-दानदास श्रेष्ठ
काठमाडौं /शान्ति खलःले आफ्नो २१औँ साधारण सभाको अवसरमा ज्याजंकू (भीमरथारोहण) सम्पन्न गरेका ज्येष्ठ नागरिक तथा एसईई उत्तीर्ण विद्यार्थीलाई सम्मान गरेको छ। बडादशैँ, नेपाल संवत् ११४७ न्हूदँ, शुभदीपावली तथा छठ पर्व २०८३ को शुभकामना आदानप्रदान एवं समेबजि विशेष कार्यक्रमका अवसरमा शनिबार सिनामंगलस्थित सिद्धिविनायक मन्दिरको भवनमा समारोह आयोजना गरिएको हो।
शान्ति खलःका अध्यक्ष रत्नसुन्दर कायस्थको सभापतित्व तथा प्रतिनिधिसभाका सांसद मदनकृष्ण नवाःछेँ श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा रसुवा बाढीमा परी दिवंगत भएकाहरूको चिरशान्तिको कामना गर्दै एक मिनेट मौनधारण गरिएको थियो। साथै, बाढीबाट घाइते तथा प्रभावितहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको थियो।
राष्ट्रिय गानबाट सुरु भएको कार्यक्रममा शान्ति खलःको स्वागतगान प्रस्तुत गरिएको थियो। स्वागतगानका क्रममा दर्शकदीर्घाबाट करतलध्वनिसहित उत्साहजनक सहभागिता जनाइएको थियो।
कलात्मक पानसमा दीप प्रज्वलनपछि समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि सांसद श्रेष्ठले शान्ति खलःले गर्दै आएका सामाजिक तथा समाजोपयोगी कार्यको प्रशंसा गर्नुभयो। उहाँले मुलुकको चौतर्फी विकासका लागि स्थानीय, प्रदेश र संघीय तीनै तहका सरकार सक्रिय रहेको उल्लेख गर्दै विकास निर्माणका कार्यमा जनस्तरीय संस्थाहरूले सरकारलाई निरन्तर घच्घच्याउनुपर्ने धारणा राख्नुभयो।
स्थानीय सरकारमा रहँदा आफूले स्वास्थ्य, शिक्षा, धार्मिक तथा सांस्कृतिक क्षेत्रमा सहयोग पुर्याएको स्मरण गर्दै सांसद श्रेष्ठले संघीय सरकारमा पुगेपछि आफ्नो जिम्मेवारी थपिएको र त्यसलाई बहन गर्न आफू सधैँ प्रतिबद्ध रहेको बताउनुभयो।

मध्यपुर थिमिबाट व्यापार–व्यवसाय, शिक्षा, स्वास्थ्यलगायत विभिन्न कामका सिलसिलामा काठमाडौंमा बसोबास गर्दै आएका श्रेष्ठ समुदायका साहु–महाजन, समाजसेवी तथा राष्ट्रिय जीवनका विभिन्न क्षेत्रमा सक्रिय व्यक्तित्वहरूको पहलमा शान्ति खलः स्थापना भएको हो। समुदायमा सहयोग, सद्भाव र समृद्धि कायम गर्ने उद्देश्यले विसं २०३६ मा स्थापना भएको यो संस्था गैरनाफामूलक सामाजिक संस्था हो।
अध्यक्ष कायस्थले खलःको उन्नति र प्रगतिमा पदाधिकारी, संरक्षक, सल्लाहकार, आजीवन सदस्य तथा साधारण सदस्यहरूको निरन्तर सहयोग रहँदै आएको बताउनुभयो। उहाँले हाल शान्ति खलःको मुख्य प्राथमिकता आफ्नै भवन निर्माण रहेको उल्लेख गर्दै भवन निर्माणका लागि सम्पूर्ण खलः परिवारलाई तन, मन र धनले सहयोग गर्न पुनः आग्रह गर्नुभयो।
कार्यक्रममा शान्ति खलःकै सहयात्री शान्ति बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका अध्यक्ष, खलःका संरक्षक तथा आर्थिक सल्लाहकार बालगोपाल दाःश्रेष्ठले समुदाय तथा खलःको हितका विषयमा सम्बोधन गर्नुभयो। खलःका उपाध्यक्ष श्यामकृष्ण थिकु श्रेष्ठले स्वागत मन्तव्य राख्नुभएको थियो।
त्यसैगरी, खलःका पूर्वअध्यक्ष तथा सल्लाहकार कान्छा दै श्रेष्ठले संस्थाका गतिविधिबारे चर्चा गर्नुभयो। सचिव वीरेन्द्र ध्याकुदुवाः श्रेष्ठले प्रगति प्रतिवेदन तथा कोषाध्यक्ष सुरेश विजयानन्द श्रेष्ठले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभयो।

समारोहमा नवागन्तुक संरक्षक सदस्यद्वय देवेन्द्रभक्त गःछेँ श्रेष्ठ र तुलसीनारायण खःमू श्रेष्ठलाई प्रमुख अतिथि सांसद श्रेष्ठले विशेष सम्मान गर्नुभयो।
कार्यक्रम संयोजक तथा शान्ति खलःका कार्यकारिणी सदस्य जमुना कःमि श्रेष्ठका अनुसार ज्याजंकू (भीमरथारोहण) सम्पन्न गरेका ज्येष्ठ नागरिकहरूमा ओमकारनाथ पुवाः श्रेष्ठ, जगतलक्ष्मी श्रेष्ठ, बुद्धलक्ष्मी देवी श्रेष्ठ र लक्ष्मी जगिश्व श्रेष्ठलगायतलाई सम्मान गरिएको थियो।

त्यस्तै, एसईई उत्तीर्ण विद्यार्थीहरू निश्चल भाग्यो श्रेष्ठ, प्रजिता कुंछेँ श्रेष्ठ, रोचक तःमि श्रेष्ठ, सदिया काची श्रेष्ठ, सुनिधि सिनारीं श्रेष्ठ, रेअन्स फसि श्रेष्ठ, परिमा त्वाती श्रेष्ठ, लसता त्वाती श्रेष्ठ, पलिस्था पुवाः श्रेष्ठ, पियूष जगुलु श्रेष्ठ र पिलक्स श्रेष्ठलगायतलाई पनि सम्मान गरिएको थियो। (फोटो : श्याम था)





सुभाय् मिडिया प्रा.लि.
ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८
ईमेल: [email protected]
कार्यालय फोन- ०१-२१५६४४
स्थायी लेखा नम्बर- ६१२२८०१००
सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५