पर्यटन र शान्तिका लागि लुम्बिनी प्रेस क्लबको भैरहवा–लुम्बिनी पदयात्रा
सुभाय् संवाददाताDecember 22, 2023 मा प्रकाशित (१ साल अघि) अनुमानित पढ्ने समय : २३ मिनेट
लुम्बिनी — लुम्बिनी प्रेस क्लबले नवौं स्थापना दिवसको अवसरमा शुक्रबार भैरहवा–लुम्बिनी बौद्ध संचार मौन पदयात्रा गरेको छ । शान्ति, अहिंसा र आध्यात्मिकता जगाउने उद्देश्यले पदयात्रा गरिएको हो ।
पर्यटन र शान्तिका लागि भैरहवा–लुम्बिनी पदयात्रा
बुद्धले हिँडेरै विश्वभर सन्देश फैलाएकाले आफूहरु पनि पैदल हिँडेर सन्देश दिन खोजेको प्रेस क्लबका कार्यवाहक अध्यक्ष कमल रायमाझीले बताए । बौद्ध धर्ममा पदयात्राको खास महत्व छ । ‘सधैं कापी कलम र क्यामेरा बोकेर खबर खोज्न हिँड्नेमात्रै होइन्, पत्रकारले शान्तिको सन्देश फैलाउनुपर्छ, शिथिल पर्यटन क्षेत्रलाई माथि उठाउन प्रयास गर्नुपर्छ भन्ने पनि बौद्ध संचार यात्राको उद्देश्य हो’, कार्यवाहक अध्यक्ष रायमाझीले भने, ‘पदयात्राले स्थानीय, प्रदेश, राष्ट्रियस्तरमा मात्रै नभई विश्वमाझ उर्जा थपेको महसुस हाम्रो छ ।’
‘पर्यटनका लागि शान्ति, शान्तिका लागि आध्यात्मिक मौन यात्रा’ नारा दिएको बौद्ध संचार यात्रामा भिक्षुभिक्षुणी, लामा, पत्रकार, विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधि, उद्योगी–व्यवसायी, नेपाली सेना, प्रहरी, सशस्त्र र सर्वसाधारण सहभागी भए । ठाउठाउमा स्थानीय र पर्यटन व्यवसायीले स्व:स्फूर्त खादामाला र टिकाले स्वागत गरे ।
लुम्बिनी विकास कोषका उपाध्यक्ष ल्हारक्याल लामाले बौद्ध संचार यात्राले फेरि एकपटक विश्वमाझ शान्ति र अहिंसाको सन्देश प्रवाह गरेको बताए ।
रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्याल, लुम्बिनी विकास कोष सदस्य सचिव सानुराजा शाक्य, नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष बसन्त गिरी र लुम्बिनी प्रेस क्लब संस्थापक अध्यक्ष माधव ढुंगानाले जतिसुकै दु:खकष्ट गरेर आए पनि लुम्बिनी आउँदा शान्तिको अनुभूति हुने जनाए ।
भैरहवाको लुम्बिनी गेटबाट सुरु भएको पदयात्रा २२ किलोमिटर लामो दुरी पार गरी मायादेवी मन्दिर परिसरमा पुगेको थियो ।