• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Mon, 17, Aug, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज /  सम्पदा/संस्कृति

बुद्ध धर्मको उन्नत इतिहास बोकेको बंगलादेशमा बुद्ध धर्म


सुभाय् संवाददाता July 28, 2026 मा प्रकाशित (२ हफ्ता अघि) अनुमानित पढ्ने समय : २१७ मिनेट
–राजेन मानन्धर

बंगलादेश दक्षिण एसियामा अवस्थित एक स्वतन्त्र गणतान्त्रिक देश हो । यसको क्षेत्रफल १४८,४६० वर्गकिलोमिटर छ र जनसंख्या १७ करोड छ । यसको पश्चिम उत्तर र पूर्वको लगभग सबै सीमाना भारतसँग जोडिएको छ । यसबाहेक पूर्वको केही भाग म्यानमारसँग पनि जोडिएको छ । यसको दक्षिणमा बंगालको खाडी अवस्थित छ ।

बंगलादेश आफ्नै अलग्ग इतिहास र सभ्यता भएको देश हो । यहाँ बुद्धको जीवनकाल भन्दा पहिलेका पुरातात्विक अवशेष भेटिएकोले यहाँ प्राचिन सभ्यता विकास भएको थियो भन्न सकिन्छ । प्राचिन कालमा यहाँको सभ्यता बुद्ध र हिन्दु धर्मबाट निर्देशित थियो । यहाँका जतिपनि प्राचिन अवशेष पाइन्छन् सबै कि बौद्ध छन् कि हिन्दु छन् । यहाँको विशेष गरी उत्तरी भागमा मठ मन्दिर वा विहार जस्ता हजारौ अवशेष पाइएका छन् ।

विभिन्न समयमा यहाँ मौर्य तथा गुप्त जस्ता राजवंशहरुको उदय र पतन भयो । इतिहासमा यस्ता उतार चढाव आउनु स्वभाविक थियो । अरु जे भएपनि यी राजवंशहरु निकै कलाप्रेमी थिए र यसबेलाका कला तथा बास्तुकलाका अवशेषहरुले यसबेलाको सभ्यता निकै उचाइमा पुगेको प्रमाण दिइरहेका छन् । यसबाहेक यहाँ वर्मन, शशांक तथा पाल साम्राज्यहरुको पनि विस्तार भएको थियो । त्यसमध्ये आठौं शताब्दीको पाल वंशलाई यहाँको सुवर्ण युगको रुपमा ब्याख्या गर्ने गरिन्छ । यसबेला यहाँ निर्मित भव्य सोमपुरा महाविहारले त्यसबेलाको बुद्ध धर्मको उन्नत अवस्था झल्काउँछ ।

बुद्ध धर्म तथा हिन्दु धर्म यहाँका प्राचिन सभ्यताका परिचय थिए । इस्लाम धर्म यहाँ आठौं तिर प्रवेश भएको देखिन्छ । ब्यापारीका रुपमा प्रवेश गरेका मुस्लिमहरुले यहाँको राजनीति र समाजमा प्रभाव पारे अनि बङ्गालको इस्लामीकरण शुरु भयो । यसको शुरुवात मुगल साम्राज्यको व्यापारीहरूद्वारा भएको देखिन्छ ।

१३ औ शताब्दीमा बंगलादेशमा मुस्लिमहरु राजनीतिक रुपमा शक्तिशाली भए । उनीहरुले धार्मिक तथा राजनीतिक रुपमा यहाँ आफ्नो पकड बलियो बनाए । यसको केही सय वर्ष पछि १५ औ शताब्दीमा यस क्षेत्रमा युरोपका व्यापारीहरूको प्रवेश भयो र १६औ शताब्दीमा यहाँ ब्रिटिशहरुको ईस्ट इन्डिया कम्पनीको प्रभाव बढ्न थाल्यो । समुद्री मार्गबाट सजिलै भारतमा पस्न सजिलो भएकोले बङ्गालको खाडी क्षेत्र एसियाको प्रमुख व्यापारिक क्षेत्रको रूपमा विकास भयो । हुँदा हुँदै १८ औ शताब्दीसम्म पुग्दा यो पुरै भारतवर्ष ब्रिटिश उपनिवेश बन्यो ।

समयक्रमसँगै भारत भरी स्वतन्त्रताका लागि संघर्षहरु भए र अन्तमा सन् १९४७ मा त्यही आन्दोलनको परिणामस्वरूप भारत स्वतन्त्र भयो । पहिले यो क्षेत्र पाकिस्तानकै भाग थियो र यसलाई पूर्वी पाकिस्तान भनिन्थ्यो । दुबै क्षेत्र मुस्लिमहरुको बाहुल्यता भएकोले एउटै देश बन्न समस्या थिएन । तर यस क्षेत्र अर्थात् पूर्वी पाकिस्तानमा बंगाली भाषाभाषीको बाहुल्यता भएकोले उनीहरुले उर्दी भाषीको दमन स्वीकार गरेन । भाषाको कारणले भएको आन्दोलन बढ्दै गएर सन् १९७१मा बंगलादेश पाकिस्तानबाट स्वतन्त्र भयो ।

अहिले बंगलादेशमा १० लाख जति बौद्धहरु छन्, यो भनेको यहाँको कुल जनसंख्यको ०.६३ प्रतिशत मात्र हुन आउँछ । र यहाँ भएका बौद्धहरु मध्ये ६५ प्रतिशत भन्दा बढी जनता चित्तगोंग क्षेत्रमा बसोबास गर्छन् ।

१. बंगलादेशमा बुद्ध धर्मको इतिहास
बंगलादेशसँग बौद्ध धर्मको इतिहास धेरै प्राचिन र समृद्ध छ । यहाँको बुद्ध धर्मको इतिहास २,००० वर्ष भन्दा पुरानो मानिन्छ । प्रारम्भिक काल ः भगवान बुद्धप्रति श्रद्धा राख्ने सबैले उहाँ

आफ्नो देश वा क्षेत्रमा आउनु भएको कथा वा किंवदन्ती सगौरव सुनाउँछन् । त्यस्तै किसिमले बांगलादेशका बौद्धहरुको पनि यस्तै किसिमको कथा छ कि उहाँ बुद्ध बंगाल आउनुभएको थियो, धर्म सिकाउनुभएको थियो र केहीलाई भिक्षु समेत बनाउनुभएको थियो । यस यस्ता कथाहरुमा ऐतिहसिकता पाइँदैन, यसको ऐतिहासिक पुष्टि सीमित हुन कठिन छ ।

यद्यपि यहाँ अशोकको जीवनकालको समयतिर अर्थात ईसापूर्व तेस्रो शताब्दीतिर भारतवर्ष भरी नै बुद्ध धर्मको प्रचार भयो । यो प्रचार अफगानस्तान देखि हालको बांगलादेश सम्म पनि पुग्यो । यहाँको कोक्स बजार जिल्लाको राङ्गकोट वानाश्रण धर्मशाला विहारमा रामुमा सम्राट अशोकको शालिक पनि बनाइएको छ । तर उनले बनाएको शिला अभिलेख वा स्तम्भ यहाँ पाइँदैन । त्यसबेला पुरै उपमहाद्वीपमा बुद्ध धर्मको प्रचार भएबाट यहाँ पनि प्रचार भयो भनेर अनुमान त लगाउन सकिन्छ तर यसबाट अशोकको बुद्ध धर्मको प्रचार दुत बंगलादेश आएको थियो भन्ने जस्ता कुरामा ठोस प्रमाण पाइन्छ भन्ने अवस्था छैन ।

चन्द्रवंश : बंगलादेशको बुद्ध धर्मको बारेमा कुरा गर्दा चन्द्रवंशको कुरा उल्लेखनीय हुन्छ । यसको स्थापना इस्वीको ३७० तिर देवचन्द्रले गरेको देखिन्छ । चन्द्रवंशले पनि बंगालको धर्म राजनीतिमा ठुलो प्रभाव पारेको देखिन्छ । यो बंगाल क्षेत्रबाट विस्तार भएको मुलतः बौद्ध वंश थियो । भारतवर्षमा देशको सामाजिक र धार्मिक व्यवस्थामा प्रभाव पार्ने वा हलचल ल्याउने वंश यही थियो । उनीहरुले बुद्ध धर्मको विकासमा ठुलो योगदान दिए । यस बेला उनीहरुको राज्यले नै तान्त्रिक बुद्ध धर्मको विकासको लागि महत्वपूर्ण भुमिका निभाएको थियो । दक्षिण पूर्व एसियामै महायान बुद्ध धर्मको प्रचार प्रसारमा यस वंशको योगदान देखिन्छ । चन्द्र वंशलाई भारतीवर्षकै सबैभन्दा कान्छो बौद्ध वंशको रुपमा लिइन्छ । यसको अवसान सँगै बंगाल क्षेत्रमा पनि बद्ध धर्म ओरालो लाग्यो ।

त्यस्तै किसिमबाट ८औं देखि ११औं शताब्दी ईस्वी को बिचमा बंगाल लगायतका क्षेत्रमा पाल साम्राज्यको अधिपत्य रह्यो । यो पनि बंगलादेशको बुद्ध धर्मको लागि स्वर्ण युग साबित भयो । धेरै पाल राजाहरू बुद्ध धर्मका संरक्षक थिए । यस वंशका राजाहरुले आफ्नो आफ्नो देशमा बुद्ध धर्मको विकासको लागि धेरै योगदान दिए । यस अन्तर्गत बंगलादेश परेपछि भने यहाँ महास्थानगढ़ र सोमपुरा महाविहार जस्ता बौद्ध स्मारकहरुको निर्माण भयो । यसको अर्थ यस बेला यहाँ बुद्ध धर्मको विकास भइसकेको भन्ने नै देखिन्छ । दशौं शताब्दीमा प्रख्यात महायानी बौद्ध ब्याख्याता अतिशा यहीँ बंगालमा जन्मेको भनेर भनिन्छ । यस्ता विद्वानहरु जन्मेको ठाउँमा बुद्ध धर्मको विकास राम्रै भएको अनुमान गर्न सकिन्छ । तेह्रौं शताब्दीसम्म यहाँ केही न केही रुपमा बुद्ध धर्म थियो भन्ने देखिन्छ ।

यहाँ सन् १२०२मा तुर्किशहरुको आक्रमण भयो । उनीहरुले यहाँ थुप्रै विहारहरु नष्ट गरे । यहाँका अध्ययन केन्द्रहरु पनि नष्ट गरेपछि यहाँ अध्ययन अध्यापनको वातावरण रहेन र बिस्तारै यहाँका बौद्ध गुरुहरु तथा अध्ययनशिल विद्यार्थीहरु पलायन भए । यसपछि क्रमिक रुपमा यहाँ बुद्ध धर्म लोप हुँदै गयो । यस प्रकार १३ औं शताब्दी ईस्वी शुरुदेखि यहाँ बुद्ध धर्म बिस्तारै पतन हुन थाल्यो ।

सयौं वा हजारौं वर्षसम्म बुद्ध धर्म फैलिएर आसपासका क्षेत्रहरुमा बुद्ध धर्मको प्रचार प्रसार समेत गर्ने बंगलादेशको बुद्ध धर्म पछि १२ औं शताब्दीको आसपासमा विभिन्न कारणहरूले गर्दा लगभग लुप्त नै भयो । यसको प्रमुख कारण भारतमा जस्तै बंगलादेशमा पनि ब्राह्मणवादी प्रभाव र इस्लामको उदय हो भनिन्छ ।

सन् १८५८ देखि १९४७सम्म यहाँ अविछिन्न रुपमा ब्रिटिश राज चल्यो । उनीहरु हुँदा कतै उनीहरुले बुद्ध धर्मलाई नियन्त्रण गरे त कतै स्वतन्त्र पनि छोडे । यी राजनीतिक तथा धार्मिक उथलपुथलमा यहाँको बुद्ध धर्मले आफ्नो अस्तित्व देखाउन पनि सकेन । केही स्थानमा बाहेक मानिसहरुले यहाँ बुद्ध धर्म थियो भन्ने समेत बिर्से ।

बंगलादेशमा बुद्ध धर्मको पुनरुत्थान
माथि भनिएझैं १२ शताब्दीको आसपास बंगलादेशमा बुद्ध धर्मको अवसान शुरु भयो । तर पनि यहाँबाट बुद्ध धर्म कहिल्यै पूर्ण रूपमा नाश भएन, विशेष गरी चटगाउँ पहाडमा केही जनजाति समुदायहरूले बुद्ध धर्म र आफ्नो परम्परागत धर्मलाई मिसाएर संरक्षण गरिरहे । आदिवासी विश्वासहरूसँग मिसिएको बौद्ध धर्मको अभ्यास गर्थे । १९औं शताब्दीले संघराज सरमेध महास्थवीर जस्ता केही व्यक्तिहरुले यहाँ लुप्त प्रायः भैसकेको धर्मलाई पुर्नजीवन दिन ठुलो योगदान गरे ।

यो पुनरुत्थान थेरवाद बौद्ध धर्ममा केन्द्रित थियो । यस पुनरुत्थान आन्दोलनले भगवान बुद्धको प्रारम्भिक शिक्षालाई ल्याएर यहाँको जनमानसमा यसबारे आधारभुत शिक्षा दिएर यहाँ बौद्ध अभ्यास, शिक्षा र भिक्षु जीवनलाई पुनर्जीवन दिने जमर्को गर्यो ।

यहाँका पुराना आदिबासी बौद्ध समुदायले बुद्धको शिक्षा बुझे, आफ्नो धार्मिक पहिचानलाई चिने । यसले गर्दा यहाँको पुनरुत्थान आन्दोलनले थेरवाद बुद्ध धर्मलाई बंगलादेशका आदिबासी समुहमा अभ्यास गर्ने परम्परा बसाल्न मद्दत ग¥यो । यसैबेला यहाँ बुद्ध धर्मसँग सम्बन्धित शैक्षिक संस्था र गुम्बाहरूको स्थापना भयो, बौद्धहरुलाई शिक्षामा सहयोग गर्न छात्रवृत्तिलाई उपायको रुपमा अगाडि ल्यायो र यसरी यहाँ बौद्ध पहिचान बलियो बनायो ।
यसैको फलस्वरुप उत्तरी बंगलादेशमा केही जातीय समूहहरूले आफ्नो बौद्ध मूलहरू पुनः पत्ता लगाउन अध्ययन अनुसन्धान गरिरहेका छन् र हालैका समयमा आफ्ना धर्म बिर्सेकाहरुलाई औपचारिक रूपमा धर्म परिवर्तन गराई बुद्ध धर्ममा फिर्ता ल्याउर्ने घटनाहरु पनि भएका छन् । आज बंगलादेशका बौद्धहरु अल्पसंख्यक हुँदा, पनि यहाँ बौद्धहरू सक्रिय विहारहरू छन्, बौद्ध शिक्षाहरूमा चासो बढ्दोे छ र बौद्धहरुको एक जीवन्त समुदाय छ ।

यसै बेलामा १९औ शताब्दीतिर यहाँका बौद्धहरुले आफ्नो धर्मको महत्व बुझे र नयाँ ढंगबाट यसको अध्धयन गर्न थाले । यो भनेको यहाँ एक प्रकारले बौद्धहरुको पुनर्जागरण आन्दोलन विकसित भयो । यसबेला बुद्ध धर्म र दर्शन सम्बन्धी बहस गर्ने वातावरण तयार भयो । उनीहरुको बहस केन्द्रित अध्ययनले यहाँका थेरवाद भिक्षुहरुलाई पनि दुइ निकायमा विभाजन गरिदियो । यहाँ त्यसबेला संघराज निकाय र महास्थबीर निकायकोे विकास भएको देखिन्छ ।

वर्तमान अवस्था
बंगलादेशमा बुद्ध धर्मको इतिहास जति नै पुरानो र विश्वले गौरव गर्न लायकको भएपनि हाल यहाँ बुद्ध धर्म नगन्य मात्रामा मात्र भेटिन्छ । अहिले यहाँको जनसंख्याको १ प्रतिशत जनता पननि बौद्ध छैन । अहिले यहाँ भएका बौद्धहरु मध्ये अधिकांश यहाँको चित्तगोंग भन्ने पहाडी क्षेत्रमा नै बासोबास गर्छन् । त्यहाँ मात्र यहाँका ११ वटा आदिबासी जनजातिहरु बस्छन् । उनीहरुलाई जुम्मा भनिन्छ । यसबाहेक चकमा र मरमाहरुले आफुलाई बौद्ध भनेर चिनाउँदै आएका छन् ।

वर्तमान बंगलादेशको कुरा गर्दा यहाँ अहिले थेरवाद बुद्ध धर्मको पुनरुत्थान भएको छ । अहिले बहुसंख्यक बौद्धहरू चटगाउँ पहाडी क्षेत्रमा बसोबास गर्छन् । त्यहाँ बस्ने चक्मा, मार्मा र अन्य जुम्मा समुदायहरूको लागि प्राथमिक धर्म बुद्ध धर्म नै हो । यस बाहेक ढाका र चटगाउँ जस्ता शहरी केन्द्रहरूमा बंगालीहरुको पनि बौद्ध समुदायहरू छन् ।

सानो समुदायमा भएपनि उनीहरुले आफ्नो पहिचान बौद्ध हुनुमै छ भन्ने बुझेका छन् । त्यसैले प्रतिकुल राजनीतिक अवस्थाका बावजुद अनि आफ्नै समुदायमा कट्टर मुस्लिमहरुको दबदबा भएपनि उनीहरुले आफ्नो धर्मप्रतिको आस्था कम हुन दिएन र जेनतेन आफ्नो दुइहजार वर्ष पुरानो बुद्ध धर्मको इतिहासलाई पुनः जीवित बनाएका छन् । यसका लागि उनीहरुले विदेशका बौद्ध संस्थाहरुसँग सम्बन्ध बलियो बनाएका छन् । र विदेशी बौद्ध संघसंस्थाहरुले पनि यहाँको बुद्ध धर्म जोगाउन वा विकास गर्न धेरै नै सहयोग गरेको छ, जुन प्रशंसायोग्य पनि छ । आज, बंगलादेशी बौद्धहरूले मुख्य रूपमा थेरवाद परम्पराहरू पछ्याउँछन् ।

त्यहाँ केही जातीय समूहहरूले आफ्नो बौद्ध इतिहास र सम्पदा पुनः पत्ता लगाउने अनुसन्धान गरिरहेका छन् । तथापि अहिलेका बंगलादेशी बौद्धहरुले केही चुनौतीहरु सामना गर्नुपर्ने अवस्था छ । आजभोलि बंगलादेशका बौद्धहरुमाथि त्यहाँका कट्टरपान्थी मुस्लिमहरुको खतरा छ भने अर्कोतिर गाउँ गाउँमा इसाईहरुको धर्म प्रचारको मिसनमा पनि गाउँका गरिब आदिबासी बौद्धहरु फस्ने खतरा देखिन्छ ।

अहिले बंगलादेशका बौद्धहरुले यहाँको जनसंख्याको सानो भाग (लगभग ०.६३%) मात्र ओगटेका छन् । तर उनीहरुको जुझारु प्रवृति र अध्ययनशिलताले राज्यलाई उनीहरुले बारम्बार उपस्थितिको जनाउ दिइरहेको पाइन्छ ।

२. परम्परा
थेरवाद बौद्ध धर्मः बुद्ध धर्मको पुनर्जागरण पछि बंगलादेशको बुद्ध धर्मको चर्चा गर्दा अहिले त्यहाँ थेरवाद बुद्ध धर्म नै सबैभन्दा प्रचलित परम्परा वा निकाय हो । यो यहाँको बुद्ध धर्मको सबैभन्दा लोकप्रिय र प्रभावशाली रूप नै हो ।

यहाँ थेरवाद मुख्यतया चकमा, मार्मा र चटगाउँ पहाडी क्षेत्रका अन्य आदिवासी समूहहरूले अभ्यास गर्छन् । विशेष गरी चटगाउँ पहाडमा बहुसंख्यक बौद्ध जनसंख्या बसोबास गर्दछ । बांगलादेशका धेरै जसो बौद्ध विहार र मन्दिरहरू यसै क्षेत्रमा अवस्थित छन् । यस निकायले यहाँका बौद्ध आदिवासी समुदायको दैनिक जीवन, चाडपर्व र परम्पराहरूमा सांस्कृतिक प्रभाव पारेको छ । यिनीहरुको जीवन भनेकै थेरवादी जीवन भनेपनि हुन्छ ।

महायान बौद्ध धर्म : थेरवादी बाहेक सानो समुदाय बिच यहाँ महायान बौद्ध धर्मको केही प्रभाव छ । यहाँ विशेष गरी शहरी क्षेत्रहरूमा बौद्ध समुदायहरूमा महायान बुद्ध धर्मको उपस्थिति देखिन्छ । बंगाली–भाषी बौद्धहरू र यस परम्परासँग ऐतिहासिक सम्बन्ध भएका समुदायहरूमा केही महायान अभ्यासकर्ताहरू छन्।

अन्य बौद्ध अभ्यासहरू : यसबाहेक यहाँ आजभोलि तिब्बती वज्रयान परम्पराका अन्य बौद्ध अभ्यासहरूमा चासो राख्नेहरु पनि छन् । बढ्दो विश्वव्यापीकरण, बौद्ध साहित्यको उपलब्धता तथा तिब्बती ब्यापारीहरुको आउजाउले गर्दा उनीहरु सूसुचित हुन सक्छन् । त्यसमा पनि इन्टरनेटले विश्वका सबै बुद्ध धर्मको बारेमा जानकारी आफ्नै हातमा ल्याइदिनेभएकोले इच्छुक र जाँगरिला बौद्धहरुले अन्य बुद्ध धर्मका परम्पराहरुलाई पनि समावेश गरेका छन् ।

३. विज्ञहरु वा अभ्यासकर्ताहरूः
बांगलादेशका बुद्ध धर्मका प्रमु्ख गुरुहरुको बारेमा धेरै कुरा इतिहासको भर्गमै लुकेको छ । अहिले यहाँ केही प्रख्यात ऐतिहासिक व्यक्तिहरुको सामान्य जानकारी दिन सकिन्छ जो बंगाल क्षेत्रसँग सम्बन्धित छन् ।

अतीशा (सन् ९८२–१०५४) : अतीशा बंगलादेश (अथवा त्यसबेलाको बंगाल क्षेत्र)मा १० औं शताब्दी जन्मेका एक प्रसिद्ध विद्वान–भिक्षु थिए । ढाका नकिकैको विक्रमपुर अथवा मुंशीगंजलाई उनको जन्मस्थल मानिएको छ । उनले तिब्बतमा समेत महायान बौद्ध धर्म फैलाउन महत्वपूर्ण भूमिका खेलेका थिए भनिन्छ ।

उनी बंगालका महायान बुद्ध धर्मका गुरु थिए । उनको धेरै समय बिहारको विक्रमशिला महाविहारमा बित्यो । यो बेला भारतमा महायान उच्च स्थानमा थियो भने कुनै कुनै ठाउँमा बद्ध धर्म ओरालो लाग्दै गरेको अवस्था थियो । उनलाई त्यस समयमा महायान र वज्रयान बुद्ध धर्मको प्रसारमा योगदान दिएका केही प्रमुख व्यक्तित्वहरू मध्ये एक मानिन्छ । बोधिपथ–प्रदीप उनको एक महत्वपूर्ण ग्रन्थ हो ।

वानरत्न (सन् १३८४–१४६८): वानरत्नलाई तिब्बतमा भारतीय बौद्ध पण्डित भिक्षु भनिन्छ । उनको जन्म पूर्व बंगालमा भएको थियो । उनी राजा उदयकीर्ति तथा रानी कुमारीका छोरा थिए । भारतमा बुद्ध धर्मको अवनति हुन थाले पछि उनी श्रीलंका गएर बुद्ध धर्मको अध्ययन गर्न गए । उनी कालचक्रका साधक थिए । उनलाई धर्म अध्ययन र प्रचारको लागि तिब्बत जाने अन्तिम भारतीय भिक्षु भनेर पनि भनिन्छ । त्यहाका अर्का विद्वान गो लोचावाले उनको तिब्बत यात्रा समेटेर जीवनी नै लेखेका छन् ।

ज्योतिपाल महास्थविर (सन् १९१४–२००२) : वर्तमान बंगलादेशका केही उल्लेखनीय बौद्ध भिक्षुहरु मध्ये ज्योतिपाल महास्थिविरको नाम आउँछ । उनको जन्म कोमिल्ला जिल्लाको केमतालीमा भएको थियो । उनी सन् १९३७मा भिक्षु बने र बौद्ध साहित्य र भाषाहरुका विज्ञ भए । उनले बुद्ध धर्मलाई समाज सेवाको लागि अघि सारे र थुप्रै सामाजिक संस्थाहरु खोलेका थिए । उनी बंगलादेशको १०औं संघराजा पनि बने । उनको कामका लागि उनलाई म्यानमार सरकारले अग्गमहाधम्मजोतिकध्वज तथा संयुक्त राष्ट्र संघले सन् १९९५मा विश्व नागरिकको उपाधि दिएको थियो ।

४. बौद्ध विहार वा स्मारकहरु
बंगलादेशमा अहिले बुद्ध धर्मको अवस्था जस्तो भएपनि यहाँको बुद्ध धर्मको इतिहास गौरवमय भएको कतैबाट छिपेको छैन । यहाँ अहिले ऐतिहासिक समृद्ध बौद्ध विहार मन्दिर तथा सम्पदा देश भरी छरिएका छन् । यहाँ केही प्रमुख बौद्ध स्मारकहरूको बारेमा संक्षिप्त जानकारी दिइन्छ ।

शालवन विहार (Shalban Bihar) : बंगलादेशको कुमिल्ला जिल्ला मोइनामतिमा एक महत्वपूर्ण क्षेत्र शालवन विहार रहेको छ । यो विहारको निर्माण सातौं शताब्दीमा भएको थियो भने १२औ शताब्दीसम्म पनि यहाँ धार्र्मिक क्रियाकलाप भइरहको देखिन्छ । यहाँ एक मुख्य विहारका साथै १०० भन्दा बढी भिक्षुहरुका लागि आवस गृहहरु बनेका थिए । यहाँ ठूलो मात्रामा पाइएको भग्नावशेष र प्रभावशाली मूर्तिकलाहरू एवं र ठूलो कांस्य बुद्ध मूर्ति सहित अन्य कलाकृतिहरूले बंगलादेशको समुन्नत बौद्ध इतिहास झल्काउँछ ।

सोमपुरा महाविहार ( Somapura Mahavihara): बंगलादेशको नवगाँव स्थित पहारपुरमा सोमपुरा महाविहार छ । यो भारतवर्षमै केही उल्लेख्य महत्वपूर्ण प्राचिन विहारहरु मध्ये एक हो । यसलाई हिमालयको दक्षिणमा रहेको दोस्रो ठूलो बौद्ध विहार मानिन्छ । पाल वंशका राजा धर्मपाल द्वारा ८ औं शताब्दीमा निर्मित यो महाविहार एक समयमा शिक्षा र आस्थाको केन्द्र थियो । अहिले यस ठाउँमा भग्नावशेषहरू बाँकी छन् । यसले त्यसबेलाको बौद्धहरुको आस्था र जटिल वास्तुकलाको झलक दिन्छ । आज यो अन्र्ताष्ट्रिय तीर्थयात्रा प्रसिद्ध केन्द्र बनेको छ । यसलाई सन् १९८५मा विश्व सम्पदा सूचिमा सुचिकृत गरिएको छ ।

जगद्दल महाविहार (Jagaddala Mahavihara) : बंगलादेशको विक्रमपुर जिल्लामा भारतसँगको सीमा नजिक अवस्थित जगद्दल महाविहार पाल वंशको समयमा ११औं वा १२ औं शताब्दीमा निर्माण भएको थियो । यो त्यसबेला बुद्ध धर्मको अभ्यास तथा अध्ययन अध्यापनको एक प्रमुख बौद्ध प्रतिष्ठान थियो । अहिले यो पुरातात्विक अवशेषको रुपमा मात्र बाँकी छ । यस क्षेत्रमा धेरै स्तूपहरू, तथा भिक्षुहरु बस्ने आवासगृहहरुको अवशेष पाइन्छन् ।

त्यस बेलासम्म यहाँ बुद्ध धर्मको विकास भइरहेको थियो भन्ने समेत यस विहारले प्रमाणित गर्दछ । र यसले बंगलादेशमा मध्यकालीन बौद्ध जीवनको प्रतिनिधित्व पनि गर्दछ ।

वासु विहार (Vasu Bihar) ः बंगलादेशको बोगरा जिल्लाको शिवगंजमा वासु विहार अवस्थित छ । यसको निर्माण पाल वंशको समयमा सातौं वा आठौं शताब्दीको भएको देखिन्छ ।

यस स्थानमा सन् १९७३मा उत्खनन् गरेर यसको महत्व पत्ता लगाएको थियो । यहाँ पाँचवटा मुख्य चैत्यको अवशेष जस्तो देखिने ढिस्कोहरु छन् । अहिले यस क्षेत्रमा थुप्रै स्तूपहरू र भिक्षु आवासगृहरुको अवशेषहरू भेटिन्छन् । यसका साथैं केही काँसका मूर्तिहरू तथा माटोका छापहरू सहित धेरै बौद्ध कलाकृतिहरू पनि यहाँ फेला पारेको छ ।

ढाका अन्तर्राष्ट्रिय बौद्ध विहार ( Dhaka International Buddhist Monastery) ः बंगलादेशमा बुद्ध धर्मको पुनरुत्थान भएसँगै यहाँ केही नयाँ विहारहरुको निर्माण शुरु भएको छ । यहाँ अहिले बौद्ध क्रियाकलाप हुने विहारहरु मध्ये ढाकास्थित ढाका अन्तर्राष्ट्रिय बौद्ध विहार एक हो । यसको निर्माण सन् १९८१मा भएको थियो । यहाँ विशाल बुद्ध मूर्तिसहितको प्रार्थना कक्ष तथा पुस्तकालय छ । यहाँ भिक्षुहरु तथा अन्यका लागि पूजा गर्ने, अध्ययन गर्ने आदि कार्यक्रमहरु भइरहन्छ । भिक्षु सुन्दरानन्द यहाँका प्रथम प्रमुख थिए । अहिले यसको संचालन बंगलादेश बौद्ध महासंघबाट हुन्छ ।

बंगलादेश विपस्सना सोसाइटी (Bangladesh Vipassana Society) : यहाँ ढाका चित्तगावँमा बंगलादेश विपस्सना सोसाइटीको स्थापना गरिएको छ । यहाँ नियमित १० दिने विपस्सना ध्यान शिविरहरु संचालन गरिन्छन् ।

धर्मराजिका बौद्ध विहार परिसर (Dharmarajika Bauddha Vihara)ः बंगलादेशको ढाका शहरमा अवस्थित धर्मराजिका बौद्ध विहार परिसर यहाँको बुद्ध धर्म पुनर्जागरणको परिणाम हो । यसको स्थापना सन् १९६० मा विशुद्धानन्द महाथेराले गरेका थिए । यस विहार भित्र थाइल्यान्डले उपहार दिएको १० फिट अग्लो बुद्धको मुर्ति तथा जापानले उपहार दिएको अर्को मूर्ति छ । बंगलादेशमा स्वतन्त्रताको लागि आन्दोलन भइरहँदा यहाँ आश्रय पनि बनाइएको थियो । यस विहार परिसर भित्र अहिले अनाथालय, प्राविधिक विद्यालय, किन्डरगार्टन, ललितकला प्रतिष्ठान, पाली कलेज, क्लिनिक, अन्तर्राष्ट्रिय प्रार्थना हल इत्यादिको निर्माण गरिएको छ । यसले बंगलादेशका बौद्धरुको धार्मिक सामाजिक तथा शैक्षिक केन्द्रको समेत सेवा दिइरहेको छ ।

उपसंहार
यसरी हेर्दा यहाँ बंगलादेशमा बुद्ध धर्मको प्रवेश हजारौं अगाडि भएको र यहाँ थुप्रै विहार तथा अध्ययन केन्द्रहरुको विकास भइसक्दा पनि समयकालमा यहाँ बुद्ध धर्म लोप भएको थियो । समग्रमा, १९ औं शताब्दीको पुनरुत्थान आन्दोलनले बंगलादेशमा वर्तमान बुद्ध धर्मलाई संस्थागत रुप दिन महत्वपूर्ण भूमिका खेलेको थियो । यसले यस समृद्ध परम्पराको निरन्तरता सुनिश्चित गर्दछ र भविष्यको वृद्धिको लागि मार्ग प्रशस्त समेत गर्दछ । यसले गर्दा यहाँ बौद्धहरुको संख्या बढ्नुका साथै समाज बुद्ध शिक्षबाट लाभान्वित हुँदै गइरहेको देखिन्छ । यद्यपि बौद्ध शिक्षाका लागि स्रोतहरू सुनिश्चित गर्ने र ऐतिहासिक स्थलहरूको संरक्षण जस्ता चुनौतीहरू अझै पनि बाँकी छन् ।

सम्बन्धित पोस्ट
  • जनकवि दुर्गालाल श्रेष्ठको ९३ वर्षको उमेरमा निधन
  • राजा वीरेन्द्रले पनि सत्य कुरा लुकाए
  • तीनवटा प्रज्ञा-प्रतिष्ठानमा नयाँ पदाधिकारी नियुक्त (सूचीसहित)
  • ब्रोड पिक’ दुर्घटनामा दिवंगत निर्मल पुर्जासहितका आरोहीहरूप्रति प्रम बालेन शाहद्वारा श्रद्धाञ्जली अर्पण
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    जनकवि दुर्गालाल श्रेष्ठको ९३ वर्षको उमेरमा निधन

    वरिष्ठ खोज पत्रकार मीरा राजभण्डारी अमात्यको अमेरिकामा निधन

    राष्ट्रिय स्वतन्त्र पार्टी शंखरापुर नगर समितिको सम्पर्क कार्यालय उद्घाटन, ३०० भन्दा बढी पार्टी प्रव

    राजा वीरेन्द्रले पनि सत्य कुरा लुकाए

    तीनवटा प्रज्ञा-प्रतिष्ठानमा नयाँ पदाधिकारी नियुक्त (सूचीसहित)

    ब्रोड पिक’ दुर्घटनामा दिवंगत निर्मल पुर्जासहितका आरोहीहरूप्रति प्रम बालेन शाहद्वारा श्रद्धाञ्जली अर्पण

    शान्ति पहिलो प्राथमिकता : हिंसाले होइन, संवाद र सहिष्णुताले राष्ट्र बन्छ

    खोकना: ओझेलमा परेको सम्भावित विश्व सम्पदा र राज्यको उपेक्षा

    वरिष्ठ खोज पत्रकार मीरा राजभण्डारी अमात्यको अमेरिकामा निधन

    राष्ट्रिय स्वतन्त्र पार्टी शंखरापुर नगर समितिको सम्पर्क कार्यालय उद्घाटन, ३०० भन्दा बढी पार्टी प्रव

    पार्टी सशक्त बनाउन राप्रपा शंखरापुरको नयाँ रणनीति:निर्वाचित तीनै वडा अध्यक्षलाई उपाध्यक्ष र विभागीय संयोजकको जिम्मेवारी

    काठमाडौंमा आज ‘ वाक फर पिस’ टोली आइपुग्दै, यस्तो छ आजको तालिका

    रास्वपा काठमाडौंको नेतृत्वमा युवा नेता राजा शाक्य: ‘नेपाल भाषा’ र स्थानीय मुद्दाका खम्बा

    सुभाय् पोस्ट बिशेष

    जनकवि दुर्गालाल श्रेष्ठको ९३ वर्षको उमेरमा निधन

    राजा वीरेन्द्रले पनि सत्य कुरा लुकाए

    तीनवटा प्रज्ञा-प्रतिष्ठानमा नयाँ पदाधिकारी नियुक्त (सूचीसहित)

    ब्रोड पिक’ दुर्घटनामा दिवंगत निर्मल पुर्जासहितका आरोहीहरूप्रति प्रम बालेन शाहद्वारा श्रद्धाञ्जली अर्पण

    खोकना: ओझेलमा परेको सम्भावित विश्व सम्पदा र राज्यको उपेक्षा

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑