काठमाडौं / सर्वोच्च अदालतमा विचाराधीन मुद्दा समेत बेवास्ता गर्दै काठमाडौं महानगरपालिकाले तानाशाही शैलीमा शुक्रबार थायमदु त्वाः छेँ’( सामुदायिक घरमा)ठूलो संख्यामा नगर प्रहरी र जनपद प्रहरी बल प्रयोग गरेर डोजर चलाएको विरुद्ध विभिन्न १८ वटा संस्थाहरुको संयुक्त विरोध सभा कार्यक्रम गरी मसाल जुलुसको प्रदर्शन गरेको छ ।विरोधमा मेयर बालेन शाहको पुतला समेत दहन गरिएको थियो ।
करीब ४० वर्ष अगाडि नेवा: समुदायको मातृभाषा , संस्कृति र अधिकारको निम्ति काम गर्दै आएको नेपाल भाषा मंका खल:को कार्यालय रहेको यो घर आदिवासी जनजाति आन्दोलनको निम्ति पनि इतिहास बोकेको घर हो । शुक्रबार महानगरको ठूलो संख्यामा आएको नगर प्रहरी र जनपद प्रहरीले घेरा हाली जबर्जस्ती घरमा डोजर चलाइएको थियो ।
नेपालको राजनीतिक भाषिक अधिकारको निम्ति कार्य गरेको संस्था बसेको घरमा डोजर चलाउनुको अर्थ मेयर बालेन नेवार समुदायको बिरोधमा गएको आभास समेत गरिएको छ । ठमेलको लिच्छविकालिन कमल पोखरीमा बनेको छायाँ कम्प्लेक्स , सुन्धारासँगैको ऐतिहासिक नागपोखरीमा बनेको सिभिल मलदेखि सेनाको हेडक्वाटर समेत अनधिकृत रुपमा बनेको, त्यसैगरी बागमती विष्णुमति, सामाखुसी लगायत नदी किनारको जग्गा कब्जा गरी सुकुम्बासीका नाममा बनेका घरमा समेत महानगरको ध्यान नगएको तर स्थानीयको लालपुर्जा र नक्शा भएका घरमा डोजर चलाउन नरोकेको भन्दै निकै महानगरबासी आक्रोषित भएका थिए ।
विरोध कार्यक्रममा विभिन्न वक्ताले टोलबासीको जनश्रमदान र आर्थिक लगानीबाट सामुदायिक जग्गामा बनेको टोलको सामुदायिक भवनमा भएको प्रहारबाट सबै सचेत हुनुपर्ने र भोलि यस्तो प्रक्रिया घर घरसम्म पुग्न सक्ने भनी सावधानी गराउँदै त्वा:छेंमा डोजर चलाउने कार्यको घोर विरोध गरे । कार्यक्रममा त्वा:छेंका प्रमुख डा. रमेश श्रेष्ठ , नेवा: देय् दबूका अध्यक्ष पवित्र बज्राचार्यले आफ्नो मन्तव्य राख्ने क्रममा महानगरको सरोकारवालासँग एक शब्द नसोधी २४ घन्टे सूचना टाँस गरी संस्थाका दस्तावेज समेत राखिएको घरमा डोजर चलाई क्षति पुर्याउने कार्य गरेकोमा गहिरो दुख प्रकट गर्दै घोर भत्सर्ना गरे । सडक विस्तार विरोध आन्दोलनमा लागिरहेका सुमन सायमि लगायतले मन्तव्य राख्दै “डोजरले सामुदायिक भवनमा आक्रमण गर्नु भनेको डोजर तपाई हाम्रो घर पुगेको हो” भन्दै समयमै यसको विरोधमा सबै क्षेत्रबाट उठ्नुपर्ने बताएका थिए।
विरोध कार्यक्रम थाय्मरुबाट मशाल जुलुसमा परिणत भएको थियो ।मशाल जुलुसले मेयर बालेन शाहको विरोधमा नाराबाजी गर्दै नगर परिक्रमा गरेको थियो । युवा सहभागिता उल्लेख्य संख्यामा रहेको बिरोध कार्यक्रममा स्थानीय प्रतिनिधिहरु पनि सहभागी भएका थिए।
सुभाय् मिडिया प्रा.लि.
ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८
ईमेल: [email protected]
कार्यालय फोन- ०१-२१५६४४
स्थायी लेखा नम्बर- ६१२२८०१००
सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५