सिड्नी, अस्ट्रेलिया। बहुसांस्कृतिक देश अस्ट्रेलियाको सिड्नीमा नेवाः कला, संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले येँया: पुन्हि (इन्द्रजात्रा) भव्य रूपमा मनाइएको छ। गुथि अस्ट्रेलियाको आयोजना तथा पासा पुचःको सहकार्यमा सन् २०२६ सेप्टेम्बर २६ मा मराना अडिटोरियममा आयोजित उक्त कार्यक्रममा एक हजारभन्दा बढी दर्शकको सहभागिता रहेको थियो।
कार्यक्रममा अस्ट्रेलियामा रहेका विभिन्न समुदायका अगुवा, सामाजिक व्यक्तित्व तथा प्रवासी नेपालीहरूको उल्लेख्य उपस्थिति रहेको थियो। दर्शकहरूको अत्यधिक चाप र उत्साहका कारण कार्यक्रमको एक साताअघि नै टिकट बिक्री बन्द गरिएको थियो। टिकट उपलब्ध हुन नसकेका कारण कार्यक्रममा सहभागी हुन चाहने कतिपय दर्शकले चाहना हुँदाहुँदै पनि सहभागिता जनाउन पाएनन्।

नेवाः समुदायको मौलिक कला, संस्कृति र परम्परालाई प्रवासमा जीवन्त राख्ने उद्देश्यले आयोजित कार्यक्रममा कुमारी रथ, लाखे नाच, आकाश भैरवको प्रसाद तथा आशीर्वाद, धिमे नाच, बज्रयोगिनी नाचलगायत विभिन्न परम्परागत नेवाः नृत्य तथा सांस्कृतिक प्रस्तुतिहरू मुख्य आकर्षण बनेका थिए। नेवाः मौलिक भेषभूषा, परम्परागत बाजागाजा र नेवाः परिकारले कार्यक्रमलाई थप सांस्कृतिक रौनक प्रदान गरेको थियो।
कार्यक्रमको विशेष आकर्षणका रूपमा गुथि ब्वनेकुथिका विद्यार्थीहरूको सहभागिता रहेको थियो। गुथि अस्ट्रेलियाका सांस्कृतिक सचिव श्याम सैंजुका अनुसार गुथि ब्वनेकुथिले प्रवासमा हुर्कंदै गरेका दोस्रो पुस्ताका नेवाः बालबालिकालाई नेपालभाषा, नेपाल लिपि, नेवाः नृत्य, धिमे बाजा तथा बाँसुरीको प्रशिक्षण दिँदै आएको छ। यसले प्रवासमा नेवाः भाषा, लिपि, कला र संस्कृतिको पुस्तान्तरणमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ
।
कार्यक्रममा गुथि ब्वनेकुथिका विद्यार्थीहरूले सामूहिक नेवाः नृत्य तथा सामूहिक धिमे बाजाको प्रस्तुति दिएका थिए। साथै, सिड्नीमा बसोबास गर्दै आएकी नृत्य प्रशिक्षक तथा कोरियोग्राफर सरिना सैंजुले गुथि ब्वनेकुथिका लागि तयार पारेको नेवाः नृत्य प्रस्तुतिबाट कार्यक्रमको सांस्कृतिक सुरुवात गरिएको थियो।
विदेशमा जन्मेहुर्केका नयाँ पुस्तालाई आफ्नै भाषा, लिपि, कला, संस्कृति र मौलिक पहिचानसँग जोड्ने उद्देश्यले आयोजना गरिएको येँया: पुन्हिले नेवाः समुदायको सांस्कृतिक एकता र सामुदायिक सहभागितालाई समेत उजागर गरेको थियो। विभिन्न सांस्कृतिक प्रस्तुतिमार्फत नेवाः समुदायको मौलिक पहिचान र परम्परालाई अस्ट्रेलियाको बहुसांस्कृतिक समाजमाझ परिचित गराउने अवसरसमेत प्रदान गरेको थियो।

गुथि अस्ट्रेलियाका सांस्कृतिक सचिव श्याम सैंजुका अनुसार, कार्यक्रममा एक हजारभन्दा बढी दर्शकको सहभागिता रहेको थियो। दर्शकहरूको अत्यधिक आकर्षणका कारण निर्धारित समयभन्दा एक साताअघि नै टिकट बिक्री बन्द गर्नुपरेको थियो। कार्यक्रमले प्रवासमा नेवाः संस्कृति संरक्षण, नयाँ पुस्तामा सांस्कृतिक चेतना अभिवृद्धि तथा समुदायबीच आपसी एकता र सद्भाव कायम गर्न महत्वपूर्ण योगदान पुर्याएको उनले जानकारी दिए।

नेवाः समुदायको महत्वपूर्ण सांस्कृतिक पर्व इन्द्रजात्रालाई सिड्नीमा भव्य रूपमा मनाइनुले प्रवासमा नेपाली मौलिक संस्कृति संरक्षण, पुस्तान्तरण र अन्तर्राष्ट्रिय स्तरमा सांस्कृतिक पहिचानको प्रवर्द्धनमा यस्ता कार्यक्रमको महत्व दर्शाएको छ।
येंया:(इन्द्र जात्रा)को भव्य कार्यक्रमपछि गुथी अष्ट्रेलियाका अध्यक्ष कुन्दन ताम्राकारले कार्यक्रमलाई सफलतापूर्वक संचालन गर्न सहयोग गर्नुहुने सबैलाई धन्यवाद ज्ञापन गरेका छ्न्।

Photo: Brian Laul, Majipa, and Social media




सुभाय् मिडिया प्रा.लि.
ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८
ईमेल: [email protected]
कार्यालय फोन- ०१-२१५६४४
स्थायी लेखा नम्बर- ६१२२८०१००
सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५