काठमाडौं / जनता समाजवादी पार्टी (जसपा) ले पार्टीबाट निष्काशन गरिसकेको महन्थ ठाकुर–राजेन्द्र महतो पक्षको अल्पमत समूह खड्ग ओली नेतृत्वको कामचलाउ सरकारमा सहभागी भएको छ । शुक्रबार साँझ अबेर नवनियुक्त मन्त्रीहरुले सपथग्रहण गर्ने भएका छन् ।
ठाकुर–महतो समूह निकट स्रोतले जनाएअनुसार राजेन्द्र महतोको नेतृत्वमा सो समूह सरकारमा गएको हो । शरतसिंह भण्डारी, अनिलकुमार झा, लक्ष्मणलाल कर्ण, विमल श्रीवास्तव, उमाशंकर अरगरिया, चन्दा चौधरी र एकबाल मिया संसद्बाट अपदस्थ भइसकेको कामचलाउ सरकारका मन्त्री बनेका छन् ।
महतोले उपप्रधानसहित सहरी विकास मन्त्रालय, भण्डारीले ऊर्जा, जलस्रोत तथा सिँचाई, झाले खानेपानी र कर्णले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण श्रीवास्तवले श्रम, रोजगार तथा सामाजिक सुरक्षा र अरगरियाले वन तथा वातावरण, चौधरीले महिला, बालबालिका तथा जेष्ठ नागरिक र एकवाल मियाले युवा तथा खेलकुद मन्त्रालय सम्हाल्ने जिम्मेवारी पाएका छन् ।
ठाकुर–महतो समूहबाटै दुई राज्यमन्त्री पनि थपिएका छन् । चन्द्रकान्त चौधरी ऊर्जा र रेनुका गुरुङ महिला, बालबालिका तथा समाजकल्याण राज्यमन्त्री बनेका छन् ।
विभाजनको डिलमा पुगेको एमालेको ओली समूहभित्रै तीव्र अन्तर्कलह चर्किएको चर्चा चलिरहेका बेला ओली सरकार र पार्टीको सोही गुटका महत्त्वपूर्ण ‘हस्ती’ मानिने विनाविभागीय उपप्रधानमन्त्री ईश्वर पोखरेल र परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली सरकारबाट बाहिरिने भएका छन् । अर्थमन्त्री विष्णु पौडेललाई भने ओलीले सिनियर उपप्रधानमन्त्री बनाएर महत्त्वपूर्ण जिम्मेवारी दिएका छन् ।
आन्तरिक झगडामा हावी हुन ओलीले ०७४ देखि नै मन्त्री भएकाहरुलाई हटाएर नयाँलाई मात्र कायम राख्ने मापदण्ड बनाएका कारण पोखरेल र ज्ञवाली बहिर्गमनमा परेको प्रचार गराइएको छ । यो मापदण्डअनुसार कामचलाउ सरकारमा अब एमालेका तर्फबाट विष्णु पौडेल, कृष्णगोपाल श्रेष्ठ, लीलानाथ श्रेष्ठ र वसन्तकुमार नेम्वाङ मात्रै बाँकी रहन्छन्, अरु सबै बाहिरिन्छन् । हृदयेश त्रिपाठी, पद्मा अर्याल, शिवमाया तुम्बाहाङ्फे, पार्वत गुरुङलगायत पनि बाहिरिने भएका छन् । साभार
सुभाय् मिडिया प्रा.लि.
ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८
ईमेल: [email protected]
कार्यालय फोन- ०१-२१५६४४
स्थायी लेखा नम्बर- ६१२२८०१००
सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५