काठमाडौं /नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको आयोजनामा मंसिर २१ गते बुधबार ‘मुकुण्डो नृत्य प्रस्तुति–२०७९’ प्रज्ञा प्रतिष्ठान प्राङ्गणमा सम्पन्न भएको छ । कार्यक्रममा काठमाडौं उपत्यकामा प्रचलित चार प्रकारका मुकुन्डो नृत्य प्रस्तुत गरिएको थियो ।
कार्यक्रमा मुकुन्डो नृत्य सम्बन्धी दुई वटा कार्यपत्र प्रस्तुत गरिएको थियो । पुरुषोत्तमलोचन श्रेष्ठले “नेपालमण्डलका परम्परित मुकुण्डो नाच: विगत र वर्तमान” शीर्षकमा कार्यपत्र प्रस्तुत गर्नु भएको थियो भने वरिष्ठ संस्कृतिकर्मी गणेशराम लाछीले “नेपालको अमूर्त सम्पदा मुकुण्डो नृत्य आजको अवस्था” शीर्षकमा तयार पार्न भएको कार्यपत्र प्रस्तुत गरेका थिए ।
काठमाडौं हाँडीगाऊँबाट नर:नेवा मंका खलः ले लाखे नृत्य प्रस्तुत गरेको थियो । जसमा २१ जना कलाकारहरुले आफ्नो प्रस्तुति दिएका थिए ।
त्यसैगरी भक्तपुरबाट मुक्ति सङ्गीत प्रशिक्षण केन्द्रले महाकाली नृत्य प्रस्तुत गरेको थियो जसमा २२ जना कलाकारहरुले परम्परागत भेषभूषा सहितको महाकाली नृत्य प्रस्तुत गरे भने भक्तपुरकै विनायक स्कुलले नृत्य कलाकार तथा वाद्यवादक सहित १७ जना कलाकारहरु सम्मिलित अष्टमातृका नृत्य प्रस्तुत गरे । काठमाडौंको पिस कल्चर ग्रुपका २ जना कलाकारले भैरव काली नृत्य प्रस्तुत गरे ।
कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल प्रज्ञाप्रतिष्ठानका कार्यवहाक कुलपति जगमान गुरुङले मुकुण्डो माटो वा धातुबाट मात्र नभई बाँसबाट बन्ने नाङ्लोमा आकृति बनाएर पनि निर्माण गर्ने गरिएको इतिहास रहेको बताए ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि वरिष्ठ नृत्य निर्देशक भैरव बहादुर थापाले नृत्यको इतिहास भाषाको उत्पत्ति जत्तिकै लामो रहेको बताए ।
कार्यक्रमलाई सम्बोधन गर्दै सभाध्यक्ष कुलपति नारायणभक्त श्रेष्ठले नेपाली मौलिक कलाहरुको संरक्षण र प्रवद्र्धनमा प्रज्ञा प्रतिष्ठान लागि परेको बताए ।
कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठान, ललितकला प्रज्ञा प्रतिष्ठान र सङ्गीत नाट्य प्रज्ञा प्रतिष्ठानका पदाधिकारी, वरिष्ठ नृत्यकर्मी, नाट्यकर्मी, सङ्गीतकर्मीहरुको उपस्थिति रहेको थियो ।
सुभाय् मिडिया प्रा.लि.
ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८
ईमेल: [email protected]
कार्यालय फोन- ०१-२१५६४४
स्थायी लेखा नम्बर- ६१२२८०१००
सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५