• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Mon, 03, Aug, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज /  मुख्य समाचार

टुँडिखेलको गौरवगान


tudikhel
सुभाय् संवाददाता November 19, 2019 मा प्रकाशित (६ साल अघि) अनुमानित पढ्ने समय : ४ मिनेट

मल्ल के. सुन्दर

इपोलिट्टो डेसिडेरी ती पश्चिमी दूत हुन्, जो चर्चको प्रतिनिधिका रूपमा इतिहासमा पहिलो पटक तिब्बत पुगेका थिए । सन् १७१२ मा पोर्चुगलको लिसबनबाट सुरु भएको उनको यात्रा १७२७ मा टुंगिएको थियो । उनी कश्मीर र लद्दाख भएर ल्हासा पुगे, फर्कंदा काठमाडौं भएर हिन्दुस्तानतिर लागे । त्यतिखेर उनले काठमाडौं सहरको पूर्वी किनारमा अत्यन्त ठूलो हरियो चउर देखेको फिलिप्पो द फिलिपीले सम्पादन गरेको उक्त यात्रा वर्णनको पुस्तकमा उल्लेख छ ।
त्यो चउर उत्तरदेखि दक्षिणसम्म करिब तीन माइल लामो र तीन सय गजभन्दा चौडा भएको उल्लेख छ । पुस्तकमा वर्णन गरिएको त्यो खुला चउर टुंडिखेल थियो । बेलायत सरकारको आवासीय प्रतिनिधि भएर सन् १८५० तिर काठमाडौं बसेका हेनरी एम्ब्रोस वल्डफिल्डले आफ्नो पुस्तक ‘स्केचेज फ्रम निपाल’ मा पनि टुँडिखेलका सम्बन्धमा समान खाले विवरण दिएका छन् ।
हाम्रै मुलुकभित्रका वृत्तान्त, लिखत र आख्यानहरूमा टुँडिखेलको इतिहास कान्तिपुर नगरको सभ्यताजत्तिकै प्राचीन र विशिष्ट रहेको पाउँछौं । यद्यपि यसको प्राचीनताका सन्दर्भमा कति पुराना दस्तावेज र प्रमाण छन्, अझै शोधखोजको विषय छ, तथापि लोकजीवनमा प्रचलित आख्यान अनि वंशावलीहरूका विवरण अनुसार लिच्छविकालमै टुंँडिखेल अस्तित्वमा आइसकेको थियो । अद्यापि प्रचलनमा रहेको सांस्कृतिक पर्व घोडेजात्रा लिच्छविहरूकै समयबाट टुँडिखेलमा आयोजना गरिने गरिन्थ्यो भन्ने कथन छ । अचेल नेपाली सेनाले त्यही पर्वलाई परिवर्तित रूपमा निरन्तरता दिंँदै आएको मात्र हो ।
वंशावली अनुसार, राजा गुणकामदेवले खड्गाकारमा दक्षिण वाग्मती किनारदेखि उत्तर ठमेलसम्म तेर्सो गरी कान्तिपुर नगर विस्तार गरेका हुन् । पूर्वमा टुकुचा र पश्चिममा विष्णुमती सीमान्त क्षेत्र थिए । प्रवेशद्वारमा क्षेत्रपालका रूपमा दक्षिणमा पचलीभैरव अनि नगरका आठ कुनामा रक्षकका रूपमा आठ शक्तिपीठ स्थापना गरिए । तीमध्ये पासिक्व अजिमा (हाल नेपाल प्रज्ञा प्रतिष्ठानबाहिर उत्तरतिर सडकको किनारस्थित) शक्तिपीठ, लुँमरी अजिमा (भद्रकाली) र सैनिक हेडक्वाटरको परिसरभित्रको फिब्व अजिमासमेत गरी तीन महत्त्वपूर्ण पीठमाझ टुँडिखेल अवस्थित छ । टुकुचाको किनारमा रहेका ती पीठ कुनै समय रैथानेहरूका दाहसंस्कार गरिने केन्द्र मात्र थिएनन्, शाक्त तथा बज्रयानीहरूले तन्त्र साधना गर्ने आराध्यस्थल पनि हुन् । यसले टुँडिखेलको इतिहास कति परसम्म रहेछ भन्ने झल्को दिन्छ ।
टुँडिखेलको किनारमा अवस्थित एउटा प्रमुख शक्तिपीठ हो— लुँमरी (भद्रकाली), जसलाई लज्जापीठका रूपमा पनि मानिन्छ । आजपर्यन्त भद्रकाली पीठसँग सम्बन्धित पूजा र जात्रा प्रत्यक्षत: टुँडिखेलसँग गाँसिएका छन् । विशेषत: पाँहाचह्रे (घोडेजात्रा) का अवसरमा काठमाडौंमा मनाइने सांस्कृतिक पर्वको क्रममा चैते औंसीको मध्यरात टेवहाल तथा वटु टोलका दुई भद्रकालीका खट र कंकेश्वरीको अर्को खटको मिलन र चिराग साटासाट गर्ने रहस्यमय जात्रा यसै टुँडिखेलको मध्यभागमा सम्पन्न गरिन्छ । वंशावली अनुसार, लुँमरीको स्थापना कलिगत संवत् ३८२५ तिर भएको हो । काठमाडौंको सवलवहालका तान्त्रिक शाश्वतबज्रले आफ्नो ऋद्धिसिद्धिको बलबाट यो पीठ स्थापना गरेको विश्वास गरिन्छ । यी वृत्तान्तसँग टुँडिखेलको सम्बन्धलाई गाँसेर हेर्दा यसको इतिहास अझ शताब्दियौं परसम्म पुग्छ । ऐतिहासिक सामग्रीहरूमा उल्लेख गरिए अनुसार पनि राजा रत्नमल्लले स्वस्तिशान्तिको कामना गर्दै राँगोको शिर आहुति गरेर टुँडिखेलको भद्रकालीमा लक्षहोम गरेका थिए । त्यो ने.सं. ५९४ को घटना थियो । ने.सं. ६०५ देखि त भद्रकालीको बाह्रवर्षे नाच सुरु भइसकेको पाइन्छ ।
टुँडिखेलकै परिसरमा रहेको अर्को सांस्कृतिक धरोहर हो— बज्रवीर/महाङ्कालको मन्दिर । सुन्दरानन्द बाँडाले आफ्नो पुस्तक ‘त्रिरत्नसौन्दर्यगाथा’ मा यसलाई तुण्डिभैरव महाङ्काल भनी उल्लेख गरेका छन् । यसै तुण्डिभैरवको नाउँबाट टुँडिखेल नामकरण भएको हो भन्नेहरू पनि छन् । सांस्कृतिक र धार्मिक आस्थाका कुरा एकातिर छन्, अर्कातिर मूर्तिकलाका दृष्टिले टुँडिखेलको महाङ्कालको मूर्तिबारे बेग्लै कथन पनि छ । महाङ्कालको मूर्ति चम्किलो र कालो ढुङ्गाबाट बनाइएको छ, जुन स्थानीय खानीहरूमा भेटिन्न । भनिन्छ, कुनै समय टुँडिखेलको एक छेउमा आकाशबाट कुनै उल्कापात भएको थियो । त्यसै उल्कापातमा कुँदेर मूर्ति बनाइयो र हाल मन्दिर भए ठाउँ महाङ्कालका रूपमा प्रतिष्ठापित गरियो । मूर्ति बनाइसक्दा पनि उल्कापातको केही अंश बाँकी रह्यो, जुन ठूलो कालो ढुङ्गाका रूपमा अहिले पनि पुरानो बसपार्कबाट शंकरदेव क्याम्पस निस्कने बाटो महेन्द्र पुलिस क्लबको पर्खालमुनि छ, जसलाई स्थानीय बासिन्दाले भैरवका रूपमा पूजा गर्ने गर्छन् । सम्भवत: टुँडिखेलको प्रारम्भिक सीमा त्यहींसम्मै फैलिएको थियो ।
पछि इतिहासको मध्यकालमा स्थानीय बासिन्दाले टुँडिखेलको रेखदेखको जिम्मा गुरुमापा नामको नरभक्षकलाई दिए भन्ने किंवदन्ती पनि छ । काठमाडौंको इतुंवहालका व्यापारी केशचन्द्रले ल्हासातिरको व्यापारबाट फर्कंदै गर्दा बलवान् तथा भयंकर शारीरिक बनोटको गुरुमापालाई आफ्ना सामान बोकाउन मामा–भान्जाको साइनो लाएर काठमाडौं ल्याएका थिए । तर त्यही गुरुमापा हिंस्रक बनेपछि सहरबाहिर टुँडिखेलको रखवालाका रूपमा टुँडिखेलस्थित खरीको बोटमा बस्ने बन्दोबस्त गरियो भन्ने लोकआख्यान छ । त्यसै अनुसार आजपर्यन्त इतुंवहाल र किलागलका बासिन्दाले वर्षेनि होली पूर्णिमाको दिन सिंगो राँगाको मासु र एक मुरी चामल पकाएर गुरुमापाको सम्मानमा टुँडिखेलमा चढाउने प्रचलन छ । केशचन्द्रकै जीवनको कालगणना गर्दा पनि त्यो झन्डै तीन शताब्दीभन्दा पुरानो हुन्छ ।
नेपाल संवत्को पाँचौं शताब्दीतिर तिरहुतका डोय शासकहरूले उपत्यकामा पटक–पटक आक्रमण गरे । सामान्यतया उनीहरू लुटपाट गरेर फर्कन्थे । गोपाल राजवंशावलीमा यसबारे थुप्रै वर्णन पाइन्छ । भनिन्छ, तिनै डोयहरूले केही समय उपत्यकामा शासन पनि चलाएका थिए । तिनैले इष्टदेवी डोय माजुलाई टुँडिखेलको पश्चिमतिर (हाल वीर अस्पतालअगाडि) प्रतिष्ठापन गरे । टुँडिखेल परिसरको त्यो प्राचीन सम्पदा अहिले पनि विद्यमान छ । यस अतिरिक्त टुँडिखेलको चउरमा यत्रतत्र काठमाडौंका रैथानेहरूका देवाली पूजा गरिने देगुद्य: (कुलदेवता) का प्रस्तरमूर्तिहरू थिए । वैशाख–जेठभरि विभिन्न तिथिमा टुँडिखेलमा भेला भई कुलपूजा गरेर त्यहीँ सहभोज गर्ने प्रचलन आजसम्म छ । यद्यपि टुँडिखेल अतिक्रमणले गर्दा त्यस्ता कुलदेवताका मूर्तिहरू भने अहिले लोप भइसकेका छन् ।
अंशु वर्माका भान्जा विभु वर्माले टुँडिखेलको पश्चिम, भोटाहिटी पस्ने छेउमा आफ्ना बाबुको सम्झनामा कलात्मक ढुङ्गेधारा निर्माण गराएका थिए । पुरिएको त्यो धारा पछि त्यहाँ भूमिगत बाटो बनाउन खन्दा भेटियो । त्यसमा संवत् ४५ मात्र उल्लेख छ । सम्भवत: टुँडिखेलवरपर भेटिएका ऐतिहासिक सामग्रीमध्ये त्यो नै सबैभन्दा प्राचीन हो । तर बजार क्षेत्रभित्र हाल भोटाहिटी टोलमा साझा बजारको भवन रहेको स्थानमा वन्ताहिती (पछि भोटाहिटी भनियो) थियो । राष्ट्रिय नाचघरनिर कुनामा प्रताप मल्लका महाअमात्य झंगलनरसिं थाकुलले पनि आकर्षक झंगल थकुहिती निर्माण गरेका थिए । पञ्चायतकालमा पुरेर त्यसमाथि आरसीटी क्लब भवन ठडाइयो । संस्कृत पाठशालाको उत्तरतिर नरदेवीका लक्ष्मीनारायण भारोले बनाएको तीनधारा अद्यापि भेटिन्छ । धरहरा निर्माणकै क्रममा त्यसको फेदमा बनाइएको सुनधारा टुँडिखेलवरपर भेटिने ढुङ्गेधाराहरूमध्ये सबभन्दा पछिल्लो निर्माण हो । विभिन्न अभिलेख अनुसार, हाल विद्युत् प्राधिकरणको भवन रहेको स्थानमा एउटा धोबीधारा थियो । हाल भृकुटीमण्डप छिर्ने पश्चिमी ढोकामुनि पनि एउटा ढुङ्गेधारा रहेको मानिसहरू सम्झन्छन् । भद्रकाली र महाङ्काल मन्दिरको पूजा प्रयोजनका लागि पनि ती मन्दिर परिसरमा एकएक ढुङ्गेधारा रहेको मानिन्छ । यसरी टुँडिखेलवरपर थुप्रै ढुङ्गेधारामा पानी झर्थे । टुँडिखेलको खुला चउर अर्को अर्थमा ती ढुङ्गेधाराहरूका लागि प्राकृतिक रूपमा पानी संकलन हुने जलाधार क्षेत्र थियो ।
प्रताप मल्लले रानीपोखरी बनाउँदा पनि टुँडिखेलको भौगोलिक सामीप्य र त्यो विशाल भूभाग पोखरीका लागि वर्षातको पानी संकलनको राम्रो जलाधार हुन सक्ने प्राविधिक पक्षलाई मनग्गे ध्यान पुर्‍याएको अनुमान गर्न सकिन्छ । उत्तरमा मानवनिर्मित रानीपोखरी अनि दक्षिणतिर प्राकृतिक रूपमा बनेको सिमसार (दशरथ रंगशाला बने ठाउँमा २०१३ सालसम्म पोखरी थियो) ओसिलो पानीमाझ विशाल टुँडिखेल उपत्यकाको एउटा आकर्षक र रमणीय भूभाग थियो ।
तसर्थ टुँडिखेलको महत्त्व खुला चउर अनि वातावरणीय र सौन्दर्यको कोणबाट मात्र रहेको होइन । यो वास्तवमा संस्कृति, परम्परा, रीति तथा आस्थासँग प्रत्यक्ष सम्बन्ध रहेको महत्त्वपूर्ण सम्पदा हो । टुँडिखेल हाम्रो इतिहासको एउटा जीवित साक्षी हो ।
जङ्गबहादुर राणाले विश्वयुद्धका लागि गोरखाली सेनालाई कवाज खेलाएदेखि चन्द्रशमशेरले गरेको सतीप्रथा अन्त्य तथा दासप्रथा उन्मूलनको घोषणा, जुद्धशमशेरले नब्बे सालको भूकम्पका पीडितलाई राहत उपलब्ध गराउन गरेको घोषणा, राजा त्रिभुवनबाट सात सालमा गरेको प्रजातन्त्रको शाही घोषणा, चतुर्थ विश्व बौद्ध सम्मेलन, नेहरू तथा चाउ एनलाई जस्ता विदेशी राजनेतालाई गरिएको नागरिक अभिनन्दन आदि महत्त्वपूर्ण ऐतिहासिक घटनाको प्रत्यक्षदर्शी टुँडिखेलस्थित खरीको बोट थियो । तर शासकहरूको मूर्खताका कारण ती महत्त्वपूर्ण संस्कृति, सम्पदा र इतिहासका अंशहरू विलुप्त भए ।
सन् १८८५ सम्म आइपुग्दा वीरशमशेरले सेनालाई टुँडिखेलछेउ बसाएर सुरु गरेको अतिक्रमण महेन्द्रको निरंकुश शासनकालमा तीव्र भयो । टुँडिखेल अतिक्रमणमा सेनाको भूमिका सबभन्दा आलोच्य छ । यसमा स्थानीय सरकार फड्के किनाराको साक्षीका रूपमा उपस्थित छ ।
‘अकुपाई टुँडिखेल’ का अभियन्ताहरू अहिले यसलाई पुनर्जीवन दिन लागिपरेका छन् । तर यस अभियानलाई वातावरणीय संरक्षणको सरोकार, भू–बनोटको सौन्दर्यको रक्षाको कोणबाट मात्र नभई सम्पदा, संस्कृति र इतिहास संरक्षणको गम्भीर सवालका रूपमा प्रस्तुत गरिनु आवश्यक छ ।
source:ekantipur

सम्बन्धित पोस्ट
  • ब्रोड पिक’ दुर्घटनामा दिवंगत निर्मल पुर्जासहितका आरोहीहरूप्रति प्रम बालेन शाहद्वारा श्रद्धाञ्जली अर्पण
  • खोकना: ओझेलमा परेको सम्भावित विश्व सम्पदा र राज्यको उपेक्षा
  • बुद्ध धर्मको उन्नत इतिहास बोकेको बंगलादेशमा बुद्ध धर्म
  • बौद्ध भिक्षुहरू वर्षावासको वर्षावास – असार १३ गते प्रातिमोक्ष पाठ र १४ गते अधिष्ठान गरिने
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    ब्रोड पिक’ दुर्घटनामा दिवंगत निर्मल पुर्जासहितका आरोहीहरूप्रति प्रम बालेन शाहद्वारा श्रद्धाञ्जली अर्पण

    शान्ति पहिलो प्राथमिकता : हिंसाले होइन, संवाद र सहिष्णुताले राष्ट्र बन्छ

    खोकना: ओझेलमा परेको सम्भावित विश्व सम्पदा र राज्यको उपेक्षा

    बुद्ध धर्मको उन्नत इतिहास बोकेको बंगलादेशमा बुद्ध धर्म

    बौद्ध भिक्षुहरू वर्षावासको वर्षावास – असार १३ गते प्रातिमोक्ष पाठ र १४ गते अधिष्ठान गरिने

    वर्षावास: व्यावहारिक जीवन, ध्यान-ज्ञानको अभ्यास र बौद्ध परम्परा

    नेपालको सम्पदा, पर्यटन र आर्थिक उन्नति : समृद्धिको आधारशिला

    सारनाथ पनि विश्व सम्पदा सूचीमा

    पार्टी सशक्त बनाउन राप्रपा शंखरापुरको नयाँ रणनीति:निर्वाचित तीनै वडा अध्यक्षलाई उपाध्यक्ष र विभागीय संयोजकको जिम्मेवारी

    काठमाडौंमा आज ‘ वाक फर पिस’ टोली आइपुग्दै, यस्तो छ आजको तालिका

    रास्वपा काठमाडौंको नेतृत्वमा युवा नेता राजा शाक्य: ‘नेपाल भाषा’ र स्थानीय मुद्दाका खम्बा

    बाह्र वर्षपछि टक्सार फर्किएर व्यवसाय: बसाइँसराइ रोक्न उदाहरणीय कदम

    अस्ट्रेलियामा मनाइयो अन्तर्राष्ट्रिय सगरमाथा दिवस

    सुभाय् पोस्ट बिशेष

    ब्रोड पिक’ दुर्घटनामा दिवंगत निर्मल पुर्जासहितका आरोहीहरूप्रति प्रम बालेन शाहद्वारा श्रद्धाञ्जली अर्पण

    खोकना: ओझेलमा परेको सम्भावित विश्व सम्पदा र राज्यको उपेक्षा

    बुद्ध धर्मको उन्नत इतिहास बोकेको बंगलादेशमा बुद्ध धर्म

    वर्षावास: व्यावहारिक जीवन, ध्यान-ज्ञानको अभ्यास र बौद्ध परम्परा

    राजनीतिमा नयाँ शक्ति र चुनौतीको चाङ

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑