काठमाडौं । काठमाडौंको ऐतिहासिक तथा सांस्कृतिक पर्व सम्यक् महादान आयोजना गर्न राष्ट्रिय सभा गृहमा ‘सम्यक् महादान मूल समारोह समिति’को सचिवालय स्थापना गरिएको छ। आगामी माघ १ गते आयोजना हुने महादानको तयारीलाई व्यवस्थित बनाउन सचिवालय स्थापना गरिएको हो।
काठमाडौं महानगरपालिकाको पहलमा असोज ८ गते महानगरपालिकाका कार्यवाहक प्रमुखको प्रमुख संयोजकत्वमा मूल समारोह समिति, कार्यान्वयन समिति र १३ वटा क्षेत्रगत उपसमिति गठन गरिएको थियो। समितिहरूले महादानको तयारी, व्यवस्थापन तथा सञ्चालनसम्बन्धी कार्य अघि बढाउनेछन्।
राष्ट्रिय सभा गृहमा स्थापना गरिएको सचिवालयले महादान आयोजनाका लागि आवश्यक प्रशासनिक प्रक्रिया तथा तयारी गर्ने, कार्यान्वयन समिति र विभिन्न उपसमितिका कामलाई सहजीकरण गर्ने तथा सरोकारवाला निकाय र साझेदार संस्थासँग समन्वय गर्ने जिम्मेवारी निर्वाह गर्नेछ।
सम्यक् महादान मूल समारोह समितिका संयोजक तथा नेपाल बज्रयान महाविहार, लुम्बिनीका चक्रेश्वर प्रा. डा. नरेशमान बज्राचार्यका अनुसार नेपाल मण्डलमा सम्यक् महादान परम्परागत रूपमा दुई प्रकारले आयोजना हुँदै आएको छ। एउटा व्यक्तिगत इच्छाअनुसार आयोजना गरिने ‘ऐच्छिक सम्यक्’ हो भने अर्को गुठीमार्फत आयोजना गरिने ‘गुठी सम्यक्’ हो।
बज्राचार्यका अनुसार काठमाडौंमा तीनवटा छुट्टाछुट्टै गुठी समूहले प्रत्येक चार वर्षमा पालैपालो सम्यक् महादान आयोजना गर्ने परम्परा थियो। पछि ती तीनवटै समूह एकीकृत भई प्रत्येक १२ वर्षमा संयुक्त रूपमा महादान आयोजना गर्न थालेका थिए।
उनले गुठी सम्यक् आयोजना नभएको २२ वर्ष र ऐच्छिक सम्यक् आयोजना नभएको २५ वर्ष भइसकेको जानकारी दिए। लामो समयदेखि दुवै परम्परा अवरुद्ध रहेकाले काठमाडौं महानगरपालिकाले अमूर्त सम्पदा संरक्षण कार्यक्रमअन्तर्गत यस वर्ष सम्यक् महादान आयोजना गर्न लागेको उनले बताए।
सम्यक् महादान नेपाल मण्डलको महत्वपूर्ण बौद्ध सांस्कृतिक तथा धार्मिक परम्परा हो। यसमा विभिन्न विहारका दीपंकर बुद्धका प्रतिमालाई सहभागी गराई श्रद्धालु तथा दाताहरूबाट धार्मिक विधिअनुसार दान तथा पूजा अर्चना गरिन्छ। यस परम्पराले बौद्ध धर्म, दानशीलता, सामाजिक सद्भाव र नेवाः सभ्यताको ऐतिहासिक निरन्तरतालाई प्रतिबिम्बित गर्दछ।
लामो समयदेखि आयोजना हुन नसकेको सम्यक् महादानलाई पुनः निरन्तरता दिन महानगरपालिकाले थालेको तयारीसँगै यस वर्षको महादानले काठमाडौंको मौलिक बौद्ध सम्पदा र सांस्कृतिक परम्पराको संरक्षण तथा प्रवर्द्धनमा योगदान पुग्ने अपेक्षा गरिएको छ।




सुभाय् मिडिया प्रा.लि.
ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८
ईमेल: [email protected]
कार्यालय फोन- ०१-२१५६४४
स्थायी लेखा नम्बर- ६१२२८०१००
सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५