काठमाडौं /मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी न्यून चापीय प्रणाली (western disturbance) को कारण शुक्रबार साँझबाट नेपालको धेरै स्थानहरूमा आंशिक देखि साधारणतया बदलीको सम्भावना रहेको जनाएको छ । एक विज्ञप्ती जारी गर्दै महाशाखाले भनेको छ – सो प्रणालीको प्रभावका कारण मिति २०८१ पुस १२ गते (शुक्रबार) अपरान्ह देखि मिति २०८१ पुस १३ गते (शनिबार) सम्म सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका अधिकांश स्थानहरूमा तथा गण्डकी प्रदेश, बागमती प्रदेश र कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरूमा हल्का देखि मध्यम हिमपात हुने सम्भावना रहेको छ । साथै सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका धेरै स्थानहरू र लुम्बिनी प्रदेशका केही स्थानहरुमा हल्का देखि मध्यम वर्षा तथा गण्डकी प्रदेश, बागमती प्रदेश, मधेश प्रदेश र कोशी प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ । साथै उक्त मौसम प्रणालीको असरले तापक्रम समेत घट्न गई चिसो बढ्न सक्ने सम्भावना रहेको छ ।
तसर्थ, वर्षा, हिमपात तथा चिसोका कारण दैनिक जनजीवन, स्वास्थ्य, पर्वतारोहण, हवाईयातायात लगायत दैनिक जनजीवनमा समेत असर पर्न सक्ने देखिएकोले आवश्यक सतर्कता तथा पूर्व तयारी अपनाउनु हुन सर्वसाधारण तथा सबै सरोकारवाला निकायहरूमा अनुरोध गरेको छ ।
मौसम पूर्वानुमान महाशाखाले यस प्रणालीलाई अनुगमन गरिरहेको र महाशाखाबाट दैनिक जारी हुने तीन दिने मौसम पूर्वानुमान बुलेटिनमा समेत सोही अनुसार नियमित रूपमा अद्यावधिक गरिने जनाउदै सम्पूर्णलाई अद्यावधिक मौसमी सूचनाको जानकारी लिन हुन समेत मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।
सुभाय् मिडिया प्रा.लि.
ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८
ईमेल: [email protected]
कार्यालय फोन- ०१-२१५६४४
स्थायी लेखा नम्बर- ६१२२८०१००
सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५