• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Sun, 08, Jun, 2025
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज / सम्पदा/संस्कृति

बुंगद्यो , पद्मपाणी लोकेश्वर (रातो मच्छिन्द्रनाथ)को रथमा काठको काम गर्ने दिलकुमार बाराहीलाई १० हजार डलरको अन्तर्राष्ट्रिय अवार्ड


सुभाय् संवाददाताAugust 16, 2021 मा प्रकाशित (३ साल अघि) अनुमानित पढ्ने समय : ५११ मिनेट

१३ सय वर्षअघि आसामबाट काठमाडौं ल्याइएको परिवारको कथा


– सुदीप श्रेष्ठ


आजभन्दा करिब चौध सय वर्षअघि, विक्रम सम्बत् ७०० देखि ७३६ को बीचमा, लिच्छवि राजा नरेन्द्रदेव, काठमाडौंका तान्त्रिक बन्धुदत्त आचार्य, पाटनका रथचक्र भन्ने व्यक्ति र टौदहका कर्कोटक नागराज मिलेर भारतको आसामस्थित कामरू कामख्या पीठबाट बुंगद्यो , पद्मपाणी लोकेश्वर, (रातो मच्छिन्द्रनाथ) लिएर आएका थिए।
यो कथा हामी सबैले धेरैचोटि सुन्दै र पढ्दै आएका छौं।
आज मैले सुनाउन लागेको कथा चाहिँ रातो मच्छिन्द्रनाथ काठमाडौं ल्याइएको सय वर्षपछिको हो। अर्थात्, आजभन्दा करिब तेह्र सय वर्षअघि। त्यति बेला राजा नरेन्द्रदेवका छोरा शिवदेव द्वितीय वा उनका पनि छोरा जयदेव द्वितीयको शासन हुनुपर्छ।
सहकालका देउता मानिने रातो मच्छिन्द्रनाथको आगमनपछि काठमाडौं उपत्यकाबाट बाह्र वर्षदेखिको अनिकाल समाप्त भयो। यहाँका खेतमा वर्षको दुई बाली अन्न लहलहाउन थाल्यो। उब्जनी बढेपछि किसान समृद्ध भए, राज्य समृद्ध भयो।
समृद्ध राज्यले संस्कृतिलाई बढावा दिन्छ। जात्रापर्व गर्छ, भोज खान्छ। बाजागाजा घन्काएर उत्सव मनाउँछ र रथयात्रा गरेर आफ्नो समृद्धिको डंका पिट्छ।
यहाँ पनि त्यस्तै भयो।
रातो मच्छिन्द्रनाथ ल्याएको सय वर्षपछि काठमाडौं उपत्यकाले आफ्नो समृद्धिको डंका पिट्ने निर्णय गर्‍यो।
तत्कालीन राजा — शिवदेव द्वितीय वा जयदेव द्वितीय — ले सम्पूर्ण उपत्यकावासीलाई रथयात्रामा संलग्न हुन आह्वान गरे। उपत्यकाभरिका जनताले हरतरहबाट यो उत्सवमा आफ्नो हिस्सेदारी देखाए। कसैले कुनै कसर छाडेनन्।
तर एउटा समस्याले राजालाई चिन्तित बनायो।
उनी रातो मच्छिन्द्रनाथको रथ यस्तो भव्य बनाउन चाहन्थे जसको गजुरले गगन छोओस्। जसका पांग्राहरू घटघट गुड्दा उपत्यकाका चारै दिशा घनघन घन्कोस्। जसको सजावट देखेर स्वर्गका राजा इन्द्र पनि मोहित होऊन्।
त्यो रथ यस्तो होस् जुन एकचोटि ठडिएपछि भुइँचालै आए पनि नढलोस्। काठका जोर्नीहरू यस्तरी जोडिएका होऊन्, ताकि मान्छेले तानेर कुदाउँदा ती जोर्नीहरू कसैगरी नफुत्किऊन्।
कल्पना गर्न सजिलो छ, कल्पनालाई आकार दिन गाह्रो!
त्यति बेलासम्म काठमाडौं उपत्यकामा रथयात्राको चलन त सुरू भइसकेको थियो तर राजाले चाहेजस्तो बलियो रथ बनाउने शिल्प विकास भइसकेको थिएन।
राजाले आफ्ना मन्त्रीहरूसँग मन्त्रणा गरे। भारदारहरूको भेला गरे। कसैले कुनै जुक्ति निकाल्न सकेनन्।
आखिरमा उपत्यकाका दिग्गज तान्त्रिकहरूले नै समस्याको उपाय निकाले। उनीहरूले भने, ‘हामीले तन्त्रविद्याको शक्तिले बाँधेर रातो मच्छिन्द्रनाथलाई कामरू कामाख्याबाट काठमाडौं ल्यायौं, अब यसको रथ बनाउन पनि तान्त्रिक शक्तिकै खाँचो पर्छ र त्यस्तो शक्ति भएका शिल्पीहरूलाई कामरू कामाख्याबाटै झिकाउनुपर्छ।’
राजालाई सुझाव मन पर्‍यो।
रातो मच्छिन्द्रनाथको अद्भूत रथ बनाउन कामरू कामाख्याबाट बाराही समुदायलाई काठमाडौं झिकाइयो।
बाराहीहरूले रथ बनाउन चाहिने विभिन्न काठको सूची तयार पारे। उनीहरूले भनेअनुसार नै उपत्यका वरिपरिका जंगल र तराईबाट समेत काठको जोर्जाम गरियो।
एक महिनाभन्दा कम समयमै बाराहीहरूले यस्तो रथ तयार पारे जुन आजसम्म कसैले देखेका थिएनन्, न सुनेका थिए।
रातो मच्छिन्द्रनाथको पहिलो रथयात्रा भव्य रूपमा सम्पन्न भयो। यसलाई हरेक वर्ष निरन्तरता दिन बाराहीहरूलाई कामरू कामाख्याबाट काठमाडौं डाक्ने निर्णय पनि गरियो।
बाराहीहरू रथयात्रा सुरू हुनुभन्दा महिना–डेढ महिनाअगाडि नै यहाँ आउँथे, रथ बनाउँथे र रथयात्रा सुरू भएपछि उतै फर्कन्थे।
यो क्रम धेरै वर्ष चल्यो।
पछि एउटा समय यस्तो आयो जब नयाँ पुस्ताका बाराहीहरूले महिनादिन लामो यात्रा गरेर आसामदेखि काठमाडौं आउन, महिनादिन लगाएर रथ बनाउन र उति नै लामो यात्रा गरेर आसाम फर्कन गाह्रो माने।
आसामदेखि आउजाउ गर्दा मधेसको ज्यानमारा औलो नाघ्नुपर्थ्यो। बाघभालु र जंगली हात्तीहरूको डर हुन्थ्यो। घामझरी सहनुपर्थ्यो। बस्ने ठेगान हुन्थेन, बाटोभरिलाई पुग्ने खान्की पनि बोकेरै हिँड्नुपर्थ्यो।
नयाँ पुस्ताका बाराहीले बर्सेनि यस्तो सकस र जोखिमपूर्ण यात्रा झेल्न झिँझलो माने।
उनीहरूले आफ्नो दुःख बिसाउँदै काठमाडौंबासीसँग भने, ‘हामी घरिघरि ज्यानको माया मारेर यत्रो लामो यात्रा गर्न सक्दैनौं। त्यसैले अबदेखि हामी काठमाडौं आउँदैनौं, तपाईंहरू रथको प्रबन्ध आफैं मिलाउनुस्।’
यो सुनेर काठमाडौंबासी झसंग भए। उनीहरूलाई रातो मच्छिन्द्रनाथको रथयात्रा नै कसरी गर्ने भन्ने चिन्ता भयो।
यहाँनिर फेरि एउटा जुक्ति लगाइयो।
काठमाडौंका बासिन्दाले अर्को वर्ष अन्तिमचोटि आएर रथ बनाइदिन बाराहीहरूसँग आग्रह गरे।
बाराहीहरू तयार भए।
उनीहरू अर्को वर्ष फेरि आए र उसैगरी रथ बनाइदिए।
रथयात्रा सधैंझैं भव्य रूपमा सम्पन्न भयो। तर यसपालि जात्रामा एउटा नयाँ विधि थपिएको थियो।
रथारोहणको दिन जुन भेँडा काटेर बलि चढाइन्छ, त्यसको एक भाग बाराहीहरूलाई पनि खान दिइयो।
यसरी भेँडाको मासु खाँदा पछि भोग्नुपर्ने परिणामसँग उनीहरू वाकिफ थिएनन्। परिणाम थाहा भइदिएको भए खाँदैन थिए कि!
खैर बाराहीहरू खुसी–खुसी भोजमा सरिक भए, मासु-चिउरा, ऐला-थोँ खाए र सबैसँग अन्तिमचोटि विदावारी भएर आसाम फर्के।
जसै उनीहरू आसामको कामरू कामाख्या पुगे, उनीहरूलाई त्यहाँ प्रवेश गर्न दिइएन।
मासु खाने मान्छेलाई कामरू कामाख्यामा प्रवेश निषेध रहेछ। यो कुरा बाराहीहरूलाई थाहा थिएन वा थाहा भए पनि उनीहरूले उत्सवको रन्कोमा हेक्का राखेनन् वा हेक्का राखे पनि काठमाडौंबासीको आग्रह टार्न सकेनन्।
काठमाडौंबासी भने यसबारे जानकार थिए। बाराहीहरूलाई सधैंका लागि काठमाडौं बसाल्न भनेर नै उनीहरूले यस्तो जुक्ति गरेका थिए।
नभन्दै आफ्नो थलोमा छिर्न नपाएपछि बाराहीहरू यतै फर्के र रातो मच्छिन्द्रनाथसमक्ष दुःख बिसाउन गए।
रथ बनाउने शिल्प भएका उनीहरू रातो मच्छिन्द्रनाथसँग प्रत्यक्ष कुराकानी गर्ने तान्त्रिक शक्तिले पनि निपूर्ण थिए। उनीहरूले त्यही शक्तिको बलमा मच्छिन्द्रनाथको आह्वान गरे र भुइँमा घुँडा टेकेर दुवै हात जोड्दै भने, ‘हे मच्छिन्द्रनाथ देव, हामीले झुक्किएर भेँडाको मासु खायौं। मासु खाएपछि कामरू कामाख्यामा छिर्न पाइँदैन भन्ने हामीलाई हेक्कै भएन। हामी आफ्नो गल्तीका कारण आफ्नै भूमिबाट निष्कासित भएका छौं। अब हामी के गरौं? कहाँ जाऔं?’
उनीहरूको बिन्ती सुनेर रातो मच्छिन्द्रनाथ साक्षात् प्रकट भए, ‘हे बाराही गण, म तिमीहरूको परिश्रमबाट प्रसन्न छु। मलाई तिमीहरूले भोग्नुपरेको पीडा पनि सबै थाहा छ।’
बाराहीहरूले अगाडि भने, ‘हे देव, हामी प्रायश्चित गर्न तयार छौं। के गर्दा हामीलाई फेरि कामरू कामाख्यामा प्रवेश गर्न दिइएला? हजुरले कुनै उपाय बताइदिनुपर्‍यो।’
रातो मच्छिन्द्रनाथले जवाफ दिए, ‘बाराही गण हो, जेसुकै प्रायश्चित गरे पनि तिमीहरूलाई कसैगरी कामरू कामाख्यामा प्रवेश गर्न दिइने छैन। अब जे हुनु भइसक्यो। बितिसकेको कुरामा आँशु खसालेर, दुःखमनाउ गरेर हल निस्कनेवाला छैन। त्यसैले तिमीहरू अब यतै बस। यहीँ आफ्नो बस्ती बसाल।’
रातो मच्छिन्द्रनाथको यस्तो कुरा सुनेर बाराहीहरू निःशब्द भए।
आफ्नो जन्मभूमि छाडेर अर्कै देशमा बस्नू भन्ने मच्छिन्द्रनाथको आदेशले उनीहरूलाई बिलखबन्दमा पार्‍यो।
बाराहीहरू अलमलिएको देखेर मच्छिन्द्रनाथले भने, ‘तिमीहरूले मन सानो पार्नुपर्दैन। मलाई नै हेर न। मलाई पनि तिमीहरूलाई जस्तै कामरू कामाख्याबाट यहाँ ल्याइएको हो। तर मैले काठमाडौं उपत्यकालाई नै आफ्नो ठाउँ ठानिसकेँ। जसरी मैले यही भूमिलाई आफ्नो मानेँ, तिमीहरू पनि यही भूमिलाई आफ्नो मानेर बस।’
‘तर हे देव, के यहाँका मान्छेले हामीलाई अपनाउलान्?’ बाराहीहरूले आफ्नो अलमल मच्छिन्द्रनाथसमक्ष राखे।
‘तिमीहरूले सुर्ता मान्नुपर्दैन। यहाँका मान्छे साह्रै उदार छन्। तिमीहरू चाँडै नै यहाँको माटोमा घुलमिल हुनेछौ। सबैले तिमीहरूलाई आफ्नो ठान्नेछन्। तिमीहरू पनि सबैलाई आफ्नो ठान्न थाल्नेछौं।’
यति भनेर रातो मच्छिन्द्रनाथले पाटनका तीनवटा टोल — यंगुबहाः, यनामुगः र त्यागः — मा बाराहीहरूलाई बस्ती बसाउन आदेश दिए।
त्यसयता बाराहीहरू यहीँ बसे, यहीँका बासिन्दा भए।
आज पनि पाटनका यी तीनवटा टोलमा बाराहीहरूको बसोबास छ। आज पनि रातो मच्छिन्द्रनाथको रथमा काठको काम गर्ने यिनै बाराहीहरू हुन्।
तेह्र सय वर्षअघि बाराहीहरूको काठमाडौं उपत्यका प्रवेशसँग जोडिएको यो कथा पुष्टि गर्ने ऐतिहासिक प्रमाण हामीसँग छैन। न कुनै थ्यासफू (हस्तलिखित दस्तावेज), न शिलालेख।
यो कथा बाराहीहरूको पारिवारिक संस्मरणमा मात्र मौजुद छ।
आफ्नो जिजु हजुरबुवाबाट हजुरबुवा, हजुरबुवाबाट बुवा र बुवाबाट आफूमा सर्दै आएको वंश–इतिहासको यो कथा बाराही खलकका नाइके दिलकुमार बाराही बढो गर्वसाथ सुनाउँछन्।
‘रातो मच्छिन्द्रनाथको रथयात्रा हुनुभन्दा अगाडि यहाँ नौवटा देवदेवीको रथयात्रा हुन्थ्यो रे। मीननाथको रथयात्रा पनि मच्छिन्द्रनाथभन्दा पुरानो हो। त्यति बेला रथ बनाउने सीप नहुँदा कहिले काठ भाँच्चिने, कहिले डोरी चुँडिने, कहिले त पूरै रथ गर्ल्यामगुर्लुम ढल्थ्यो रे। त्यही भएर कहिल्यै नढल्ने, नभाँच्चिने र एकदमै बलियो रथ बनाउने निधो भएछ। त्यसपछि पुराना नौवटै रथयात्रालाई मच्छिन्द्रनाथको रथयात्रामा गाभ्ने भनिएको थियो। तर मीननाथले मानेनन्। मेरो रथयात्रा मच्छिन्द्रनाथ ल्याउनुभन्दा अगाडिदेखि चल्दै आएको हो, त्यसैले म उसको रथमा बस्दिनँ भनेछन्। त्यही भएर अहिले पनि मीननाथको रथयात्रा छुट्टै हुन्छ। बाँकी आठवटालाई रातो मच्छिन्द्रनाथकै रथमा गाभिएको छ,’ दिलकुमारले भने।
‘यही कारणले मच्छिन्द्रनाथको रथ नौ तलाको हुन्छ,’ उनले अगाडि भने, ‘यसमा पुराना आठ जना र मच्छिन्द्रनाथसमेत गरी नौ जना देउता हुन्छन्।’
दिलकुमारसँग मैले गत साता लामो कुराकानी गरेको थिएँ। अब तपाईंहरू सोच्दै हुनुहोला, न जात्रा न कुनै समारोह, तै पनि एकाएक दिलकुमारसँग कुरा गर्न म किन गएँ?
यसको पछाडि एउटा कारण छ।
साउन १८ गते, सोमबार, मेरो मेसेन्जर बक्समा एउटा सन्देश आयो। सन्देश पठाउने मोनालिसा महर्जन थिइन्। पोर्चुगलको डी इभोरा विश्वविद्यालयबाट सम्पदा संरक्षणमा पिएचडी गरेकी मोनालिसालाई मैले करिब चार वर्षअघि रानीपोखरी संरक्षण अभियन्ताका रूपमा पहिलोचोटि भेटेको थिएँ। त्यसपछि उनी आफ्नो अध्ययन क्रममा पोर्चुगल फर्किइन्। आउनेजाने क्रम चलिरह्यो तर हाम्रो भेट भएन।
उनी एकैचोटि मेसेन्जरमा टुप्लुक्क देखापरिन्, एउटा खुसीको सन्देशका साथ।
दक्षिण कोरियाले संसारभरिका अमूर्त सांस्कृतिक सम्पदा प्रवर्द्धन गर्न हरेक वर्ष ‘झान्जु अन्तर्राष्ट्रिय अवार्ड’ घोषणा गर्दो रहेछ। झान्जु नगरले दिने दस हजार अमेरिकी डलर पुरस्कारसहितको यो अवार्ड यसपालि तीनवटा देशका सांस्कृतिक सम्पदाले पाएका छन् जसको पहिलो नम्बरमा नेपालको नाउँ छ। त्यसपछि इटाली र ताजिकिस्तान छन्।
नेपालबाट पुरस्कार पाउने बाराही गुठीका नाइके उनै दिलकुमार बाराही हुन्।
उनलाई रातो मच्छिन्द्रनाथको रथ बनाउँदा काठको काम गर्ने शिल्पीका रूपमा पुरस्कृत गरिएको मोनालिसाले बताइन्।
यो अवार्ड नेपालले पाउनुमा मोनालिसाको ठूलो हात छ। उनले नै दिलकुमार बाराहीको नाम र उनको शिल्पलाई अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा सामेल गराएकी हुन्। यसको निम्ति बाराहीसँग अन्तर्वार्ता लिने, उनको कामको विवरण तयार पारेर आवेदन भर्ने, फोटो र भिडिओ खिचेर पठाउने सबै काम मोनालिसाले नै गरेकी थिइन्।
यस क्रममा पद्मसुन्दर जोशी, शैलेश राजभण्डारी, आशुतोष बाराही, सन्देश मुनिकार, ऋषि अमात्य, ललितपुर महानगरपालिका राजु महर्जन लगायतले फोटो, भिडिओ र अन्य सन्दर्भ सामग्री संकलनमा मद्दत गरेको उनले बताइन्।
‘उहाँलाई पुरस्कार दिनु भनेको सिंगो रातो मच्छिन्द्रनाथको रथयात्राले जीवित सांस्कृतिक सम्पदाका रूपमा अन्तर्राष्ट्रिय सम्मान पाउनु हो,’ उनले भनिन्।
बाराही गुठीका नाइके दिलकुमार बाराही र उनकी पत्नीको बीचमा मोनालिसा महर्जन। तस्बिर: निशा भण्डारी/सेतोपाटी
मोनालिसासँग यति कुराकानीपछि मैले दिलकुमार बाराहीसँग भेट्न चाहेँ। हामी दुवै पाटनको यंगुबहाःस्थित बाराही गुठीघर गयौं।

मैले भेट्नेबित्तिकै उनलाई बधाई दिएँ। दिलकुमारको अनुहार उज्यालो देखियो।मुसुक्क हाँस्दै उनले भने, ‘यो त रातो मच्छिन्द्रनाथको जात्रा चलाउने सबै गुठीहरूको निम्ति खुसीको खबर हो। हाम्रो सिंगो जात्राले नै अन्तर्राष्ट्रिय सम्मान पाएको हो।’कुराकानीको सिलसिला सुरू भयो। दिलकुमारले बाराहीहरूको काठमाडौं प्रवेशदेखि रातो मच्छिन्द्रनाथसँग जोडिएको आफ्नो वंश परम्परा र रथ बनाउने तरिकादेखि पूजा विधिसम्म विस्तार लगाए।

‘के अहिले पनि तपाईंहरूको बसोबास पाटनका तीनवटा टोलमा मात्रै छ?’ मैले सोधेँ।
दिलकुमार बसिरहेको ठाउँबाट अलिकति अगाडि सरे र दाहिने हत्केला पंखाझैं दायाँबायाँ हल्लाउँदै भने, ‘कोही कोही छरिएर यताउता लागेका पनि छन् तर मूल थलो यही तीनवटा टोल हो। जो जहाँ पुगेका भए पनि सबै जना गुठीमा छन्। जात्रापर्व वा पूजामा एक कल फोन गर्नासाथ सबै भेला हुन्छन्।’
उनका अनुसार बाराही गुठीमा करिब सय परिवार आबद्ध छन्। त्यसमा कुल संख्या ४५० छ भने पुरूषहरूको संख्या १५० छ। रथ बनाउने काममा पुरूषहरू मात्र संलग्न हुन्छन्।
गुठीको आफ्नै मर्यादाक्रम छ। माथिल्लो तहमा नाइके र थकाली हुन्छन्। नाइके र थकालीसमेत गरी २४ जना गुठियार रहने व्यवस्था छ। यसमा बाराही समूहका २३ जना हुन्छन् भने एउटा भाग रातो मच्छिन्द्रनाथका नाममा छुट्टयाउनुपर्छ। उमेरका कारण सबै गुठियार सक्रिय भएर काम गर्न नसक्ने हुँदा रथ बनाउने बेला ‘सहायक बाराही’ भनेर युवाहरूलाई खटाउने चलन छ। आलोपालो गरेर एकचोटिमा ४०–५० जना (गुठियार र सहायक बाराहीसमेत) रथ बनाउन संलग्न हुन्छन्।
‘जिम्मेवारीमा नाइके र थकालीमध्ये को ठूलो?’ मैले जिज्ञासा राखेँ।
‘जात्रापर्व चलाउँदा थकाली माथि हुन्छ। उसले भनेको नाइकेले पनि मान्नुपर्छ। अरू बेला भने जे काम परे पनि नाइके नै अघि सर्छ,’ दिलकुमारले नाइके नायक हुने कामहरूको उदाहरण दिए, ‘गुठी संस्थानमा कुराकानी गर्न जानुपर्‍यो, नाइकेले नेतृत्व गर्छ। गुठियारहरूसँग सम्पर्क गर्नुपर्‍यो, नाइकेकै जिम्मेवारीमा पर्छ।’
उनले अगाडि भने, ‘रथ बनाउन काठको विवरण तयार गर्ने नाइकेले नै हो। जंगलमा काठ काट्न जानुअघि पूजा गर्दा वा त्यस्ता सबै पूजाआजामा थकालीभन्दा नाइके नै माथि हुन्छ। भोज गर्दा पनि नाइके नै अगाडि बस्नुपर्छ।’
यसरी अवसर हेरेर कहिले माथि, कहिले तल पर्ने भए पनि एउटा परम्पराले नाइकेलाई विशेष स्थानमा राखेको छ।
बाराहीहरूमध्ये सबभन्दा जेठो पुरूष सदस्यलाई थकाली नियुक्त गरिन्छ, जबकि नाइकेको चयन वंश परम्पराका आधारमा हुन्छ। नाइके बन्ने अधिकार एउटा खास परिवारको ज्येष्ठ सदस्यलाई मात्र छ। त्यसैले यहाँ नाइके भनेको राजाजस्तै हो जुन एउटा वंशबाट अर्को वंशमा सर्दैन।
तर यो वंश परम्परा ठ्याक्कै राजखलकको जस्तो पनि छैन। किनभने यहाँ गद्दीको उत्तराधिकार बाबुबाट जेठो छोरामा जाँदैन, परिवारभित्रकै जेठो सदस्यमा हस्तान्तरण हुन्छ। त्यो जेठो सदस्य नाइकेको आफ्नै भाइ पनि हुनसक्छ वा काकाको छोरा वा परिवारभित्रकै अरू कोही पुरूष सदस्य।
यस्तो वंश परम्पराले नाइके अर्थात् दिलकुमार बाराहीका खलकको ऐतिहासिक विरासत झल्काउँछ।
दिलकुमार बाराही र मोनालिसा महर्जन। तस्बिर: निशा भण्डारी/सेतोपाटी
दिलकुमार २०५९ सालमा नाइके नियुक्त भएका हुन्। त्यसअघि यो पदमा उनको काकाका छोरा थिए। अब दिलकुमारपछि नाइके हुने पालो उनको माइलो भाइ बिबनकुमार बाराहीको छ जो अहिले ‘भाइ नाइके’ छन्। गुठीमा नाइकेका उत्तराधिकारीलाई पहिलेदेखि नै ‘भाइ नाइके’ बनाएर सबै रिथितिथिमा सामेल गराउने चलन छ।
दिलकुमारले अर्को एउटा परम्परा पनि सुनाए जुन राजखलकसँग मेल खान्छ।
जसरी एउटा राजाको मृत्युपछि मात्र अर्को राजा फेरिन्छ, नाइके पनि जिन्दगीभरि कायम रहन्छ, उनले भने, ‘कि मरेर जानुपर्‍यो, नभए नाइके परिवर्तन हुँदैन।’
यसमा एउटा अपवाद भने रहेछ। ६५ वर्षीय दिलकुमारले आफ्नो जिन्दगीमा त्यो एकचोटि बाहेक कुनै नाइकेले बीचैमा पद छाडेको देखेका वा सुनेका छैनन्।
संयोगले त्यो अपवाद उनकै पालामा भयो।
दिलकुमारभन्दा अगाडिका नाइके (काकाका छोरा) लेखापरीक्षणको काम गर्थे। रथको काममा उनलाई खासै रूचि थिएन। २०५३ सालमा नाइके बनेका उनले २०५९ सालमा राजीनामा दिए।
‘त्यो बेला म भाइ नाइके थिएँ,’ दिलकुमारले भने, ‘हामीले उहाँलाई खुब सम्झायौं। गर्नुपर्ने जति सबै काम हामी गरिहाल्छौं, तपाईं खाली नाइके बस्नुस् भनेर भन्यौं तर उहाँ मान्नुभएन। म समय दिन भ्याउँदिन भनेर उहाँले गुठी संस्थानमै गएर राजीनामा दिनुभयो, बाराही गुठीबाट पनि राजीनामा गर्नुभयो। अहिले उहाँ सपरिवार नखिपोटमा बस्नुहुन्छ।’
उनले अगाडि भने, ‘दाइले बीचैमा राजीनामा दिएपछि मैले समयभन्दा अगाडि नै नाइके बन्ने अवसर पाएँ।’
वंश परम्पराकै क्रममा बिहेबारीको कुरा उठ्यो।
मैले सोधेँ, ‘तपाईंहरूको बिहेबारी सबैसँग चल्छ कि कुनै खास समुदायसँग मात्र चल्छ?’
दिलकुमारको अनुहारभरि हाँसो छरियो, ‘हाम्रो बिहेबारीको थिति पनि त्यतिखेरै तोकिएको थियो रे, जब हाम्रा पुर्खालाई रातो मच्छिन्द्रनाथले पाटनका चारवटा टोलमा बस्नू भनेका थिए।’
‘के मच्छिन्द्रनाथले नै बिहेबारीको थिति बसालिदिएका थिए?’
‘हो,’ उनले भने, ‘त्यति बेला हाम्रा पुर्खाले ‘यहीँ बस्ने भएपछि बिहेबारी कोसँग गर्ने त?’ भनेर सोधेछन्। मच्छिन्द्रनाथले चारथरीका खलकसँग बिहे गर्नू भनेछन्।’
बाराहीहरूको बिहेबारी चल्ने खलकमा ताम्राकार, शिल्पकार, राजकर्णिकार र बाराहीहरू पर्छन्। यी चार खलकबाहेक अरूसँग बिहे गर्‍यो भने गुठीमा प्रवेश पाइँदैन।
रातो मच्छिन्द्रनाथसँगको त्यो कुराकानीले बाराहीहरूको बसोबास र बिहेबारीको थिति मात्र बसालेन, उनीहरूले गर्नुपर्ने पूजाआजाको विधि पनि त्यही बेला तोकियो।
रथयात्रा अवधिभर बाराहीहरूले विभिन्न चरणमा दसवटा पूजा गर्नुपर्छ। ती सबै मच्छिन्द्रनाथकै इच्छाअनुसार तय भएको उनको भनाइ छ, ‘मच्छिन्द्रनाथ जात्रामा सहभागी हुने विभिन्न गुठियारमध्ये पानेजु (पुजारी) पछि सबभन्दा बढी पूजा गर्नुपर्ने हामी बाराहीहरूले नै हो।’
‘यसको पनि कारण छ,’ दिलकुमारका अनुसार पहिले मच्छिन्द्रनाथको रथमा पानेजुपछिको स्थान बाराहीहरूकै थियो। रथमा दायाँपट्टि पानेजु बस्थे, बायाँपट्टि बाराही। अहिले दायाँ–बायाँ दुवैतिर पानेजु नै बस्ने चलन छ।
‘हामीले सुनेअनुसार जात्रा सुरू हुनु महिनादिन अगाडिदेखि रथको काम गर्ने र जात्राभरि पनि रथमा बस्नुपर्ने भएकाले बाराहीहरूलाई निकै धपेडी भयो। त्यही भएर रथको दायाँ–बायाँ दुवैतिर बस्ने जिम्मा पानेजुहरूलाई नै दिइयो। यसबापत् रथमा चढाइएको अन्न, फलफूल र दक्षिणाको एक भाग पानेजुहरूले हामीलाई तिर्नुपर्छ,’ उनले भने।
यो परिवर्तन कहिले भयो उनलाई ठ्याक्कै थाहा छैन तर हरेक वर्ष जात्रा सकिएपछि तिरो तिर्ने चलन अहिलेसम्म जारी रहेको उनी बताउँछन्।
यही विषयमा एकचोटि पानेजु र बाराहीबीच खटपट भएको पनि उनले सुनाए।
कारण चाहिँ के रहेछ भने, पानेजुहरूले अन्न, फलफूल र दक्षिणाको भाग दिन बन्द गरेछन्। तिरो आउन बन्द भएपछि बाराहीहरूले मुद्दा हालेछन्। मुद्दाको फैसला उनीहरूकै पक्षमा भयो। त्यसपछि नियमअनुसार अन्न, फलफूल र दक्षिणा लिएर भर्पाइसमेत गरियो। भर्पाइको एक प्रति पानेजुहरूले राखे, एक प्रति बाराहीहरूले।
नेपाली कागजमा गरिएको उक्त भर्पाइको प्रति दिलकुमारसँग सुरक्षित छ जसमा २०१४ साल भनेर लेखिएको छ।
भर्पाइको प्रति।
दिलकुमारले ती दसैवटा पूजाविधि मलाई विस्तारमा सुनाएका थिए।
बाराहीहरूको पूजालाई मान्छेको जीवनकालमा गर्नुपर्ने विभिन्न कर्मकाण्डसँग दाँज्ने हो भने ठ्याक्कै मेल खान्छ।
जसरी एउटा मान्छे जन्मेपछि न्वारनदेखि पास्नी र इहीँदेखि गुफा राख्ने र ब्रतबन्धदेखि विवाह र चौरासी पूजादेखि मृत्यु संस्कारसम्म गर्नुपर्छ, बाराहीहरूको पूजा पनि जात्रा सुरू हुनुभन्दा अगाडिदेखि जात्रा सम्पन्न भइसकेसम्म चल्छ।
तीमध्ये पहिलो पूजा म यहाँ उदाहरणका रूपमा सुनाउँदैछु।
पहिलो पूजालाई ‘सिँसा पारू’ भनिन्छ। रथलाई चाहिने काठको विवरण तोक्न हरेक वर्ष पुसको प्रतिपदा तिथिमा यो पूजा गरिन्छ। यस क्रममा नाइकेले फलानो फलानो जातको काठ चाहिन्छ भनेर माटोको पालामा खरीको अक्षरले मन्त्र लेख्नुपर्छ। एउटै पालामा पूरा मन्त्र अट्दैन। त्यसैले दुइटा पालामा लेखेर एकअर्कामाथि घोप्ट्याएर राखिन्छ। पाला घोप्ट्याएर बन्द गरेपछि पञ्चसूत्र धागोले बाँधेर सिलबन्दी गरिन्छ।
‘मच्छिन्द्रनाथलाई पूजा लैजाने बेला यो पाला पाउमै चढाउनुपर्छ,’ दिलकुमारले भने, ‘पुजारीले ‘बाराहीहरूबाट काठको विवरण निकालेर पूजा आइसक्यो’ भनेर भन्नुहुन्छ, अनि त्यो पाला गुठी संस्थानको जिम्मा लगाइन्छ।’
त्यसपछि गुठी संस्थानले बाराहीहरूले दिएको विवरणअनुसार रूख काट्न प्रक्रिया सुरू गर्छ।
‘पहिले पहिले त पूजा लगिसकेपछि खुरूखुरू रूख काट्न जाने चलन थियो, अहिले भने गुठीबाट वन मन्त्रालय, मन्त्रालयबाट वन विभाग, विभागबाट कार्यालय हुँदै तह–तहको लेखापढीमै महिनौं लाग्छ,’ उनले भने।
यो पूजामा माटोको पालामा लेखिने मन्त्र भनेको संस्कृतिको निरन्तरता मात्र हो। गुठीले त्यही मन्त्र हेरेर काठ काट्न पठाउने होइन।
एक त यो मन्त्र अरू कसैले हेर्न मिल्दैन। कसैलाई देखाउन पनि पाइँदैन। त्यसमाथि बाराही नाइकेले मात्र बुझ्ने विशेष अक्षरमा मन्त्र लेखिएको हुन्छ।
‘यो हामी बाराहीहरूको पुर्ख्यौली मन्त्र हो,’ दिलकुमारले मन्त्र हस्तान्तरणको विधि बताए, ‘गुठीको नाइकेलाई ऊभन्दा अघिल्लो नाइकेले मन्त्र दिन्छ। म भाइ नाइके हुँदा नै मलाई काकाको छोराले मन्त्र सिकाउनुभएको थियो। मैले पनि मेरो भाइ नाइकेलाई मन्त्र दिइसकेँ।’
‘मन्त्र कसैले नबुझ्ने र कसैले हेर्न नहुने भए काठ चाहिँ के आधारमा काटिन्छ?’ मैले उनलाई सोधेँ।
‘हामीले साउन महिनामै गुठी संस्थानलाई चिठी पठाइसकेका हुन्छौं,’ उनले भने, ‘गुठीले त्यही चिठी हेरेर काठ काट्न पठाउँछ।’
‘माटोको पालामा लेखिने त्यो मन्त्र हामीलाई खुसुक्क भन्न पनि मिल्दैन?’ मेरो यो ठट्टालाई उनले साँच्चै ठानेछन् क्यारे, गम्भीर हुँदै भने, ‘मैले भनेँ भने पनि तपाईं बुझ्नुहुन्न। त्यो अक्षर लेख्न पनि सक्नुहुन्न।’
बुझ्दै नबुझ्ने, लेख्नै नसक्ने कुरा त मैले जानेर पनि के गर्नु र!
रथ बनाउन काठ काट्न जानुअघि रातो मच्छिन्द्रनाथलाई चढाइने पूजा। पूजा सामग्रीको बीचमा पञ्चसूत्र धागोले बाँधिएको माटोका पालो जसमा बाराहीका नाइकेले मन्त्र लेखेका हुन्छन्। तस्बिर सौजन्य: दिलकुमार बाराही
मैले कुराकानीलाई रातो मच्छिन्द्रनाथको रथमा प्रयोग हुने काठको जाततिर मोडेँ।
रथ बनाउन छ थरीको काठ प्रयोग गरिँदो रहेछ। ‘धमापासा’ भनिने रथको मुख्य संरचना बनाउन फलासको काठ प्रयोग गरिन्छ, जसलाई नेपाल भाषामा ‘स्वसिँ’ भनिन्छ।
रथको पांग्रा बनाउन सानदान (नँसिँ) को काठ, मच्छिन्द्रनाथको मूर्ति राख्ने खट बनाउन लाकुरे (तूसिँ) को काठ, रथ तान्ने घःमाः बनाउन सउर (नागबसिँ) को काठ प्रयोग गरिन्छ।
त्यस्तै, रथ तान्दा बीच–बीचमा ब्रेक लगाउनुपर्छ र यसको निम्ति पांग्रामा मयल (ङसिँ) को काठ हालिन्छ। त्यो ब्रेकलाई अडाउन प्रयोग गरिने बिँड आरू (बसिँ) को हुन्छ।
‘हामीले खाने आरू छ नि, हो त्यसैको बिँड बनाइन्छ,’ दिलकुमारले भने।
काठको कुरा उठिसकेपछि मैले सोधेँ, ‘बलियो रथ बनाउन भनेर बाराहीहरूलाई आसामदेखि ल्याइयो तर मच्छिन्द्रनाथको रथ त बेलाबेला बिग्रिरहन्छ, बेलाबेला ढल्छ पनि!’
दिलकुमार मुसुक्क हाँसे र भने, ‘बिग्रिनु त सामान्य भइहाल्यो तर गजुरले सिधै भुइँ छुने गरी ढल्ने घटना बिरलै हुन्छ। गजुरले भुइँ छुने अवस्था आयो भने सुरूदेखि बनाउनुपर्छ। यसबाहेक कतै घरमा ठोक्किएर रथ बांगियो भने मर्मत मात्र गरे पुग्छ।’
उनले यो पनि भने, ‘हामी रथ बनाउन किला ठोक्दैनौं। सबै काठ जोर्नीहरूमा अड्काइएको हुन्छ। जोर्नीहरू कसिकसाउ हुँदैन। काठहरूलाई सास फेर्न पर्याप्त ठाउँ दिइएको हुन्छ। यसले रथको संरचना लचिलो बनाउँछ। रथ जतिसुकै बांगिए पनि भाँच्चिन पाउँदैन। सास फेर्ने ठाउँ भएन भने काठले हलचल गर्न सक्दैन। बढी जोड पर्नेबित्तिकै भाँच्चिन सक्छ।’
रथ बनाउने यो विधि भूकम्पप्रतिरोधी घर बनाउने विधिसँग मिल्दोजुल्दो भएको मैले कतै सुनेको थिएँ। दिलकुमारसँग यसबारे सोध्दा उनले भने, ‘परम्परागत घर बनाउने यसरी नै त हो। हाम्रो परम्परागत घरमा दलिन र खाँबोलाई चुकुल वा जोर्नीले अड्काइएको हुन्छ। किला ठोकिँदैन। यसले परम्परागत घरलाई मच्छिन्द्रनाथको रथजस्तै लचिलो बनाउँछ।’
रातो मच्छिन्द्रनाथको रथमा काठको काम गर्दै दिलकुमार बाराही र बाराही गुठीका अन्य सदस्य। तस्बिर सौजन्य: मोनालिसा महर्जन
बाराहीहरूलाई पछिल्लो समय आफ्नो यो परम्परा धान्न आर्थिक रूपले गाह्रो भइरहेको उनले सुनाए।
उनीहरूले रथ बनाउने क्रममा दिनको १९६ रूपैयाँ ज्याला पाउँछन्। खाजा खर्ज भनेर २८७ रूपैयाँ दिइन्छ। त्यस्तै, दसवटा पूजा निम्ति गुठी संस्थानबाट एक लाख ३० हजार रूपैयाँ पाउँछन्। जबकि पूजाको कूल खर्च नै साढे दुई लाखभन्दा बढी हुन्छ, उनले भने, ‘हामीले परम्परा बचाउन आफ्नै खर्चबाट काम गरिरहेका छौं। हामीले छोड्यौं भने यो कसरी चल्छ?’
गुठीको आफ्नो आम्दानी भन्नु केही छैन। पहिले पहिले पर्वपूजा चलाउन उपत्यकाभित्रै १५ रोपनी जग्गा थियो जुन गुठी संस्थानलाई नै जिम्मा लगाइएको छ। त्यो जग्गा के भयो, त्यसको आम्दानी के भयो, उनीहरूलाई केही थाहा छैन।
‘यो परम्परा धान्ने हो भने हामीलाई सहयोग गर्नुपर्‍यो भनेर पटक–पटक विभिन्न निकाय गुहारेका छौं,’ उनले भने।
रातो मच्छिन्द्रनाथसँग सम्बन्धित पुराना सामग्री संरक्षण निम्ति गुहार लगाएको पनि धेरै भयो।
उनका अनुसार रथयात्रामा प्रयोग भएका पुराना सामग्री गुठी संस्थानले गोदाममा थन्क्याएर राखेको छ। उदाहरणका लागि, रथको सबभन्दा माथि प्रयोग गरिने काठ (ब्यामो) गत वर्ष मात्र नयाँ फेरिएको थियो। पहिलेको काठ कहिलेदेखि प्रयोगमा आएको थियो भन्ने कसैलाई थाहा छैन।
यसबाहेक सुनको जलप लगाइएको पुराना झ्यालढोका (लुँसा) देखि विभिन्न समयमा फेरिएका काठ, पुराना डोरीहरू, रथको सबभन्दा अगाडि टाँगिने भैरवका पुराना मुकुटहरू पनि गोदाममै छन्।
यस्ता बहुमूल्य सामग्री गुठीको गोदाममा होइन, संग्रहालयमा सुरक्षित राख्नुपर्ने उनको भनाइ छ।
‘मच्छिन्द्रबहालमै संग्रहालय बनाएर राख्न सकिन्छ। यी सामग्री भनेका हाम्रा सम्पदा पनि हुन्,’ दिलकुमारले भने, ‘पाटन संग्रहालयभित्रै रातो मच्छिन्द्रनाथका लागि छुट्टै कक्ष बनाउनु पनि राम्रो उपाय हो।’
कुराकानीको बिट मार्दै मैले सोधेँ, ‘यदि बाराहीहरू आसामबाट आएका हुन् भने आसाममा बाराही खलकका सदस्य अझै होलान् त?’
‘हामीले खोजेका त छैनौं, तर भारतमा पनि बाराहीहरू छन् भन्ने चाहिँ सुनेका छौं।’
यहाँनिर मोनालिसाले आफूलाई थाहा भएको कुरा सुनाइन्। उनले भनिन्, ‘भारतमा काठको काम गर्ने समुदायलाई बाराही नै भनिन्छ भन्ने मैले सुनेको छु।’
रातो मच्छिन्द्रनाथको रथमा काठको काम गर्ने बाराही गुठीका नाइके दिलकुमार बाराही। तस्बिर: निशा भण्डारी/सेतोपाटी
मैले घर फर्केर भारतमा बाराही समुदाय भए–नभएको गुगल गरेँ।
‘पिपल ग्रुप्स अफ इन्डिया’ भन्ने वेबसाइटमा त्यससम्बन्धी केही सामग्री फेला पर्‍यो। भारतमा काठको काम गर्ने समुदायलाई ‘बाराही’ होइन, ‘बरहाई’ भनिँदो रहेछ। तर यो उच्चारणको भेद मात्र पनि हुनसक्छ।
भारतका बरहाई काठका फर्निचर र काठका कृषिजन्य औजार उत्पादनमा संलग्न छन्। उत्तर प्रदेश, बिहार, मध्यप्रदेश, हिमाञ्चल प्रदेश र चण्डीगढमा करिब ४० लाख बरहाईहरू रहेको वेबसाइटमा उल्लेख छ।
हाम्रा बाराही पनि पुस्तैनी काठकै काम गर्छन्। अधिकांशको फर्निचर पसल छ।
दिलकुमार आफैं पनि काठका चौकोस र दराजहरू बनाउँछन्। ललितपुरको कुमारीपाटीमा उनीहरूको पुर्ख्यौली फर्निचर पसल छ– बाराही फर्निचर।
courtesy: setopati

 

सम्बन्धित पोस्ट
  • काठमाडौंमा ‘बौद्ध अन्तर्राष्ट्रिय ट्राभल मार्ट २०२५’ सुरु
  • “शंखरापुर”वृत्तचित्रको वल्र्डवाइड प्रिमियर
  • भारतको पाकिस्तानमाथि मिसाइल प्रहारपछिको संभावित प्रभाव
  • Lumbini to Host the 4th Asian Buddhist Cultural Festival 2025: A Global Celebration of Peace and Heritage
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    सिंहदरबारभन्दा परको काठमाडौं

    काठमाडौंमा ‘बौद्ध अन्तर्राष्ट्रिय ट्राभल मार्ट २०२५’ सुरु

    “शंखरापुर”वृत्तचित्रको वल्र्डवाइड प्रिमियर

    काउन्सिलद्वारा थप ५ मातृभाषामा आचारसंहिता जारी

    भारतको पाकिस्तानमाथि मिसाइल प्रहारपछिको संभावित प्रभाव

    Lumbini to Host the 4th Asian Buddhist Cultural Festival 2025: A Global Celebration of Peace and Heritage

    धम्मवती गुरुमालाई म्यानमार सरकारबाट “महासद्धम्मजोतिकधज” उपाधि प्रदान

    साथीका निम्ति प्रेमको सौगात

    काउन्सिलद्वारा थप ५ मातृभाषामा आचारसंहिता जारी

    धम्मवती गुरुमालाई म्यानमार सरकारबाट “महासद्धम्मजोतिकधज” उपाधि प्रदान

    उच्च शिक्षामा सुधारका लागि महत्वपूर्ण घोषणापत्र जारी गर्दै लुम्बिनीमा अन्तर्राष्ट्रिय उपकुलपति सम्मेलन सपन्न

    रातमा ६.१ रेक्टरको शक्तिशाली भूकम्प

    महानगरका मेयरले गरे स्वयम्भू महोत्सवको उद्घाटन

    सुभाय् पोस्ट बिशेष

    काठमाडौंमा ‘बौद्ध अन्तर्राष्ट्रिय ट्राभल मार्ट २०२५’ सुरु

    “शंखरापुर”वृत्तचित्रको वल्र्डवाइड प्रिमियर

    भारतको पाकिस्तानमाथि मिसाइल प्रहारपछिको संभावित प्रभाव

    Lumbini to Host the 4th Asian Buddhist Cultural Festival 2025: A Global Celebration of Peace and Heritage

    धम्मवती गुरुमालाई म्यानमार सरकारबाट “महासद्धम्मजोतिकधज” उपाधि प्रदान

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2025: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑