
कपिलवस्तुको तिलौराकोटस्थित राजप्रासादमा बिहीबार मध्यराति महाभिनिष्क्रमण दिवस मनाइएको छ। आजभन्दा २ हजार ६ सय २० वर्षअघि राजकुमार सिद्धार्थले ज्ञान प्राप्तिका लागि राजसी सुखसयल त्यागेर दरबार छोडेको ऐतिहासिक घटनालाई स्मरण गर्दै यो दिवस मनाइएको हो।
बुद्ध सर्किट्स डटकम नेपाल र गच्छामी मिडिया ग्रुपद्वारा आयोजित यस कार्यक्रममा राजकुमार सिद्धार्थले मानव जातिको दुःखको कारण खोज्दै दरबार त्यागेको कठोर निर्णयलाई नाटकीय रूपमा चित्रण गरिएको थियो। सोही घटनाको झल्को दिने गरी, शक्यकुलका लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्य राजकुमार सिद्धार्थको भेषमा सेतो घोडा चढेर राजप्रासादको पूर्वी ढोकाबाट बाहिरिएको दृश्य प्रस्तुत गरिएको थियो। यसैगरी, पत्रकार महासंघ जिल्ला शाखाका निवर्तमान अध्यक्ष किरणमान बज्राचार्यले पनि सेतो घोडा चढेर सोही दृश्यमा भाग लिएका थिए।
सदस्य सचिव शाक्यले यस घटनालाई शान्तिका अनुयायीहरूका लागि अत्यन्तै महत्वपूर्ण र प्रेरणादायी बताएका छन्। उनले २९ वर्षको युवावस्था बिताएको स्थानमै दिवसमा सहभागी हुँदा शान्ति, सद्भाव र करुणाको ऊर्जा पलाएको महसुस गरेको उल्लेख गरे। यस्ता कार्यक्रमबारे सबैलाई जानकारी गराएर अध्यात्मिक पर्यटनको गन्तव्य बनाउनुपर्नेमा उनले जोड दिए।
लुम्बिनी विकास कोषका सद्भावना दूत विक्रम पाँणीकाजीले राजसी सुखसयल त्यागेर दरबार छाड्दा कस्तो अनुभूति हुन्छ भन्ने प्रत्यक्ष अनुभव गर्न चाहनेका लागि यो दिवस मर्मस्पर्शी र प्रेरणादायी भएको बताए। उनले यस्तो ऐतिहासिक र प्रेरणादायी अनुभूति विश्वमै विरलै पाइने भन्दै यसलाई राम्रो ब्रान्डिङ गर्न सकेमा शान्तिमा रमाउने र आनन्दित हुनेहरूका लागि यो स्वर्गभन्दा बढी पुण्य सञ्चय गर्ने स्थल बन्न सक्ने धारणा राखे।
कार्यक्रमका सहभागीहरूले स्वयं घोडा चढ्दै दरबार छोड्दाको अनुभूति लिएका थिए। कपिलवस्तु नगरपालिकाका प्रमुख सुदीप पौडेलले “हामीले सोच्दै नसोचेको इतिहास ब्युँतायौं” भन्दै यसलाई बौद्धमार्गी, उपासक र उपासिकाहरूलाई आकर्षित गर्ने कार्यक्रमका रूपमा विकास गर्नुपर्ने बताए। यसका लागि नगरपालिकाले सहयोग गर्ने प्रतिबद्धता पनि उनले व्यक्त गरे।
यो कार्यक्रम सुरुमा सद्भावना दूत विक्रम पाँणीकाजीले आफ्नै लगानीमा गर्दै आएका थिए। सन् २०२६ देखि लुम्बिनी विकास कोषले यस कार्यक्रमलाई आफ्नो क्यालेन्डरमा समावेश गरेको कोष सचिव शाक्यले जानकारी दिए।
असार पूर्णिमा एक पवित्र दिन हो। यस दिन राजकुमार सिद्धार्थ गर्भ प्रवेश गरेको, प्रथम धर्मदेशना गरेको र मातालाई दुशितलोकमा अभिधम्म देशना गरेको पनि मानिन्छ। यसैले, सहभागीहरूले यो दिवसलाई पुण्य सञ्चय, आपसी सद्भाव र भ्रातृत्व जगाउने आकर्षक कार्यक्रमका रूपमा विकास गरेर लैजानुपर्नेमा जोड दिएका छन्।
PHOTO SOURCE -EKANTIPUR




सुभाय् मिडिया प्रा.लि.
ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८
ईमेल: [email protected]
कार्यालय फोन- ०१-२१५६४४
स्थायी लेखा नम्बर- ६१२२८०१००
सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५