काठमाडौँ — गृह मन्त्रालय स्रोतका अनुसार पछिल्लो २४ घण्टामा थानकोट, फर्पिङ, र जगाती नाका हुँदै भित्रिएको सवारीबाट ७ हजारजना उपत्यका भित्रिएका छन् । सरकारले काठमाडौं प्रवेशमा कडाइ गरेको भने पनि कोरोना संक्रमण फैलिएका जिल्लाहरुबाट समेत राजधानी प्रवेश गर्ने क्रम जारी छ ।नाकामा उनीहरुलाई काठमाडौं आउने कारण सोधिन्छ । विद्युतीय वा कागजी जुनसुकै पास देखाएको भरमा उपत्यका बाहिरबाट आएका सर्वसाधरणले सहजै प्रवेश पाइरहेका छन् ।प्रहरीले राजधानी प्रवेश गर्ने मुख्य नाका नागढुङ्गामा आउने जाने हरेक व्यक्तिको नाम, ठेगाना र नम्बर टिप्न थालेको छ । अझ दिउँसो काठमाडौं प्रवेश गर्नेको त ज्वरो पनि नापिन्छ । काठमाडौं प्रवेश गर्ने यात्रुको विवरण टिप्ने केही प्रहरीले पीपीई सेट पनि लगाएका छन् । हातमा पन्जा र मास्क सबैले लगाएका छन् । यो नाका हुँदै आउने सवारीले उपत्यका बाहिरका जिल्ला प्रशासन कार्यालयबाट पास बनाएर ल्याएपछि सहजै काठमाडौं प्रवेश पाउँछन् ।
नागढुङगा नाकाबाट मात्रै पास लिएर काठमाडौं प्रवेश गर्ने निजी सवारी दैनिक एक सय भन्दा बढी हुन्छ । प्रहरीका अनुसार यो नाकाबाट सोमबार मात्रै एक सय ५४ वटा गाडीमा चार सय ५४ जना काठमाडौं भित्रिएका छन् । आइतबार १ सय ४७ निजी गाडीमा तीन सय ३४ व्यक्ति उपत्यका बाहिरबाट काठमाडौं छिरेका थिए । यी बाहेक तरकारी, दुध, खाद्यन्न, निर्माण सामाग्री बोकेर काठमाडौं आउने सवारीमा पनि यात्रु ओसार्ने गरेको प्रहरीको तथ्याङकले देखाउँछ । वीरगन्जबाट खाद्यान्न बोकेको एउटा ट्रकमा तीन जना पुरुष पनि चढेका थिए । उनीहरु वीरगन्जबाटै आएका हुन् । जुन ठाउँमा मंगलबार मात्रै ३९ जना कोरोना संक्रमित देखिएका छन् । चालकले नागढुङ्गा भन्दा करिब ६ किलोमिटर तल खत्रीपौवाको अस्थायी चेकपोष्टमा उनीहरुलाई ओराले ।ट्रकबाट ओर्लेर उनीहरुले काठमाडौं प्रवेश गर्न मूलबाटोको बिकल्पमा चोर बाटो रोजे । खत्रीपौवा खोलाको पुलबाट हिँडेरै नागढुङगा नजिकैका देउराली डाँडामा निस्कनतिर लागे ।नागढुङगाको चेकपोष्टमा आइपुगेर यसरी फर्काइएका सर्वसाधरण ६ किलोमिटर तल खत्रीपौवा र १२ किलोमिटर परको नौबिसे पुगेर चोरबाटो हुदै थानकोट निस्किने गरेका छन् ।गाडीले झारेपछि र प्रहरीले ओरालेपछि जंगलको बाटो हुँदै लुकेर काठमाडौं प्रवेश गर्छन् । पहुँच र चिनजानको आधारमा पास बनाएर आउनेहरु भने रोकतोक बिनै सहजै काठमाडौं छिर्न पाउछन् ।
सुभाय् मिडिया प्रा.लि.
ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८
ईमेल: [email protected]
कार्यालय फोन- ०१-२१५६४४
स्थायी लेखा नम्बर- ६१२२८०१००
सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५