काठमाडौं । नेपालमा आएको विनाशकारी बाढीपहिरोबाट प्रभावित परिवारलाई राहत तथा सहयोग पुर्याउन ‘Walk for Peace’ को टोली नेपाल आउने भएको छ। अक्टोबर ७ देखि १४, २०२६ सम्म नेपालमा रहने टोलीले बाढीपीडित परिवारलाई प्रत्यक्ष भेटेर आर्थिक सहायता, न्यानो कपडा तथा अत्यावश्यक राहत सामग्री वितरण गर्ने जनाएको छ।
Walk for Peace का नेतृत्वकर्ता तथा Hương Từ Loving Kindness Foundation का संस्थापक श्रद्धेय भिक्षु पन्यााकर तुए न्हान (Bhikkhu Paññākāra Tuệ Nhân) को नेतृत्वमा राहत प्रतिनिधिमण्डल नेपाल आउन लागेको हो।
बाढीपछि ठूलो जनधनको क्षति व्यहोरेका परिवार अहिले घर पुनर्निर्माणसँगै खाना, सुरक्षित आश्रय र आफ्ना परिवारजनको सुरक्षाजस्ता आधारभूत आवश्यकतासँग जुधिरहेको अवस्थामा उनीहरूलाई प्रत्यक्ष सहयोग पुर्याउने उद्देश्यले अभियान अघि बढाइएको आयोजकले जनाएको छ।
टोलीले ‘शान्तिका लागि पदयात्रा’ केवल आफ्नो यात्रामात्र नभई अरूको पीडा कम गर्न गरिने प्रत्येक मानवीय कार्यसँग जोडिएको यात्रा हो भन्ने भावनासहित राहत अभियान सञ्चालन गर्ने जनाएको छ।
सन् २०१५ मा स्थापना भएको Hương Từ Loving Kindness Foundation ले नेपालका बाढीपीडितका लागि हालसम्म एक लाख अमेरिकी डलरभन्दा बढी रकम संकलन गरिसकेको जनाएको छ। थप राहत विस्तार गर्न १ लाख ५० हजार अमेरिकी डलर पुर्याउने लक्ष्य राखिएको छ। राहतका लागि सहयोग संकलन अक्टोबर ६, २०२६ सम्म स्वीकार गरिनेछ।
संकलित राहत रकमबाट प्रभावित परिवारलाई आर्थिक सहयोग, जाडोका कपडा तथा आपत्कालीन सामग्री प्रत्यक्ष रूपमा वितरण गरिनेछ। आयोजकका अनुसार राहतका लागि प्राप्त रकमको १०० प्रतिशत प्रभावित परिवारको सहयोगमा प्रयोग गरिनेछ। प्रतिनिधिमण्डलको हवाई यात्रा, स्थानीय यातायात, खाना तथा आवासलगायतका सम्पूर्ण यात्रा खर्च भने सदस्यहरूले छुट्टै व्यहोर्ने जनाइएको छ।
यस अभियानले बाढीपीडित परिवारलाई तत्काल राहतसँगै मानवीय करुणा, सहकार्य र विश्व शान्तिको सन्देशसमेत प्रवाह गर्ने अपेक्षा गरिएको छ।




सुभाय् मिडिया प्रा.लि.
ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८
ईमेल: [email protected]
कार्यालय फोन- ०१-२१५६४४
स्थायी लेखा नम्बर- ६१२२८०१००
सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५