•जात्रामा सहभागी हुनेले अनिवार्य मास्क लगाउनुपर्ने •स्वास्थ्य सुरक्षाको सावधानी अपनाउन रथभन्दा १५ मिनेटअघि नै सांस्कृतिक बाजाको समूह हिँडाइने
काठमाडौँ / चैत्र शुकल अष्टमी तिथिका दिन बैशाख ७ गतेबाट आर्यावलोकितेश्वर करुणामय जनबहाद्योको रथयात्राको पहिलो दिन जमलबाट तानेर असन पुर्याइएको छ । लोकको हित गर्ने देवताका रूपमा परिचित यस लोकेश्वरलाई सेतो मच्छेन्द्रनाथ पनि भनिन्छ । स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्दै स्वयंसेवकहरुले रथ व्यवस्थित रूपमा तानेर यात्रा सुरु गरेका थिए ।
रथयात्राका लागि दिउँसो ४ बजे जनबहालमा रहेको मन्दिरबाट त्यहीँका शाक्य पुजारीहरुले करुणामयलाई खटमा राखी इन्द्रचोक , थाय् मरु , न्हाय्कंतला , असन कमिलाछी हुँदै जमलस्थित तीनधारा पाठशाला अगाडि बनाइएको रथमा बिराजमान गरिएको थियो । यसपछि रथयात्रा सुरु भएको थियो । रथ तान्न सहभागी स्वयंसेवकहरुले फेस कभर मास्क पंजा लगाएका थिए ।
जात्रामा सहभागी हुनेले अनिवार्य मास्क लगाउनुपर्ने व्यवस्था गरिएको सेतो मच्छेन्द्रनाथ रथ व्यवस्थापन समितिले जनाएको छ । जात्राका लागि काठमाडौँ महानगरपालिका स्वास्थ्य विभागसँगको सहकार्यमा निःशुल्क मास्क दिने व्यवस्था मिलाइएको थियाे।
वैशाख २ गते काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यको उपस्थितिमा गुठी संस्थान, जनबाहाद्य: पुजारी, रथयात्रा मार्गमा पर्ने सङ्घ संस्थाका प्रतिनिधि, आष्ठावान धर्मप्रेमिहरु , संस्कृतिविद्लगायत सरोकार भएका निकायका प्रतिनिधिको उपस्थितिमा भएको छलफलले स्वास्थ्य सुरक्षाका विधि अपनाएर दूरी कायम गरी गर्ने निर्णय गरेको समितिका संयोजक नीलकाजी शाक्यले जानकारी दिएका छन् ।
स्वास्थ्य सुरक्षाको सावधानी अपनाउन रथभन्दा १५ मिनेटअघि नै सांस्कृतिक बाजाको समूह हिँडाइएको समितिले बतायो । बाजा पहिले नै हिँडाएपछि रथ तान्न भीड नबढ्ने र सुरक्षितरुपमा रथ तान्न मद्दत हुुुनेेछ ।
एकदिन रथ तानेका युवाले अर्को दिन नतान्ने व्यवस्था मिलाइएको छ । यसका लागि तीन रङको ज्याकेटको व्यवस्था गरिएको छ । जसले कोरोना सर्नबाट बच्न सकिने आशा गरिएको छ । कोरोना महामारीबाट बच्दै सांस्कृतिक गतिविधिलाई निरन्तरता दिन यस्तो व्यवस्था गरिएको हो । यो नमूना उपत्यकाका अन्य स्थानमा हुने जात्राका लागि पनि काम लाग्ने आशा गरिएको छ ।
सेतो मच्छेन्द्रनाथको रथयात्रा कोरोनाबाट बच्न सकिने गरी सम्पन्न गरेर उपत्यकाका अन्य जात्रा एवं मेलालाई पनि सहजरुपमा स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरेर गर्न सकिन्छ भन्ने देखाउन खोजिएको छ । यसका लागि सरोकार भएका सबै निकायलाई समन्वय गरेर काम गरिएको समितिले जनाएको छ । रथयात्रा चलाउने मार्गमा एक घण्टाअघि नै माइकिङ गरेर सुरक्षितरुपमा जात्रा हेर्न आम मानिसलाई आह्वान गरिएको छ । जात्रामा सहभागी हुनुअघि र भइसकेपछि पनि साबुनपानीले हात धुन पनि समितिले अनुरोध गरेको छ । यसका लागि रथयात्रा शुरु र अन्त्य गरिने स्थानमा प्रत्येक दिन साबुनपानीको व्यवस्था गरिएको छ ।
रथजात्राको दोस्रो दिन असनबाट यें लायकू कालभैरव अगाडि लगिन्छ । तेस्रो दिन वसन्तपुरबाट लगन लगेर जात्रा गर्ने परम्परा छ । लगनमा सेतो मच्छेन्द्रनाथको आमाको मन्दिरमा रथ तीनपटक घुमाउने गरिन्छ । त्यसपछि रथयात्रा सम्पन्न हुनेछ अनि जनबाहालका शाक्य पुजारीहरुले देवतालाई खटमा बोकेर ल्याई जनबाहालमा रहेको मन्दिर बाहिर राखी बिधीपूर्वक पूजाआजा तथा शुद्धीकरण गरेपछि मात्र मन्दिरभित्र आर्यावोलोकितेश्वर करुणामय जनबाहाद्योको स्थानमा राखिन्छ । (फोटो: रेखा शाक्य )
सुभाय् मिडिया प्रा.लि.
ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८
ईमेल: [email protected]
कार्यालय फोन- ०१-२१५६४४
स्थायी लेखा नम्बर- ६१२२८०१००
सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५