“मानिसको जीवनभन्दा ठूलो पैसाको मूल्य हुँदैन”-मन्त्री श्रेष्ठ
काठमाडौं । भोटेकोशी–त्रिशूलीमा आएको विनाशकारी बाढीका कारण बेपत्ता भएका नेपाल विद्युत् प्राधिकरणका कर्मचारी तथा कामदारका आश्रित परिवारलाई तत्काल राहत उपलब्ध गराउने निर्णय गरिएको छ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठका अनुसार राष्ट्रसेवामा खटिँदै बाढीमा बेपत्ता भएका प्राधिकरणका कर्मचारी तथा कामदारका परिवारलाई तत्काल आर्थिक सहयोग उपलब्ध गराउने निर्णय भएको हो। निर्णयअनुसार तत्काल ५ लाख रुपैयाँ राहत तथा ६ महिनासम्म सुरु तलब स्केलको ५० प्रतिशत रकम उपलब्ध गराउने उल्लेख छ।
मन्त्री श्रेष्ठले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको विवरणमा उक्त आर्थिक सहयोगलाई क्षतिपूर्तिका रूपमा नभई विपद्को समयमा पीडित परिवारलाई राज्य र प्राधिकरणको साथ तथा जिम्मेवारीको प्रारम्भिक प्रयासका रूपमा उल्लेख गरेका छन्।
उनका अनुसार आगामी दिनमा प्राधिकरणको विनियमावली तथा सरकारले घोषणा गर्ने राहत प्याकेजअनुसार थप सहयोगको व्यवस्था गरिनेछ।
भोटेकोशी बाढीका कारण जलविद्युत् आयोजना तथा विद्युत् संरचनामा ठूलो क्षति पुगेको छ। प्रारम्भिक विवरणअनुसार विभिन्न आयोजना तथा संरचनामा कार्यरत ठूलो संख्याका कर्मचारी र कामदार सम्पर्कविहीन भएका थिए।
मन्त्री श्रेष्ठले पीडित परिवारप्रति राज्यको साथ रहने उल्लेख गर्दै “मानिसको जीवनभन्दा ठूलो पैसाको मूल्य हुँदैन” भन्दै राहतले परिवारको पीडा समाप्त नगरे पनि तत्कालको कठिनाइमा केही सहयोग पुग्ने बताएका छन्।




सुभाय् मिडिया प्रा.लि.
ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८
ईमेल: [email protected]
कार्यालय फोन- ०१-२१५६४४
स्थायी लेखा नम्बर- ६१२२८०१००
सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५