तीन वर्षको निरन्तर प्रयासपछि डिमार्केशन सम्पन्न, स्तरोन्नतिको काम सुरु
काठमाडौं /शंखरापुर नगरपालिका–६ मा लामो समयदेखि साँघुरो रहेको महत्वपूर्ण सडकखण्ड अब ३२ फिटमा विस्तार हुने भएको छ। शंखरापुर बहुप्राविधिक शिक्षालयदेखि सुष्मा मेमोरियल हस्पिटलतर्फ जाने सडकखण्डअन्तर्गत बज्रयोगिनी इङ्लिस स्कुलदेखि सालम्बुटारको पिपलबोटसम्म ३२ फिट सडक डिमार्केशनको काम सम्पन्न भएको वडा अध्यक्ष राधाकृष्ण श्रेष्ठले जानकारी दिएका छन्। अध्यक्ष श्रेष्ठका अनुसार यसअघि उक्त सडकखण्डको चौडाइ करिब १२ देखि १५ फिटमात्र थियो। सडक विस्तारका लागि करिब तीन वर्षदेखि निरन्तर पहल हुँदै आएको र अहिले डिमार्केशन सम्पन्न भएसँगै सडक स्तरोन्नतिको कामसमेत सुरु भएको हो।
आफ्नो कार्यकालमा सबैभन्दा बढी मेहनत परेको योजनामध्ये यो सडक विस्तार रहेको उल्लेख गर्दै अध्यक्ष श्रेष्ठले सडकका लागि आवश्यक जग्गा उपलब्ध गराएर सहयोग गर्ने जग्गाधनी तथा निरन्तर सहयोग गर्ने सहयोग समितिका महानुभावहरूप्रति आभार व्यक्त गरेका छन्।

उनले बाँकी जग्गाधनीहरूलाई समेत सडक विस्तारका लागि आवश्यक सहयोग गर्न आग्रह गर्दै आगामी दिनमा पनि स्थानीयवासीको निरन्तर सहयोग र सहकार्यको अपेक्षा गरेका छन्।
श्रेष्ठका अनुसार चालु आर्थिक वर्षमा बागमती प्रदेशको पूर्वाधार विकास कार्यालयबाट उक्त सडकखण्डका लागि थप बजेटसमेत विनियोजन भएको छ। अहिले सुरु भएको स्तरोन्नतिको योजना भने अघिल्लो आर्थिक वर्षमै सोही कार्यालयबाट टेण्डर भएको हो।
सडक विस्तार तथा स्तरोन्नति सम्पन्न भएपछि शंखरापुर बहुप्राविधिक शिक्षालय, बज्रयोगिनी क्षेत्र, सलम्बुटारलगायत आसपासका बस्तीका स्थानीयवासीको आवतजावत सहज हुने अपेक्षा गरिएको छ।




सुभाय् मिडिया प्रा.लि.
ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८
ईमेल: [email protected]
कार्यालय फोन- ०१-२१५६४४
स्थायी लेखा नम्बर- ६१२२८०१००
सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५