सुभाय् संवाददाता
July 2, 2023 मा प्रकाशित (३ साल अघि)
अनुमानित पढ्ने समय : ३ मिनेट
उमा कार्की
•••••
भएर अर्धपागलझैं
तिम्रो प्रेमको संसारमा
नियाल्दै दूर क्षितिजको बाटो
तिम्रै आहटमा बितेको छ,
मेरो दिनचर्या,
तर
के थाहा तिमीलाई !
दिएको मिठो दर्द,
मेरो हृदयको हर चालमा
दुखाइकै संगीतमा मूर्छना भरेको
आखिर !!
के थाहा तिमीलाई !
पोखिदिएँ आज आफूलाई मैले
गरिदिएँ, आज
तिम्रो र मेरो अन्तस्करणको उद्घाटन
अनि प्रवाहित गरिदिएँ,
हावामा
तिमीप्रतिको सम्पूर्ण प्रेम
चाहे
संकीर्ण समाजले देखोस् !
चाहे !!
दयाहीन दुनियाँले छेकोस्
कुनै परवाह छैन मलाई !!
अब
केवल मतलब छ, त तिम्रो
चाहे
यो जगत् नै नहोस् !
हाम्रो प्रेमको पक्षमा
यो दुनियाँ,
परिक्षा लिओस्!!
एक पछि अर्को
जवाफ हुनेछ मेरो उही!!
केवल हाम्रो प्रेम !
यसका निम्ति
साथ हुनेछ,
तिम्रो विश्वासको
तुषारापात हुनेछैन,
फुलिसकेको रातो गुलाफमा
फक्रिसकेको मिर्मिरे मुस्कानमा
बलिरहोस् मेरो समर्पणको दियो
औँसीको गाढा अन्धकारमा पनि
बिश्व जित्नेछु!!
म
केवल तिमीसित उल्लासित भए !
विजयी हुनेछ,हाम्रो प्रेम
केवल उज्यालोसित झल्झलाकार भए !!
•••••
उमा कार्की नारायणगढ, चितवन !
हाल, अष्ट्रेलिया !!