वंशजको नेपाली नागरिकता निरन्तरताका लागि सरकारसँग न्यायको अपिल
काठमाडौं, असोज २२ / भोटेकोशी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार, पुनर्स्थापना तथा पुनर्निर्माणका लागि ब्रिटिश गोर्खा नेपाली नागरिकता निरन्तरता (सिएनसिबिजि) यूकेले २८ लाख ९८ हजार ६ सय ७९ रुपैयाँ आर्थिक सहयोग गरेको छ।
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी बुधबार उक्त रकमको चेक ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठलाई हस्तान्तरण गरिएको हो।
कुल सहयोग रकममध्ये रुम्जाटार सोसाइटी यूकेले १३ लाख ३६ हजार ३ सय ९८ रुपैयाँ र पाल्पाको रिब्डीकोट बौद्ध परियत्ति विहारले ४० हजार रुपैयाँ सहयोग गरेका थिए।
कार्यक्रमको समन्वय भिक्षु मेधंकर स्थविरले गर्नुभएको थियो। कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) काठमाडौं जिल्ला सभापति राजा शाक्य, वृत्तचित्र निर्माता महर्जन रत्न र लेमन कर्माचार्यले सहजकर्ताका रूपमा भूमिका निर्वाह गर्नुभएको थियो।

सहयोग हस्तान्तरण कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विपद्का समयमा ब्रिटिश गोर्खाहरूले नेपाल र नेपाली नागरिकप्रति देखाउँदै आएको सहयोग र सद्भावको प्रशंसा गरे।
देशमा प्राकृतिक विपद् तथा अन्य चुनौती आइपर्दा ब्रिटिश गोर्खाहरूले निरन्तर सहयोग गर्दै आएको उल्लेख गर्दै उनले कठिन परिस्थितिमा विदेशमा रहेका नेपाली समुदायबाट प्राप्त सहयोग महत्वपूर्ण रहेको बताए।
नेपालमा आएको विपद्ले मानवीय तथा भौतिक क्षतिका साथै ठूला परियोजना, कृषि र पर्यटन क्षेत्रमा समेत असर पुर्याएको उल्लेख गर्दै मन्त्री श्रेष्ठले राहत, पुनर्स्थापना तथा पुनर्निर्माणका लागि सहयोग गर्ने सबैप्रति आभार व्यक्त गरे।
नेपाल राष्ट्र निर्माणको महत्वपूर्ण चरणमा रहेको बताउँदै उनले अन्तर्राष्ट्रियस्तरमा ब्रिटिश गोर्खाहरूले हासिल गरेको अनुभव, सुरक्षा प्रक्रिया तथा कार्यशैलीबाट नेपालले लाभ लिन सक्ने धारणा राखे।
ब्रिटिश गोर्खाहरूका समस्या र मुद्दालाई मन्त्रिपरिषद्को बैठकमा समेत उठाएर उनीहरूलाई न्याय दिन तथा समस्याको समाधान खोज्न छलफल गर्ने प्रतिबद्धता पनि उनले व्यक्त गरे। लामो समयदेखि अड्किएका विषय र सुशासनका सवालमा सरकार गम्भीर भएर अघि बढिरहेको उनको भनाइ थियो।
कार्यक्रममा सिएनसिबिजि यूकेका वरिष्ठ उपाध्यक्ष दलबहादुर बुढाथोकीले ब्रिटिश गोर्खा तथा उनीहरूका सन्ततीलाई वंशजका आधारमा नेपाली नागरिकता प्रदान गर्न सरकारसँग अपिल गरे।
‘हामी न्यायको पर्खाइमा छौँ। आशा छ, पक्कै पनि हाम्रो मुद्दामा नेपाल सरकारले न्याय दिनेछ,’ उनले भने, ‘मजस्ता लाखौँ ब्रिटिश गोर्खा र उहाँहरूका परिवार वंशजको नेपाली नागरिकता प्राप्तिका लागि सरकारको बाटो कुरेर बसेका छन्। हामीलाई न्याय गरिदिनुपर्यो।’
गोर्खा परिवारका सन्ततीलाई वंशजको नेपाली नागरिकता प्रदान गर्ने विषयमा आफूहरूले लामो समयदेखि सरकारको ध्यानाकर्षण गराउँदै आएको उनले बताए।
बुढाथोकीले ब्रिटिश गोर्खा मात्र नभई विदेशमा काम गर्ने अन्य नेपालीले समेत राष्ट्रिय परिचयपत्र तथा केआईसीसम्बन्धी समस्या भोगिरहेको उल्लेख गर्दै सरकारले यस विषयमा पनि आवश्यक पहल गर्नुपर्नेमा जोड दिए।
त्यसैगरी, भूपू कल्याणकारी समिति नेपालका सहसचिव पूर्णबहादुर रानाले भोटेकोशी बाढीपीडितका लागि संकलित आर्थिक सहयोगको विवरण प्रस्तुत गरे। उनले ब्रिटिश गोर्खा तथा उनीहरूका सन्ततीलाई वंशजको नेपाली नागरिकता प्रदान गर्ने विषयमा संविधानमा देखिएका त्रुटि सच्याउँदै सरकारले न्यायोचित समाधान खोज्नुपर्ने बताए। 
सिएनसिबिजिका अध्यक्ष तर्क रानाले ब्रिटिश गोर्खा तथा उनीहरूका सन्ततीको नेपाली वंशजको नागरिकता निरन्तरताका लागि आफूहरूले निरन्तर पहल गर्दै आएको बताएका छन्।
गोलखबर मिडियासँग कुरा गर्दै रानाले बेलायतमा रहँदा वा नेपाल आउँदा सम्बन्धित सरोकारवालासँग पटकपटक छलफल, बहस तथा कार्यशाला गोष्ठी आयोजना गरी सरकारको ध्यानाकर्षण गराउँदै आएको जानकारी दिए।
उनले ब्रिटिश गोर्खा र उनीहरूका सन्ततीको नागरिकतासम्बन्धी समस्या समाधानका लागि राज्यले गम्भीरतापूर्वक पहल गर्ने विश्वास व्यक्त गरे।
‘नेपाल सरकारले हामी गोर्खाहरूलाई न्याय दिनुहुनेछ भन्नेमा हामी आशावादी छौँ,’ रानाले भने।
उनका अनुसार बाढीपीडितलाई सहयोग गर्नु मानवीय दायित्व हो भने ब्रिटिश गोर्खा तथा उनीहरूका सन्ततीको नेपाली नागरिकताको निरन्तरता सुनिश्चित गर्नु उनीहरूको लामो समयदेखिको प्रमुख सरोकार हो। यी विषयमा सरकारको ध्यानाकर्षण गराउने कामलाई संस्थाले निरन्तरता दिने उनको भनाइ छ।
कार्यक्रममा पाल्पा रिब्डीकोट बौद्ध परियत्ति विहारका अध्यक्ष तथा भूपू कल्याणकारी समिति नेपालका अध्यक्ष हुमबहादुर थापा, संरक्षक लोकी माया थापामगर, भिक्षु मेधंकर स्थविर, रुम्जाटार सोसाइटी यूकेका सल्लाहकार रामप्रसाद गुरुङ र रुद्रबहादुर गुरुङ, भूपू कल्याणकारी समितिका सदस्य पवित्रा राना र प्रेम पुन, समितिका सल्लाहकार अम्मर पुन, सचिव एवं अधिवक्ता चेतबहादुर आले, वृत्तचित्र निर्माता महर्जन रत्न तथा पत्रकार दीपा आलेलगायतको उपस्थिति थियो।
कार्यक्रममा सहयोग रकम हस्तान्तरणसँगै ब्रिटिश गोर्खा तथा उनीहरूका सन्ततीको नेपाली नागरिकतासम्बन्धी विषयले समेत प्राथमिकता पाएको थियो। विपद्का बेला नेपाललाई सहयोग गर्दै आएको ब्रिटिश गोर्खा समुदायले आफ्ना नागरिकतासम्बन्धी मागको न्यायोचित सम्बोधनका लागि सरकारसँग अपेक्षा राखेको छ।





सुभाय् मिडिया प्रा.लि.
ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८
ईमेल: [email protected]
कार्यालय फोन- ०१-२१५६४४
स्थायी लेखा नम्बर- ६१२२८०१००
सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५