• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Sat, 07, Jun, 2025
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज / मनका कुरा

मुटुमा बसेकाहरू/मुटुबाट बाहिरिएकाहरू


सुभाय् संवाददाताSeptember 28, 2022 मा प्रकाशित (२ साल अघि) अनुमानित पढ्ने समय : ६ मिनेट

     मल्ल के. सुन्दर

रैथानेहरू त्यो चैत्यलाई सबेरै पूजा गर्थे, अहिले कट्टु धोएर चैत्यमाथि सुकाइन्छ 
बसाइँसराइको भाष्यमा अक्सर यस्तै पढाइन्छ- मान्छे गाउँबाट सहर छिर्छ । परिधिबाट केन्द्रतिर सर्छ । हिमाल, पहाडबाट, तराई झर्छ । तर, सधैँ सबैतिर यस्तो मात्र हुँदैन । मान्छे केन्द्रबाट परिधितिर पनि सर्छन् । बसाइँसराइ देश छोड्ने वा जिल्ला छोड्ने टाइपको मात्र पनि हुँदैन यो उही जिल्लाभित्र ‘मुटु छोड्ने’ खालको पनि हुन्छ ।
हजारौँ वर्षदेखि काठमाडौँ उपत्यका ऐतिहासिक, सांस्कृतिक जीवन्त सहर हो । दुई सय वर्षभन्दा अघिदेखि यो राजनीतिक सहर पनि हो । राजनीतिक सहर त उहिल्यैदेखि हो तर केन्द्रीय राजनीतिक थलो पनि यही हो । संघीयतामा पनि बहुलकेन्द्र हुन नसक्दा काठमाडौँ उपत्यका उकुसमुकुस बनेको छ । उपत्यका सहर जति विविधतामा बाँचेको छ, यसका विविध पाटाबारे भने कमै चर्चा हुन्छ । अनौठो के छ भने यो उपत्यकाबारे प्राज्ञिक लेखन बरु अलि भएको छ, पत्रकारीय लेखन कम छ ।
‘काठमाडौँबाहिरको मानसिकता’ मूलधारमा रहँदा यहाँका रैथानेहरूको आवाज सुस्त बनेको छन्, ती नेपथ्यमा छोडिएका छन् । हामी कतिलाई आफ्नो पुर्ख्यौली गाउँठाउँको अतिशय प्रेम हुँदा त्यही खाले प्रेम यहाँका रैथानेलाई हुनुहुँदैन भन्ने हाम्रो आग्रह पनि यदाकदा छताछुल्ल हुन्छ । हामीलाई आफ्नो गाउँ–ठाउँको पँधेरो, कुवा, चौतारो, ढुंगोसम्म प्रिय लाग्छ, जो उपत्यकामै जन्मे–हुर्के उनीहरूलाई हिति/पुखुविनाको ‘विकास’ कस्तो लागिरहेको छ ? उपत्यकाका थुप्रै ‘खुवालुङ’ मासिएका, नासिएका छन्, संस्कृति/सम्पदा नै मूल पहिचान भएको सहरको सामर्थ्य बिस्तारै के हुँदै छ ?
जसलाई ‘काठमाडौँको मुटु’ भनिन्छ, ती क्षेत्र बिरामी जस्ता बनेका छन् । मुटु नै दुखेको मानिस कति स्वस्थ हुन्छ ? काठमाडौँको ‘कोर एरिया’बारे त्यहीँ जन्मे–हुर्केका खासदेखि आम मान्छेसम्मको अनुभव पस्कने क्रममा , ‘मुटु’ छोडेर बाहिर निस्किएकादेखि ‘मुटु’मै धड्किरहेका रैथानेहरूको स्वर सुन्ने शृंखलामा काठमाडौंका आदिवासी विद्वान अभियन्ता मल्ल के सुन्दरसँग संवार्ता गरेका छौँ ।
०००
काठमाडौँ, बांगेमुढामा जन्मेहुर्केका लेखक मल्ल के सुन्दर हिजोआज बुढानिलकण्ठमा बस्छन् । काठमाडौँको भित्री सहरमा धिमे सुन्दै बिउँझिने/निदाउने उनलार्ई नयाँ घर सरेको पहिलो दिन राम्ररी निद्रा नै लागेन । आफ्नो समुदायबाट छुटेको महसुस भयो । भीडभाडको ठाउँबाट नयाँ शान्त ठाउँमा आउँदा यातना पाएको अनुभूति गरे, उनले । काठमाडौँमा जनघनत्व बढेर पुराना बस्तीको मौलिकता हराउँदै गएको उनले अनुभव गरेका छन् ।
बाहिरका मानिस र शासकले काठमाडौँलाई कहिल्यै प्रेम गरेनन्, खालि दोहन मात्रै गरे भन्ने कथन छ, उनको । शासकहरूले सांस्कृतिक सहरको मूल्य बुझ्न नसकेको गुनासो छ, उनको । मल्ल भन्छन्, ‘नेताहरूले गाडी गुडाउन साँघुरो भयो भनेर काठमाडौँका हजारौँ वर्ष पुराना घर भत्काए । उनीहरूको बुझाइमा भौतिक विकास मात्रै विकास भयो । त्यहाँ बस्ने मान्छेको संस्कृति, मूल्य–मान्यता सबै विकासको प्रतिविम्ब हो भन्ने बुझ्‍न सकेनन् ।’ उनै लेखक तथा सांस्कृतिक अधिकारकर्मी मल्ल के सुन्दरसँग विमल आचार्य र उपेन्द्र अर्यालले लामो कुराकानी गरेका छन् । प्रस्तुत छ, लामो कुराकानीको छोटो सार :
बांगेमुढामा बस्नुहुन्थ्यो एकाएक बुढानिलकण्ठ सर्नुभएछ, किन ?
आफ्नो व्यावहारिक र दैनिक जीवन सहज बनाउन म यता सरेँ । मेरो छोरा काठमाडौँ विश्वविद्यालयमा पढाउँछ । दिनहुँ अफिस आउजाउ गर्नुपर्छ । पहिले पो अफिस सिंहदरबारमै हुन्थ्यो । पैदल गए पनि भ्याइन्थ्यो । अहिले त अफिस एउटा जिल्लाबाट अर्को जिल्ला, एउटा सहरबाट अर्को सहरमा हुन्छ । टाढा जाने भएकाले आउन जान आफ्नै साधन चाहिन्छ । पुरानो थाकथलोमा बाटो साँघुरो भएकाले सवारीसाधन कुदाउन नसकिने भएको छ । जामका कारण सहज रूपमा सवारीसाधन प्रयोग गर्न नसकिने भएकाले यता बसाइँ सर्नुपर्‍यो ।
काठमाडौँका भित्री बस्तीमा खानेपानीदेखि ढलको समस्या छ । हावापानी पनि स्वच्छ भएन । क्षेत्रपाटीको मेरो घर नौ तलाको थियो । बस्थेँ म सातौँ तलामा । पूजा कोठा छैटौँ तलामा थियो । तल–माथि गर्न पनि गाह्रो भयो । त्यसैले मुख्य बस्तीबाट बाहिर आइयो ।
सहरको मुटुमा बस्नुभएको मान्छे, सहरको गोलीगाँठातिर आएर बस्नुभएको छ, कस्तो महसुस भइरहेको छ ?
धेरै कुरा मिस गर्छु । दौँतरी र बालसखाहरू त्यहीँ छन् । झ्यालबाट हेर्दा उनीहरूलाई देख्न, हालखबर सोध्न पाइन्थ्यो । त्यो यहाँ सम्भव छैन । यी कुराहरू साह्रै खट्किन्छ । त्यो ‘इन्टेन्जिबल कल्चरल हेरिटेज’को क्षेत्र हो । हरेक हप्ता वा महिना कुनै न कुनै पर्व/जात्रा हुन्छ । सांस्कृतिक गतिविधिहरू भइरहन्छ । बाजाहरू सुन्दा अर्कै किसिमको आनन्द हुन्थ्यो । यहाँ आएपछि त्यसबाट वञ्चित हुनुपर्‍यो ।
त्यहाँको टोल विकासका लागि संगठन बनाएर थुप्रै काम गरियो । उताको समुदायमा मल्ल के सुन्दर भनेर एउटा मान थियो । सबैले चिन्थे । सामाजिक पहिचान थियो । बिहान तरकारी किन्न जाँदा पाइलैपच्छिे चिनेका मान्छे भेटिन्थे । उनीहरूसँग गफ हुन्थ्यो । त्यो किसिमको हार्दिकता यहाँ छैन । यहाँ नौलो ठाउँमा सबै नौला मान्छे छन् ।
यहाँ गेटमा ‘ठकुछेँ’ भनेर लेख्नुभएको रहेछ । त्यसको अर्थ के होला ?
‘ठकु’ भनेको ठकुरी हो । हामी मल्लहरूलाई ठकु भन्छन् । ‘छेँ’ भनेको घर । सबैलाई हाम्रोबारे थाहा होस् भनेर राखेकोे । उता घरमा पनि राखेको थिएँ । सबैलाई थाह होस् भनेर तीनवटा लिपिमा पनि लेखेको छु ।
घर सरेपछिको पहिलो रात निद्रा लाग्यो त ?
सहरमा झिलिमिली र कोलाहल वातावरणमा बसेको मान्छे । यहाँ आउँदा टापुमा बसेजस्तो भयो । अपराधीलाई सजाय दिएको जस्तो भयो । मैले यातना पाएको अनुभूति गरेँ । समुदायबाट छुटेको अनुभव भयो । मैले घरमा ‘तिमीहरू यहाँ बस, म उतै जान्छु’ भनेर झगडा पनि गरेँ । तर मानेनन् । मलाई जबर्जस्ती यहीँ राखे । अहिले त बानी पर्‍यो । यहाँ बसेर फाइदै भएको छ । शान्त वातावरणमा अध्ययन गर्न पाइएको छ । यहाँ आएर मैले किताब लेख्ने मौका पाएँ । उता भएको भए मानिसहरू आउँथे, एक किसिमले रमाइलै हुन्थ्यो । तर, त्यसले काममा बाधा पनि हुन्थ्यो ।
तपाईंजस्ता थुप्रै नेवारले आफ्नो थाकथलो असन, भेडासिं, बांगेमुढा, क्षेत्रपाटी, इन्द्रचोक क्षेत्रहरू छाड्नुपर्‍यो । सर्नैपर्ने गरी कसरी बिग्रिए ती क्षेत्र ?
मेरो सन्दर्भमा किन छोडेँ भन्ने जवाफ मैले दिइसकेँ । सायद धेरैको कारण मेरै जस्तो हो । थाकथलो बिग्रिएको भन्दा पनि हाम्रो जीवनशैली परिवर्तन भएको भन्नुपर्छ । पहिला मेरो घरमा चुलो हुन्थ्यो ।
आमाले दाउरा बालेर दालभात पकाउनु हुन्थ्यो । त्यसबेला हामी पिर्कामा बसेर खान्थ्यौँ । पहिलो तलामै जुत्ता खोल्नुपथ्र्यो । नेवारहरूको जीवनशैली समुदायमा आधारित थियो । टोलमा दाजुभाइको घर हुन्थ्यो । सबै आफन्तहरू नजिकै हुन्थे । केही काम गर्नुपर्दा सबैको सहयोग हुन्थ्यो । भोजहरूमा पनि सबैको सहभागिता हुन्थ्यो । त्यस बेला सामाजिक आवश्यकता समाजबाटै परिपूर्ति हुन्थ्यो । सुनदेखि नुनसम्म टोलमै पाइन्थ्यो । ‘नेवारहरूको घरमुनि पसल माथि ससुराली’ भन्ने भनाइ छ । समुदायसँग नजिकको सम्बन्ध थियो ।
बांगेमुढाबाट बुढानिलकण्ठ सरेका मल्ल के सुन्दरलाई नयाँ शान्त ठाउँमा बस्दा ‘अपराधीलाई सजाय दिएजस्तो भयो ।’ मैले यातना पाएको अनुभूति गरेँ ।
‘आधुनिक’ भएपछि त्यसमा असर पुग्यो । कसैलाई मोटरसाइकल, कसैलाई गाडी चाहिन थाल्यो । हिजोको परिवेशमा बनेको बहाल वा चोकमा त्यो आवश्यकता पूरा भएन । त्यो खोजीमा बिस्तारै नयाँ ठाउँमा स्थानान्तरण हुँदै जान बाध्य भइयो ।
कहिलेदेखि अलि बाहिर निस्केर बस्न थाले ?
०१७/१८ सालपछि नेपालको सम्बन्ध अलि खुला भएर गयो । थाई एयरलाइन्सको फ्लाइट सुरु भएपछि काठमाडौँबासीहरू भारतभन्दा पर ब्यांककसम्म जान थाले । उनीहरूले त्यहाँको विकास अनि लाइफस्टाइल देखे । त्यही अनुसारको जीवनशैली अनुकरण गर्ने रहर यहाँका मान्छेलाई पलायो । लवाइ, खुवाइ, घर–कोठा शृङ्गार्ने शैलीमा परिवर्तन आयो । हिजो बनाएका घर अहिलेका लागि पर्याप्त भएनन् । साझा चोकले भएन, आफ्नै घरमा कम्पाउन्ड चाहियो । पहिलेका थाकथलोमा अहिलेका आवश्यकताहरू पूरा भएनन् । त्यो खोजीको क्रममा कोही लाजिम्पाट गए । कोही रविभवनतिर । पछि चक्रपथ बनेपछि मान्छे छरपस्ट भए ।
दसैँ लागिरहेको छ, काठमाडौँबाट योबेला एकैपटक धेरै मान्छे बाहिरिन्छन् । बाहिरिन्छन्, काठमाडौँलाई ‘गाली गर्दै’ । तपाईँहरूलाई कस्तो महसुस हुन्छ ?
यो ३०/३२ सालपछि भएको विकसित परिस्थिति हो । नत्र यहाँका जागिरे स्थानीय नै हुन्थे । मलाई जानकारी भएसम्म सिंहदरबारभित्र प्रथम श्रेणीका कर्मचारीहरू सचिव, सहसचिव ९० प्रतिशत त काठमाडौँका स्थानीय नेवार हुन्थे । बाहिरका मान्छे एकदमै न्यून हुन्थे । त्यस बेला आन्तरिक आप्रवासनको चाप थिएन । जब राजमार्गहरू बने बाहिरका मानिसहरू अवसरको खोजीमा काठमाडौँ आए ।
नेपालको विकास सन्तुलित हिसाबमा गरिएन । उपत्यका त मल्लकालमै उन्नतै थियो । तर २००७ सालको परिवर्तनपछि सन्तुलित विकास हुन सकेन । वीर अस्पताल, शिक्षण अस्पताल, प्रसूतीगृह, त्रिभुवन विश्वविद्यालय यहीँ भयो । उच्च शिक्षा हासिल गर्न त्रिचन्द्र वा कीर्तिपुर नआई हुँदैनथ्यो । डिग्री हासिल गरिसकेपछि त्यसका लागि उपत्यका प्रवेश नगरी सुख छैन । त्यसैले काठमाडौँ, सबैका लागि अवसर बन्यो । यहाँ आउनैपर्ने बाध्यता भयो ।
काठमाडौँ राजनीतिक गतिविधिको केन्द्र बन्यो । राजनीतिमा केही प्राप्त गर्ने अभिलासाले पनि मानिसहरू काठमाडौँ आए । काठमाडौँमा एउटा कोठा लिएर बसे । नेपालका विभिन्न ठाउँभन्दा यहाँको मौसम राम्रो छ । हावापानीका कारण पनि सुरुमा अलि सम्पन्न मानिसहरू यहाँ आए । चक्रपथ बनेपछि झनै धेरै मानिस आए । अनि दसैँँको बेलामा बाहिर जाने क्रम देखिएको हो । नत्र २०२२ सालतिर त्यस्तो थिएन । एकाध मान्छे मात्रै यताउता गर्थे । अहिले लाखौँ मानिस बाहिर जान्छन् । हामीले मानिस बाहिर गएपछि आनन्द महसुस गर्छौं । आनन्दको सास फेर्न पायौँ भन्ने लाग्छ । सधैँ यस्तै भइदियोस्झैँ लाग्छ । यहाँको क्षमताभन्दा जनघनत्व धेरै भएको छ ।
पहिले तपाईंहरूको दसैँ कस्तो हुन्थ्यो ?
पहिला यहीँका रैथाने मान्छे मात्रै हुन्थे । त्यस्तोमा दसैँँ मनाउँदा आत्मीयता बढी हुन्थ्यो । अहिले बाहिरका मानिस आए । असन काठमाडौँको कोर एरिया हो । त्यहाँ प्रायः तुलाधरहरू बस्छन् । अहिले त्यहाँका घर हेर्‍यो भने दश प्रतिशत मात्र स्थानीय होलान् । त्यहाँका घर रेखदेख गर्न भाडामा राखिएको छ । त्यो ठाउँ रैथाने नेवारको हो । तर, त्यहाँ बसोबास गर्ने मानिस धेरैजसो बाहिरका छन् ।
असनमा केही बौद्ध विहारहरू छन् । त्यहाँको कल्चर बाहिरबाट आउनेले बुझेनन् । ती कुरासँग उनीहरूको सामीप्य हुँदैन । महत्वपूर्ण पनि लाग्दैन । उनीहरू आफ्ना बालबच्चा खेलाउनका त्यो ठाउँ प्रयोग गर्छन् । हिजोका रैथानेहरूले त्यो चैत्यलाई सबेरै पूजा गर्थे । अहिले त्यही गजुरमा चढाएर बच्चा खेलाइरहेका हुन्छन् । अभिभावकहरू कट्टु धोएर चैत्यमाथि सुकाउँछन् । त्यो उनीहरूले हेपेको होइन । उनीहरूको आवश्यकता भयो । । तर, हामीले हेर्दा सम्पदामा कट्टु सुकाएको देखियो । यस्ता भिन्नता हिजोआज काठमाडौँमा आएको छ ।
कोर एरियाबाट तपाईंहरू केही त बाहिर निस्किन सक्नुभयो, तर घामपानी यस्तो नछिर्ने, सानो–अँध्यारो ठाउँमा कोचिएर, निसास्सिएर बस्नुपर्ने नेवार कम्युनिटीको अहिले त्यहाँ हालत के छ ?
नेवार हुनेबित्तिकै सम्पन्न हुनुपर्छ भन्ने छैन । सहरका १४ लाख नेवारमा २० प्रतिशत गरिब छन् । कतिपय अँध्यारोमा बसेका छन् । आयस्रोत छैन । कतिपयको भएको जमिन पनि बेच्न नमिल्ने छ ।
एक/दुईआना जमिन कसले किन्ने ?
काठमाडौँमै बसेर कतिपय विद्वान्ले काठमाडौँलाई मरुभूमि भनेर लेखे । मेरै गाउँ राम्रो/रमाइलो भनेर लेखे । काठमाडौँ जहाँ लामो समयदेखि बसेका छन्, यहाँको सुन्दरता र महत्वबारे धेरै लेखेनन्, गाउँघरकै सुन्दरताको बयान गरेर कहिल्यै थाकेनन् । एकातिर ‘सहरिया जीवनभन्दा गाउँले जीवन बेस’ भनेर पढाइयो तर ‘सहरीकरण’ राज्य/नागरिकको स्वाभाविक चाहना थियो । के भन्नुहुन्छ ?
सबैले नराम्रो भनेको छैनन् । भानुभक्तले काठमाडौँलाई अलकापुरी कान्तिपुरी नगरी पनि भनेका छन् । पछि बिग्रेर पनि होला, केहीले नराम्रो चित्रण गरेका छन् । त्यो व्यक्तिको आ–आफ्नो प्रभावको कुरा हो । त्यसमा मेरो केही भन्नु छैन । तर एउटा दुःख लाग्ने कुरा यहाँ आएर बस्ने, साखासन्तानलाई पढाउने/बढाउने गरिन्छ । तर, अपनत्व अभाव छ ।
नेपालको राजनीतिको ठूलो संकट नै यही हो । काठमाडौँको सन्दर्भमा मात्रै होइन, डडेल्धुराका शेरबहादुर देउवा पाँच पटक प्रधानमन्त्री हुनुभयो । उहाँमा आफ्नो ठाउँप्रति अपनत्व भएको भए डडेल्धुरा अहिले ‘स्वर्ग’ भइसक्थ्यो । त्यहाँ अहिले पनि सडक, खानेपानी, रोजगारीको अभाव छ । शेरबहादुरले डडेल्धुरालाई अवसरका माध्यमका रूपमा मात्रै प्रयोग गरे । मेरो मातृथलो/जन्मथलो यसलाई राम्रो बनाउनुपर्छ भन्ने सोचेनन् ।
काठमाडौँमा मात्रै अपनत्व नभएको होइन । अरुतिर पनि हाम्रा नेताहरूको अपनत्व देखिएनन् । जहाँ बस्ने, त्यसलाई कसरी राम्रो बनाउने भन्नेतिर चासो नै भएन । काठमाडौँ वा कुनै पनि ठाउँ बिगारेको त मान्छेले नै हो नि ।
तपाईंहरूले हिजो पौडी खेलेका खोलाहरू अहिले छैनन्, हिति (ढुंगेधारा) हरू छैनन् । पोखरीहरूमा ठूलाठूला महल ठडिएका छन् । बाटो विस्तारका नाममा थुप्रै सम्पदाहरू मासिए । सम्पदाहरू उठाएर एक ठाउँ थुपारियो, कति त विदेशसम्म पुगे । आफ्नो पुर्ख्यौली थलोको यो हालको हल के छ ?
मैले अहिलेका मेयर बालेन र पूर्वमेयर विद्यासुन्दर शाक्य दुवैसँग भेट्दा यस्ता कुरा राखेको थिएँ । विद्यासुन्दर ‘स्मार्ट सिटी’ भन्दै हिँडिरहेका बेला ‘के हो यो स्मार्ट सिटी ?’ भनेर प्रश्न गरेको थिएँ । ‘आइटी सुविधा भएको सहर मात्रै स्मार्ट सिटी हुन्छ कि मानवीय जीवनमा चाहिने सुख–सुविधा भएको ठाउँलाई स्मार्ट सिटी भनिन्छ ? तपाईंले परिकल्पना गरेको स्मार्ट सिटी के हो ?’ मैले बालेनसँग भेट्दा पनि हरेक सम्पदाको मूल्य–मान्यताको कुरा बताएको थिएँ । सबै ठाउँको आफ्नै महत्व हुन्छ ।
कसैले बनारसलाई पेरिस बनाउँछु भन्यो भने त्यो जस्तो मूर्ख मान्छे को हुन्छ ? बनारसको आफ्नै ऐतिहासिक र सांस्कृतिक महत्व हुन्छ । त्यस्तै, काठमाडौँको पनि हजारौँ वर्षदेखिको सांस्कृतिक ऐतिहासिक महत्व छ । अहिलेका मेयर बालेनले पनि काठमाडौँको महत्व बुझेर यसलाई यहीँको संस्कृतिका रूपमा विकास गर्नुपर्छ ।
हाम्रा नेताहरूले गाडी गुडाउन साँघुरो भयो भनेर काठमाडौँका हजारौँ वर्ष पुराना घर भत्काएका छन् । त्यो यहाँको मूल्यलाई बुझ्‍न नसकेको हो । उनीहरूको बुझाइमा भौतिक विकास मात्रै विकास भयो । त्यहाँ बस्ने मान्छेको संस्कृति, मूल्य–मान्यता सबै विकासको प्रतिविम्ब हो भन्ने बुझेनन् ।
शाहकाल, राणाकाल र त्यसपछि पनि यहाँका शासक सबैजसो बाहिरका भएकाले सहर बिग्रेको हो ?
ठ्याक्कै यही हो । सबैजना बाहिरबाट आएका छन् । यहाँ शासन गर्न सकिन्छ भन्ने मात्रै ध्याउन्न भयो । शासक कसरी बन्ने भन्ने मात्रै उनीहरूको चेत छ । त्यही चेतले यस्तो अवस्था आएको हो ।
दरबारमा राणाहरू मेरो बाजेसँग एकदमै प्रभावित थिए । तर, त्यो कुरा पाण्डे/उपाध्यायहरूलाई चित्त बुझेन ।
पृथ्वीनारायण शाहयता राणाकालमा सबै दोहन गर्ने मात्रै भए । त्यो चेत भएको भए जंगबहादुर राणाले किन बेलायती स्टाइलको भवन बनाउनुपर्‍यो यहाँ ? भीमसेन थापाले किन बागदरबार, धरहरा बनाउनुपर्‍यो ? चन्द्र शम्शेरले सिंहदरबार किन बनाउनुपर्‍यो ? काठमाडौँको कुमारीस्थान भत्काएर गद्दी बैठक किन बनाउनुपर्‍यो ? त्यही हो अपनत्व नभएको ।
पीएल सिंह, केशव स्थापित, विद्यासुन्दर शाक्यहरूले पनि यहाँको नेता थिए त ?
विद्यासुन्दर भन्ने मान्छे काठमाडौँमा जन्मिएको मात्रै हो । उसको चेतना काठमाडौँको भएन । उसको सोच ओलीको जस्तो भयो । ऊ बाहिर गएर आयो । बाहिर देखेको कुरालाई उसले विकास ठान्यो । बाबुराम भट्टराईले पनि बुझेनन् । उनले दिल्लीमा बसेर सहरीकरणबारे पढे । उनले सरर मोटर कुद्ने चिल्लो बाटो बनेपछि सहरीकरण हुन्छ भन्ने बुझे ।
बाबुरामको कुरा गर्नुभयो, मनमोहन अधिकारी, झलनाथ खनाल, केपी ओली धेरै नेताहरूको ससुराली त फेरि काठमाडौँमै छ । ससुरालीको कुरा पनि बुझेनन् नि ?
ससुराली हुँदैमा कहाँ बुझ्छन् र ? श्रीमती फकाउन सके भइहाल्यो नि ।
बाहिरका शासकले त तपाईंहरूलाई आफ्नै जात्रा–पर्वमा पनि दर्शक जस्तो मात्रै बनाइदिए हैन र ? घोडेजात्रा सेनाको भयो । गोरखाबाट फूलपाती भित्र्याउँदा पनि तपाईंहरू दर्शक मात्रै हुन बाध्य हुनुभयो ?
वास्तवमा घोडेजात्रा नेवारको पर्व हो । त्यसको एउटा प्रमाण पहिले राजा आएर जात्रा सुरु हुँदैनथ्यो । कुमारीको रथ आएर कुमारीले आज्ञा दिएपछि मात्रै घोडेजात्रा सुरु हुन्थ्यो । तर, जंगबहादुर आएपछि त्यसलाई सैनिकीकरण गरे ।
प्रजा परिषद्, कांग्रेस, कम्युनिस्ट पार्टीमा स्थापनातिर नेवारहरू थिए । तर, अहिले कांग्रेस/कम्युनिस्ट पार्टीमा माथितिर, माथि आउनेतिर नेवार कम देखिन्छन् । विश्वविद्यालयतिर यहीँका रैथाने केदारभक्त माथेमा, कमलप्रकाश मल्ल कम छन् । नागरिक आन्दोलनतिर पनि यहीँका नयाँ पद्मरत्न तुलाधर, मल्ल के सुन्दरहरू पनि देखिँदैनन् । तपाईंले अघि ९० प्रतिशत माथिल्ला कर्मचारी नेवार थिए भन्नुभयो, अहिले आरक्षित हुनुपर्ने अवस्था कसरी आयो ? पार्टीदेखि प्राज्ञिक, सदनदेखि सडकसम्म नेवार समुदाय कता ?
नेवारहरूको परिवारको सांस्कृतिक अभ्यास नै त्यस्तै छ । उनीहरूलाई ज्ञानी र सभ्य हुन सिकाइन्छ । आक्रामक होइन, समन्वय भाव छ । उनीहरू कुनै पनि उल्झनमा मिसिन चाहँदैनन् । आफैँ कमाउने आफैँ खाने तर, झन्झटमा नफस्ने भन्ने छ । त्यसको उदाहरण गणेशमान हुन् । वीरेन्द्रले बोलाएर प्रधानमन्त्री खाऊ भन्दा मलाई चाहिँदैन भने । उनीहरूमा यस्तो नम्रता हुन्छ । हाम्रो पुस्तामा यस्तो छ । यो भद्रताले अहिलेको जमानामा हुँदैन । ठेलामठेल, लछारपछार गरेर अगाडि जाने अहिलेको संस्कृति हो ।
आक्रामक बन्न प्रेरित गरिँदैन भन्नुभयो तर, तपाईंका दाजु प्राध्यापक कमलप्रकाश मल्ल होस् वा तपाईं नै लगातार भिड्नुभयो त ?
हाम्रो परिवारमा सुरुदेखि नै ठूलो अन्याय हुँदै आयो । अनौठो लाग्न सक्छ, मेरो बाजे राणा दरबारमा जाहेरिया हुनुहुन्थ्यो । त्यसबेला मुद्दाको फैसला राणा प्रधानमन्त्रीले गर्थे । लिखित कानुन केही थिएन । तर, जाहेरीवाल अलिकति कानुनी मान्छे भयो भने मुद्दाको मिसिल हेरेर सही निर्णय गराउन सक्थ्यो । जाहेरीवाल अरु पनि थिए ।
उनीहरूले राणा प्रधानमन्त्रीको मुडअनुसार जाहेरी गर्थे । राणा प्रधानमन्त्री खुसी हुन्थे । तर, मेरो बाजे त्यस्तो हुनुहुन्नथ्यो । जे थियो यथार्थ हेरेर गर्नुहुन्थ्यो । त्यहीअनुसार फैसला आउँथ्यो । यो डिठ्ठाले जे गर्‍यो त्यही फैसला आउँदो रहेछ भनेर एउटा प्रभाव थियो । दरबारमा राणाहरू मेरो बाजेसँग एकदमै प्रभावित थिए । तर, त्यो कुरा पाण्डे/उपाध्यायहरूलाई चित्त बुझेन । उनीहरूले मेरो बाजेको नामको पछाडि मल्ल लेखेकामा उजुरी गरे ।
राणा प्रधानमन्त्रीले यसबारे बाजेलाई सोधे । बाजेले मल्ल हाम्रा पुर्खा हुन् भन्दा उनीहरूले उकासेर राजाको थर लेख्न पाइँदैन भने । त्यसपछि बाजेले काम नै छाडिदिए । बुवा पनि जाहेरीवाल नै थिए । दरबारियाले बाजेकै जस्तो गराए । बुवाले पनि जागिर छाडिदिनुभयो । त्यो एक किसिमको पीडा थियो । त्यही रिसइबीले हाम्रो पुर्खाको घरमा राणाहरूले सैनिक राखिदिए । पछि घरसम्पत्ति सबै शासकले हडपे । त्यसैको प्रभाव स्वरुप हामीमा विद्रोह भाव आएको होला ।                                           विमल आचार्य / उपेन्द्र अर्याल , साभार – ईखबरकागज

सम्बन्धित पोस्ट
  • काठमाडौंमा ‘बौद्ध अन्तर्राष्ट्रिय ट्राभल मार्ट २०२५’ सुरु
  • “शंखरापुर”वृत्तचित्रको वल्र्डवाइड प्रिमियर
  • भारतको पाकिस्तानमाथि मिसाइल प्रहारपछिको संभावित प्रभाव
  • Lumbini to Host the 4th Asian Buddhist Cultural Festival 2025: A Global Celebration of Peace and Heritage
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    सिंहदरबारभन्दा परको काठमाडौं

    काठमाडौंमा ‘बौद्ध अन्तर्राष्ट्रिय ट्राभल मार्ट २०२५’ सुरु

    “शंखरापुर”वृत्तचित्रको वल्र्डवाइड प्रिमियर

    काउन्सिलद्वारा थप ५ मातृभाषामा आचारसंहिता जारी

    भारतको पाकिस्तानमाथि मिसाइल प्रहारपछिको संभावित प्रभाव

    Lumbini to Host the 4th Asian Buddhist Cultural Festival 2025: A Global Celebration of Peace and Heritage

    धम्मवती गुरुमालाई म्यानमार सरकारबाट “महासद्धम्मजोतिकधज” उपाधि प्रदान

    साथीका निम्ति प्रेमको सौगात

    काउन्सिलद्वारा थप ५ मातृभाषामा आचारसंहिता जारी

    धम्मवती गुरुमालाई म्यानमार सरकारबाट “महासद्धम्मजोतिकधज” उपाधि प्रदान

    उच्च शिक्षामा सुधारका लागि महत्वपूर्ण घोषणापत्र जारी गर्दै लुम्बिनीमा अन्तर्राष्ट्रिय उपकुलपति सम्मेलन सपन्न

    रातमा ६.१ रेक्टरको शक्तिशाली भूकम्प

    महानगरका मेयरले गरे स्वयम्भू महोत्सवको उद्घाटन

    सुभाय् पोस्ट बिशेष

    काठमाडौंमा ‘बौद्ध अन्तर्राष्ट्रिय ट्राभल मार्ट २०२५’ सुरु

    “शंखरापुर”वृत्तचित्रको वल्र्डवाइड प्रिमियर

    भारतको पाकिस्तानमाथि मिसाइल प्रहारपछिको संभावित प्रभाव

    Lumbini to Host the 4th Asian Buddhist Cultural Festival 2025: A Global Celebration of Peace and Heritage

    धम्मवती गुरुमालाई म्यानमार सरकारबाट “महासद्धम्मजोतिकधज” उपाधि प्रदान

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2025: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑