काठमाडौं /बागमती प्रदेश सरकारले नेपालभाषा र तामाङ भाषालाई प्रदेशको सरकारी कामकाजी भाषाको रूपमा प्रयोग हुनेगरी पारित गरिएको भाषा सम्बन्धी ऐन बैशाख २४ गतेबाट कार्यान्वयन भएको छ । प्रदेश सरकारले गत कार्तिक २३ गते यो ऐन प्रदेश राजपत्रमा प्रकाशित गरिएको थियो भने राजपत्रमा प्रकाशन भएको १८० दिनपछि कार्यान्वयनमा जाने प्रावधान अनुसार बैशाख २४ गतेबाट यो ऐन सक्रिय भएको हो ।
यस अवसरमा काठमाडौंको बसन्तपुरमा आयोजित एक बृहत समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बागमती प्रदेशको ‘प्रदेश सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन-२०८०’ शुभारम्भ भएको घोषणा गरेका थिए । कार्यक्रम बागमती प्रदेश सरकार पर्यटन संस्कृति तथा सहकारी मन्त्रालय, नेवा: देय् दबू तथा तामाङ घेदुङको संयुक्त आयोजनामा भएको थियो ।
शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले यो ऐन लागू भएको दिन नेपालको स्वाधीनता, स्वतन्त्रता व आत्मनिर्भरताको पक्षधर सबैको लागि खुशीको दिन भएको बताए ।
यो ऐन बागमती प्रदेशबाट आएको भएपनि यसको दूरगामी र राष्ट्रिय महत्व भएकोले संघीय राजधानीमै शुभारम्भ समारोह गरी संघीय सरकारको तर्फबाट समेत यसलाई उत्तिकै महत्व दिएको उनले बताए । बागमती प्रदेशका माननीय मुख्यमन्त्रीज्युले यो ऐन ल्याई एक साहसिक कार्य गरेको भन्दै प्रम प्रचण्डले त्यसैले यो ऐन लागू गर्न आवश्यक मद्दत गर्ने प्रतिबद्धता व्यक्त गरे ।
समारोह बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जम्कट्टेलको सभापतित्वमा भएको हो ।समारोहमा स्वागत मन्तव्य राख्दै बागमती प्रदेश सरकारका संस्कृति, पर्यटन तथा सहकारी मन्त्री शैलेन्द्रमान वज्राचार्यले देशमा आएको संघीय लोकतान्त्रिक गणतन्त्रको व्यवस्थाले मात्र भाषाभाषीलाई यस्तो अधिकार प्राप्ति हुन सक्ने बताउनु भयो । उनलेे यो ऐन पारित गर्ने कार्यमा योगदान गर्नुहुने भाषा आयोग लगायत बागमती प्रदेशको पहिलेको सरकार र समस्त सांसदहरुलाई पनि धन्यवाद व्यक्त गरे । ऐन कार्यान्वयनमा आएको खुशीको कुरा भएको बताउँदै यसलाई कार्यान्वयन गर्दै लैजाने कार्यमा सबै एकजुट भई जानुपर्नेमा उनले जोड दिए।
कार्यक्रममा शुभकामना मन्तव्य राख्दै नेवाः देय् दबूका अध्यक्ष पवित्र वज्राचार्यले यो ऐनलाई अब व्यवहारमा लागू गर्ने सवालमा अझै धेरै समस्याहरु आउन सक्ने संकेत गरे । उनले भने ‘बागमती प्रदेश सरकारले आज घोषणा गरेको सार्वजनिक बिदा दिने सवालमा हिजो नैं येँ महानगरपालिकाको तर्फबाटपाखें धेरै आनाकानी गरेको र यसले प्रदेश सरकारबाट पारित गरेको भाषा सम्बन्धी ऐन कार्यान्वयन गर्ने सवालमा पनि धेरैं प्रश्नहरु उब्जिन सक्ने संकेत दिए।
तामाङ घेदुङका अध्यक्ष मोहन गोलेले भाषिक अधिकार चाहियो भन्दै पहिले आफूहरूले आन्दोलन गर्दै हिंडेको आज त्यही आन्दोलनबाट यो उपलब्धी प्राप्त भएको खुशीको कुरा हो भन्दै बागमती प्रदेशबाट ऐन जारी भएकोले आफूहरूले बढाइरहेको आन्दोलनको एक चरण प्रारम्भ भएको बताए ।
जनकवि दुर्गालाल श्रेष्ठ सम्मानित
समारोहकै क्रममा मातृभाषाका अग्रज व्यक्तित्व जनकवि दुर्गालाल श्रेष्ठलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दोसल्ला ओढाइ सम्मान गरे ।सम्मानपछि सक्षिप्त मन्तब्य राख्ने क्रममा आफू जीवनभर नेपाल भाषाको सिपाहीको रुपमा काम गरेको र बाकी जीवन पनि यसमै खर्चने मन्तव्य राखे ।
सुभाय् मिडिया प्रा.लि.
ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८
ईमेल: [email protected]
कार्यालय फोन- ०१-२१५६४४
स्थायी लेखा नम्बर- ६१२२८०१००
सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५