लुम्बिनी / भगवान बुद्धको जन्मस्थल लुम्बिनीमा बनाइएको नेपाल वज्रयान महाबिहारको नेपालमण्डल द्वारको राष्ट्रपति विद्यादेवी भण्डारीले उदघाटन गर्नुभएको छ। उहाँले त्यहाँ लगाइएको परम्परागत मा:ता:(भोटे ताल्चा) खोलि उक्त द्वार उद्घाटन गर्नुभएको थियो । काठमाडौं महानगर पालिकका मेयर विद्या सुन्दर शाक्यले शिलापत्र अनावरण गर्नुभएको थियो ।
यो लुम्बिनीमा बनेको नेपालको मौलिक बिहार हो । नेपाल परम्परागत बुद्ध धर्म संघको अग्रसरतामा यो महाबिहार बनेको हो ।
औपचारिक उद्घाटन कार्यक्रममा बोल्दै राष्ट्रपति भण्डारीले नेपालमा जन्मिएका गौतम बुद्धको आदर्श र प्रेरणा सबै नेपालीका लागि गर्वको विषय रहेको उल्लेख गर्नुहुँदै बुद्धले लामो तपस्याबाट प्राप्त गरेको ज्ञानबाट विश्वमा शान्तिको सन्देश फैलिएको भन्नुहुँदै बुद्ध शिक्षालाई प्रसार गर्न नेपालले पर्याप्त कार्य गर्न नसकेकोमा चिन्ता पनि व्यक्त गर्नुभयो । कार्यक्रममा बिहार बनाउन सहयोग गरेकोमा राष्ट्रपति भण्डारीद्वारा काठमाडौं महानगरका मेयर तथा उपमेयरलाई सम्मान स्वरुप दोसल्ला ओढाउनु भएको थियो। यसैक्रममा राष्ट्रपति भण्डारीले बिहारको निर्माणमा आर्थिक सहयोग गरेको काठमाडौं महानगरका मेयर विद्या सुन्दर शाक्यलाई सम्मान पत्र पनि प्रदान गर्नुभएको थियो ।
कार्यक्रमलाई सम्वोधन गर्दै काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले आफ्नो महानगरपालिकासहितको आर्थिक सहयोगमा महाबिहार बन्दा खुशी लागेको बताउनुभयो ।
नेपाल बज्रयान महाविहारका अध्यक्ष चक्रेश्वर डा. नरेशमान बज्राचार्यले नेपालमा महाबिहार बनाउन काठमाडौँ महानगरपालिकाले आफूले बोलेको कुरा पूरा गरेपछि विहारले पूर्णता पाएकोमा खुशी व्यक्त गर्नुभयो ।
“लुम्बिनी विकास कोषको गुरुयोजनामा, नेपालको सम्पदा विम्बित गराउने उद्देश्यले बज्रयान विहार निर्माण गरिएको हो । यसको निर्माणका लागि विदेशीबाट कुनै पनि प्रकारको सहयोग लिएका छैनौँ । काठमाडौँ महानगरपालिकाले ४ करोड २९ लाख १८ हजार रुपैयाँ दिएको छ । विहारको भौतिक विकासका केही काम बाँकी छन् । रकम सकिएको छ । यसबेला महानगरले थप सहयोग गर्नेमा हाम्रो विश्वाश छ “प्रा.डा. बज्राचार्यले भन्नुभयो ।
बज्राचार्यकाअनुसार नेपाली बौद्धकला, बास्तुकलाले भरिएको विहार बन्न छाडेको ३ सय ७२ वर्ष भयो । यो विहार ३ सय ७२ बर्ष अघिको बौद्धकलासहितको विहार निर्माणको निरन्तरता हो ।
नेपाल परम्परागत बौद्धधर्म संघका उपाध्यक्ष प्रा. डा. माणिकरत्न शाक्यकाअनुसार विहार निर्माण गर्न अहिलेसम्ममा करीब १६ करोड रुपैयाँ खर्च भएको छ । यसलाई योजनाअनुसार पूर्ण गर्न थप ४ करोड लगानी चाहिन्छ ।
कार्यक्रममा पूर्वमन्त्री कृष्णगोपाल श्रेष्ठ, वागमती प्रदेशका सभामुख सानुकुमार श्रेष्ठ, वागमती प्रदेशका पूर्वमन्त्री डा. अजयक्रान्ति शाक्य, काठमाडौँ महानगरपालिकाकी उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठलगायत ,लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति रजिस्ट्रार डीन ,लुम्बिनी विकास कोषका पदाधिकारीहरु, लुम्बिनी सांस्कृतिक नगर पालिकाका मेयर मनमोहन चौधरी लगायत को उपस्थिति रहेकोे थियो ।
सुभाय् मिडिया प्रा.लि.
ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८
ईमेल: [email protected]
कार्यालय फोन- ०१-२१५६४४
स्थायी लेखा नम्बर- ६१२२८०१००
सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५