वान गो लोचावाले उनको तिब्बत यात्रा समेटेर जीवनी नै लेखेका छन् ।

ज्योतिपाल महास्थविर (सन् १९१४–२००२) : वर्तमान बंगलादेशका केही उल्लेखनीय बौद्ध भिक्षुहरु मध्ये ज्योतिपाल महास्थिविरको नाम आउँछ । उनको जन्म कोमिल्ला जिल्लाको केमतालीमा भएको थियो । उनी सन् १९३७मा भिक्षु बने र बौद्ध साहित्य र भाषाहरुका विज्ञ भए । उनले बुद्ध धर्मलाई समाज सेवाको लागि अघि सारे र थुप्रै सामाजिक संस्थाहरु खोलेका थिए । उनी बंगलादेशको १०औं संघराजा पनि बने । उनको कामका लागि उनलाई म्यानमार सरकारले अग्गमहाधम्मजोतिकध्वज तथा संयुक्त राष्ट्र संघले सन् १९९५मा विश्व नागरिकको उपाधि दिएको थियो ।

४. बौद्ध विहार वा स्मारकहरु
बंगलादेशमा अहिले बुद्ध धर्मको अवस्था जस्तो भएपनि यहाँको बुद्ध धर्मको इतिहास गौरवमय भएको कतैबाट छिपेको छैन । यहाँ अहिले ऐतिहासिक समृद्ध बौद्ध विहार मन्दिर तथा सम्पदा देश भरी छरिएका छन् । यहाँ केही प्रमुख बौद्ध स्मारकहरूको बारेमा संक्षिप्त जानकारी दिइन्छ ।

शालवन विहार (Shalban Bihar) : बंगलादेशको कुमिल्ला जिल्ला मोइनामतिमा एक महत्वपूर्ण क्षेत्र शालवन विहार रहेको छ । यो विहारको निर्माण सातौं शताब्दीमा भएको थियो भने १२औ शताब्दीसम्म पनि यहाँ धार्र्मिक क्रियाकलाप भइरहको देखिन्छ । यहाँ एक मुख्य विहारका साथै १०० भन्दा बढी भिक्षुहरुका लागि आवस गृहहरु बनेका थिए । यहाँ ठूलो मात्रामा पाइएको भग्नावशेष र प्रभावशाली मूर्तिकलाहरू एवं र ठूलो कांस्य बुद्ध मूर्ति सहित अन्य कलाकृतिहरूले बंगलादेशको समुन्नत बौद्ध इतिहास झल्काउँछ ।

सोमपुरा महाविहार ( Somapura Mahavihara): बंगलादेशको नवगाँव स्थित पहारपुरमा सोमपुरा महाविहार छ । यो भारतवर्षमै केही उल्लेख्य महत्वपूर्ण प्राचिन विहारहरु मध्ये एक हो । यसलाई हिमालयको दक्षिणमा रहेको दोस्रो ठूलो बौद्ध विहार मानिन्छ । पाल वंशका राजा धर्मपाल द्वारा ८ औं शताब्दीमा निर्मित यो महाविहार एक समयमा शिक्षा र आस्थाको केन्द्र थियो । अहिले यस ठाउँमा भग्नावशेषहरू बाँकी छन् । यसले त्यसबेलाको बौद्धहरुको आस्था र जटिल वास्तुकलाको झलक दिन्छ । आज यो अन्र्ताष्ट्रिय तीर्थयात्रा प्रसिद्ध केन्द्र बनेको छ । यसलाई सन् १९८५मा विश्व सम्पदा सूचिमा सुचिकृत गरिएको छ ।

जगद्दल महाविहार (Jagaddala Mahavihara) : बंगलादेशको विक्रमपुर जिल्लामा भारतसँगको सीमा नजिक अवस्थित जगद्दल महाविहार पाल वंशको समयमा ११औं वा १२ औं शताब्दीमा निर्माण भएको थियो । यो त्यसबेला बुद्ध धर्मको अभ्यास तथा अध्ययन अध्यापनको एक प्रमुख बौद्ध प्रतिष्ठान थियो । अहिले यो पुरातात्विक अवशेषको रुपमा मात्र बाँकी छ । यस क्षेत्रमा धेरै स्तूपहरू, तथा भिक्षुहरु बस्ने आवासगृहहरुको अवशेष पाइन्छन् ।

त्यस बेलासम्म यहाँ बुद्ध धर्मको विकास भइरहेको थियो भन्ने समेत यस विहारले प्रमाणित गर्दछ । र यसले बंगलादेशमा मध्यकालीन बौद्ध जीवनको प्रतिनिधित्व पनि गर्दछ ।

वासु विहार (Vasu Bihar) ः बंगलादेशको बोगरा जिल्लाको शिवगंजमा वासु विहार अवस्थित छ । यसको निर्माण पाल वंशको समयमा सातौं वा आठौं शताब्दीको भएको देखिन्छ ।

यस स्थानमा सन् १९७३मा उत्खनन् गरेर यसको महत्व पत्ता लगाएको थियो । यहाँ पाँचवटा मुख्य चैत्यको अवशेष जस्तो देखिने ढिस्कोहरु छन् । अहिले यस क्षेत्रमा थुप्रै स्तूपहरू र भिक्षु आवासगृहरुको अवशेषहरू भेटिन्छन् । यसका साथैं केही काँसका मूर्तिहरू तथा माटोका छापहरू सहित धेरै बौद्ध कलाकृतिहरू पनि यहाँ फेला पारेको छ ।

ढाका अन्तर्राष्ट्रिय बौद्ध विहार ( Dhaka International Buddhist Monastery) ः बंगलादेशमा बुद्ध धर्मको पुनरुत्थान भएसँगै यहाँ केही नयाँ विहारहरुको निर्माण शुरु भएको छ । यहाँ अहिले बौद्ध क्रियाकलाप हुने विहारहरु मध्ये ढाकास्थित ढाका अन्तर्राष्ट्रिय बौद्ध विहार एक हो । यसको निर्माण सन् १९८१मा भएको थियो । यहाँ विशाल बुद्ध मूर्तिसहितको प्रार्थना कक्ष तथा पुस्तकालय छ । यहाँ भिक्षुहरु तथा अन्यका लागि पूजा गर्ने, अध्ययन गर्ने आदि कार्यक्रमहरु भइरहन्छ । भिक्षु सुन्दरानन्द यहाँका प्रथम प्रमुख थिए । अहिले यसको संचालन बंगलादेश बौद्ध महासंघबाट हुन्छ ।

बंगलादेश विपस्सना सोसाइटी (Bangladesh Vipassana Society) : यहाँ ढाका चित्तगावँमा बंगलादेश विपस्सना सोसाइटीको स्थापना गरिएको छ । यहाँ नियमित १० दिने विपस्सना ध्यान शिविरहरु संचालन गरिन्छन् ।

धर्मराजिका बौद्ध विहार परिसर (Dharmarajika Bauddha Vihara)ः बंगलादेशको ढाका शहरमा अवस्थित धर्मराजिका बौद्ध विहार परिसर यहाँको बुद्ध धर्म पुनर्जागरणको परिणाम हो । यसको स्थापना सन् १९६० मा विशुद्धानन्द महाथेराले गरेका थिए । यस विहार भित्र थाइल्यान्डले उपहार दिएको १० फिट अग्लो बुद्धको मुर्ति तथा जापानले उपहार दिएको अर्को मूर्ति छ । बंगलादेशमा स्वतन्त्रताको लागि आन्दोलन भइरहँदा यहाँ आश्रय पनि बनाइएको थियो । यस विहार परिसर भित्र अहिले अनाथालय, प्राविधिक विद्यालय, किन्डरगार्टन, ललितकला प्रतिष्ठान, पाली कलेज, क्लिनिक, अन्तर्राष्ट्रिय प्रार्थना हल इत्यादिको निर्माण गरिएको छ । यसले बंगलादेशका बौद्धरुको धार्मिक सामाजिक तथा शैक्षिक केन्द्रको समेत सेवा दिइरहेको छ ।

उपसंहार
यसरी हेर्दा यहाँ बंगलादेशमा बुद्ध धर्मको प्रवेश हजारौं अगाडि भएको र यहाँ थुप्रै विहार तथा अध्ययन केन्द्रहरुको विकास भइसक्दा पनि समयकालमा यहाँ बुद्ध धर्म लोप भएको थियो । समग्रमा, १९ औं शताब्दीको पुनरुत्थान आन्दोलनले बंगलादेशमा वर्तमान बुद्ध धर्मलाई संस्थागत रुप दिन महत्वपूर्ण भूमिका खेलेको थियो । यसले यस समृद्ध परम्पराको निरन्तरता सुनिश्चित गर्दछ र भविष्यको वृद्धिको लागि मार्ग प्रशस्त समेत गर्दछ । यसले गर्दा यहाँ बौद्धहरुको संख्या बढ्नुका साथै समाज बुद्ध शिक्षबाट लाभान्वित हुँदै गइरहेको देखिन्छ । यद्यपि बौद्ध शिक्षाका लागि स्रोतहरू सुनिश्चित गर्ने र ऐतिहासिक स्थलहरूको संरक्षण जस्ता चुनौतीहरू अझै पनि बाँकी छन् ।

सम्बन्धित पोस्ट
  • बौद्ध भिक्षुहरू वर्षावासको वर्षावास – असार १३ गते प्रातिमोक्ष पाठ र १४ गते अधिष्ठान गरिने
  • वर्षावास: व्यावहारिक जीवन, ध्यान-ज्ञानको अभ्यास र बौद्ध परम्परा
  • नेपालको सम्पदा, पर्यटन र आर्थिक उन्नति : समृद्धिको आधारशिला
  • सारनाथ पनि विश्व सम्पदा सूचीमा
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    बुद्ध धर्मको उन्नत इतिहास बोकेको बंगलादेशमा बुद्ध धर्म

    बौद्ध भिक्षुहरू वर्षावासको वर्षावास – असार १३ गते प्रातिमोक्ष पाठ र १४ गते अधिष्ठान गरिने

    वर्षावास: व्यावहारिक जीवन, ध्यान-ज्ञानको अभ्यास र बौद्ध परम्परा

    नेपालको सम्पदा, पर्यटन र आर्थिक उन्नति : समृद्धिको आधारशिला

    सारनाथ पनि विश्व सम्पदा सूचीमा

    अब नेपालले कुन बाटो रोज्नुपर्छ?

    राजनीतिमा नयाँ शक्ति र चुनौतीको चाङ

    अन्तरिक्षमा रुन मिल्दैन – किन ?

    पार्टी सशक्त बनाउन राप्रपा शंखरापुरको नयाँ रणनीति:निर्वाचित तीनै वडा अध्यक्षलाई उपाध्यक्ष र विभागीय संयोजकको जिम्मेवारी

    काठमाडौंमा आज ‘ वाक फर पिस’ टोली आइपुग्दै, यस्तो छ आजको तालिका

    रास्वपा काठमाडौंको नेतृत्वमा युवा नेता राजा शाक्य: ‘नेपाल भाषा’ र स्थानीय मुद्दाका खम्बा

    बाह्र वर्षपछि टक्सार फर्किएर व्यवसाय: बसाइँसराइ रोक्न उदाहरणीय कदम

    अस्ट्रेलियामा मनाइयो अन्तर्राष्ट्रिय सगरमाथा दिवस

    सुभाय् पोस्ट बिशेष

    बुद्ध धर्मको उन्नत इतिहास बोकेको बंगलादेशमा बुद्ध धर्म

    वर्षावास: व्यावहारिक जीवन, ध्यान-ज्ञानको अभ्यास र बौद्ध परम्परा

    राजनीतिमा नयाँ शक्ति र चुनौतीको चाङ

    अन्तरिक्षमा रुन मिल्दैन – किन ?

    पार्टी सशक्त बनाउन राप्रपा शंखरापुरको नयाँ रणनीति:निर्वाचित तीनै वडा अध्यक्षलाई उपाध्यक्ष र विभागीय संयोजकको जिम्मेवारी

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑