एजेन्सी,२३ पुष / नेपाल–चीन सीमा क्षेत्रमा गएको शक्तिशाली भूकम्पका कारण तिब्बतमा ठूलो जनधनको क्षति भएको छ। स्थानीय सञ्चार माध्यमका अनुसार तिब्बतको सिगात्से सहर र वरपरका क्षेत्रमा ३६ जनाको मृत्यु भएको छ भने दर्जनौं घाइते भएका छन्।
नेपाली समयअनुसार आज बिहान ६:५० बजे जिजाङ्ग प्रान्तको सिगात्सेस्थित दिङ्गी गाउँ केन्द्रविन्दु भएर ७.१ रिक्टर स्केलको भूकम्प गएको थियो। भूकम्पले विशेषगरी डिंगरी काउन्टी र वरपरका क्षेत्रलाई नराम्ररी प्रभावित गरेको छ।
चिनियाँ सरकारी टेलिभिजन सीसीटीभीका अनुसार केन्द्रविन्दु नजिकका धेरै भवनहरू ध्वस्त भएका छन्। बिहान १० बजेसम्म ४.४ म्याग्निच्युडसम्मका धेरै पराकम्पहरू रेकर्ड भएका छन्।
चीनको भूकम्प नेटवर्क केन्द्रका अनुसार यो क्षेत्र विगत पाँच वर्षमा ३ म्याग्निच्युडभन्दा माथिका २९ वटा भूकम्पहरूको साक्षी बनिसकेको छ। तर, आजको भूकम्प सबैभन्दा शक्तिशाली भएको बताइएको छ।
चिनियाँ भूकम्प ब्यूरोका रिपोर्ट अनुसार प्रभावित क्षेत्रमा उद्धारकार्य जारी छ। डिंगरी काउन्टीका चाङ्सुओ, कुलुओ र कुओगुओ टाउनशिपहरूमा क्षतिको विवरण सङ्कलन गर्ने कार्य भइरहेको छ।
यस भूकम्पले मानव जीवन र संरचनामा गहिरो क्षति पुर्याएको छ। उद्धार कार्यमा सहयोग पुर्याउने र पीडितहरूप्रति सहानुभूति व्यक्त गर्न सबैलाई आह्वान गरिएको छ।
शिगात्से, तिब्बतको दोस्रो ठूलो शहर, एक पवित्र धार्मिक र सांस्कृतिक केन्द्रका रूपमा परिचित छ। यो शहर तिब्बती बौद्ध धर्मका महत्वपूर्ण धर्मगुरुमध्ये एक पञ्चेन लामाको आसन हो।
पञ्चेन लामा, तिब्बती बौद्ध धर्मको गहिरो आध्यात्मिक र सांस्कृतिक महत्त्व बोकेको व्यक्तित्व हुन्। उनी दलाई लामापछि तिब्बती बौद्ध धर्ममा सबैभन्दा उच्च स्थानमा रहेको छ।
सुभाय् मिडिया प्रा.लि.
ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८
ईमेल: [email protected]
कार्यालय फोन- ०१-२१५६४४
स्थायी लेखा नम्बर- ६१२२८०१००
सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५