

सुशील ताम्राकार
जिन्दगीको कुनै काल खण्डमा तपाईं हामीले कुनै बखत, आपतकालीन परिस्थितिमा अचानक नसोचेको-नचिताएको अपरिचित व्यक्ति टुप्लुक्क आइपुग्छ र शंकट टारइदिन्छ वा शंकट मुक्त हुन सहयोगी भैदिन्छ । अबश्य पनि तपाइँको जिन्दगीमा कहीं न कहीं यस्तो घट्ना घटेको हुनुपर्छ वा सुनेको हुनु पर्छ । मलाई लाग्छ ती अज्ञात ब्यक्तीहरु स्वयं भगवान नभए पनि देवदूत चाहिं अबश्य हुन् । जिन्दगीको यो यात्रामा म आफैले भोगेको एउटा घट्ना र मेरै परिवारका सदस्यहरुले भेटेका यस्ता देवदूतहरुको प्रकटीकरणका दृश्यहरु चित्रण गर्न गैराखेकोछु।
घट्ना १
कथा धेरै बर्ष अघिको हो, पुग न पुग ४० बर्ष अघिको । बाको दुखद निधनको खबर रातको १ बजे पाएँ । जिन्दगीमा पहिलो पल्ट कलेजमा रक्तदान गरी लखतरान भै त्यो रात घरमै सुतेको थिएँ । हतार हतार अस्पताल पुगें । म संगसंगै माइला बाका छोरा ( दाइ ) र अरु दुइ काकाहरु अस्पताल पुग्यौं । गर्न सक्ने त केही थिएन, काल आएर बालाई लिएर गैसकेका थिए, बाको लाश छोडेर । बडा कष्टकर समय थियो, सहनै पर्यो । आमा र भाइलाई मुश्किलले घर पठायौं ।
अब अर्को समस्या आइपर्यो । मृत्युको कागजातमा सहि गर्न बोलायो र आदेश जारि भयो – शबलाई या त घर लिएर जानुस् या घाट, हैन भने मुर्दाघरमा लैजान्छौं । घर लाने कुरा भएन, शबगृहको बारेमा अनेक अफवाह भएकोले तहाँ राख्ने कुरो आएन । घाट लिएर जाने कुरामा काकाहरु र दाइ सहमत हुनु भयो । लान त लाने तर कसरी लाने ? यक्ष प्रश्न यही थियो । त्यति बेला शबवाहनको ब्यबस्था भैसकेको थिएन । मध्ये राती अन्य भाडाका वाहन नि पाइन्नथ्यो । बोकेर लाने त हो तर कसरी ? मन्थन चल्दै थियो । अस्पतालकै कर्मचारीले एउटा गजबको कुरा सुझाउनु भयो । रु २५० डिपोजिट राखे स्ट्रेचर दिन्छ, त्यसमा राखेर लानु अनि फ़र्काउनुस्, डिपोजिट लिएर जानुस् ।
यही नै यथोचित समाधान हो भन्ने लाग्यो । मसंग गोजीमा सुक्को थिएन । काकाहरुले २५० रूप्पे निकाल्नु भयो र स्ट्रेचर पायौं । स्ट्रेचर आफै आधा क्विन्टलको थियो । तै पनि हामीले बालाई ससम्मान घाट लिएर जान आँट गर्यौं । हामी चार जनाले बोक्यौं, तर शबयात्रा नगरुञ्जेल काँध हाल्न मिल्दैन रे, उचाल्नु बाहेक अर्को बिकल्प थिएन ।
केही बेरको अलमल पछि हामी चार जना मिलेरै बालाई शोभा भगवती अगाडिको घाटमा लैजान तयार भयौं । रातको साढे २ -३ बज्दो हो, बाटो बा जस्तै शान्त थियो, निर्जीव थियो । बोकेर महाबौद्ध परिसर के पुगेको थियो, उचाल्ने हातहरु हात जोड्ने थाले । भारी भयो, दुख्यो, अय्या, तर के गर्नु ? बाटोमा बिसाउनु हुन्न भन्ने कथन थियो । अरु कथन सथनलाई मनन नगरे नि जब मृत्यु संस्कारको कुरा आउँछ तब सघन रुपमा मान्ने नै हुन्छ । अदृश्य त्रास नै होला त्यो ।
सकी नसकी असन के पुगेको थियौं, एक अर्काको मुखामुख गर्न थाल्यौं, नबिसाई धरै भएन । त्यतिकैमा अचानक नेपथ्यबाट २ जना ५०- ५५ बर्षका अपरिचित व्यक्तिहरु आइपुग्नु भयो र सोध्नु भयो – को बितेको ? कान्छो काकाले जवाफ दिनु भयो – दाइ बित्नु भयो। “येह, बैकुण्ठ बास होस्, भन्दै ढाका टोपी हो कि कालो टोपी झिक्नु भयो र भन्नु भयो – खै तपाईंहरु थाक्नु भयो होला, हामी बोक्छौं ।
के खोज्छस् कानो ?आँखा ! भने जस्तै भो । मैले हात दुखेको कुरा सुनाइ एक जनालाई पालो दिएँ, अर्कोले पनि काकाको सट्टा बोक्नु भयो । यसरी असन चोक देखि हामी ६ जना भयौं र पालै पालो बोकी २० मिनेट जातिमा घाट सम्म पुग्यौं ।
त्यस पछि ती दुइ जना कता बिलाउनु भयो कता । दुख, तनाव र परिस्थितिजन्य काराणले उहाँहरुको परिचय पनि सोध्न सकेनौं । न उहाँहरुले हाम्रो कुनै परिचय नै माग्नु भयो । बस, आउनु भो, सहयोग गर्नु भयो, जानु भयो ।
अहिले आएर यसो सोच्दा लाग्छ, उहाँहरु रातको ३ बजे रुमल्ली हिड्ने आवारा थिएनन्, कुनै एनजीओ कर्मी थिएनन्, दैबले पठाएका देबदूतहरु हुनुहुन्थ्यो । ती अज्ञात देवदूतहरुलाई आज श्रद्धाले नमन गरें ।
घट्ना २
सन् २००९ को शायद अक्टोबर-नोभेम्बर महिनाको घट्ना थियो यो । नेपाल सम्बत ११३० नयाँ बर्ष मनाउने सिलसिलामा काठमाडौंबाट मोटर साइकल -याली पोखरा हुँदै वाग्लुङ्ग सम्म जाने र तहाँका स्थानीय न्हू दँ समारोह समितिहरुसंग अन्तरक्रिया गर्ने कार्यक्रम थियो । मेरो आफ्नै दाइ छिमेकी दाइको पिलोन राइडरको रुपमा जानु भएको थियो । पोखराको कार्यक्रम गरी भोलिपल्ट बिहान वाग्लुङ्ग जाने र त्यसको भोलिपल्ट मुक्तिनाथ दर्शनको लागि प्रस्थान गरी काठमाडौं फर्किने कार्यतालिका थियो ।
वाग्लुङ्गको कार्यक्रम सकी भोलिपल्ट मुक्ति नाथ तिर प्रस्थान गर्ने समयमा दाइ चढ्नु भएको बाइकमा सामन्य खराबी आएको ठीक गर्दा, सयौंको कार्वाँ गैसकेको अवस्था थियो । दाइ र दाइको छिमेकी प्रस्थान गर्ने ऐन वक्तमा एक जना गैर नेपालभासी आएर दाइलाई रोकेर – “तपाईं त्यता नजानुस्, काठमाडौं फर्किनुस्” – भन्नु भयो । दाइ पनि साथी पनि अवाक । किन के कारणले नजानु भन्नु भएको ? बाटो खराब छ हो ? भनी सोध्दा – ” हैन, तपाई जे भने पनि घर फर्किनुस्, नत्र अनिष्ट हुन्छ ” भनेर जवाफ दिनु भयो अज्ञात व्यक्तिले ।
दाइको मनमा चिसो पस्यो । यसरी बाटो रोक्दा रोक्दै जिद्दी गरेर जानु ठीक हुँदैन भन्ने लाग्यो र दाइले साथीलाई – तिमी मुक्तिनाथ जाउ, म अहिले पोखरा जान्छु र बस, प्लेन जे चढेर भए नि घर जान्छु – भन्नु भयो ।
दाइको साथीले पनि दाइ नजाने भने केलाई उता नजाने र सिधै काठमाडौं फर्किने निधो गर्नु भयो र काठमाडौं तिर हुइंकिनु भयो । साँझ काठमाडौं पुग्नु भयो तर त्यता केही अनिष्ट वा अनौठो खबर थिएन । थाकेर त्यो रात देब भाकेर सुत्नु भयो । दाइ हामी जन्मेको रैथाने टोल भन्दा १ किलोमिटर जति बाहिर बस्नु हुन्थ्यो र बिहानै घरमा आमालाई भेट्न जानु भयो । आमा पनि सदा झैँ स्वास्थ्य । अलि अलि उमेर अबेर भए पछि लाग्ने बिमार त छँदैथियो नै । टोल छिमेकमा गर्नु पर्ने सामान्य भलाकुसारी सकेर भोजनको लागि घर फर्केर आफ्नो नियमित कामा लाग्नु भयो । तर दिउँसोको ३ साढे ३ तिर आमाले यो धरती त्यागेको दुखद समाचारको घण्टी बज्यो । आमाको महा प्रस्थानको त्यो पीडादायक सूचनाले म सात समुन्द्रपार बस्नेको त सम्हालिनसक्नु हालत भयो भने घरमा के भयो होला ?
दाइ मुक्तिनाथको तिर गएको भए……. । दाइले त्यहीं भएर नि आमाको आशिर्बाद थाप्ने अन्तिम अबसर गुमाउनु पर्थ्यो । त्यो अज्ञात व्यक्तिले आमालाई भेट्न नै काठमाडौं जान बाध्य गराएका थिए । ती को थिए, कसैलाई थाहा थिएन तर निसन्देह ती देवदूत थिए ।
घट्ना ३
चार बर्ष अघिको मात्र घट्ना हो यो । एक दिन बेलुकीको ९ बजे तिर मेरो आफ्नै भाइलाई देब्रे छाती बेस्सरी दुखेको अनुभव भयो । असह्य पीडा भए हृदयघात हुन सक्छ भन्ने सामान्य ज्ञान थियो र भाइ बुहारीले छिमेकका भाइहरुलाई गुहार लगाउनु भयो । आफ्नै काकाका दुइ दाजुभाइ निमेषमै आइ झ्याँइकुटी गर्दै अस्पताल कुदाउन लागि परे । हाम्रो घर मूल सडकबाट ३ चोक भित्र त्यो पनि सवारी निषेध क्षेत्रमा । भाइलाई मूल सडकमा ल्याई दाइ ट्याक्सी खोज्न हिड्नु भयो भने बिरामीलाई कुर्न अर्को भाइ त्यहीं बसे । राती ९ बजिसकेको हुँदा सडक लगभग सुनसान मसान थियो। छाती दुखेको पीडामा भाइ छटपटाइ रहँदा एक जना अपरिचित व्यक्ति आउनु भयो र भाइलाई -उहाँलाई के भएको भनेर सोध्नु भयो । छाती दुखेर अस्पताल लान निस्केको भने पछि ती अपरिचित व्यक्तिले ” हार्ट एट्याक भएको हो, यसरी अलमलेर बसेर हुन्छ, म ट्याक्सी लिएर आउँछु भनेर हस्याङ्ग फ़स्याङ्ग गर्दै जानु भयो र मिनेट भर मै एउटा ट्याक्सीका साथ् फर्किनु भयो । बिरामी भाइलाई ट्याक्सीमा चढाई यसलाई बीर अस्पताल लानु, अन्त लाँदा ढिलो हुन सक्छ भनी हिड्ने तरखर गर्दा ट्याक्सी खोज्न जानु भएको दाइ निराश हुँदै फर्किंदै थिए । दुइ दाइ भाइ मिलेर बीर अस्पतालको इमर्जेन्सी लानु भयो । हाम्रो टोलबाट अस्पताल २-३ मिनेट को दूरी हो गाडीको निम्ति ।
अस्पतालमा प्राथमिक उपचार गरी एम्बुलेन्समा राखेर शहीद गङ्गा लाल अस्पतालमा थप उपचारको लागि पठाइदिए । र त्यही रात शल्य क्रिया भयो र अहिले भाइ स्वस्थ जीवन बिताइरहेका छन् । त्यो रात यदि त्यो देवदूत नआएको भए …. वा उप बुज्रुक भएर सिधै गङ्गा लाल लागेको भए…… जे पनि हुन सक्थ्यो । हृदयघातको अवस्थामा मिनेट समय ६० सेकेन्डको हुन्छ जो अमुल्य मात्र हैन जीवन र मृत्यु बीचको झिनो अन्तर हुन्थ्यो । ती व्यक्ति को हुन्, कसैलाई थाहा छैन तर जो हुन् ती देवदूत थिए ।
अस्तु!




सुभाय् मिडिया प्रा.लि.
ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८
ईमेल: [email protected]
कार्यालय फोन- ०१-२१५६४४
स्थायी लेखा नम्बर- ६१२२८०१००
सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५