असारको मौसम । मनसुन सुरु हुनासाथको वर्षा । ठूलै पानी परेछ । दर्किरहेको पानी अलि कम भएजस्तो लागेथ्यो ,
खोलामा बाढी आयो , खोलाको पानीको रंग नै माटोको लेदोजस्तो । बाढीसँगै काठ दाउराका मुढाहरु बगाएर ल्याएको देखियो । खोला नजिक घर हुनेहरु दाउरा टिप्दै घर लैजान थाले । दाउरा टिप्न पाएकोमा उनीहरू खुशी देखिए । हुन त यस्तो घटना सामान्य हो ।
तर केहि बेरपछि केहि असामान्य कुरा पनि देखियो । नदीमा ग्याँसका सिलिन्डर भाडाकुडा पनि बगाएर ल्याएको देखियो । सायद माथि कतैको बस्ती बगाएको हुनसक्छ ।
खोला नजिकको बजारका मानिस पनि ज्यानको बाजी राखेर नदीबाट सिलिन्डर भाडाकुडा टिप्दै घरतिर लान थाले । दु:ख भएपनि यसरी सित्तैमा भाडाकुडा सिलिन्डर टिपेर घरमा ल्याउन पाउँदा उनीहरू पनि खुशी थिए । उनीहरूले यी बस्तु कहाँबाट बगाएर ल्याए त्यसको कुनौ मतलब राखेनन् । सामान हात पार्न सके त्यही ठूलो उपलब्धि बनेको छ ।
तर समयको कुरा । यो कति बलवान छ भने – केहि समयमा नदीमा पानीको बहाव बढ्दै गयो । भेल बस्तीतिर पनि पस्न थाल्यो ।
“भाग भाग बाढी बस्तीमा पस्यो । ज्यान रहे पछि सबै रहन्छ ।माथि सुरक्षित ठाउँमा जानुहोस् ! यता खतरा छ ! ” प्रहरीले माइकिङ गर्यो ।
नदीले बस्ती र बजार बिस्तारै डुबाउन थाल्यो । सबै बस्तीबासी माथितिर डाँडामा भाग्न थाले ज्यान जोगाउन । उनीहरूसँग एकसरो लुगा बाहेक केहि थिएन ।
यति नैं बेला पानी फेरि बेतोडले पर्यो । मौसम निकै क्रुद्ध देखियो । नदीले यति बिकराल रुप लियो जुन अकल्पनीय थियो । घर बजार नदीले डुबानमा पार्दै लग्यो । नदीको धारले कुनै कुनै घर भत्काई बगाउन पनि थाले साथै त्यहाँका सरसामान पनि बगाइ लगे । अघि बाढी आउँदा टिपेको सिलिन्डर , सरसामान , दाउरा टिपेर खुशीयालि मनाएका बस्तीबासीहरु माथि डाँडामा बसेर आफ्नो घर बगेको मुटु थामेर हेरिरेहे !
आकाश गर्जन छोडेन । नदीले सबैतिर बाटो बनायो । अगाडि बढ्यो ।
नदीले सिलिन्डर , भाँडाकुँडा ,पैसा लट्टाकपडा लगायत सबैथोक बगाइरहे ।
परको बस्ती बगाउँदा खुशीसाथ सामान टिप्दै थिए । त्यतिबेला सोचिएन यो बाढीको भय बारे । मूकदर्शक बनिरहे खोला किनारका बजारबासी !
रेडियोमा समाचार बज्दै थियो बंगाल खाडीमा आएको आँधीको कारण देशभरि भारी वर्षा ! ठाउँ ठाउँमा बाढी पहिरो धेरै धनजनको क्षति ….. !
सुभाय् मिडिया प्रा.लि.
ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८
ईमेल: [email protected]
कार्यालय फोन- ०१-२१५६४४
स्थायी लेखा नम्बर- ६१२२८०१००
सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५